कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालभाषामा लाखे भाजु

कान्तिपुर संवाददाता

काठमाडौं — स्वदेशी उद्योगमा नेपाली भाषी फिल्मको वर्चस्व छ । यहाँ नगण्य संख्यामा मातृभाषी फिल्म बन्छन् । बनेका मातृभाषी फिल्मले पनि राष्ट्रियस्तरमा आफूलाई उभ्याउन सकेका छैनन् ।

नेपालभाषामा लाखे भाजु

नेपाली फिल्मका चल्तीका निर्माताहरू नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ र प्रदीपकुमार उदयलाई पनि यहीं कुरा खडकिएछ । यति बेला नेपाल भाषामा फिल्म बनाउन एक भएका छन् । मंगलबार निर्मातात्रयले ‘लाखे भाजु’ निर्माणको घोषणा गरेका छन् । 

फिल्मको परिकल्पनाकार प्रदीपकुमारले कार्यक्रममा भने, ‘नेपाली फिल्म त हामीले वर्षांैदेखि बनाउँदै आएकै हो । तर आफ्नै जात र भाषाका फिल्म निर्माणमा किन अगाडि आउन सकेनौं ?’ आफ्नै मनमा आफैंका लागि उब्जिएको प्रश्नको जवाफकै फलस्वरुप आइन्दा वर्षेनी कम्तीमा एउटा नेपालभाषाको फिल्म निर्माणमा जुट्ने भद्र सहमति भएको पनि उनले सुनाए । ‘अब हामी नेपालभाषाको फिल्मलाई देशमा मात्रै सीमित नगरी विश्वव्यापी बनाउन खोजिरहेका छौं । ताकि यसले गर्दा हाम्रो कला, संस्कृति र भाषा बाहिरी विश्वसँग परिचित हुन पाउनेछ,’ प्रदीपकुमारले भने ।

आर्यम नकर्मीको लेखन तथा निर्देशन रहने ‘लाखे भाजु’ विशुद्ध प्रेमकथामा आधारित फिल्म हुने जानकारी दिँदै आर्यमले थपे, ‘त्यसबाहेक लाखे के हो ? कहाँबाट आएको हो र इन्द्रजात्रामा यसलाई किन नचाइन्छ भन्नेजस्ता सवालको जवाफ पनि फिल्मले दिनेछ ।’

अशिष्मा नकर्मी, सोहित मानन्धर, मदनदास श्रेष्ठ, नगिना जोशी, गणेशराम लाछी, हृदयप्रसाद मिश्र, कृष्णभक्त महर्जन, नारायणदेवी प्रधान, प्रकाश श्रेष्ठ, अन्नपूर्ण श्रेष्ठ, रुपेन श्रेष्ठ, सुरज व्यञ्जनकारको अभिनय रहने फिल्मको प्रस्तुतकर्ताको रूपमा पनि नायिका अशिष्मा नै रहेकी छन् । नेपाली फिल्ममा समेत सक्रिय अशिष्माले नेपालभाषाको फिल्म बनाउने आफ्नो सपना पूरा हुन लागेकोमा खुसी व्यक्त गर्दै भनिन्, ‘मेरो लागि सपना नै थियो, राम्रो नेपालभाषाको फिल्म बनाउने । आज त्यो सपना पूरा हुँदै छ ।’ फिल्म घोषणा कार्यक्रममा लाखे नाच नै प्रस्तुत पनि गरिएको थियो ।

सुसन प्रजापतीको सिनेमाटोग्राफी रहने फिल्ममा मनराजा नकर्मीको संगीत रहने बताइएको छ ।

 

प्रकाशित : आश्विन २५, २०७४ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?