कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राम्रा म्युजिक भिडियो कम

सजना बराल

काठमाडौं — निकेश खड्का अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशकमध्येका एक हुन् । उनी महिनामा ५/७ वटा भिडियो बनाउँछन् । अचेल आफ्नो दोस्रो फिल्म ‘फाटेको जुत्ता’ को प्रचारप्रसारमा लागेर उनले भिडियोको काम थाँती राखेका छन् ।

 राम्रा म्युजिक भिडियो कम

‘बेलाबेला ब्रेक लिइरहन्छु,’ उनले भने, ‘तैपनि काम दिनेहरू घट्नुभएको छैन ।’

आफूले केही फरक गर्ने भएकाले कामको चाप बढिरहेको उनको मूल्यांकन छ । उनी प्रतिभिडियो ३० हजारदेखि ५० हजार रुपैयाँ पारिश्रमिक लिन्छन् । वर्षमा ५०–६० वटा भिडियो खिच्न थालेको नै तीन/चार वर्ष भइसक्यो । सात वर्षमा उनले सात सय म्युजिक भिडियो निर्देशन गरिसकेका छन्, विज्ञापनहरू पनि बनाउँछन् । 

निकेशलाई अहिले बन्ने गरेका ९५ प्रतिशत म्युजिक भिडियो झुर लाग्छन् । आफूले वर्षभरिमा ४/५ वटा भिडियोमा मात्रै क्रिएटिभिटी देखाउन पाइरहेको उनले बताए । ‘अचेलका प्राय: गीतहरू कन्सर्ट फोकस्ड हुन्छन्,’ उनले भने, ‘त्यस्ता गीतमा निर्देशकको भन्दा कोरियोग्राफरको काम धेरै हुन्छ । राम्रा गीत 
कम बन्छन्, राम्रा म्युिजक भिडियो कम बन्छन् र बनेका पनि छायामा पर्छन् ।’ 

आफूले निर्देशन गरेका मध्ये ‘ल्याइदिऊँला तिलहरी...’, ‘परदेशी नभन...’, ‘दर्शन...’ जस्ता गीतको भिडियो चित्त बुझेको उनले बताए । 
पछिल्लो समय निकेशसँगै, नीतिन चन्द, विशाल भण्डारी, गजित विष्ट, अर्जुन अधिकारी, पासाङ योञ्जन लामा, नट्टु शाह, नरेन लिम्बूलगायतले म्युजिक भिडियो निर्देशनमा पकड जमाइरहेका छन् । केही अघि भूषण दाहाल, प्रशन्न पौडेल, आलोक नेम्बाङ, सुरजसिंह ठकुरी, संगीता श्रेष्ठ, सहेन्द्र 
श्रेष्ठ, समन अधिकारीहरू यो क्षेत्रमा ज्यादा सक्रिय थिए । 

एकताका टेलिभिजनका भीजेहरूलाई नै म्युजिक भिडियो निर्देशन गर्न दिने चलन पनि थियो । तर, युटयुबको प्रयोग बढेसँगै अन्यले पनि निर्देशनमा हात हाल्न थाले । सन् २०११ देखि म्युजिक भिडियो निर्देशन थालेका नीतिन युटयुबकै कारण यो क्षेत्रमा डोरिएका थिए । उनले रहरमै बनाएको ‘हेलो हनीबनी...’ को भिडियो भाइरल भएपछि भिडियो बनाइमाग्नेको लर्को लाग्यो ।

‘नेपाली–अमेरिकनहरूले धेरै काम दिनुभयो,’ उनले भने, ‘क्वान्टिटीभन्दा क्वालिटीलाई ध्यान दिनुपर्छ भन्ने लागेर जानाजान कम काम लिने गरेको छु ।’
एउटा भिडियो निर्देशन गरेबापत् ६० देखि ७० हजार रुपैयाँ पारिश्रमिक लिने नीतिन आफैं लगानी गरेर ‘हिरो’ बन्न खोज्नेले यो क्षेत्रको छवि बिगारेको बताउँछन् । उनका अनुसार यसको रोकथामका लागि पहल चाल्ने बेला आएको छ । ‘तर, राम्रा भिडियो पनि बनिरहेका छन्,’ उनले थपे, ‘अचेल कोरियन टाइपको भिडियो राम्रो मानिन्छ । कथा बेस्डभन्दा पनि दर्शकले प्रस्तुति, कलर कम्बिनेसन, मुड आदि राम्रो भएको भिडियो खोज्छन् ।’ 

म्युजिक भिडियो छायाकार ज्ञानेन्द्र शर्मालाई युटयुबले नयाँ टयालेन्टलाई प्लेटफर्म दिइरहेको अनुभव हुन्छ । ‘हुन त हाम्रो रोजीरोटी धरापमा परेको छ,’ उनले ठट्टा गर्दै भने, ‘तर, सस्तोमा काम गर्न चाहनेलाई मोबाइलबाटै भिडियो खिच्न मिल्ने विकल्प बन्यो, ठीकै छ नि ।’ ज्ञानेन्द्र पनि महिनामा १५/२० वटा म्युजिक भिडियो खिच्छन्, कतिपय आफैं निर्देशन पनि गरिदिन्छन् । 

एउटा भिडियो छायांकन गरेबापत् उनले लिने न्यूनतम पारिश्रमिक भनेको १२ हजार रुपैयाँ हो । प्राविधिक रूपमा अपडेटेड भइरहन आवश्यक रहेको साढे पाँच वर्षदेखि यो काम गरिरहेका उनको बुझाइ छ । ‘नयाँ–नयाँ टेक्नोलजी आइरहेको छ,’ उनले भने, ‘सिनेमाटोग्राफरले ती कुरा चलाउन जान्नुपर्छ ।’ भिडियो खिच्नकै लागि उनी लगभग सारा नेपाल डुलिसकेका छन् । 

ज्ञानेन्द्रसँगै अर्जुन तिवारी, हरि हुमागाईं, उत्सव दाहाल, धीरजजंग शाहहरू अहिले राम्रो डिमान्ड भएका सिनेमाटोग्राफर हुन् । धीरजले त हालै १९ औं इमेज अवार्डमा सर्वोत्कृष्ट म्युजिक भिडियो छायाकारको अवार्डसमेत प्राप्त गरेका थिए । उनीहरूको ठाउँमा पहिले विदुर पाण्डे, सुरेश मानन्धर, शिवराम श्रेष्ठजस्ता सिनेमाटोग्राफर थिए । हुन त पाण्डे र श्रेष्ठहरू अझै पनि व्यस्त नै देखिन्छन् ।

प्रकाशित : कार्तिक १०, २०७४ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?