कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा हुँदै सङ्स अफ द हिमालयाज

कान्तिपुर संवाददाता

काठमाडौं — गत वर्ष चर्चित भारतीय संगीतकार शान्तनु मोइत्रा आनी छोइङ डोल्मालाई भेट्न सुटुक्क काठमाडौं आए । नेपाल, भारत, भुटान लगायत देशका हिमालहरूमा सय दिन गरेको यात्रालाई संगीतमार्फत व्यक्त गर्न उनी ‘सङ्स अफ द हिमालय’ कन्सर्ट गर्दै थिए । त्यसमै गाउने प्रस्ताव लिएर शान्तनु आएका थिए ।

 नेपालमा हुँदै सङ्स अफ द हिमालयाज

यसपछि आनीले मुम्बईको नेसनल सेन्टर फर पर्फर्मिङ आर्टमा प्रस्तुति दिइन् । कार्यक्रम भव्य भयो । त्यही बेला आनीले शान्तनुलाई ‘यस्तो कार्यक्रम नेपालमा पनि गर्न पाए हुन्थ्यो’ भन्ने इच्छा सुनाएकी थिइन् र शान्तनुले भनेका थिए, ‘हामी आउँछौँ ।’

अहिले आनी नेपालमा ‘सङ्स अफ द हिमालयाज’ कन्सर्ट गर्ने तयारीमा जुटेकी छन् । नेपाल पर्यटन बोर्डमा बुधबार पत्रकार सम्मेलन गर्दै आनीले आउँदो मंसिर ३ गते राष्ट्रिय नाचघरमा शान्तनु, भारतकै शास्त्रीय गायिका कौशिकी चक्रवर्ती, बाँसुरीबादक अश्विन श्रीनिवासन, सितारवादक पूर्वायक चटर्जीलगायत १३ जनाको टोलीसहित कन्सर्ट गर्न लागेको जानकारी दिइन् ।

‘मलाई शान्तनुको यो संगीत एकदमै शान्त र आनन्ददायी लाग्छ । भारतमा कन्सर्ट गरेको हप्तौँपछिसम्म पनि कानमा त्यही संगीत गुन्जिरहयो,’ उनले भनिन्, ‘म पनि हिमाली देशको मान्छे । यो संगीतमा हाम्रो हिमाल महसुस गर्छु । त्यसैले आफ्ना मान्छेलाई पनि यो संगीत सुनाउन खोजेकी हुँ ।’

गत वर्ष शान्तनु काठमाडौं आएकै बेला आनीले उनलाई आफूले संगीतबाट आएको पैसाले जोडेको विद्यालय र अस्पताल देखाएकी थिइन् । उनी प्रभावितसमेत भएका थिए । यस पटक सिंगो भारतीय टोली बिनापारिश्रमिक आउन चाहेको थियो । तर, आनीले सम्मान स्वरूप कन्सर्टको केही रकम भारतीय कलाकारलाई नै जाने र केही रकम चाहिँ आरोग्य प्रतिष्ठानलाई दिने बताइन् । कसन्र्टलाई भने नेपाल पर्यटन बोर्डले सघाउने भएको छ ।

शान्तनु र आनीको मित्रता खासै लामो भने हैन । केही वर्षअघि ओस्कर विजेता भारतीय संगीतकार एआर रहमानको निम्तोमा आनी भारतमा कोक स्टुडियो पुग्दा उनीहरूबीच चिनजान भएको थियो । ‘थ्री इडियट्स’, ‘लगे रहो मुन्ना भाइ’, ‘परिणीता’ जस्ता हिन्दी फिल्मको संगीत मन परे पनि तिनमा शान्तनुले संगीत गरेको भन्ने आनीले त्यहीँ थाहा पाएकी थिइन् । उनले भनिन्, ‘उहाँले पनि मेरा गीतहरू सुन्नुभएको रहेछ । मेरो आत्मकथा ‘फूलको आँखामा’ पढ्नुभएको रहेछ । मलाई एकदमै खुसी लाग्यो ।’ त्यसपछि शान्तनुले आनीलाई भारतमा ‘इन्क टक्स’ जस्ता प्लेटफर्म लगायत थुप्रै आफ्ना गीतमा गाउन बोलाए ।

कन्सर्टमा केही मन्त्र, केही नेपाली र हिन्दी गीत गाइने आनीले बताइन् । ‘अहिले सुन्ने खालका गीतहरू कमै बनेका छन् । आधुनिकीकरण बढेकोले संगीतको मूल्य र महत्त्व घटदै छ । यसलाई पुन:स्थापित गर्नुपर्ने आवश्यकता छ,’ उनले भनिन्, ‘नेपालमा क्वालिटीको संगीतको माहौल दिनु मेरो इच्छा हो । कन्सर्टमा सांगीतिक रूपमा कथा भन्ने कोसिस गरिएको छ । गीतहरूको बीचबीचमा शान्तनुले आफ्नो सयदिने यात्राको पनि सांगीतिक रूपमै जानकारी दिनुहुनेछ । यसले पक्कै श्रोतालाई आनन्द दिनेछ ।’

आफ्नो सर्वाधिक लोकप्रिय ‘फूलको आँखामा...’ हिन्दीमा ट्रान्सलेट गरेर भारतमा समेत लोकप्रिय बनाउने कोसिस गरिरहेको उनले सुनाइन् । उनले भनिन्, ‘यसका लागि शान्तनुले गीतकार गुलजारसँग सम्पर्क बढाइदिइरहनुभएको छ । शान्तनुले नेपाललाई माया गर्नुहुन्छ । दुर्गालाल श्रेष्ठ लिखित नेपाली
गीतमा शान्तनुले संगीत पनि भरिसक्नुभएको छ ।’

कन्सर्टले नेपालको हिमालय र पर्यटनलाई विकास गर्न मद्दत गर्नेमा बोर्डका सीईओ दीपकराज जोशी आशावादी सुनिए ।

प्रकाशित : कार्तिक १६, २०७४ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?