कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फिल्म साउथ एसिया : भारतीय र श्रीलंकाली डकुमेन्ट्री उत्कृष्ट

कान्तिपुर संवाददाता

ललितपुर — फिल्म साउथ एसियाको एघारौं संस्करणमा यसपालि भारतको ‘सोज : अ बालाड अफ मालाडिज’ र श्रीलंकाको ‘डेमन्स इन प्याराडाइज’ ले बेस्ट फिल्मको अवार्ड जिते । दुई/दुई हजार अमेरिकी डलरसहित तिनलाई ‘रामबहादुर ट्रफी’ प्रदान गरियो ।

फिल्म साउथ एसिया : भारतीय र श्रीलंकाली डकुमेन्ट्री उत्कृष्ट

कला र संगीतको डकुमेन्टसनमार्फत कश्मीरको कथा देखाएका फिल्मकर्मी तुषार माधव र सार्वनिक कौरले पत्रकार शशी कुमारका हातबाट पुरस्कार ग्रहण गरे । श्रीलंकाका विजेता फिल्मकर्मी जुड रत्नम फेस्टिभलमा आएका थिएनन् । दुवै फिल्म गृहयुद्धमा आधारित छन् । 

पाटनढोकास्थित यलमाया केन्द्रमा भएको अवार्ड समारोहमा ४५ प्रतिपस्र्धी फिल्ममध्ये पाँच वटालाई ट्रफी र नगद उपहार दिइयो । स्टान्जिन दोर्जाई गाया र क्रिस्टिआन मोर्डेलेटको फिल्म ‘सेफर्डेस अफ द ग्लेसियर्स’ लाई दोस्रो उत्कृष्ट फिल्म मान्दै १ हजार अमेरिकी डलर प्रदान गरियो । ‘तारक मसुद बेस्ट डेब्यु फिल्म’ को ट्रफी भारतकै निहारिका पोप्लीले पाइन् । शास्त्रीय संगीतकारमाथि बनाइएको ‘रसन पिया’ का लागि पोप्लीले १ हजार अमेरिकी डलर जितेकी हुन् ।

‘रसन पिया’ का लागि बेस्ट डेब्यु फिल्मको अवार्ड ग्रहण गर्दै भारतकी निहारिका पोप्ली । साथमा निर्णायकहरू ।

मेघालयको कोइलाखानीमा काम गर्ने नेपाली मजदुरबारे बनाइएको ‘फायरफ्लाइज इन द अबिस’ ले पनि १ हजार अमेरिकी डलरसहित ‘युनिसेफ अवार्ड फर बेस्ट फिल्म अन चिल्ड्रेन इस्युज’ को ट्रफी जित्यो । निर्देशक चन्द्रशेखर रेड्डी अनुपस्थित भएकाले उनको ट्रफी पत्रकार नारायण वाग्लेले लिइदिए । ५ सय अमेरिकी डलरको ‘बेस्ट स्टुडेन्ट फिल्म अवार्ड’ भने म्यान्मारका साई नव खामले पाए । वृद्ध महिलामार्फत स्थानीय जनजीवन देखाइएको ‘थर्टी टु सोल्स’ का लागि उनलाई उत्कृष्ट मानियो ।

समारोहमा अन्य पाँच फिल्मलाई पनि जुरीहरूले उत्कृष्टको सूचीमा राखे । तिनमा ‘इज इट टु मच टु आस्क’, ‘ट्रेम्बलिङ माउन्टेन’, ‘लक एन्ड कि’, ‘प्रिजन सिस्टर्स’ र ‘आस्क द सेक्सपर्ट’ परेका थिए ।

‘फिल्म बनाउनुभन्दा उत्कृष्ट फिल्म छान्नु गाह्रो काम रहेछ,’ जुरी संयोजक पत्रकार कुन्द दीक्षितले भने, ‘फिल्मको दृष्टिकोण, त्यसले दिने सन्देश, प्राविधिक पक्ष आदिका आधारमा बेस्ट फिल्म छानेका हौं ।’ दीक्षितसँगै पाकिस्तानी फिल्ममेकर फरजाद नवी र भारतीय पत्रकार राजश्रीदास गुप्ता जुरी थिए ।
शुक्रबार सुरु भएको डकुमेन्ट्री फेस्टिभलमा दक्षिण एसियाली विषयवस्तु समेटिएका ६३ फिल्म प्रदर्शन गरिए । अन्तिम दिन आइतबार भने ‘हस्पिटल’, ‘द रनिङ हकर’, ‘रोशी’, ‘द वर्कर्स कप’, ‘अफगानिस्तान नाइट स्टोरिज’, ‘कलर अफ माई होम’ गरी १४ डकुमन्ट्री देखाइए । आईएसआईएस समर्थक एवं तालिवानी पक्षधर अब्दुल अजिज गाजी र उनको इस्लाम आदर्श समेटिएको ‘एमोङ द बिलिभर्स’ लाई क्लोजिङ फिल्मका रूपमा प्रदर्शन गरिएको थियो ।

‘चार दिन रमाइलो भयो’, फेस्टिभल निर्देशक मीतु वर्माले भनिन्, ‘अघिल्लो पटक फेस्टिभल आयोजना गर्दा नेपाल अप्ठ्यारोमा थियो, यहाँ नाकाबन्दी थियो । तर, यसपटक यहाँको अवस्था सहज भए पनि समग्र दक्षिण एसियाको हालत खराब नै छ । यस्तो परिस्थितिमा पनि फिल्ममेकरहरू डटेर लागेका छन् । तिनलाई धन्यवाद ।’ डकुमेन्ट्री बनाउनु चुनौतीपूर्ण काम भएको र चुनौती मोलेरै भए पनि फिल्म बनाइदिएकामा उनी आभारी थिइन् । 

फेस्टिभलका प्रमुख अतिथि भारतीय पत्रकार शशी कुमारले चाहिँ काठमाडौंलाई दक्षिण एसियाकै सांस्कृतिक राजधानी भने । विभिन्न मुलुकमा प्रतिबन्धित फिल्म यहाँ सहजै देखाएको सन्दर्भ जोडदै उनले फिल्म साउथ एसिया नेपालको अन्तर्राष्ट्रिय महोत्सव भएको बताए । ‘हामी सबैका साझा सरोकार र आकांक्षाहरू यहाँ प्रस्तुत भए,’ उनले भने, ‘काठमाडौं साउथ एसियाको कल्चरल क्यापिटल बनेको छ ।’

 

प्रकाशित : कार्तिक २१, २०७४ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?