कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इशर अब्बल

राष्ट्रिय बाल नाटक महोत्सवमा
कान्तिपुर संवाददाता

काठमाडौं — राजधानीमा सम्पन्न तीनदिने राष्ट्रिय एकल बाल नाटक महोत्सवमा ललितपुरको ब्राइटफ्युचर उच्च माविका लक्ष्मण इशर उत्कृष्ट भएका छन् ।

कलाकारद्वय हरिहर शर्मा र देशभक्त खनालले महोत्सवमा मञ्चन भएका ३२ वटा नाटकमध्ये इशरको ‘काग र कमिला’ नाटकलाई उत्कृष्ट ठहर्‍याएको हो । महोत्सव समापनको क्रममा बुधबार राजधानीमा इशरलाई शर्माले पाँच हजार रुपैयाँको पुरस्कार र सम्मानपत्र प्रदान गरे ।

पुस्तकमा पढदै आएको ‘काग र कमिला’ लोककथामाथि इशरले महोत्सवको पहिलो दिन नाटक मञ्चन गरेका थिए । ६ मिनेटको छोटो नाटकमा काग, कमिला, कथा भन्ने बूढामान्छे र सिकारी गरी चार पात्रको भूमिका उनी आफंैले निभाएका थिए । हास्य शैलीमा प्रस्तुत भएका उनले दर्शकलाई पेट मिचिमिची हँसाएका थिए । त्यस्तै महोत्सवमा ललितपुरकै युनाइटेड स्कुलकी युविका खडका द्वितीय भइन् । उनले ‘सि.नं ०३१३६०५ र क्यानभास’ नाटक देखाएकी थिइन् । नाटकले छोराछोरीको इच्छाअनुसारको पेसा अँगाल्न दिनुपर्नेमा जोड दिएको थियो । उनलाई चार हजार रुपैयाँ र सम्मानपत्र दिइयो ।

महोत्सवमा ललितपुरकै सुदेसा स्कुलका रोहन तामाङ तृतीय भए । उनले ‘तातो’ शीर्षकको नाटक देखाएका थिए । उनलाई तीन हजार रुपैयाँ हस्तान्तरण गरियो । पोखराको सैनिक आवासीय महाविद्यालयका दिलीप पौडेल चौथो भए भने काठमाडौंको पायोनियर स्कुलकी सुशीला बुढाथोकी पाँचौं भइन् । उनीहरूले क्रमश: ‘वैदेशिक रोजगार’ र ‘सुशीला व्हेर इज योर होमवर्क ?’ नाटक प्रस्तुत गरेका थिए । दुवैले एक हजार रुपैयाँ पाए । समापन समारोहमा बोल्ने क्रममा वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लले १९९० देखि २०१० को बीचमा थुप्रै बाल नाटक भएका र त्यसपछि भने कमी आएको सुनाए । बाल नाटक लेखनमा समेत कमी आएको बताउँदै उनले भने, ‘बालकृष्ण समले लेखेको जस्तो नाटक बालबालिकाले हत्तपत्त गर्न सक्दैनन् । बालबालिकाले नाटक गर्न उनीहरूकै मनोविज्ञान सुहाँउदो नाटक लेखिनुपर्छ।बालबालिकाको लागि लेख्ने मानिसको कमी भयो । यसलाई बढाउन सके राम्रो हुन्छ ।’

प्रकाशित : कार्तिक २३, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?