कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘संगीतको स्तर घट्नुमा मिडियाको बढी हात’

कान्तिपुर संवाददाता

काठमाडौं — सिर्जना र साधनाका अन्य क्षेत्रमा जस्तै संगीतमा पनि करिअर बनाउन खोज्नेहरू केही वर्षयता राम्रै किसिमले बढेका छन् । यो यथार्थले गायनगुरु चण्डीप्रसाद काफ्लेलाई पनि हर्षित बनाउने गरेको छ ।

 ‘संगीतको स्तर घट्नुमा मिडियाको बढी हात’

‘संगीत सिकाइप्रति यस्तो लगाव पहिले देखिएको थिएन,’ उनले सुनाए, ‘यसले संगीतको बजार विस्तारमा निकै टेवा दिएको छ ।’

डेढ दशकदेखि गायनज्ञान बाँड्दै आएका काफ्लेका लागि संगीतका जिज्ञासुहरू बढ्नु लाभदायकै कुरो हो । तर, यो कुनै थुम्काको एउटा पाटो मात्रै हो । उनलाई यस्तै लाग्छ ।

‘सिक्नेहरू बढेका छन्, राम्रो हो, तर अहिलेका युवायुवती सिक्छन् मात्रै, साधना गर्दैनन्,’ उनलाई दु:ख यसैमा छ, ‘सिक्ने, सुन्ने र साधना गर्ने– यी तीन चरणलाई अनुशासित रूपमा पालना नगरी संगीतमा स्थापित हुने गरी अघि बढ्न सकिन्न ।’

काफ्लेको बुझाइमा, पहिलेका गायक/संगीतकारहरू साधनाको अवस्थामा धेरै बसेका थिए । उनीहरू निखारिएका थिए । ‘त्यही भएर उनीहरू दिलले गाउन सक्थे र ती गीतले श्रोतालाई भित्रैसम्म छुन्थे,’ हालैको भेटमा उनले सुनाए, ‘ती गीत हामीलाई अहिलेसम्म मन पर्नुको एउटा कारण यो पनि हो । अहिलेका अधिकांश गायकगायिका दिलले होइन, दिमागले गाउँछन् र त्यस्ता गीत श्रोताको दिमागबाट पनि तत्कालै फुर्र उडेर गइहाल्छन्, दिलमा बस्दैनन् ।’

अहिलेका गायकगायिका खाली बजारको पछि कुद्ने गर्नाले, धेरै कुरा भएर पनि केही नभए जस्तो भइरहेको हो भन्ने उनी ठान्छन् । ‘सबैलाई स्टेज तताउने गीत चाहिएको छ,’ शिव परियार, राज सिग्देलजस्ता गायकका गुरु गुनासिए, ‘ठीक छ, स्टेज तताउने गीत गाऊ, बजारको पछि लाग, पैसा कमाऊ, तर स्तर पनि मेन्टेन गर । बजारिया शब्द भएका चारवटा गीत गाउँछौ भने, कम्तीमा एउटा त स्तरीय कालजयी हुने सम्भावनाको, साहित्यिक हिसाबको गीत गाइदेऊ ।’

धेरैजसो गायकगायिका प्रचारमुखी भइदिनाले, संगीतका जिज्ञासु बढे पनि स्तर खस्किँदै गएको उनको ठम्याइ छ । ‘त्यसमा मिडियाले आगोमा घ्यूको काम गरिरहेको छ,’ उनले हाकाहाकी भने, ‘संगीतको प्रचारप्रसार गर्ने जिम्मामा बसेका रेडियो र टीभीका मिडियाकर्मीहरूले क्षणिक स्वार्थका कारण जस्तो पायो त्यस्तो गीत बजाइदिने गर्नाले संगीतको स्तर यस्तो दु:खलाग्दो गरी घटेको हो । श्रोताहरूको संगीत बुझ्ने क्षमतामा ह्रास आएको हो ।’

मिडियाकर्मीले विवेक पुर्‍याइदिने हो भने जस्तो पायो त्यस्तो गीत बज्न कम हुने, गायकगायिकाले जिम्मेवारीबोध गर्दै जाने र श्रोताको रुचि पनि बढ्ने उल्लेख गर्दै उनले थपे, ‘पहिलेका श्रोताहरू पनि स्तरीय थिए । उनीहरूको रुचि परिष्कृत थियो । तिनलाई त्यस्तो बनाएका रेडियो/ टीभीले नै हुन् ।

अहिले त जस्तो गीत पनि बज्ने भएकाले न गीतकारलाई गीत लेख्न धक लाग्छ, न त गाउनेलाई । गीतको स्तर मापनको कुनै निकाय नहुने भएकाले मिडियाकर्मीहरू विवेकी भइदिनैपर्छ । यसो हुन सके नेपाली संगीतको धेरै कल्याण हुने थियो ।’

प्रकाशित : कार्तिक २३, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?