मोस्ट हेटेड सेलेब्रिटी

कान्तिपुर संवाददाता

काठमाडौं — इन्टरनेट मुभी डेटाबेस (आईएमडीबी) ले केही समयअघि एउटा सूची निकालेको थियो । त्यसमा सर्वाधिक घृणा गरिएका ५४ सेलेब्रिटीका नाम क्रमैसँग उल्लेख गरिएका थिए । पहिलो नम्बरमा गायक जस्टिन बिबर, दोस्रोमा कान्य वेस्ट, तेस्रोमा मोडल किम कार्दसियन, चौथोमा अभिनेता सिया लाबुफ र पाँचौंमा अमेरिकन आइडलका जज साइमन कोवेल परेका थिए ।


त्यही सूचीमा माइली साइरस, क्रिस ब्राउन, क्रिस्टिन स्टेवार्ट, लिन्ड्से लोहान, क्रिस जेनर, रोबर्ट प्याटिसन, टेलर स्विफ्ट, जेडन स्मिथ र जुलिया रोबर्ट टप २० भित्र देखिए । ‘माइलीले नानाभाँती व्यहोरा देखाउन थालेपछि उनीप्रति वैरभाव राख्नेहरू जन्मिएका हुन्,’ आईएमडीबीले लेखेको छ, ‘क्रिस त वुमेन बिटर भइहाले ।’ 


रिहानासँगको सम्बन्धपछि क्रिस कुख्यात बनेका थिए ।
ड्रंक एन्ड ड्राइभ, सप लिफटिङ (पसलको सामान चोर्नु) र ड्रग्सको केसमा जेलसमेत परेपछि लिन्ड्सेले आफ्ना प्रशंसक गुमाएकी थिइन् । अभिनेता विल स्मिथका पुत्र जेडन आफ्नै गतिविधिले घृणाको पात्र बने । उनका ट्वीटहरू निकै विवादास्पद हुने गरेका छन् । ‘ऊ बाबुजत्तिको स्मार्ट रहेनछ,’ आईएमडीबीले लेखेको छ, ‘यो बच्चालाई के भएको होला ?’ 


फिफ्टी फोर लिस्टमा पप क्विन म्याडोना २९ औं नम्बरमा परेकी छन् भने लेडी गागा ३२ औं स्थानमा । ‘मोस्ट हेटेड सेलेब्रिटज अफ अल टाइम’ को सूचीमा एन्जेलिना जोलीको नाम ३५ औं नम्बरमा देखिँदा गायक जोन मेयर ४० औं स्थानमा थिए । अभिनेत्री निकोल किडम्यान ४६ औं, जेनिफर एनिस्टोन ५१ औं र अनिभेता एस्टन कुचेर ५४ औं नम्बरमा परेको पाइयो । कार्दसियन परिवारका किम, ख्लोई, रब र कर्टी गरी चार सदस्य हेटेस्टको सूचीमा देखिए । 


द टप टेन डटकमले पनि ‘सर्वाधिक घृणा गरिएका सेलेब्रिटी’ को तालिका निकालेको छ । त्यसमा जस्टिन नै एक नम्बरमा छन् । त्यसले लेखेको छ, ‘गाँजा खाने, छिमेकीलाई दु:ख दिने, कम उमेरमै मद्यपान गर्ने बानीले जस्टिनको छवि बिगारेको छ ।’ किम र कान्य दम्पतीलाई मन नपराउनेहरू थुप्रै छन् । यसको सूचीमा पेरिस हिल्टन, निकी मिनाज, रेबेका ब्ल्याक र ग्वेनेथ पाल्ट्रो परेका छन् ।
‘शाकाहारी अभियान चलाएकी किम आफैं मासु खाइरहेकी भेटिइन्,’ वेबसाइटमा लेखिएको छ, ‘यो त शाकाहारी समुदायमाथि छुरा प्रहार गरेजस्तो भएन र ?’

 

प्रकाशित : कार्तिक २८, २०७४ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्

तिब्बतको भर्चुअल यात्रा

सुनीता साखकर्मी

काठमाडौं — तिब्बतको मानसरोवर अर्थात् माउन्ट कैलाश । यो कैलाशको दर्शन गर्नाले मृत्युपछि स्वर्गमा बास हुन्छ भन्ने मान्यता अझै पाइन्छ । यसैले बर्सेनि हजारौंको संख्यामा नेपालबाट हिन्दु तथा बौद्ध धर्मावलम्बीहरू मानसरोवर पुग्ने गरेका छन् ।

चिनियाँ सरकारी समाचार संस्था सिन्हवाको काठमाडौं ब्युरो र चाइना मोबाइल तिब्बत कम्पनीले शुक्रबारदेखि लाजिम्पाटस्थित होटल सांग्रिलामा गरेको ‘इन्टरनेसनल डिजिटल आर्ट प्रदर्शनी’ मा मानसरोवरलाई डिजिटल माध्यमबाट देखाइएको थियो । सोमबार सकिएको प्रदर्शनीमा भीआर (भर्चुअल) हेडसेट लगाएर तिब्बतको रोडमा आफैंले साइकल चलाएको र हवाईजहाजमा उडेको अनुभूति गर्न सकिन्थ्यो । आइतबार बिहानै प्रदर्शनीमा पुगेका चित्रकार दम्पत्ती सौरगंगा दर्शनधारी र पृथ्वी श्रेष्ठलाई भीआर हेडसेट (भर्चुअल रियालिटी) लगाएर हेर्दा तिब्बतै पुगेको अनुभूति भएको सुनाए । ‘कहिल्यै नदेखेको र नपुगेको ठाउँ पनि देखियो,’ भीआरबाट हेरिसकेपछि सौरगंगाले भनिन्, ‘त्यहीँ पुगेर आएजस्तो भयो ।’

यी दुवैजना चित्रकार हुन् । सौरगंगा ललितकला र सृजना कलेज अफ फाइन आर्टमा पनि पढाउँछिन् । समाज र संस्कृतिलाई आफ्नो पेन्टिङमा उतार्न चाहने सौरगंगा र पृथ्वी नयाँ कन्सेप्टहरूको खोजीमा प्रदर्शनी आएका थिए । भर्चुअल आर्ट हेरेपछि यी दुई यति प्रभावित भए कि वर्षको एकपटक ट्रेकिङ जाने गरेका उनीहरूले अबको डेस्टिनेसन मानसरोवरै बनाउने अठोट गरे ।

नेपालको पर्यटन प्रवर्धनमा यस्ता टेक्नोलजीले महत्त्वपूर्ण भूमिका खेल्ने पृथ्वीको भनाइ थियो । ‘हामीलाई त्यहाँको फोटो र भिडियो हेरेर त्यहाँ नै जाने सोच आयो,’ उनले भने, ‘विदेशीहरूलाई पनि यसरी नै नेपालको बारेमा देखाउन सके नेपालको पर्यटन केही बढ्थ्यो । हाम्रो प्रकृति अझै पर्याप्त रूपमा फोटोबाट देखाउन सकेका छैनौं ।’ 

चीनका डिजिटल प्रविधिका विज्ञ थोङ ट्रुट छयाले चाहिँ यस्तै प्रदर्शनी थाइल्यान्ड र रूसमा पनि सम्पन्न भइसकेको जनाए । भीआर हेडसेटबाट मानसरोवर, न्याङची, नाग्रीलगायतका सुन्दर थलो देख्न सकिने उनले बताए भने प्रदर्शित फोटोहरूमा तिब्बतको सांस्कृतिक सम्पदा, हिमाल, पहाड, तालतलैया, बाटोघाटो, प्रकृति देख्न सकिने उनले सुनाए । प्रदर्शनीमा राखिएका तस्बिरहरूमा सम्बन्धित फोटोग्राफरहरूको नाम भने उल्लेख थिएन । भीआर सिर्जनामा पनि स्रष्टाको नाम उल्लेख थिएन । 

डिल्लीबजारका अविरल आर्ट गु्रपका किशोर डंगोल पनि आइतबार बिहानै प्रदर्शनीमा पुगेका थिए । उनले चाहिँ आशा गरेअनुरूप फोटाहरू नपाएको टिप्पणी गरे । ‘म खासमा फोटाहरू हेर्न आएको थिएँ । फोटोमा कस्तो डिजिटल प्रविधि युज भएको छ भन्नेमा जिज्ञासु थिएँ,’ उनले भने, ‘डिजिटल क्यामेराबाटै खिचिएका डिजिटल फोटाहरू नै हुन् यी, तर सिम्पल रहेछन् । अघिपछि प्रदर्शनीमा हेरेजस्तै ।’ तर पहिलोपटक भीआर हेडसेट लगाएर तिब्बत हेर्दा भने निकै रमाइलो अनुभूति भएको उनले बताए । ‘यो प्रविधिमा भएको रिभोलुसन नै हो,’ उनले भने । ‘आजकल कार्यक्रम, नाटक, फिल्ममा पनि डिजिटल प्रविधि प्रयोगमा आइसकेको छ’, नाट्यकर्मीसमेत रहेका उनले भने, ‘यो देखेपछि पनि नाटकलाई पनि नयाँ विचार आउने रहेछ ।’ 

प्रकाशित : कार्तिक २८, २०७४ ०८:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्