अक्षयको फ्ल्याट सोख

कान्तिपुर संवाददाता

काठमाडौं — बलिउड स्टार अक्षय कुमार अचल सम्पत्तिमा लगानी गर्न कत्ति पनि हिचकिचाउँदैनन् । मुम्बईको जुहु इलाकामा रहेको ड्युप्लेक्स अपार्टमेन्टमा बसिरहेका उनले मुम्बईमै अरू चार फ्ल्याट किनेका छन् । करौडौं मूल्यका त्यत्तिका फ्ल्याट किनेको देखेर मान्छेहरू छक्क पर्नु स्वाभाविक नै हो ।

अक्षयले अँधेरी वेस्टमा रहेको अपार्टमेन्टका २१ र ३८ औं तलामा चार कोठे फ्ल्याट लिएका छन् । त्यसको मूल्य साढे चार करोड भारु रहेको बताइएको छ । भारतीय मिडियाका अनुसार ३८ औं तलाको फ्ल्याट निकै लक्जरियस छ । त्यसमा स्विमिङ पुल, जगिङ ट्रेक, बार्बिक्यु कर्नर, फिटनेस सेन्टर, किड्स जोन उपलब्ध छन् ।

अक्षयले यसअघि पनि विभिन्न ठाउँमा घर–जग्गा किनेका समाचार प्रकाशित भएका थिए । उनको एकुन्टा फ्ल्याट लोखन्डवाला र बान्द्रामा पनि छन् । केहीअघि उनले गोवाको अन्जुनामा सानदार बंगला किनेका थिए । उनी विश्वका सबैभन्दा बढी पारिश्रमिक लिने स्टारमध्येका एक हुन् । उनी एक फिल्म खेलेबापत् करिब ४५ करोड भारु लिन्छन् ।

फोर्ब्सले सन् २०१७ मा निकालेको ‘हाइएस्ट पेड एक्टर्स’ को टप २० को सूचीमा अक्षयको नाम दसौं नम्बरमा थियो । उनले यो वर्ष ३.५५ करोड डलर कमाइ गरिसकेका छन् । अक्षयको आगामी फिल्म ‘२.०’ हो जसमा उनी रजनीकान्तसँग देखिँदै छन् ।

प्रकाशित : कार्तिक २९, २०७४ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्

‘विदेशीकी स्वास्नी’ हेर्न घुइँचो

फिल्म
कान्तिपुर संवाददाता

भोजपुर — सामाजिक घटनामा आधारित फिल्म ‘विदेशीकी स्वास्नी’ लाई यहाँका दर्शकले रुचाएका छन् । हाल भइरहेको च्यारिटी सोहरूमा दर्शकको घुइँचो लोभलाग्दो छ ।

१ घण्टा ३६ मिनेट लामो फिल्ममा विदेशीकी श्रीमतीलाई नेपाली समाजले हेर्ने दृष्टिकोण, सोचाइ र त्यसको वास्तविकतालाई उतार्न खोजिएको छ । फिल्मले ‘दु:खले सुख निम्ताउँछ र सुखले काल’ भन्ने लोकोक्तिको परिधिभित्र रहेर समाजका विकृति विसंगतिसमेत उजागर गरेको छ । 

‘समाजमा भैरहने, दोहोरिरहने घटनाहरूलाई उतारिएको रहेछ । सन्देशमूलक लाग्यो,’ घोडेटारमा भएको सो हेरिसकेपछि स्थानीय जनक कार्कीले प्रतिक्रिया दिए । फिल्मबाट आशा गरेभन्दा बढी नै दर्शकको साथ र माया पाएको निर्देशक विनोद प्रधानले दाबी गरे । 

असोज १९ देखि च्यारिटी यात्रा थालेको फिल्म सदरमुकामदेखि जिल्लाका टक्सार, सिद्धेश्वर, गुप्तेश्वर, दावा, अन्नपूर्ण, च्याग्रे, घोडेटार, ओख्रे, दिङ्लालगायतका थलोमो प्रदर्शन भएको थियो । अन्य स्थानमा प्रदर्शन जारी रहेको र दिङ्ला र टक्सारमा प्रदर्शनका लागि फेरि माग भएको निर्देशक प्रधानले जनाए । 

एसएनयू प्रोडक्सन हाउसको ब्यानरमा भोजपुर चलचित्रकर्मी संघले निर्माण गरेको फिल्मको पहिलो सो सामुदायिक भवनमा भएको थियो । फिल्मको कथा, पटकथा र संवाद विरोध बस्नेतले लेखेका हुन् । छायांकन निर्देशक प्रधान र पारसमणि राईले गरेका हुन् । 

प्रकाशित : कार्तिक २९, २०७४ ०९:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT