कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकादेशमा अनेक कथा

काठमाडौं — एकादेशमा इन्टरनेसनल सर्ट फिल्म फेस्टिभलको पहिलो दिन झन्डै ४० वटा कथा पर्दामा देखाइए । कमलपोखरीस्थित कुमारी हलमा चलिरहेको फेस्टिभलमा शुक्रबार ‘लेट देयर बी लाइट’ विधाअन्तर्गतका चार फिल्मबाट प्रदर्शन थालिएको थियो । तिनमा नेपाल, सर्बिया, नर्बे र इरानमा बनेका फिल्म देखाइए ।

एकादेशमा अनेक कथा

हल एकमा सारा तामाङको निर्देशन रहेको ‘द कलर्स अफ लाइफ’, मतिजा ग्लुस्केभियाको ‘लुप’, सेबास्टियन वार्टिन्कको ‘एम्बुलेन्स’ र अमीर मसौदको ‘स्क्रिमर’ चलिरहँदा दोस्रो हलमा ‘मेड इन बंगलादेश एभ्रिडे स्ट्रगल्स’ शृंखलाका तीन फिल्म देखाइए । अघिल्लो महोत्सवमा भुटानी फिल्मलाई प्राथमिकता दिइएकोमा यसपटक बंगलादेशका फिल्ममाथि बहस चलाउन खोजेको आयोजकको भनाइ छ ।

‘फयुचर अफ सिनेमा स्टल १ र २’, ‘पावर : फ्री पिरिटी र स्ट्ेरन्थ’, ‘चेन्जिङ प्रस्पेक्टिभ’ र ‘मेड इन बंगलादेश एभ्रिडे डेस्टिनेसन’ सेसनमा फिल्महरू प्रदर्शन गरिएका थिए । महिलाका मुद्दा उजागर गर्ने उद्देश्यले ‘पावर’ विधामा महिला विषयक फिल्म समेटिएको आयोजकमध्येका अविनाशविक्रम शाहले बताए । ‘फिल्ममा महिलाबारे प्यानल डिस्कसन नै छ,’ उनले भने, ‘त्यसमा मनीषा कोइराल, रम्यता लिम्बू, सुविना श्रेष्ठ र मेनुका राई बोल्नुहुनेछ ।’

शुक्रबार आफ्नो फिल्म ‘रोएर होइन हाँसेर’ प्रदर्शनपश्चात निर्देशक सुजाता ढुंगाना निकै उत्साहित देखिन्थिन् । फिल्ममा उनले दसवर्षे सशस्त्र द्वन्द्वमा महिलाले भोगेको पीडा देखाउन खोजेकी छन् । ‘द्वन्द्वका थुप्रै कथाहरू सुन्नमा आए,’ उनले भनिन्, ‘तर, त्यो द्वन्द्वमा नेपाली महिलाले के भागे ? बेपत्ता पारिएकाको आफन्तको अवस्था कस्तो छ भन्ने कौतूहलता थियो । यही कुरा देखाउन चाहेकी हुँ ।’

चेन्जिङ प्रस्पेक्टिभ विधाअन्तर्गतको ‘लछमनीया’, ‘अ म्यान रिटन्र्ड’, ‘द साइलेन्स अफ द डग्स’ र ‘इन अ नटसेल’ मा दर्शकको राम्रै उपस्थिति थियो । ‘थिएटर्स अफ रियालिटी’, ‘लेज्ला’, ‘गिभ अप द घोस्ट’ जस्ता फिल्मपछि ‘स्केट नेपाल’, ‘टेस्ट अफ लभ’, ‘वाइल्ड स्किन’ जस्ता फिल्म देखाइए । महोत्सवको पहिलो प्यानल डिस्कसनमा ‘ओपनिङ डोर्स’ शीर्षकमा सोफी बौर्डन र पाउलो बेर्तोलिनले कुरा राखे । 

शनिबारको तालिकामा फिनल्यान्ड, स्पेन, फ्रान्स, इटालीलगायतका सर्ट फिल्महरू देखाइँदै छन् । आफ्नै सन्तानबाट तिरस्कृत एक आमाको कथा ‘मदर’ मा हेर्न पाइनेछ भने म्यान्मारमा बनेको ‘द रोब’ ले युवा भिक्षुको जीवन संघर्ष देखाउनेछ । आफूलाई बलात्कार गर्नेसँग विवाह गर्न विद्रोह गर्ने फ्रान्काको कथा ‘भायला, फ्रान्का’ फिल्ममा समाविष्ट छ । फेस्टिभलमा ४३ देशका ९९ फिल्म प्रदर्शन भइरहेका छन् ।

 

प्रकाशित : मंसिर २, २०७४ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?