कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पशुपतिप्रसाद, कालोपोथी र कबड्डीलाई क्रिटिक्स अवार्ड

काठमाडौं — केही दिनअघि घोषणा भएको फिल्म क्रिटिक्स अवार्डका विजेतालाई बुधबार मेडल र प्रमाणपत्र प्रदान गरियो । चलचित्र समीक्षक समाज (फिक्सन) ले पछिल्ला तीन वर्षको अवार्ड एकैचोटि दिएको थियो ।

पशुपतिप्रसाद, कालोपोथी र कबड्डीलाई क्रिटिक्स अवार्ड

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा विसं २०७३ को उत्कृष्ट फिल्मको अवार्ड ‘कालोपोथी’ ले पायो । यही फिल्मबाट मीनबहादुर भाम र अविनाश विक्रम शाहले उत्कृष्ट पटकथा र अजिज जम्भाकिभले छायाँकन विधामा मेडल जिते । 

‘सेतो सूर्य’ का लागि दीपक रौनियारले निर्देशक, ‘जात्रा’ का लागि विपिन कार्की र ‘पुरानो डुंगा’ का माओत्से गुरुङ उत्कृष्ट अभिनेता ठहरिए । केकी अधिकारीलाई ‘लभ सासा’ ले उत्कृष्ट अभिनेत्री बनाइदियो ।

२०७२ मा ‘पुशपतिप्रसाद’ उत्कृष्ट फिल्म घोषित हुँदा निर्देशक दीपेन्द्र के खनालको निर्देशन र खगेन्द्र लामिछानेको पटकथा पनि बेस्ट मानियो । अभिनयतर्फ ‘फन्को’ का लागि सौगात मल्ल र ‘कबड्डी कबड्डी’ का लागि रिस्मा गुरुङले मेडल पाए । 

सम्पादनमा ‘क्लासिक’ का सुरेन्द्र पौडेल पुरस्कारको हकदार बनिरहँदा ‘कबड्डी कबड्डी’ बाट शैलेन्द्र डी कार्की उत्कृष्ट छायाँकार बन्न सफल भए ।  
२०७१ सालमा प्रर्दशन भएका फिल्ममध्ये ‘कबड्डी’ लाई समीक्षकले बेस्ट मानेको पाइयो । यही फिल्मबाट रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले पटकथा विधामा बाजी मारे । 

निश्चल बस्नेतलाई ‘टलकजंग भर्सेज टुल्के’ ले उत्कृष्ट निर्देशकको मेडल दिलाउँदा दयाहाङ राई र प्रियंका कार्कीले क्रमश: ‘कबड्डी’ र ‘सुन्तली’ मा गरेको काम उत्कृष्ट मानियो । 

‘तान्डव’ का लागि बनिस शाह र मिलन श्रेष्ठले सम्पादन तथा ‘सुन्तली’ बाट ओन्ड्रा बेलिकाले पुरस्कार पाए ।

२०७१ का विजेतालाई फिल्म निर्देशक यादव खरेल, २०७२ कालाई चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी र २०७३ का विजेतालाई वरिष्ठ अभिनेत्री भुवन चन्दले पुरस्कार हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा निर्देशक खरेलले फिल्म समीक्षकबाट पुरस्कृत हुँदा कलाकर्मीलाई ऊर्जा मिल्ने बताएका थिए । 

‘कतिपय पुरस्कार कोटा छुट्याएर होलसेलमा बाँड्न थालिएका छन्’, उनले भने, ‘विषय बुझेकाहरूले फिल्मका मूल विधामा अवार्ड दिएर मर्यादित काम गरेका छन् ।’

खरेलले राष्ट्रिय चलचित्र नीति कार्यान्वयन हुन नसेको प्रति पनि कार्यक्रममा ध्यानाकर्षण गराए । उनले हामीकहाँ फिल्म समीक्षाभन्दा रिपोर्टिङ बढी भइरहेको पनि बताउन भ्याए । 

अवार्ड आयोजक फिक्सनका अध्यक्ष यज्ञशले नेपाली फिल्मको आफ्नै भाषा हुनुपर्नेमा जोड दिए । ‘साहित्यमा हिन्दी भाषा प्रयोग हुँदा हामी विरोध गर्छौं’, उनले भने, ‘तर, नेपाली फिल्मको भाषा हिन्दी हुँदा त्यसलाई स्विकारी रहेका छौं ।’

यज्ञशले क्रिटिक्स अवार्डमार्फत् समीक्षकको मत जाहेर गर्न खोजेको बताए । अनुप सुवेदीको नेतृत्वमा फिक्सनका सबै सदस्य अवार्डका जुरी रहेको पनि उनले अवगत गराए । 

‘हामीले कलात्कताको हिसाबमा मौलिकता अँगालेका फिल्मलाई पुरस्कृत गर्न खोजेको छौं’, उनले भने, ‘यी फिल्मको कलालाई प्रशंसा गरेको कुरा इतिहासमा फर्केर हेर्दा थाहा पाइयोस् भन्ने अपेक्षा हो ।’

प्रकाशित : मंसिर ६, २०७४ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?