कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कबवेबको २५ वर्ष

सजना बराल

काठमाडौं — आउँदो शनिबार नक्सालस्थित टंगालवुड प्रांगणमा ‘कबवेब’ ब्यान्ड प्रस्तुत हुँदै छ । त्यो अलि विशेष प्रस्तुति हुनेछ किनभने ब्यान्डले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सव मनाउन लागेको हो । त्यसका लागि ब्यान्डका पूर्वसदस्य र अन्य म्युजिसियनले कबवेबलाई सघाउँदै छन् ।

कबवेबको २५ वर्ष

आफ्ना अग्रज, समकालीन र नयाँ संगीतकर्मीलाई समारोहको निम्तो दिन ब्यान्ड अहिले व्यस्त छ । 

यति लामो यात्रा तय गरेपछिको उत्सव मनाउन ब्यान्ड तम्तयार हुनु स्वाभाविक भैगो । तर, मान्छेले कहिलेकाहीँ आफ्नै जन्मदिन भुलेझैं ब्यान्डले पनि वार्षिकोत्सवबारे बिर्सिएको रहेछ । ‘२५ वर्ष पुग्यो भनेर यादै थिएन,’ संस्थापक सदस्य एवं भोकलिस्ट दिभेस मुल्मी भन्छन्, ‘टुर र नयाँ गीतहरूको काममा व्यस्त थियौं । काल्म रेस्टुरेन्टले एनिभर्सरी मनाउने कुरा गरेपछि पो सिल्भर जुबली याद आयो ।’ 
समारोहमा ब्यान्डले ‘अल टाइम हिट्स’ देखि नयाँ कम्पोजिसनहरू सुनाउनेछ । उसलाई पूर्वसदस्यद्वय महेश नकर्मी र पवन शाक्यसँगै ‘नाइट’ ब्यान्डका सुधीर आचार्य, गायिका अनु शाक्य र रचना दाहालले साथ दिनेछन् । ‘द एक्ट’ ब्यान्डले कार्यक्रमको उद्घाटन गर्ने टुंगो भएको छ । ‘चालै नपाई २५ वर्ष बित्यो,’ ड्रमर सिद्धार्थ धख्व भन्छन्, ‘यो अवधिमा सुखदु:ख दुवै भोग्यौं । 
धेरै ठाउँ पुग्यौं, धेरै कार्यक्रम गर्‍यौं ।’
नेपाली रक संगीतमा कबवेब दिग्गज ब्यान्ड हो । यसलाई सुनेर थुप्रै नयाँ ब्यान्ड जन्मिए, हुर्किए, केही बिलाए र केही चलिरहेकै होलान् । कबवेबको यात्रा सधंै समान गतिमा रहयो । सधंै रोमाञ्जक बन्यो । ‘खासै धेरै बाधाहरू आएनन्,’ दिभेस भन्छन्, ‘फर्केर हेर्दा हामीले सधंै रमाइलो गरेको मात्रै याद आउँछ ।’
तर, द्वन्द्वकालमा कार्यक्रमहरू गर्न नपाउँदा अलि गाह्रो भएको ड्रमर सिद्धार्थको अनुभव छ । 
सन् १९९३ को पहिलो एल्बम ‘अञ्जान’ देखि २०१६ को ‘अस्तित्व’ सम्म आइपुग्दा ब्यान्डले करिब सयवटा मौलिक गीत निकालेको छ । आठवटा एल्बमका अधिकांश गीत रुचाइएका छन् । कहिले सेमी रक, कहिले रेगे त कहिले अल्टरनेटिभ मोर्डन वा प्रोग्रेसिभ रकमा खेल्ने ब्यान्डका अनेक प्रयोग श्रोताले ग्रहण गरिदिएका छन् । महत्त्वपूर्ण कुराचाहिँ नेपाली संगीतमा रक विधाको जग बसाल्नेमध्ये कबवेब एक हो भनेर सबैले स्विकारेका छन् । 
कुरा कस्तो पनि छ भने, ब्यान्डलाई उसको पहिलो एल्बमले खासै चिनाएन । बरु, आलोचना थपिदियो । ‘कपाल पालेको छ, मुन्द्रा लगाएको छ, के गरेको यो ?’ यस्ता प्रश्न झेल्नेमा ब्यान्डका सुरुवाती सदस्य उर्दीप जोशी, दिभेस, महेश, पवन, राजेन्द्र, सुबोधलगायत थिए । त्यो बेलाका टिनएज्ड केटाहरूसँग यसको जवाफ थिएन । ‘यस्तो यस्तो प्रश्न आउँथ्यो जसको उत्तरै हुँदैनथ्यो,’ दिभेस सम्झन्छन्, ‘म्युजिक त गर तर, पैसा कमाउन  गर्छौ भन्थे । के उत्तर दिनु ?’
दोस्रो एल्बम ‘कबवेब’ (माकुराको जालो) ले ब्यान्डको बाटामा आइपरेका जालाहरू पन्छाइदियो । त्यसमै समाविष्ट ‘मार्‍यो नि मार्‍यो...’, ‘रोलिङ स्ट्रिङ’ एल्बमको ‘बोल्न सकिनँ...’ हुँदै सन् २००० को ‘मर्सिडिज बेन्ज...’ सम्म आइपुग्दा ब्यान्डको ख्याति निकै मौलाइसकेको थियो ।
‘त्यो बेला पप गीतसम्म ठीकै मान्थे मान्छेहरू,’ सिद्धार्थ भन्छन्, ‘हाम्रो रकलाई कसले पत्याउने ? हेभी रक छोडेर अलि सफ्ट कम्पोजिसन दिएपछि बल्ल रुचाउन थाल्नुभयो ।’
ड्रिम लभरलाई ड्रिम कारमा चढाएर घुमाउन लग्ने प्रसंग जोडिएको गीत ‘मर्सिडिज बेन्ज...’ कबवेबको ट्रेडमार्क बनेको छ । जहाँ जाऊ, जसलाई भेट ब्यान्डले यो गीत नगाई हुँदैन । तर, दिभेस अबको पाँच/दस वर्षपछि पनि यही गीत गाउनु नपरे हुन्थ्यो भन्ने चाहिरहेका छन् । १७ वर्षअघि बनेको गीतले नै श्रोता भुलाउनु ठीक लाग्दैन उनलाई ।
‘नयाँ दिन सक्नुपर्छ हामीले,’ उनी भन्छन्, ‘त्यसैले एल्बमहरू निरन्तर निकालिरहेका छौं ।’ 
दिभेसका अनुसार नयाँनयाँ गीत बनाइरहन/गाइरहन मन लाग्ने वातावरण सिर्जना हुनु नै अहिलेसम्मको आफूहरूको उपलब्धि हो । ब्यान्डप्रति उत्तिकै चासो रहिरहनु ठूलो कुरा भएको उनले बताए । ‘हामीलाई कसैले इग्नोर गरेको छैन,’ उनी भन्छन्, ‘यसैले संगीतमा रहिरहन इनर्जी दिन्छ ।’ तर, सञ्चार माध्यमबाट पहिलेजस्तो सपोर्ट पाउन छोडेकोमा उनले दु:ख पोखे । 
ब्यान्डमा अहिले दिभेस र सिद्धार्थसँगै नीलेश जोशी (बेस), सञ्जय अर्याल (भक्स) र सृजन विक्रम ज्ञवाली (गिटार) छन् । राम्रो समझदारी भएकाले ब्यान्ड टिकिरहेको सिद्धार्थ बताउँछन् । ‘एकअर्काको विश्वासिलो बन्न सक्नुपर्ने रहेछ,’ उनी भन्छन्, ‘विश्वासले नै हामीलाई यति टाढा ल्याइपुर्‍यायो । अब त हाम्रो सास रहुन्जेल ब्यान्ड चलिरहन्छ ।’ 

चर्चित गीत
१. मार्‍यो नि मार्‍यो...
२. मर्सिडिज बेन्ज..
३. प्रितको नशा...
४. तिम्रो माया...
५. फेरि जिउन कहाँ...
६. नमस्ते नमस्ते..

प्रकाशित : मंसिर १४, २०७४ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?