कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

य:मरि अर्थात् मीठो रोटी

काठमाडौं — य:मरि पूर्णिमाको दिन अभिनेत्री अशिष्मा नकर्मीलाई सबैभन्दा धेरै उनको बाल्यकाल याद आउँछ । मामाघरमा हुर्किएकी उनी मामाहरूकै साथ लागेर य:मरि माग्दै घरदैलो पुगेका ती क्षण सम्झिन्छिन् । पछिल्लो समय नेपाल भाषाको फिल्म निर्माणतिर लागेकी अशिष्मा आइतबार य:मरि पूर्णिमाकै दिन भने हेटौंडामा व्यस्त थिइन् ।

य:मरि अर्थात् मीठो रोटी

फिल्मको गीत सुटिङ गर्दै गर्दा उनले मामाघरमा बनाएका ‘तातो’ य:मरिको स्वाद मनमनै खाइरहेकी थिइन् । ‘गत वर्ष पनि जुठो परेर य:मरि पूर्णिमा मनाउन पाइनँ,’ उनले भनिन्, ‘यसपालि खाएरै छाड्ने ठानेकी थिएँ ।’

यो प्रण भने सुटिङ सकेर मात्रै पूरा भयो । हेटौंडामा रहेका आफन्तजनको घरमा पुगेर उनले आफ्नो चाहना पूरा गरेरै छाडिन् । उनका अनुसार नेवार समुदायमा तिहारको देउसीभैलो जस्तै घर घर पुगेर य:मरि माग्ने चलन छ ।

उनी पनि सानो छँदा त्यसरी नै टोल छिमेक चहार्थिन् रे ।

‘अचेल भने यो संस्कृति हराउँदै गएको छ,’ उनले भनिन्, ‘उस बेला घरदैलोमै पुगेर य:मरि मागेर खानुको आनन्द बेग्लै हुन्थ्यो ।’

बजारिया खानपान शैलीले नेपाली फुड कल्चरलाई असर पर्नु स्वाभाविकै हो । यस्तै बुझाइ भएका केही युवाहरू भने य:मरि संस्कृति बचाउनतिर लागि परेका छन् । हरेक वर्ष नेप्लिज फेसन होमले मिस नेवा:का सहभागीहरूलाई य:मरि बनाउन लगाउने र सामूहिक रूपमा भोज खाने कार्यक्रम गर्दै आएको छ ।

उनीहरूसँगै बसेर पकाउने मात्रै नभई यसको धार्मिक, सांस्कृतिक र स्वास्थ्यको पक्षबाट समेत य:मरिलाई बहसमा ल्याउँछन् । यसपटक मिस नेवा:हरूले लिटिल मिस नेवा:का सहभागीहरूलाई य:मरि बनाउन सिकाए । आफूभन्दा सानालाई य:मरि संस्कृतिको महत्त्व बुझाउन यसो गरिएको पूर्व मिस नेवा: सुनीता डंगोलले बताइन् ।
डिल्लीबजारस्थित होमकै कार्यालयमा आइतबार चामलको पिठोमा चाकु र खुदो मिसाएर कसरी सुन्दर बनावट दिने भन्ने ध्याउन्नमा थिइन् सुनीतासँगै पूर्व मिस नेवा एलिसा बज्राचार्य, जेनी मानन्धर लगायतको टोली ।

‘हेर्दा सजिलो लागे पनि पुरानै तरिकाले य:मरिको फिनिसिङ दिन अलिक मुस्किल नै पर्छ,’ सुनीताले भनिन् ।

वरिष्ठ कवि दुर्गालाल श्रेष्ठ य:मरि पूर्णिमालाई परिकारसँग मात्रै जोडेर सीमित राख्न चाहँदैनन् । ‘किसानहरूले आफ्नो वर्षदिनको मिहिनेत फलाएर उत्साहका साथ मनाउने पर्व हो यो,’ उनले भने, ‘किसानले अन्न उत्पादन मात्रै नगरेर कलात्मक ढंगले परिकार पनि बनाएर खान्छन् भन्ने भाव यो पर्वसित लुकेको छ ।’
यसपटकको पूर्णिमामा उनले य:मरि खाएर बगैंचामा आनन्दले घाम तापे । उनका अनुसार नेवार भाषामा ‘य’ भनेको मनपर्नु र ‘मरि’ भनेको ‘रोटी’ हो । विशेष गरी जाडो महिनामा बनाइने यो रोटीले शरीरमा तातो प्रदान गर्ने हुँदा स्वास्थ्यलाई समेत फाइदा पुग्ने उनले बताए ।

प्रकाशित : मंसिर १८, २०७४ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?