डिसेम्बर सङ्स

कान्तिपुर संवाददाता

काठमाडौं — पश्चिमाहरूका लागि डिसेम्बर विशेष महिना हो । हुन त अचेल पूर्वेलीहरू पनि डिसेम्बरमा पर्ने स्यान्टाज लिस्ट डे, क्रिसमस, कार्ड प्लेइङ डेजस्ता पर्व मनाउन थालेका छन् । यही बेला एड्स अवेरनेस डे, मानव अधिकार दिवसलगायत पर्छन् ।

अङ्ग्रेजी पात्रोको अन्तिम महिनालाई धेरै स्रष्टाले गीतमा उतारेको पाइन्छ । उहिलेका फ्रांक सिनात्रा, स्टिभ वन्डर, मर्ल ह्यागर्डदेखि अहिलेका टेलर स्विफ्ट, माइली साइरस, जे–जेड, लिंकिन पार्कजस्ता ब्यान्ड तथा गायक/गायिकाले डिसेम्बर सङ गाएका छन् । 

डिसेम्बर १९६३...
अमेरिकी रक–पप ब्यान्ड ‘द फोर सिजन्स’ को यो गीत निकै पपुलर छ । ड्रम र पियानोको ओपनिङ नै यति सुन्दर छ की सुन्दै नाचौं–नाचौं लागिहाल्छ । किबोर्डवादक बब गौडियोले लेखेको गीत सन् १९७५ मा रिलिज भएको थियो । यसका कभर भर्सन प्रशस्त बनेका छन् । 

अ लङ डिसेम्बर... 
राम्रो भविष्यको कल्पना गरिएको यो गीत ‘काउन्टिङ क्रोज’ ब्यान्डको चिनारी हो । ब्यान्डका भोकलिस्ट एडम डुरिजले कार दुर्घटनामा परेका साथीलाई समर्पण गर्दै यो गीत तयार पारेको बताउने गरेका छन् । सन् १९९६ मा गीत बाहिर आउँदा यसले तहल्का मच्चाएको थियो । 

फ्लावर्स इन डिसेम्बर...
पाँच सदसिय ब्यान्ड ‘मेजी स्टार’ ले यो गीतमार्फत फरक स्वाद पस्किएको थियो । स्लो नम्बरको गीतमा केन्ड्रा स्थिमको स्वर सुनिन्छ । डिसेम्बरबारे गाइएको भए पनि गीत बाह्रै महिना सुनिरहुँ लाग्ने खालको भएको प्रतिक्रिया युट्युबमा दिइएको छ ।


डिसेम्बर...
गायक एड रोल्यान्डले आफ्नो ब्यान्ड ‘कलेक्टिभ सोल’ का लागि लेखेको गीत सन् १९९५ मा रिलिज भएको थियो । बिलबोर्ड हट हन्ड्ेरडको सूचीमा यो गीत २० औं नम्बरमा पुग्दा ‘रक ट्रयाक’ को लिस्टमा चाहिँ यसले पहिलो स्थान ओगटेको थियो । 

वान्स अपन अ डिसेम्बर...
सन् १९९७ मा बनेको म्युजिकल एनिमेटेड फिल्म ‘एनस्तासिया’ मा समाविष्ट यो गीत गोल्डेन ग्लोब अवार्डमा मनोनीत भएको थियो । डियाना कार्टरले पप भर्सनमा गाएको गीतलाई थुप्रै भाषामा अनुवाद गरिएको छ । फिल्म अवधिभर गीत तीन पटक सुनिन्छ जसमा फरक–फरक गायिकाले स्वर भरेका छन् । लन्सबरी र लिज कलवे, डियाना र आन्या मरिनाले यसमा स्वर दिएका छन् । 

आई ड्रिम अफ क्रिस्मस...
जर्ज माइकलको यो गीतले धेरैको मन जितेको छ । 
युट्युबमा यसको एनिमेटेड भिडियो मुन्तिर सबैले माइकलको तारिफ गरेका छन् । डिसेम्बरसम्बन्धि गीत गाएका माइकल सन् २०१६ को डिसेम्बर महिनामै परलोक भएका थिए । उनी बितेपछि डिसेम्बर सङ सुन्दा साह्रै पीडा भएको एक युट्युब युजरले उल्लेख गरेको पाइन्छ । 

ब्याक टु डिसेम्बर... 
पछिल्लो समय बनेका डिसेम्बर सङमा गायिका टेलर स्विफ्टको यो कम्पोजिसन बढी लोकप्रिय छ । यसमा टेलरले आफ्ना पूर्वप्रेमीसँग माफी मागेकी छन् । आफूले पहिलो पटक गीतबाटै कसैसँग माफी मागेको बताउने गरेकी छन् । झन्डै पाँच मिनेट लामो यो कन्ट्री पप सङमा अर्केस्ट्रा फ्लेभर आउने संगीत समीक्षकहरूको भनाइ छ ।

प्रकाशित : मंसिर १९, २०७४ ०८:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

किम्फ कथा

कान्तिपुर संवाददाता

काठमाडौं — नेपालका प्रतिष्ठित फिल्म फेस्टिभलमध्ये काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल (किम्फ) एक हो । यो हुन थालेकै १७ वर्ष भइसकेछ । पहिले दुई वर्षमा एकपटक हुन्थ्यो भने अचेल वर्षैपिच्छे हुन्छ । किम्फको पुरानो ठेगाना रुसी सांस्कृतिक केन्द्र हो, त्यसपछि सभागृह र पर्यटन बोर्ड हुँदै अहिले कमलपोखरीको कुमारी हल पुगेको छ ।

नेपालका प्रतिष्ठित फिल्म फेस्टिभलमध्ये काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल (किम्फ) एक हो । यो हुन थालेकै १७ वर्ष भइसकेछ । पहिले दुई वर्षमा एकपटक हुन्थ्यो भने अचेल वर्षैपिच्छे हुन्छ । किम्फको पुरानो ठेगाना रुसी सांस्कृतिक केन्द्र हो, त्यसपछि सभागृह र पर्यटन बोर्ड हुँदै अहिले कमलपोखरीको कुमारी हलपुगेको छ ।
एउटा महोत्सवमा औसतमा सय वटा फिल्म देखाउँदाको दरले किम्फमा अहिलेसम्म १४ सय देशी/विदेशी फिल्म प्रदर्शन भएका छन् । किम्फकै माध्यमबाट नेपालका थुप्रै फिल्म मेकरले आफूलाई प्रस्तुत गर्ने मौका पाए । पाइरहेकै छन् । तीमध्ये केही त अहिले वरिष्ठ पनि बनिसकेका छन् । यसरी कसैका निम्ति फोरम बन्न सक्नु नै आफूहरूका लागि सन्तोषको कुरा भएको किम्फका अध्यक्ष वसन्त थापाले बताए ।
उनलाई महोत्सवमा आउने दर्शक र तिनका हँसिला चेहराले पनि ऊर्जा दिने गरेको छ । भन्छन्, ‘आफ्नो सामथ्र्यले भ्याएसम्म गरिरहेका छौं । भेन्यु र फन्डिङको समस्या छ । यसको चिन्ता नहुँदो त भव्य महोत्सव गरेर देखाउँथ्यौं ।’ सन् २००० मा महोत्सव सुरु गर्दादेखि नै आयोजकले आर्थिक समस्या झेल्नुपरेको थियो । यो समस्या कहिल्यै सल्टिएन । ‘एउटा दसैं सकिनासाथ अर्को कसरी मनाउने होला भन्ने पीर परेजस्तै हालत छ हाम्रो’, थापा भन्छन्, ‘हरेक साल शून्यबाट सुरु गर्छौं ।’


महोत्सवमा भाग लिन आउने विदेशी फिल्म मेकरलाई राम्रो सुविधा दिन नसक्दा थापा खिन्न हुन्छन् । विदेशी महोत्सवलाई त्यहाँको सरकार र सम्बन्धित संघसंस्थाले सहयोग गरेको देख्दा उनका आँखा रसाउँछन् । हामीकहाँ कहिले आउला त्यस्तो दिन ? कहिले पाउला कला क्षेत्रले सरकारको साथ ? जेहोस्, किम्फ चलिरहेकै छ । यो टिक्नुमा आफूहरूको स्वयंसेवालाई जस दिन्छन् थापा । किम्फका कर्मचारी नि:शुल्क सेवा दिइरहेका छन्भन्ने थाहा पाउँदा कतिलाई आश्चर्य लाग्ला ।
‘स्वयंसेवाको जादु कहिलेसम्म पो चल्ला ?’ थापा हाँस्छन्, ‘म रहेसम्म त ठीकै छ, मेरै पो ठेगान छैन ।’ उनी किम्फको एउटा स्थायी समूह बनाउन चाहिरहेका छन् । आफू भूतपूर्व अध्यक्ष बन्ने चाह उनमा पलाउन थालेको छ । यतिन्जेलको उपलब्धि के त ? उनलाई लाग्छ, किम्फले नेपाली दर्शकलाई नयाँ स्वादका थुप्रै उत्कृष्ट फिल्म देखाएको छ । स्थानीय फिल्मलाई मलजल गर्न यसले कन्जुस्याइँ गरेन । ‘नयाँ आइडिया सिक्न पाइयोस् भनेर महोत्सव सुरु गरेका थियौँ’, उनी भन्छन्, ‘दर्शकले नयाँ फिल्म हेरुन्, फिल्म मेकरले नयाँ शैली सिकुन् भन्ने चाहना थियो ।’
डिसेम्बर ११ मा पर्ने ‘इन्टरनेसनल माउन्टेन डे’ को छेउछाउमा हुँदै आएको फेस्टिभल यसपालि १४ देखि १८ तारिखमा हुँदैछ । ३७ देशका ७० भन्दा बढी फिल्म छानिएका छन् । प्रतिस्पर्धी विधामा १५, गैर–प्रतिस्पर्धातर्फ ४८, नेपाल पनोरमामा १५ र स्पेसल स्क्रिनिङ विधाअन्तर्गत केही फिल्म देखाइनेछन् । महोत्सवमा भाग लिन तीन दर्जनजति विदेशी फिल्म मेकर नेपाल आउन लागेको अध्यक्ष थापाले जानकारी दिए ।
यसपाीलको किम्फको रौनक के हो भने यसमा ‘लाइभ स्टोरी पिचिङ’ हुँदैन । यसमा चार/पाँच जना निर्णायकसामु निर्देशकलेआफ्नो फिल्मको कन्सेप्ट बयान गर्नुका साथै केही भिडियो क्लिप्स देखाउनुपर्नेछ । उनीहरूमध्ये उत्कृष्ट मानिएको डकुमेन्ट्री, फिल्मलाई पुरस्कृत गरिनेछ ।
‘यो नयाँ कन्सेप्ट होइन’, थापा सुनाउँछन्, ‘विदेशी फेस्टिभलमा गरिने अभ्यास हामीले पहिलो पटक नेपाल अवलम्बन गर्न जाँदैछौं ।’
समारोहको उद्घाटन ‘द लास्ट हनिहन्टर’ बाट गरिनेछ । ‘हेमा हेमा : सिङ मि अ सङ ह्वाइल आई वेट’, ‘चिन्ड्ेरन अफ द स्नो ल्यान्ड’ जस्ता फिल्मको स्पेसल स्क्रिनिङ हुँदैछ । स्विस भूगर्भविद् टोनी हेगनको सम्झनामा उनलेखिचेका पुरानो नेपालका तस्बिर फेस्टिभल हुने कुमारी हलमा सजाइनेछन् ।
‘पन्ध्रौं संस्करण भएकाले केही विशेष गर्ने योजना थियो’, थापा भन्छन्, ‘भनेजस्तो भइरहेको छैन, तैपनि राम्रो हुनेमा विश्वस्त छौं ।’

प्रकाशित : मंसिर १९, २०७४ ०८:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT