कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतदान र सेलेब्रिटी

काठमाडौं — मलाई मतदानजस्तो मौलिक अधिकार प्रयोग गर्ने संयोग नै जुरेन । स्थानीय निर्वाचनमा पनि फिल्मकै काममा व्यस्त थिएँ । अहिले त झन मुस्ताङमा छु । जनताले जनताको हितका लागि उम्मेदवार छनोट गर्ने प्रणाली हो– निर्वाचन ।

मतदान र सेलेब्रिटी


दयाहाङ राई, अभिनेता 
कलाकारको हैसियतले पनि देशको जिम्मेवार नागरिक हुनुपर्ने हो । मनमा चुकचुक लागेको छ । साथीहरू भोट हाल्न भोजपुर पुगिसकेका छन् । बोरिङ अनुभव गरेको छु । कलाकारले चाहेर पनि समय म्यानेज गर्न सक्दो रहेनछ भन्ने अहिले अनुभव गरेको छु । तर, आफू पुग्न नसके पनि भोजपुरबासीलाई देशको विकास गर्ने जो छ, उसैलाई भोट दिन अनुरोध गर्छु । देशको मुहार कस्तो बनाउने हो, हाम्रो एक भोटले निर्धारण गर्छ ।

दीपाश्री निरौला, निर्देशक 
स्थानीय निर्वाचनको बेला म फिल्म सुटिङमा व्यस्त थिएँ । त्यो बेला चाहना हुँदाहँुदै पनि भोट हाल्न विराटनगर पाएकी थिइनँ । आफ्नै स्थानको नेता चुन्न जान नपाउँदा कताकति दु:ख लाग्नु स्वाभाविकै थियो । अहिले भने व्यस्त हुँदाहँुदै पनि प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा चाहिँ जसरी पनि मतदान गर्न जाने सोचमा छु । यसका लागि बुधबारै विराटनगर जान्छु । मोरङको क्षेत्र नम्बर १ मा परेको छ मेरो मतदान केन्द्र । मन परेका, देशका लागि केही गर्ने योजना भएका उम्मेदवालाई भोट दिन्छु । आफ्ना लागि होइन, देशका लागि काम नेता नभएर देश उँभो लाग्न नसकेको हो । काम गर्ने मान्छे भए भने देश विकासमा समय लाग्दैन । 

मदनगोपाल, गायक
भोट हाल्न भनेर मलाई अहिलेसम्म कुनै नेता र आफन्तले बोलाएका छैनन् । तर, यो भनिरहँदा आफू भाउ खोजेर चुप लाग्ने बेला पनि होइन । निर्वाचनजस्तो महत्त्वपूर्ण क्षण उम्मेदवारका लागि मात्रै होइन जनताका लागि पनि हो । हरेक सचेत नागरिकले विवेक पुर्‍याएर मतदानको प्रयोग गर्नुपर्छ । निर्वाचनमा हरेक मतको महत्त्व हुन्छ । म आफैँ यसको भुक्तभोगी हुँ । कलेज पढ्दा स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा चुनाव लडेर भारी मतले विजय भएको अनुभव छ मसँग । त्यही बेलादेखि मलाई मतदान भन्ने कुरो अमूल्य रहेको बोध भएको हो । म बुधबार विराटनगर जाँदै छु । मोरङको क्षेत्र नम्बर २ मा गई बिहीबार योग्य उम्मेदवारलाई भोट हाल्छु । 

निशा देशार, गायिका
मेरो मतदान केन्द्र ललितपुरको क्षेत्र नम्बर १ हो । तर, नजिक हुँदाहँुदै पनि मतदाता लिन जान बल्लबल्ल भ्याएँ । स्थानीय तहको निर्वाचनमा मेरो नाम सोलुखुम्बुको मतदाता सूचीमा परेको रहेछ, विवाह उतै गरेकाले । पछि यतै सारेँ, सजिलो हुन्छ भनेर । मतदान गर्नु भनेको जनताले राज्यप्रतिको दायित्व निर्वाह गर्नु हो । कलाकार भएकाले हामीलाई देशको झन् माया हुने नै भयो । हाम्रो एक भोटले देश विकासमा इँटाको काम गर्न सक्छ । त्यसैले अल्छी नमानी मतदान अधिकार प्रयोग गर्नु सचेत नागरिकको परम कर्तव्य हो । भोट यसमा हाल्नु उसमा हाल्नु भनेर अनुरोध गर्ने धेरै हुन्छन् । तर, मनले खाएका उम्मेदवारलाई भोट हाल्नुपर्छ । 

रामजी खाँड, गायक
मतदाता नामावली संकलन गर्ने बेला फोटो खिच्नुपर्दो रहेछ । एक दिन त समय मिलाएर पुगेँ पनि । तर, लाइन लामै देखेपछि दिक्क लागेर फर्केको थिएँ । पछि जाउँला भन्दाभन्दै समय घर्किएछ । अनि म पनि गीत गाउनमै व्यस्त रहेँ । उति बेला अल्छी गर्दा अहिले मनमा चूकचूक भएको छ । मतदाता परिचयपत्र बनाउन कुनै पनि नागरिक अल्छी मान्नु हुन्न रहेछ । सबैले मतदानको अधिकार सदुपयोग गरेका छन् । मेरो गाउँघर (स्याङ्जा) मा त दसैं नै आएजस्तो भएको छ । स्थानीय निर्वाचनमा मतदाता नामावलीमा नाम नभए पनि गाउँ पुगेर चुनावी माहोलमा सरिक भएको थिएँ । यो पटक त्यो संयोग पनि जुरेन । काठमाडौं बसेर दुखेसो मनाउनुपरेको छ । 

रेखा थापा, अभिनेत्री
स्थानीय तहको निर्वाचनमा जुन चार्म थियो, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा मलाई त्यस्तो खासै लागेको छैन । उस बेला मतदान गर्न लाइनमा बस्दा धेरैले ‘तपाईंले किन उम्मेदवारी नदिएको’ भनेर सोधेका थिए । यो पटक पनि उस्तै प्रश्नको सामना गर्नुपर्ने सम्भावना छ । काठमाडौंको मेरो घर चाबहिलको पशुपति क्याम्पसकै कम्पाउन्डसँग जोडिएको छ । मतदान गर्न बिहीबार बिहानै आफ्नो केन्द्रमा जान्छु । अनि दिनभरि घरको छतमा बसेर रमाइलो हेर्नुपर्ला । सबै सचेत नागरिकले के भुल्नु हुन्न भने, खास गरी युवाहरूले, विवेक पुर्‍याई उचित पार्टी र नेताका पक्षमा मतदान गर्नुपर्छ । 

शम्भुजित बाँस्कोटा, संगीतकार
मेरी ९६ वर्षकी हुनुहुन्छ । बिहीबार उहाँलाई लिएर म साढे एघार बजेतिर महाराजगन्जस्थित मतदान केन्द्रमा पुग्ने सोचमा छु । हामी कलाकारको गौरव भनेको देशको समृद्धि हो । बाहिर जाँदा कुनै 
विदेशीले ‘तेरो देशको सौन्र्दय के हो ?’ भनेर सोध्दा खालि प्राकृतिक स्रोत भने चिनाउनुपर्छ । यहाँको राजनीतिक व्यवस्था र भौतिक समृद्धिको विषयमा खुलेर भन्न गाह्रो पर्छ । अबचाहिँ यस्तो स्थिति नरहिदिए हुन्थ्यो भन्ने लागेको छ । जनताको समेत शिर ठाडो बनाउने भनेको देशका नेतृत्वकर्ताले नै हो । त्यसैले आफ्नो मत खेर नजाने गरी मतदान गर्नुपर्छ । 

शारदा चित्रकार, कलाकार
मेरो मतदान केन्द्र ललितपुरको पुलचोकनजिकै परेको छ । स्थानीय निर्वाचनमा मेरा श्रीमान् र मैले जावलाखेलबाट गफ गर्दै गएर मतदान गरेका थियौं । म ७५ वर्ष पुगेकीले होला, धेरैले माया र सम्मान गरेर ‘हजुर पहिला भोट दिनुस्’ भन्दै हामीलाई अघि लगाएका थिए । मलाई चाहिँ मतदानको रमाइलो हेर्नु थियो, त्यसैले अन्तिमअन्तिम मात्रै मत खसालेकी थिएँ । यो पटक भने त्यति अबेरसम्म बस्दिनँ होला । अलि चिसो छ । घाम छँदै मतदान केन्द्र पुगेर घाम नअस्ताउँदै घर फर्किनुपर्ला । स्वाभिमानी नेतालाई भोट दिन्छु । किनकि देश रहे मात्रै हामी पनि रहने हौं । 

रमेशरञ्जन झा, रंगकर्मी
मतदान गर्न काठमाडौंबाट दुई दिनअघि घर (धनुषा) आइपुगेको छु । मेरो नाम औरही गाउँपालिका–२ को मतदान केन्द्रमा परेको छ । बिहीबार बिहानै परिवारका सबैलाई लिएर भोट हाल्न जाने योजनामा छु । यस पटकको निर्वाचनको माहोल अत्यन्त शान्त र सभ्य छ । अझ एजेन्डाकै कुरा गर्ने हो भने अहिले विकासका विषय मूल मुद्दा बनेका छन् । यो सकारात्मक पक्ष हो । हामी जनताले चाहेको पनि विकासै हो । अति राजनीतिक उतारचढावले गर्दा देश तलतल गइरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि देशको भविष्य पक्कै उज्ज्वल हुन्छ । 

नरहरि प्रेमी, गायक
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देश रंगिएको छ । देश र जनताका लागि ऐतिहासिक अवसर हो यो । यस्तो मूल्यवान् क्षणमा सचेत नागरिकको हैसियतले मैले आफूलाई थप जिम्मेवार भएको महसुस गरेको छु । 
त्यसैले भोट हाल्न बुधबारै नवलपरासी जाँदै छु । बर्दघाट नगरपालिका–१३ मा मेरो मतदान केन्द्र 
पर्छ । स्थानीय तहको निर्वाचनमा कार्यक्रमको सिलसिलामा म देशबाहिर थिएँ । यसपालि राम्रा नेता चुन्ने सोच बनाएको छु । 
जसले देशको समृद्धि चाहन्छ उसैलाई मेरो मत जान्छ ।

प्रकाशित : मंसिर २१, २०७४ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?