कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

“बुबाको काखै प्यारो”

सम्बन्ध
मधु शाही

काठमाडौँ — उनी बोलिरहेका थिए । अचानक खोकी लाग्यो । खोकीको वास्तै नगरी वरिष्ठ चित्रकार उत्तम नेपाली आफ्नो सिर्जनाको बयान गरिरहेकै थिए । छेउमै बसेर ८२ वर्षे वरिष्ठ स्रष्टाका कुरा सुनिरहेकी छोरी ममता कर्माचार्यको जुरुक्क उठिन् । हतारहतार उत्तमको ढाड सुमसुम्याउन थालिन् ।

“बुबाको काखै प्यारो”
‘सक्नुहुन्न भने अलिक बेरमा कुरा गर्दा हुँदैन र बुबा ?’ ममताले मायालु नजर उत्तमतिर फयाँक्दै भनिन् ।

‘केही हुँदैन, बोल्न सकिहाल्छु नि,’ उत्तमले छोरीतिर हेर्दै भने, ‘अहिलेसम्म त ठीकठाक नै छु ।’

हालैको दिन, राजधानीको बाँसबारीस्थित निवासमा उत्तम र ममता यसरी बाउछोरीको सम्बन्ध लेखाजोखा गर्दै थिए । कवि एवं मेकअप आर्टिस्ट ममता अमेरिकाको बोस्टनमा बस्छिन् ।

तीन वर्षपछि भर्खरै नेपाल आएकी उनी धेरैजसो समय बुबासँगै बिताउने मुडमा छिन् । प्राय: नेपाल आउँदा उनको सेडयुल यस्तै हुन्छ ।

उनलाई आफ्ना बुबा अभिभावकभन्दा पनि मन मिल्ने साथीजस्तै लाग्छन् रे ।

बाल्यकालदेखि यो उमेरसम्म आइपुग्दा पनि ममता बुबाको सल्लाहबिना कुनै कदम चाल्दिनन् । पुस्तान्तरण निकै छ । उत्तम भने समयअनुकूल छोराछोरीको भावना बुझ्न सक्ने अभिभावकमा पर्छन् ।

सानैदेखि बुबाले कोरेको क्यानभास हेर्दै हुर्किन्, ममता । तर उनले अहिलेसम्म क्यानभास पोत्न भने जानेकी छैनन् । ‘स्कुलमा स्केच कोर्थें,’ उनी सम्झिन्छिन्, ‘तर, क्यानभासमा रंग कहिल्यै भरिनँ ।’

हरेक सन्तानले आफ्नो इच्छाले भविष्य रोज्नुपर्छ भन्ने धारणा उत्तमले पहिलेदेखि राख्दै आएका थिए । उत्तमले पनि करिअर रोज्ने मामिलामा कुनै जबर्जस्ती गरेनन् । ममता लागिन् मेकअप आर्टिस्ट बन्नतिर । यो विषयमा कहिल्यै विवाद पनि भएन । सन्तानको खुसीमै रमाउने उत्तमका अनुसार मेकअप आर्ट पनि एउटा सशक्त विधा हो, जहाँ क्यानभास र रंगको सट्टा अनुहारमा कस्मेटिक सामग्री प्रयोग गरिन्छ । मेकअप आर्टसँगै ममता साहित्यतिर पनि लागिन् । उनी सानैदेखि कविता लेख्ने गर्थिन् ।

उत्तमसँग भने साहित्य, चित्रकला र अभिनय तीनवटै विधामा अनुराग थियो । चित्रकारितामा उँचो नाम उत्तमको अर्को चिनारी फिल्म क्षेत्रमा पनि छ । पहिलो नेपाली फिल्म मानिने ‘आमा’ मा खलनायकको अभिनय गर्ने उत्तम नै थिए ।

भारतको लखनऊबाट फाइन आर्टस् अध्ययन गरेर नेपाल फर्किएका उत्तम चित्र कोर्नमै व्यस्त थिए । त्यस बेला ‘आमा’ फिल्म बन्दै थियो । निर्देशक हीरासिंह खत्रीको नजरमा परे उत्तम । ‘बाध्यताले अभिनय गर्नुपरेको थियो,’ उत्तमले ५३ वर्षअघिको क्षण सम्झे, ‘खलनायकमा मान्छे नै भेटिएन भनेपछि राजी भएँ ।’

‘आमा’ मा अभिनय गरेपछि उत्तमलाई फिल्मका अफर अरू पनि थुप्रै आए । तर, उनी चित्रकलामै बढी केन्द्रित भए । अमूर्त चित्रकारितामा उनले अब्बल छवि बनाए । कुनै समय उनी कविता पनि लेख्थे ।

बुबाको जीवन कहानी सुनिरहेकी ममताले आफू जुनसुकै क्षेत्रमा लागेको भए पनि साहित्यमा चाहिँ बुबाकै प्रभाव रहेको बताइन् । उनका अहिलेसम्म ‘अझै दुख्दै छ मन’ र ‘मुहार कविता’ गरी दुई कृति प्रकाशित छन् । व्यावसायिक रूपमा मेकअप आर्ट क्षेत्रमा छिन् ।

प्राय: नेपाली परिवारमा छोरीको घनिष्ठता बुबाभन्दा आमासँग बढी हुन्छ । ममताले भने यसमा भने आफूलाई अपवाद ठान्छिन् । उनी घरमा खाना पकाउनदेखि जीवन बुझ्नसम्म बुबाबाटै सिकेको बताउँछिन् । यति हुँदाहुँदै पनि केही यस्ता गुण हुन्छन् जुन नभई दिए राम्रो हुन्थ्यो भन्ने

दुवैलाई लाग्छ ।

उत्तमलाई छोरी ममताको चाहिनेभन्दा बढी फ्रयांक हुने बानी, चञ्चले स्वभाव र बोलिरहने बानी नभएको भए हुन्थ्योजस्तो लाग्छ । तर, माछामासुबाहेक हरेक खानेकुरा मीठो मानेर खाने, प्रस्ट विचार राख्ने र खाना पकाउन निकै रुचि राख्ने उनको स्वभावले उत्तमको मन छुन्छ । ममतालाई भने बुबा कहिलेकाहीँ अनावश्यक कुरामा झनक्क रिसाउने, छोराछोरीले सम्झाउँदा अटेर गर्ने र आफ्नो केयर नगर्ने बानी मन पर्दैन । छोरा र छोरीमा भिन्नता नगर्ने, सधैं प्रेरणा दिने र आफ्नो कामप्रति धैर्य हुन सक्ने बुबाको बानी ममतालाई निकै मन पर्छ ।

ममताले भनेजस्तै, उत्तम काममा अझै पनि सक्रिय छन् । एक दशकपहिले पछिल्लो एकल प्रदर्शनी गरेका उनी अब समय जुराएर छिट्टै नयाँ सिर्जना प्रदर्शनीमा राख्ने सोचमा छन् ।

ममतालाई भने बिहानीपख बुबाको ओछयान पुगेर अँगालो मार्दै निदाउन पाएको क्षण गुमाउन नपरे हुन्थ्योझैं लाग्छ ।

झन्डै दुई साता नेपालमा बस्ने योजनामा रहेकी ममता भन्छिन्, ‘अब केही दिन बुबाकै काखमा मस्त निदाउन पाउँछु, किनकि बुबाको काखै प्यारो ।’


ममतालाई बुबाको मन पर्ने बानी

-छोराछोरीमा भेदभाव नगर्ने

-सधैं उत्प्रेरक बन्ने

-आफ्नो कामप्रति धैर्यवान्


मन नपर्ने बानी

-बेलाबेला झनक्क रिसाउने

-सम्झाउँदा अटेर गर्ने

-आफ्नो केयर नगर्ने


उत्तमलाई छोरीको मन पर्ने बानी

-प्रस्ट विचार राख्ने

-मीठो खाना पकाउने

-माछामासु नखाने


मन नपर्ने बानी

-बढी नै फ्रयांक हुने

-चञ्चले स्वभाव

-सधैं बोलिरहने


प्रकाशित : पुस ६, २०७४ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?