कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सृष्टिलाई मिस नेपाल यूकेको साथ

ब्लाइन्ड रक्स 

काठमाडौँ — बेलायतको लन्डनमा मिस नेपाल यूकेको छैटौं संस्करण हुँदै गर्दा यसका सहभागी सुन्दरीहरूले दृष्टिविहीनहरूको समूह ‘ब्लाइन्ड रक्स’ बारे थाहा पाए । त्यति बेला ‘ब्लाइन्ड रक्स’ की संस्थापक एवं अध्यक्ष सृष्टि केसी अध्ययनका क्रममा लन्डनमै थिइन्, उनकै जीवनीमा आधारित र मिलन चाम्स निर्देशित ‘ब्लाइन्ड रक्स’ फिल्मको लन्डन प्रिमियर पनि त्यही बेलै भयो ।

सृष्टिलाई मिस नेपाल यूकेको साथ

दृष्टिविहीन र अपंगता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि ब्लाइन्ड रक्स समूहले देशविदेशमा गरेका काम थाहा पाएर मिस नेपाल यूकेका सहभागीहरू प्रभावित भए । यसपछि उनीहरूले ‘ब्युटी विथ पर्पोस’ थिम नै बनाएर ब्लाइन्ड रक्सका लागि च्यारिटी कार्यक्रम नै गरे ।

केही साताअघि लन्डनको नर्थहोल्ट पार्क सोसल क्लबमा भएको च्यारिटीमा सुन्दरीहरूले २५ सय पाउन्ड उठाएका थिए । उनीहरूको अभियान मन पराएर सहयोग गर्नेहरूपछि पनि थपिए । यसरी जम्मा भएको ३ लाख ४९ हजार १ सय ५ रुपैयाँ मंगलबार भक्तपुरको गट्ठाघरस्थित सृष्टिकै घर पुगेर हस्तान्तरण गर्दा ‘मिस नेपाल यूके’ सिर्जना गुरुङ पुलकित थिइन् ।

‘हाम्रो एउटा अभियान सफल भयो,’ उनले भनिन्, ‘सृष्टिजीका कामबारे थेरै सुनेको भए पनि भेट भएको थिएन, ट्रेनिङ चलिरहेकोले यूकेमा पनि भेट्न सम्भव भएन । बल्ल आज मौका जुर्‍यो ।’ ब्लाइन्ड रक्सले डान्स, फेसन, आर्ट र मल्टिमिडियामार्फत शारीरिक रूपले कमजोरहरूको सशक्तीकरणमा पुर्‍याएको योगदानबाट प्रभावित भएर यूकेमा च्यारिटी गरेको उनले बताइन् । त्यति बेला सिर्जनाकै संयोजकत्वमा आठ प्रतियोगीले ‘ब्युटी विथ पर्पोस’ थिममा कार्यक्रम गरेका थिए ।

सिर्जनाबाट सहयोग रकम ग्रहण गरेपछि ‘ब्लाइन्ड रक्सको अभियानमा सहयोगी हातहरू बढदै गएको प्रति’ सृष्टिले खुसी प्रकट गरिन् । उनै सृष्टिले २०७१ मा आफूजस्तै केही दृष्टिविहीन तथा अपंगता भएका व्यक्ति र सहयोगीहरूलाई लिएर ‘ब्लाइन्ड रक्स’ समूह बनाएकी थिइन् । त्यसयता डान्स, फेसन, आर्ट र एडभेन्चर्स पर्फमेन्समार्फत यो समूह मुलुकभित्रका थुप्रै थलोमा पुगिसकेको छ भने भारत, हङकङ, फ्रान्स, बेलायत, रूस, पोल्यान्डलगायत एक दर्जन मुलुकमा पनि नेपालका तर्फबाट क्याम्पेनहरू गरिसकेको छ । सृष्टिको यस्तो उदाहरणीय कामबाट प्रभावित भएर मिलनले ‘ब्लाइन्ड रक्स’ नै बनाए । यो फिल्ममा सृष्टि बनेर खेलेकी छन् अभिनेत्री बेनिशा हमालले । ‘मिस नेपाल यूकेको यो सहयोग अपंगता भएका व्यक्तिहरूकै सशक्तीकरणमा लगाउने छौं,’ सृष्टिले प्रतिबद्धता जनाइन्, ‘हामी हौसिएका छौं ।’

सिर्जनाले पनि आफूहरूको सहयोग सामाजिक हिसाबले अर्थपूर्ण बनेको भन्दै खुसी प्रकट गरिन् । महिना दिनअघि नेपाल आएकी सिर्जनाले उतिबेलै सृष्टिलाई भेट्न खोजेकी थिइन् । त्यति बेला सृष्टि ब्लाइन्ड रक्सकै अभियानका क्रममा भारतमा थिइन् । केही दिनअघि मात्रै नेपाल आइपुगेको थाहा पाएपछि बुबा यमबहादुर गुरुङ र आमा बिनु कुमारीका साथ सिर्जना सृष्टिको घरा पुगेकी हुन् । यसबीच उनले आफ्नो पुख्र्यौली थलो पर्वतको बच्छा गाउँमा पुगेर जनविकास निमाविलाई २५ हजार र स्टेसनरी सहयोग गर्न भ्याइन् । ब्रिटिस गोर्खा परिवारका उनी २००६ देखि बेलायत बस्दै आएकी छन् ।

‘मिस नेपाल यूकेमार्फत अरू पनि सामाजिक काम गर्न सकिन्छ कि भनेर योजना बनाउँदै छौं,’ मेडिकल एन्थ्रोपोलजीमा स्नातक उनले भनिन्, ‘समाजसेवामा जोडिन पाउँदाको आनन्द अर्कै हुँदो रहेछ ।’

प्रकाशित : पुस १२, २०७४ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?