“संगीतमा व्यावसायिकताभन्दा फेसन हाबी”

‘अहिले १ सय राम्रा गायकगायिका निस्किए भने जम्मा १० जना मुस्किलले ब्यावसायिक रुपमा बाँच्ने सम्भावना छ । यसलाई के ब्यावसायिकता भन्ने ?’ 
नारायण खडका

अस्ट्रेलिया — उनले नौ वर्षसम्म संगीतको अध्ययन गरे, व्यावसायिक रूपमा सांगीतिक क्षेत्रमा आउने क्रममा । अहिले राम्रो गायकको परिचय बनाइसकेका छन् । तर उनलाई लाग्छ— पछिल्लो समय नेपाली संगीतमा फेसन बढ्दै गएको छ, व्यावसायिकता र स्तर भने दिनहुँ खस्किँदै छ ।


अहिलेसम्म चार सोलो एल्बम र तीन दर्जनभन्दा बढी सामूहिक एल्बम सार्वजनिक गरिसकेका राज सिग्देल आफू पूर्णत: व्यावसायिक गायक भएको गर्वका साथ सुनाउँछन् । हुन त ‘ऊ जितेर गई या हारेर गई...’ बोलको गजल नआएको भए उनको परिचय अहिले फरक पनि हुन सक्थ्यो । पाँच वर्षअघि जब यो गजल सार्वजनिक गरे, त्यसयता नेपाली सांगीतिक क्षेत्रबाट पछाडि फर्केेर

Yamaha

हेर्नुपरेको छैन । यसले उनलाई संगीतको क्षेत्रमा हिँड्नका लागि प्रेरणा मात्र दिएन, बाटोसमेत फराकिलो बनाइदियो ।
‘नेपाली संगीतको व्यावसायिकताको कुरा गर्दा, अहिले करिब २० जना गायकगायिका मात्र यसैबाट बाँचेका होलान्,’ कार्यक्रमको सिलसिलामा अस्ट्रेलिया आएका गायकले कान्तिपुरसँग भने । उनी त विदेशमा रहेका नेपालीहरूले नेपाली कलाकार र संगीतलाई प्राण भरिदिएको समेत खुसीसाथ सुनाए । ‘विदेशमा गरिएका कार्यक्रमहरूले नेपाली कलाकारहरूलाई जीवनयापन गर्न अत्यन्तै सहज बनाइदिएका छन्,’ उनले थपे, ‘यसले नेपाली संगीत बचाउनसमेत मद्दत पुर्‍याएको छ ।’
नेपालको सांगीतिक क्षेत्रको अवस्था हेरेर उनी साह्रै आशावादी छैनन् । उनी नेपालको संगीतमा लहड र फेसनका रूपमा आउने गायकगायिकाको बाहुल्य रहेको देख्छन् । संगीतमा हुनुपर्ने व्यावसायिकता, लगन र स्तर भने दैनिकजसो कम हुँदै गएको उनले बताए । ‘अहिले १ सय राम्रा गायकगायिका निस्किए भने जम्मा १० जना मुस्किलले व्यावसायिक रूपमा बाँच्ने सम्भावना छ । यसलाई के व्यावसायिकता भन्ने ?’ उनको प्रश्न छ ।
हङकङ र जापानमा कन्सर्ट गरिसकेका उनलाई विदेशमा काम गर्न मजा लाग्ने मुख्य कुरा नै नेपालीहरूको कलाकार र संगीतप्रतिको माया हो । ‘विदेशमा तपाईंले नसोचेको माया पाउनुहुन्छ,’ उनले भने । अर्काेतिर आफ्नै घरको सदस्यजस्तो दिइने मायाप्रेम र सत्कारसमेत अविस्मरणीय हुने गरेको उनको अनुभव छ । तर, विदेशमा अलि प्रोफेसनल कार्यक्रम गरिदिए हुन्थ्योजस्तो पनि लाग्छ उनलाई ।
उनी गायक मात्र नभएर पछिल्लो समयमा अभिनयमा समेत लागिपरेका छन् । ‘म गायनसँगै अभिनयमा समेत परिचय बनाउन चाहन्छु,’ उनले सुनाए ।
पहिलो पटक अस्ट्रेलिया आएका सिग्देल यसलगत्तै कोरिया जाने योजनामा छन् ।
केही महिनाभित्रै युरोपका आठ देश र यूके जाने तयारीमा छन् । त्यसैले पनि उनलाई लाग्छ, विदेशका नेपालीहरूले नेपाली गीतसंगीत र कलाकारहरूलाई जति माया गरेका छन्, त्यसले वास्तवमा नेपाली गीतसंगीत र कलाकारहरूलाई जीवन राम्ररी चलाउन सहयोगपुर्‍याएको छ । त्यसैले पनिनेपाली संगीतको क्षेत्रमा लागिपरेकाहरूले यसको स्तरलाई अझ माथि पुर्‍याउन लागिपर्नुपर्ने उनको सोच छ ।

Esewa Pasal

प्रकाशित : पुस १४, २०७४ ०८:३८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सामुदायिक भवनका लागि २ करोड ४० लाख संकलन

नारायण खडका

अस्ट्रेलिया — मेलबर्नमा नेपालीहरुले बनाउन लागेको सामुदायिक भवनका लागि ३ लाख अष्ट्रेलियन डलर संकलन भएको छ । 

अस्ट्रेलियन नेप्लिज् मल्टिकल्चरल सेन्टरले सञ्चालन गरेको सप्ताह महापुराणको तीन दिनको अवधिमा ३ लाख अस्ट्रेलियन डलर (करिब २ करोड ३४ लाख रुपैयाँ) स‌ंकलन भएको हो। मेलबर्नमा नेपालीहरुले सामुदायिक भवन, पशुपतिनाथ मन्दिर र बौद्ध गुम्बा निर्माणका लागि यही १८ तारिखदेखि महापुराण सुरु गरेका हुन्।
पण्डित दीनबन्धु पोखरेलद्वारा वाचन गरिएको सप्ताह महापुराणमा विभिन्न व्यक्तिहरुले ४० लाख नेपाली रुपैयाँसम्म सहयोगको घोषणा गरेका आयोजकले जनाएको छ। भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले ५० हजार डलर (करिब ४० लाख रुपैयाँ) सहयोग गरेका छन् भने डा. चन्द्रदीपक पोखरेलले २६ हजार ५ सय डलर, सुरेन्द्र सेढाईं र सबी सेढाईं, बद्री पन्त र जमुना पराजुलीले जनही १० हजार डलर सहयोग दिएका छन्।
नेपालीहरुको स‌ंख्या बढिरहेकोले कलासंस्कृति र परम्परा झल्कने सामुदायिक भवन, मन्दिर तथा गुम्बा बनाउने योजना अघि सारिएको सप्ताह आयोजक समितिको भनाइ छ। भिक्टोरिया एनआरएनका संयोजक केशव कँडेलका अनुसार सप्ताह पुराणमा दैनिक भक्तजनहरुको बाक्लो उपस्थिति रहँदै आएको छ।
पुराण यही २४ तारिखसम्म चल्ने छ।
भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले आजीवन सदस्यता वितरण प्रक्रियालाई पनि संस्थाले अघि बढाएको जनाएको छ। आयोजकका अनुसार अहिलेसम्म ३ सय ८५ जनाले सदस्यता लिइसकेका छन्। आजीवन सदस्यता शुल्क १ हजार ५ सय डलर तोकिएको छ।

प्रकाशित : पुस ६, २०७४ १५:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT