कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शनिबारीय: ‘टाप कस्नेहरू’ कै नाममा

हास्यव्यंग्यका नाममा महिला निन्दा गर्ने कार्यक्रमहरू एउटा–दुइटामा मात्र सीमित छैनन् । यही सिलसिलालाई ‘सदर’ गरेको छ हालसालै प्रदर्शित चलचित्र ‘छक्कापन्जा’ले ।
सावित्री गौतम

खसिस्नुपानी नेपालको यो वर्षको देउसी–भैलो कार्यक्रममा कलाकार सीताराम कट्टेल र मनोज गजुरेलले क्रमश: पूर्वप्रधानमन्त्री केपी ओली र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल बनेर प्रस्तुति दिएका थिए ।

शनिबारीय: ‘टाप कस्नेहरू’ कै नाममा

- सिस्नुपानी नेपालको यो वर्षको देउसी–भैलो कार्यक्रममा कलाकार सीताराम कट्टेल र मनोज गजुरेलले क्रमश: पूर्वप्रधानमन्त्री केपी ओली र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल बनेर प्रस्तुति दिएका थिए । भैलो सुरु गर्न अनुरोध गर्दै प्रचण्ड बनेका मनोज गजुरेलले केपी ओली बनेका सीताराम कट्टेलतिर हेर्दै भने, ‘तपाईं सुरु गर्नुस्... उखान नै छ, लेडिज फस्र्ट ।’ कलाकार कट्टेल पुरुष थिए र पुरुष वेशमै अभिनय गरिरहेका थिए, त्यसैले उनलाई ‘लेडिज’ भन्नुको कुनै अर्थ थिएन । उक्त प्रहसनभरि ‘लेडिज’ शब्दको प्रयोगको अरू सान्दर्भिकता पनि खुल्दैन । स्पष्ट छ, कलाकारद्वयले होच्याउने शब्दका रूपमा मात्रै प्रयोग गरेका हुन् ‘लेडिज’ अर्थात् महिलालाई । देशका प्रत्येक क्षेत्रका ‘विकृति औंल्याइदिएबापत’ लोकप्रियता कमाएका कलाकारहरूले कुनै पुरुषलाई होच्याउनकै लागि सार्वजनिक मञ्चमा उसलाई महिला भन्नु विकृतिको परिभाषाभित्र पर्छ कि पर्दैन ? प्रश्न उक्त कार्यक्रम प्रत्यक्ष हेरिरहेका देशका वर्तमान र पूर्व सरकारप्रमुखलगायत थुप्रै ‘विशिष्ट’ मध्ये कति जनाले यसलाई याद गरे वा कति जनालाई यो आपत्तिजनक लाग्यो होला ।

- बौद्धिक भनि चिनिएका नेता बाबुराम भट्टराईले तीन वर्षअघि बर्दियाको एक घरमा भारतीय सुरक्षाकर्मीले गरेको खानतलासीको सन्दर्भमा टिप्पणी गर्दै नेपाल छिमेकीहरूको अगाडि कमजोर छ भनेर जनाउन ‘नामर्दकी जोई सबैकी भाउजू’ भन्ने उखान प्रयोग गरेका थिए । त्यसअघि नै उनले अर्को राजनीतिक दललाई होच्याउन ‘तेस्रोलिंगी’ शब्दको प्रयोग गरिसकेका थिए । त्यो भनिरहँदा उनले आफ्नो पहिचान र अधिकारका लागि संघर्षरत अल्पसंख्यक नेपाली तेस्रोलिंगीहरू मात्र होइन पहिलो संविधानसभामा उनीहरूको प्रतिनिधित्व गरिरहेका आफ्नै समकक्षी सुनीलबाबु पन्तको मर्यादाको हनन भएको हेक्कासमेत राख्न सकेनन् ।

- कुनै लोग्नेमान्छेलाई होच्याउनुपरेमा ‘आइमाईजस्तो’ भन्ने मात्र होइन सार्वजनिक रूपमै कुनै पुरुषलाई अपमानित गर्नुपरे महिलाले प्रयोग गर्ने सामग्री चुरा–पोते वा पेटिकोटसमेत लगाइदिने प्रचलन नेपालमा पुरानै हो । नेताहरूलाई नालायक देखाउन उनीहरूले लुगा सिलाइरहेका वा सारंगी बजाइरहेका वा राउटेका वेशमा फोटोसप गरिएका तस्बिरहरू पहिलो संविधानसभाको असफलतादेखि नै सामाजिक सञ्जालहरूमा भाइरल छन् । वर्षौंदेखि नेपाली टेलिभिजनमा लोकप्रिय बनेका हास्यव्यंग्य टेलिसिरियलहरूले कुनै शारीरिक वा मानसिक अपांगता भएको पात्रलाई हास्यास्पद व्यक्तिका रूपमा प्रयोग गरिरहेका छन् । अर्थात्, यसरी देखाइने गरेको छ कुनै पात्रमा जन्मजात अपांगता छ भने त्यो पात्र त्यत्ति आधारमै खिसी उडाउनलायक हो ।

हास्यव्यंग्यका नाममा महिला निन्दाको यो प्रसंग यस्ता एउटा–दुइटा कार्यक्रममा मात्र सीमित छैनन् । यही सिलसिलालाई ‘सदर’ गरेको छ हालसालै प्रदर्शित चलचित्र ‘छक्कापन्जा’ ले । यसले नेपाली फिल्म उद्योगमै सबभन्दा धेरै बीस करोड रुपैयाँभन्दा बढी व्यापार गरिसकेको भनिएको छ । फिल्ममा भगवान उर्फ राजाको केन्द्रीय भूमिका गरेका दीपकराज गिरीसँग अभिनेत्री वर्षा राउत अर्थात् विनीताको कथित अवैध सम्बन्ध हुन्छ ।

अविवाहित दीपकसँग सम्बन्धमा रहेकी अभिनेत्री विवाहित हुन्छिन् । उनीहरूको सम्बन्धलाई समानान्तर रूपमा त्यही दृश्यसँगै देखाइन्छ जुन बेला वर्षाका पति बनेका नवविवाहित अतीत अर्थात् शिवहरि पौडेलले अमेरिका पुगेर आफ्नी पत्नीलाई फोन गर्छन् ।

उता, पतिलाई लाजले ‘आई लभ यू’ समेत भन्न नसकेकी नवविवाहिता पत्नीले फोन काटी नसक्दै दर्शकले उनलाई आफ्ना प्रेमीसँग बिछ्यौनामा ‘निर्लज्ज’ अवस्थामा देखिसकेपछि फिल्मको कहानीले ‘ट्वीस्ट’ लिन्छ । पत्नीलाई विदेश लान सबै कानुनी प्रक्रिया ठिक्क पारेर नेपाल आएको पतिचाहिं आफ्नै साथी र पत्नीबीचको सम्बन्धले रन्थनिन्छ । उसले अर्को पात्र आर्यन सिग्देल भेट्छ जो आफू विदेश गएर फर्केको बेला धोका दिएर टाप कसेकी पत्नीको कारण आत्महत्या गर्न ठिक्क परेको हुन्छ । ऊ र गाउँकी अर्की केटी चम्पा यानिकी प्रियंका कार्कीको मद्दतले अतीतले राजालाई ‘पाठ’ सिकाउँछन् ।

फिल्मका अरू सहायक प्लटहरू पनि छन्— जस्तै देशमा व्याप्त बेराजगारीको कारण खाडीमा बिदेसिन अभिशप्त युवाहरू, दिनभरि हल्लेर बेलुका जाँड खाएर घर पुग्ने पतिहरू आदि । तर फिल्मको पूरै कथाको बेस अर्थात् थिम हो ‘लोग्ने विदेशमा स्वास्नीको यता अर्कै सँग मस्ती...’ । यो नै फिल्मको ‘थिम’ हो भन्ने कुरा अन्तिम दृश्यले प्रमाणित गर्छ जुन सबैभन्दा आपत्तिजनक छ । जसमा फिल्मका एक कलाकार बुद्धि तामाङले विदेश जाने बेला गाउँका सबै तन्नेरीलाई भेला पार्छन् । पत्नी बनेकी कलाकारलाई पालैपालो सबै तन्नेरीलाई भाइटीका र सयपत्रीको माला लगाउन लगाएर ‘अबदेखि तिमीहरू दिदीभाइ भयौ’ भनिसकेपछि दर्शकतिर फर्केर भन्छन् ‘यति भएपछि ढुक्कले विदेश जान पाइयो ।’

फिल्मका निर्माता दीपकराज गिरीले फिल्मले महिला निन्दा गरेको भन्ने टिप्पणीको प्रतिरोध गरेका छन् । गीतकार राजेन्द्र थापाले फिल्मकै तारिफमा लेखेको फेसबुक स्टाटसमा फिल्मको विषयवस्तु आपत्तिजनक छ भन्ने कमेन्टबारे गिरीले दिएका केही तर्क यस्ता छन्— मारधाड र यौनबिनाको ‘क्लिन’ फिल्म देखाएर पनि यतिविधि दर्शक उतारेर हामीले चमत्कार नै गर्‍यौं । फिल्मवालाहरूको काम नैतिक शिक्षा पढाउनु हैन र नैतिक शिक्षा दिने फिल्म बनाएर हलमा दर्शक निदाउने गरी सिनेमा हललाई गेस्टहाउस बनाउनु पनि हैन । ‘फिल्मको बारेमा नकारात्मक टिप्पणी गर्ने तिमीहरूजस्ता ‘विद्वान्’ सही, त्यसरी उर्लिएर फिल्म हेर्ने सारा नेपाली दर्शक गलत ?’ आदि ।

गिरीले सञ्चारमाध्यमहरूमा भनेअनुसार विनीताले राजालाई पहिल्यै मन पराएकी हुन्छे । अर्थात् विनीताको ‘च्वाइस’ थियो राजा । त्यसैले आफूले मन पराएको केटासँग विवाहेत्तर सम्बन्ध रहनु स्वाभाविक हो । यदि विनीताको चरित्रचित्रण सही भएको छ भन्ने गिरीको तर्क हो भने उक्त पात्रले पहिल्यै बाबुले खोजिदिएको केटासँग विवाह गर्न इन्कार गरेको देखाइन्थ्यो । र, कुनै युवतीले आफ्नो जीवनसाथी चुन्ने अधिकारको वकालत गरिएको हुन्थ्यो । तसर्थ, फिल्ममा महिलाको जित देखाइएको भनेर गरिएको दलिल तर्कसंगत देखिंदैन ।

फिल्मका लेखकमध्येका एक अभिमन्यु नीरवीले एउटा अनलाइनमा लेखेका छन्, ‘फिल्मको सुरुआती स्क्रिप्ट सुनेपछि दीपा दिदीले भन्नुभो— महिला हिंसा अलि बढी भो । ‘फिल्म समाजको ऐना हो समाज जस्ताको तस्तै देखाइदेको’ दीपक दाइले हाँसो गर्नुभो ।’ ‘जालझेल पुरुषले गर्छ महिलालाई कसरी नराम्रो देखाइयो ।’ निर्देशकीय अदबका साथ फेरबदल गरौं भनेर दीपाश्रीले भनेपछि पटकथामा सामान्य फेरबदल भएको भनिएको अन्तिम स्वरूप नै यस्तो रूपमा रिलिज भएको छ ।

‘पहिला रक्सी खाने पात्रले पछि छोड्छ’ वा ‘सीधासाधा पात्रलाई सताउने बदमास खालको पात्रले नसताउने वाचा गर्छ’ जस्ता चल्तीका फर्मुला पनि देखाइएकै आधारमा फिल्मको थिमलाई नजरअन्दाज गर्न मिल्दैन । महिला निर्देशकको रूपमा तपाईंको ‘स्वतन्त्र धारणा’ के हो भनेर सोध्दा निर्देशक दीपाश्री निरौलाले कुनै जवाफ दिइनन् । निर्देशकको शरीर मात्रै महिलाको हुनुले अर्थ राख्दैन । उनको निर्णय क्षमता वा अभिव्यक्ति स्वतन्त्रता महत्त्वपूर्ण हो ।

यस्ता श्रव्यदृष्य सामग्रीको असर धेरैको मस्तिष्कमा एकै पटक, छिटो र गहिरो गरी पर्छ । किनकि यस्ता सामग्रीलाई ग्रहण गर्न लेख्ने–पढ्नेजस्तो विशेष सीप आवश्यक पर्दैन । लेखक/पत्रकार अभय श्रेष्ठका अनुसार भारतमा विवाहेत्तर सम्बन्धको कथामा बनेको महेश भट्टको १९८२ को फिल्म ‘अर्थ’ को रिलिजपछि फिल्मकी अभिनेत्री शबाना आजमीसँग परामर्श लिन जाने महिलाहरूको ताँती लागेको थियो जसले आफ्ना पतिसँग सम्बन्धविच्छेद गरिसकेका थिए वा गर्न चाहन्थे ।

त्यस्तै चिनियाँ चलचित्र ‘फ्लावर्स अफ वार’ ले सांस्कृतिक क्रान्तिका कारण चिनियाँ कम्युनिस्ट पार्टी र त्यसका सदस्यहरूको देशभक्तिबारे जनमानसमा रहेको भ्रम निवारण गर्न ठूलो भूमिका निर्वाह गर्‍यो । जापान र चीनबीचको युद्धको विषयमा बनेको फिल्मको अन्तमा चिनियाँ नगरवधूहरूले जापानी सेनासमक्ष खुसीसाथ बलिदान गर्न जाँदै गरेको दृश्य देखाइन्छ । फिल्मले एकातिर देशभक्ति जोसुकैको मनमा पनि उत्तिकै बलियो गरी रहेको हुन्छ भन्ने देखाएको छ भने अर्कोतिर नगरवधूहरूप्रति राखिने अपमानजनक धारणालाई बदल्ने कोसिस गरेको छ ।

चार्ली च्याप्लिनको सर्वाधिक सफल मानिने चलचित्र ‘द ग्रेट डिक्टेटर’ ले प्रजातान्त्रिक मूल्य र मान्यताको महत्त्वलाई स्थापित गरेको छ । हास्यव्यंग्यात्मक प्रस्तुति रहेको फिल्म राजनीतिक विषयमा छ जसले नाजीहरूले गरिरहेको तानाशाहीको र फासिज्मको निन्दा गरेको छ । च्याप्लिनले यो फिल्म बनाइसकुन्जेलसम्म अमेरिकी सरकारलाई पनि जर्मनीमा हिटलरको तानाशाही चरम अवस्थामा पुगेको थाहा थिएन । ऊ नाजी—जर्मनीसँग शान्तिपूर्ण सम्बन्धमै थियो ।

उता च्याप्लिनले भने फिल्ममार्फत जर्मनीमा बढिरहेको हिंसा र दमनलाई सम्बोधन गरिसकेका थिए । फिल्ममा हिटलर बनेर अभिनय गरेका च्याप्लिनको छोटो जुंगावाला ‘हिटलर लुक’ त्यही फिल्मबाट मान्छेहरूको मनमा यति गड्यो र पछि ‘चार्ली च्याप्लिन लुक’ बन्न पुग्यो— जीवनपर्यन्त उनले त्यही लुकमै अभिनय गरिरहे ।

भारतमा रामानन्द सागरको टेलिसिरियल रामायण र बीआर चोपडाको महाभारतमा सीता र द्रौपदीको भूमिका गरेका अभिनेत्रीहरू क्रमश दीपिका र रूपा गांगुलीको फिल्मी करियर यही कारण असफल रह्यो किनकि ‘आदर्श नारी’ को धार्मिक चरित्रमा देखिएका उनीहरूलाई दर्शकले ग्ल्यामरस रोलहरूमा स्विकार्न सकेनन् । त्यस्तै निर्माता निर्देशक दीपा मेहताको चलचित्र ‘वाटर’ मा विधवाहरूको कथालाई अन्टसन्ट रूपमा देखाइएको भनेर उक्त चलचित्र विवादास्पद र प्रतिबन्धितसमेत भयो । यिनै कुरालाई आधार मान्ने हो भने ‘छक्कापन्जा’ मार्फत नेपाली दर्शकको मनमा पर्न सक्ने छाप यही हो—‘बिदेसिएका सम्पूर्ण नेपाली पतिहरूका पत्नी बेइमान छन् र अर्को लोग्नेमान्छेसँग मस्ती गरिरहेका छन् ।’

‘रेमिट्यान्सको महँगो सामाजिक मूल्य’ शीर्षकमा खोज पत्रकारिता केन्द्रको गत पुस ११ गतेको रिपोर्टमा उल्लेख दुई व्यक्तिका प्रतिक्रियाका ‘टोन’ उल्लेखनीय लागे । पहिलो—‘पाँचथर यासोक–५ की राजकुमारी लावती (३०) अहिले शिशु हत्या अभियोगमा पाँचथर कारागारमा छिन् । उनका श्रीमान् इन्द्रकुमार २०६५ सालदेखि वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । जेठाजु नाताका मुखराम लावतीसँगको शारीरिक सम्पर्कपछि जन्मिएको छोरो मारेर सामुदायिक वनमा गाडेको अभियोगमा ३० चैत २०७२ मा राजकुमारी र मुखरामलाई प्रहरीले पक्राउ गर्‍यो । पक्राउ परेपछि राजकुमारीले भनेकी थिइन्, ‘पैसा पठाउनुहुन्थ्यो, के गर्नु लोग्नेसँग साटिने सबै दु:खसुख पैसासँग साट्न मिलेन । उमेरकी श्रीमती सम्झेर बेलाबखत घर आउनुभएको भए म यो हालतमा पुग्ने थिइनँ ।’

अर्को छ— पाँचथरको रानीटार–२ की चन्द्रमा (नाम परिवर्तन) लाई एचआईभी पोजिटिभ भएको छ । श्रीमान् चन्द्रेश्वर (नाम परिवर्तन) वैदेशिक रोजगारीबाट फर्किएपछि २७ वर्षीया चन्द्रमालाई एचआईभी संक्रमण भएको हो । २०६३ सालयता दुई पटक कुवेत गएका चन्द्रेश्वरलाई आफूलाई कसरी एचआईभी संक्रमण भयो भन्ने पनि थाहा रहेनछ । उनले भने, ‘कुवेत जान दिल्लीमा भेला हुँदा रमाइलो गर्न भनेर साथीहरूको लहलहैमा लागियो, त्यही बेला भयो होला ।’

पहिलोमा राजकुमारीले भनेकी छन्, ‘लोग्नेबाट पाउने सुख पैसाले दिन सकेन ।’ दोस्रो घटनामा चन्द्रेश्वरले एचआईभी आफूलाई सरीकन पत्नीलाई सरिसकेको कुराको समेत हेक्का नरहेको कुरा अत्यन्त हल्काफुल्का तरिकाले बताएका छन् । उनको टोनअनुसार उनले दिल्लीमा जे गरे त्यो पत्नीप्रतिको ‘बेइमानी’ नभईकन ‘रमाइलो’ थियो ।

यसले दिल्लीमा जहाज कुरुन्जेल नै पनि ‘रमाइलो’ गरिहाल्न हतारिने लाखौं नेपाली पतिबाट हामीले वर्षौंवर्ष लामो ‘पत्नीव्रत’ को आस कसरी गर्ने भन्ने प्रश्न उठाउँछ । त्योभन्दा अझ हास्यास्पद छ उनीहरूका पत्नीहरू उनीहरूप्रति इमानदार रहुन् भनेर समाजले एकांगी रूपमा गर्ने अपेक्षा । अर्को प्रश्न हो— चन्द्रेश्वरलाई यति हुँदा पनि नछोडीकन बसेकी चन्द्रमाजस्ता लाखौं पत्नीको मूल्यांकन हामीले कत्तिको गरेका छौं ।

हिजोआज घर धान्नका लागि कैयौं महिला पनि वैदेशिक रोजगारीमा जान थालेका छन् । यदि चन्द्रेश्वरकै बयानलाई उल्ट्याएर सोच्ने हो भने कति जना महिलाले यसरी नै निर्धक्क भन्न सक्लान् दिल्लीमा बसेर आफूलाई खाडी उडाउने जहाज कुरुन्जेलका केही दिनमै पनि ‘रमाइलो’ गरेका कारण एचआईभी संक्रमण भयो र पतिलाई समेत सर्‍यो । कति जना नेपाली पतिले यस्ता पत्नीहरूलाई आफूलाई एचआईभी संक्रमण भइसकेपछि पनि नत्यागी बस्न सक्लान् ।

रेमिट्यान्सको कस्मेटिक मूल्य नगण्य छ । योभन्दा कैयौं गुणा चर्को रूपमा सामाजिक र मानवीय मूल्यको क्षय हुँदै गएको कुरा सत्य हो । यसका थुप्रै अरू कारण पनि छन् । तर यसको सम्पूर्ण दोष केही वर्षअघिदेखि नेपाली महिलाको काँधमा मात्रै थोपरिएको छ जुन एकपक्षीय र अन्यायपूर्ण छ । वर्षौंदेखि लोग्ने बिदेसिएका लाखौं महिलाले लोग्नेको घरको पारिवारिक जिम्मेवारी र उसकै प्रतिनिधित्व गरेर सारा सामाजिक जिम्मेवारी धानेका छन् ।

बिदेसिएका सबै पति अथाह पैसा पठाउने मात्र हुँदैनन् जसलाई बटुलेर उनीहरू टाप कस्न सकुन् । कतिपय पतिहरू जेल परेका छन्, वर्षौंदेखि एक रुपैयाँ पठाउन सकेका छैनन् र पनि महिलाले पतिका परिवारको सम्पूर्ण आर्थिक जिम्मेवारी बहन गरेका छन् । अंगभंग भएर वा कोमामा गएर समेत घर फर्केका कैयौं पतिहरू छन् जसलाई क्षतिपूर्ति दिलाउनका लागि कहिले घरबाहिरको संसार नै नदेखेका निर्दोष पत्नीहरू म्यानपावर कम्पनी र सरकारी कार्यालयका चक्कर काटिरहेका छन् ।

घरभित्रका सारा धन्दाका साथमा बालबच्चा हुर्काउने वा बिरामी र वृद्ध सासू–ससुरा स्याहार्नेजस्ता उनीहरूले गरेका दर्जनौं कामको त अझ कुनै गणना नै हुँदैन । बिदेसिएका पतिका पत्नीहरू छरछिमेकका अभद्र पुरुषका गिद्देदृष्टिबाट बच्न के–केसम्म गर्छन् । महिलाका यी सबै योगदानको सधैं अवमूल्यन हुँदै आएको छ । र, हामी ‘लोग्ने उता स्वास्नी यता अर्कैसँग टाप’ भन्ने कथा भएका फिल्म देखाएर पैसा कमाइरहेका छौं ।

कलाकार पनि समाजका अंग हुन् र उनीहरूको पनि सामाजिक उत्तरदायित्व अरू नागरिकको जस्तै हुन्छ । यो कुरालाई कलाकार दम्पती सीताराम कट्टेल र कुञ्जना घिमिरेले भूकम्प प्रभावितहरूका लागि बस्ती बसाल्ने काम गरेर स्वयं प्रमाणित पनि गरिसकेका छन् । श्रव्यदृश्य सामग्री र त्यसमा सहभागी कलाकारको प्रभाव कतिसम्म हुन्छ भन्ने कुरा देश–विदेशबाट उनीहरूको अभियानमा साथ दिइरहेका नेपालीहरूको सहयोगले पनि प्रस्ट पार्छ ।

दशकौं लामो राजनीतिक अस्थिरता र त्यसका लागि जिम्मेवार राजनेताहरूको निकम्मापनबाट वाक्क बनेका नागरिक यसै पनि कुनै सकारात्मक समाचार वा अभियानको पर्खाइमा छन् जसले उनीहरूलाई छोटो समयका लागि भए पनि यो निराशाबाट बाहिर निकालोस् र ‘इंगेज’ राखोस् । कमेडी सिरियलहरू वर्षौंदेखि टेलिभिजनमा लोकप्रिय हुनुको कारण पनि यही हो ।

सर्वसाधारण जनता निराशाजनक राजनीतिबाट वाक्क छन्, विरक्तिएका छन् र उनीहरूलाई हास्यव्यंग्यको माध्यमबाट नै भए पनि राजनेताहरूलाई गरिएको अप्रत्यक्ष गाली सुन्दा त्यो विरक्तिले केही निकास पाएको महसुस हुन्छ । ‘छक्कापन्जा’ हिट हुनुको कारण पनि धेरै हदसम्म यही मान्न सकिन्छ । राजनीतिको छक्कापन्जाबाट, बेरोजगारीबाट र देशको बेहाल स्थितिबाट आक्रान्त नागरिकलाई हाँस्ने कुनै कारण चाहिएको छ ।

योबाहेक वर्षौंसम्म हास्यव्यंग्य सिरियलको ‘एडिक्ट’ बनेका नेपाली दर्शक केही समयअघि ती सिरियलहरू बन्द भएपछि हेर्नबाट बन्चित थिए । एकातिर बन्द भएका सबै सिरियलका कलाकार एकै ठाउँमा थुप्रिएको र अर्कोतिर हप्ताका हरेक बार ती सिरियल हेर्नका लागि मिलाउन पर्ने समय र त्यसलाई खाइदिने लोडसेडिङको झन्झटबिना हेर्न पाएका यस्ता चलचित्रहरूलाई दर्शकले रुचाउनु स्वाभाविक हो । फिल्म राम्रो नै भएर दर्शकले हेरेका होलान् । संगीत वा प्रविधि पक्ष उत्कृष्ट होला ।

महिलाले निर्देशन गरेको फिल्मले व्यावसायिक रूपमा रेकर्डब्रेकिङ कमाइ गरेको भनेर यसलाई उल्लेखनीय पनि मानिन सक्ला । तर पैसा कमाउनुले मात्रै सबै कुरा ‘जस्टिफाई’ गर्दैन । बिकेकै आधारमा कुनै चीजको श्रेष्ठताको मापदण्ड निर्धारित हुँदैन । धेरै बिकेकै आधारमा कुनै चीजको सफलताको मापदण्ड निर्धारित गर्ने हो भने बजारमा के–के सम्मका चीज बिक्छन् तिनको छुट्टै लिस्ट बन्न सक्ला ।

धेरै नागरिकको मष्तिस्कमा अत्यन्त छिटो र गहिरो गरी सम्प्रेषण हुने फिल्मजस्तो असरदार माध्यमको कथा बनाउँदा न्यूनतम रिसर्चसम्म गर्नु वा समाजको हरेक वर्गको मर्यादाको ध्यान राख्नु नागरिककै रूपमा जोसुकै फिल्मकर्मीको जिम्मेवारीभित्र जरुर पर्छ । ‘छक्कापन्जा’मा एउटा सिंगै वर्गको, जनसंख्याको आधा हिस्साको मर्यादाको धज्जी उडाइएको छ र सारा देश बिनाप्रश्न त्यसमा मजा लिएर हाँसेको छ ।

वरिष्ठतम राजनीतिज्ञ वा कलाकारहरू गएर हेरेका छन् तर कसैले पनि फिल्मको विषयवस्तुको बारेमा प्रश्न उठाएको सुनिएन । सारा देश हाँस्नुलाई सफलताको मापदण्ड अवश्य मान्न सकिन्न । कुनै चीजलाई चाहे त्यो फिल्म नै किन नहोस्, बिकेकै आधारमा त्यसमाथि प्रश्न गर्नका लागि प्रश्नकर्ताको हैसियत वा अधिकार समाप्त हुँदैन । ‘हाम्रो काम नैतिक शिक्षा पढाउने होइन’ भनेर ओठे जवाफ दिने ‘छक्कापन्जा’ निर्माताको टिमबाट कुनै गहन विषयमा ‘इन्टेलिजेन्ट फिल्म मेकिङ’ को अपेक्षा गर्न नसकिएला तर एउटा सिंगै वर्गलाई लाञ्छित गरेकोमा प्रश्न उठाउन अवश्य सकिन्छ ।

प्रकाशित : पुस २३, २०७३ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?