कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्व हल्लाउने उद्यमी

दिनेश यादव

अधिकांश विकासोन्मुख मुलुकका सरकार साधारणतया व्यापारमैत्री हुँदैनन् । त्यसैले सुरुमा असफल हुने सम्भावना निकै हुन्छ । केही महत्त्वाकांक्षी व्यापार मालिकहरू भने जुनसुकै अवस्थामा पनि लगानी गर्न चाहन्छन् । सफल उद्यमी बन्ने व्यक्तिमा धेरै गुण हुन जरुरी छ, जसमा केही प्राकृतिक रूपमा प्राप्त गर्न सकिएला तर उद्यमी चम्किने भनेकै आफ्नो काम र अनुभवबाटै हो । सफल उद्यमी कुनै पनि उमेर समूहका हुन सक्छन् ।

विश्व हल्लाउने उद्यमी

तिनीहरू कुनै अमूक समुदायबाट पनि आउन सक्छ । उच्च शिक्षितहरू मात्रै राम्रा उद्यमी बन्न सक्छन् भन्ने छैन । फरक सोच भएका व्यक्ति मात्रै सफल उद्यमी बन्न सक्छन् । भनिन्छ, उद्यमी एउटा घोडाजस्तै हुन्छन्, जसले नयाँ विचारहरूको गाडीलाई तान्ने गर्छन् । काममा आनन्द लिने, गम्भीर, आत्मविश्वासी, राम्रा योजना बनाउने, कार्यस्थल र बाहिर दुवै स्थानमा सकारात्मक सम्बन्ध कायम गर्ने क्षमता भएकाहरू मात्रै सफल उद्यमी बन्न सक्छन् । केही यस्ता उद्यमी छन्, जो विकासोन्मुख मुलुकबाट व्यवसाय थालेर विश्व हल्लाउने हैसियत राख्न थालेका छन् । 

एलिको ड्याङ्गोटे
नाइजेरियाली नागरिक एलिको ड्याङ्गोटे अफ्रिकाकै सबैभन्दा धनाढ्य हुन् । आफैंले सञ्चालन गरेको सिमेन्ट, चिनी, पिठोलगायतका उद्योग नै उनको सम्पत्तिको स्रोत हो । उनको सिमेन्ट उद्योग अफ्रिकाकै सबैभन्दा बढी सिमेन्ट उत्पादन गर्नेमा पर्छ । सन २०१५ मा आफ्नो ड्याङ्गोटे सिमेन्ट उद्योगको विस्तार गरेर उनले क्यामरुन, इथिओपिया, जाम्बिया र तान्जानियासम्म पुर्‍याए । उनको उद्योगबाट वार्षिक ३० मिलियन टनभन्दा बढी सिमेन्ट उत्पादन हुने गरेको छ । सन् २०१८ सम्म यो उत्पादन क्षमता दोब्बर बढाउने ड्याङ्गोटेको योजना छ । ड्याङ्गोटे सिमेन्टमा हाल ९० प्रतिशत उनको हिस्सेदारी छ । उनका अन्य कम्पनीहरू ड्याङ्गोटे समूहअन्तर्गत सञ्चालित छन् । यो समूहअन्तर्गत नुन, चिनी र पिठो उत्पादन कम्पनी छन् । यो समूह अफ्रिकाको १५ मुलुकमा सक्रिय छ ।

नाइजेरियाली मुद्रा कमजोर भएपछि उनको कुल सम्पत्ति अघिल्लो वर्ष केही घटयो । तर, निराश भने उनी भएनन्, आफ्नो पथमा लागिरहे । ड्याङ्गोटे धेरै वर्ष नाइजेरियामा बसोबास गर्ने प्रमुख व्यापारिक घारानियाका हुन् । 
ड्याङ्गोटे धनाढय मुस्लिम परिवारमा ५९ वर्षअघि जन्मिएका हुन् । उनीे पुख्र्यौली सम्पत्तिभन्दा पनि आफैंले केही गर्नुपर्छ भन्ने सोचका साथ अघि बढे । भनिन्छ, हुने बिरुवाको चिल्लो पात । हो उनी सानैमा चिल्लो पात भएर निस्किए । त्यसैको प्रमाण उनको प्राइमरी स्कुलमा पढ्दाको संघर्षलाई लिन सकिन्छ । त्यस्ताका उनी मिठाईका बाकस खरिद गर्थे र त्यो बेचेर रकम जम्मा गर्थे । यसमा उनको धेरै रुचि थियो । लामो समयसम्म यसलाई निरन्तरता दिए । सन् १९७७ मा उनी आफैंले सानो व्यापारिक फर्म ‘द ड्याङ्गोटे ग्रुप’ स्थापना गरे । आज उनको यो कम्पनी बहु–ट्रिलियन कम्पनी बनेर बेनिन, घाना, नाइजेरिया र टोगोलगायतमा सक्रिय छ । उनको समूह नाइजेरियाको चिनी बजारलाई आफ्नो कब्जामा गरेको छ । यति मात्रै होइन, उनको कम्पनीले उत्पादन गरेको चिनी सफ्ट ड्रिंक कम्पनीहरू, ब्रेवरिज र कन्फेक्सनर्सका लागि प्रमुख आपूर्तिकर्ता बनेको छ । ड्याङ्गोटे समूह ड्याङ्गोटे सुगर रिफाइनेरी, ड्याङ्गोटे सिमेन्ट र ड्याङ्गोटे फ्लोवरलगायतका उद्योगसहित ठूलो व्यापारिक कम्पनी बनेको छ । सन् २०१२ मा ड्याङ्गोटेले नाइजेरियाली बन्दरगाह प्रशासनसँग अपापा पोर्टको केही जमिन लिजमा लिएर त्यहाँ मैदा/पिठो उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याए । सन् १९९० को दशकमा उनले नाइजेरियाको केन्द्रीय बैंकसँग सस्तोमा कर्मचारीका लागि बस चलाउने प्रस्ताव गरेका थिए, ती बसहरू आफ्नै यातायात कम्पनी खोलेर सञ्चालनमा ल्याउने उनको सोच रहेछ, पछि त्यो कार्यान्वयनमा आयो । 

उनको चिनी प्रशोधन उद्योग अफ्रिकाकै सबैभन्दा ठूलो र विश्वकै तेस्रो हो, उनको कम्पनीले वार्षिक ८ लाख टन चिनी उत्पादन गर्छ । ड्याङ्गोटे समूहको आफ्नै नुन उद्योग र मैदा मिल छ । यो कम्पनी चामल, माछा, पेस्ता, सिमेन्ट र मलको प्रमुख निर्यातकर्ता समेत हो । 

कम्पनीले कटन, काजु, कोकोआ, तिलको बीउ र अदुवा विभिन्न मुलुकमा निर्यात गर्छ । कम्पनीको प्रमुख लगानी रियल स्टेट, बैंकिङ, यातायात, कपडा, तेल र ग्यासमा पनि हो । पश्चिम अफ्रिकाकै सबैभन्दा ठूलो औद्योगिक समूहमा दरिएको उनको कम्पनीले ११ हजारभन्दा बढीलाई रोजगारी दिएको छ । ड्याङ्गोटेले टेलिकम्युनिकेसन्समा समेत लगानी गरेका छन् । उनले नाइजेरियाभरि १४ हजार किलोमिटरमा फाइबर अप्टिक केबल बिछ्याउन सुरु गरेको छ ।

ज्याक मा 
चीनको झेजिआङ प्रान्तको ह्याङझाउमा जन्मेका ज्याक मा अनलाइन सपिङ सेवा सञ्चालन गर्ने कम्पनी अलिबाबा समूहका प्रमुख हुन् । उनको लगानी ई–कमर्स, अनलाइन लिलामी होस्टिङ, अनलाइन मनी ट्रान्सफर, मोबाइल कमर्स रहेको छ । इन्टरनेटमा आधारित व्यापार थालेर कम समयमै चर्चित उद्यमी बन्न उनी सफल भएका छन् । अलिबाबा ग्रुप खोल्नुअघि माको परिचय र पेसा फरक थियो । उनको जीवनका विगतका क्षणहरू धेरैका लागि प्रेरणादायक बन्न सक्छन् । सुरुमा उनको लगाव अंग्रेजी भाषा सिक्नमै थियो । उनी उमेर छिप्पिएपछि मात्रै अंग्रेजी सिकेका हुन् । अंग्रेजी सिक्नकै लागि उनी हरेक दिन आफ्नो घरबाट ४० मिनेट मोटरसाइकलमा चढेर दिनहुँ ह्याङझाउ होटल पुग्थे । त्यहाँ कार्यरत अंग्रेजी बोल्नेसँग घण्टौं अंग्रेजीमा गफिन्थे अनि फर्किन्थे । यति मात्रै होइन उनी आफ्नो अंग्रेजी भाषा राम्रो बनाउन ती अंग्रेजीभाषीलाई सित्तैमा सहरसमेत घुमाउँथे । यी सबैका बाबजुद पनि उनलाई अंग्रेजी सिक्न ९ वर्ष लाग्यो ।

उनीसँग जोडिएको अर्को एउटा रोचक प्रसंग उनको नामसँग सम्बन्धित छ । उनले एक जना विदेशीसँग पत्रमित्रता कायम गरे, तिनैले उनको नाम ‘ज्याक’ राखिदिएको आफैं बताउने गर्छन् । ती पत्रमित्रलाई उनको चिनियाँ नाम (मा युन) उच्चारण गर्न साहै्र गाह्रो पथ्र्यो । त्यसैले तिनले ‘ज्याक’ भनिदिएका हुन् । 

माले कलेजमा नाम लेखाउन धेरै संघर्ष गर्नुपर्‍यो । कलेज भर्नाका लागि उनले चार वर्षमा बल्ल प्रवेश परीक्षा उत्तीर्ण गरे । उनले ह्याङझाउ टिचर इन्स्टिच्युटमा भर्ना भएर सन १९८८ मा अंग्रेजीमा उनले बीए गरे । स्कुलमा छँदा उनी विद्यार्थी परिषद्का प्रमुख भएर काम गरेका थिए । स्नातक गरेपछि उनी ह्याङझाउ डिआन्जी युनिभर्सिटीमा अंग्रेजी र अन्तर्राष्ट्रिय व्यापार विषयका लेक्चरर बने । त्योभन्दा अघि उनले जागिरका लागि विभिन्न ३० ठाउँमा आवेदन दिइसकेका थिए, सबै ठाउँमा उनी अयोग्य ठहराइएका थिए । एउटा अन्तर्वार्तामा भनेका छन्, ‘म प्रहरी बन्न चाहन्थें, तिमी अयोग्य छौ भनेर रिजेक्ट गरिदियो ।’ उनी आफ्नै सहरको केएफसीमा समेत नोकरीका लागि गएका थिए । त्यहाँ जम्मा २४ जनाले निवेदन दिएकामा २३ जनाको छनोट भयो, मा मात्रै अस्वीकृत भएका थिए । उनी हावर्ड विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्न चाहन्थे तर एक पटक होइन, दुई पटक होइन, १० पटकसम्म निवेदन दिँदा पनि उनी सफल हुन सकेनन् ।

अंग्रेजीका शिक्षक उनी अंग्रेजीमै परीक्षा दिँदा विश्वविद्यालयले उनलाई भर्नामा अयोग्य ठहरायो । सन् १९९४ मा उनले इन्टरनेटबारे सुनेका थिए । सन् १९९५ को सुरुमा उनी अमेरिका गए, त्यहाँ साथीहरूको सहयोगमा इन्टरनेटबारे थप जानकारी प्राप्त गरे । पछि माले आफ्नी श्रीमती र एक जना मित्रसित मिलेर २० हजार अमेरिकी डलरमा पहिलो कम्पनी खोले, उक्त कम्पनीले अन्य कम्पनीहरूका लागि वेबसाइट खोल्ने काम गथ्र्यो । त्यसताका आफ्नो कम्पनीको नाम ‘चाइना येल्लो पेजेज’ राखेका थिए । तीन वर्षमै उनको कम्पनीले ८ लाख अमेरिकी डलर जुटाउन सफल भयो । 

उनी कम्पनीहरूलाई वेबसाइट बनाउन घरमै बोलाउने गर्थे, त्यही कर्मले उनको भाग्योदय भयो । एक अर्को अन्तर्वार्तामा भनेका छन्, ‘इन्टरनेट अत्यन्तै स्लो चल्थ्यो, साढे तीन घण्टामा आधा पेज मात्रै खुल्थ्यो, त्यस क्रममा हामी पिउँथ्यौं, टीभी हेथ्र्यौ र तास खेल्थ्यौं तर नेट खुल्ने प्रतीक्षामा भने कायम रहन्थ्यौंं ।’ तिनै ज्याक मा आज अर्बपति बनेका छन् र उनको व्यापारिक सञ्जाल धेरैका लागि सहयोगी सावित भएको छ । उनले ३३ वर्षको उमेरमा पहिलो पटक कम्प्युटर खरिद गरेका थिए । सन् १९९८ देखि १९९९ सम्म माले चाइना इन्टरनेसनल इलेक्ट्रोनिक कमर्स सेन्टरको प्रमुख भएर काम गरे । सन १९९९ मा उनी त्यो जिम्मेवारी परित्याग गरी आफ्ना साथीका साथ ह्याङझाउमा आएर अलिबाबा खोले । हाल यही अलिबाबा विश्वव्यापी रूपमा फैलिएको छ । 

रिनाट अखमेतोभ
मजदुर वर्गीय परिवारमा जन्मेका रिनाट अखमेतोभ युक्रेनका बासिन्दा हुन् । उनका बुबा लिओनाइड कोइलाखानीमा काम गर्थे भने आमा न्याकिया पसलमा सहयोगीका रूपमा काम गरेकी थिइन् । उनको पारिवारिक पृष्ठभूमि व्यापारी नभए पनि उनले आफैंले खोलेको कम्पनीबाट मुलुककै सर्वाधिक धनाढ्य बने र सबैभन्दा बढी राजस्व बुझाउनेमा आफ्नो कम्पनीलाई पुर्‍याए । सोभियत संघको विघटनको पहिलो वर्ष उनले बढी जोखिम भएको व्यापारमा लगानी गरी मनग्ये धनार्जन गर्न सफल भएको एक अन्तर्वार्तामा बताएका छन् । जोखिम मोल्न लिन सक्ने खुबी भएकैले उनी सफल बनेका हुन् । सोभियत संघको पतनपछि कोइला र कोकमा लगानी गर्न कोही इच्छुक नभएको अवस्थामा उनले यसैमा लगानी गरे । उनको धनबारे विवादास्पद रिपोर्टहरूसमेत सार्वजनिक हुने गरेका छन् । सञ्चार माध्यमहरूमा उनीबारे कडा टिप्पणीहरूसमेत गरिए, केही लेखकले उनलाई ‘माफिया ठग’ सम्म भन्न भ्याए । तर, यी सब आलोचनालाई चिर्दै उनी आफ्नो पथमा कायमै रहे । आज युक्रेनकै सर्वाधिक धनाढय बनेका छन् । अखमेतोभले सन् २००० मा सिस्टम क्यापिटल म्यानेजमेन्ट ग्रुप (एससीएम) खोलेर अघि बढेका हुन् ।

यो कम्पनीमा २००९ सम्म आफूलाई सक्रिय बनाएका थिए । यस अवधिमा एससीएम युक्रेनकै सबैभन्दा ठूलो वित्तीय र औद्योगिक फर्म बन्यो । यो कम्पनीमा फलाम र खनिज, ऊर्जा, बैंकिङ र इन्स्योरेन्स, टेलिकम्युनिकेसन्स, मिडिया, रियल इस्टेटलगायत सयभन्दा बढी व्यापार एकै साथ सुरु गरे । कम्पनीको राजस्व १२ दशमलव ८ अर्ब अमेरिकी डलर पुग्यो । एससीएम समूहको सबैभन्दा ठूलो कम्पनी मेटिन्भेस्ट हो, यो खनिज र इस्पातको व्यापारमा सक्रिय छ । उनको बृहत् इस्पात (स्टिल) व्यापार विस्तार हुँदै गएर पछि युरोपकै ठूलो व्यापार बन्न पुग्यो । उनी युक्रेनियन फुटबल क्लब सख्तर डोनेत्सकका मालिक हुन् । सन् २००६–००७ र २००७ देखि ०१२ सम्म युक्रेनी संसद्का सदस्य भएरसमेत काम गरिसकेका छन् । डोनेत्सक नेसनल युनिभर्सिटीबाट कला/विज्ञानमा स्नातकसम्म पढेका उनी अघिल्लो वर्ष फोब्र्सको सूचीमा ७७१ स्थानमा थिए । 

रोबर्ट कुओक 
उनी मलेसियाका उद्यमी हुन् । उनको सम्पत्तिको स्रोत आफैंले सञ्चालन गरेको सिपिङ, पाम आयल (ताडको तेल उद्योग) र उखु खेती हो । हङकङ, सिंगापुर र मलेसियामा समेत सम्पत्ति अर्जेका छन् । उनको आम्दानीको सबैभन्दा ठूलो स्रोत पाम आयल उत्पादन गर्ने कम्पनी विल्मार हो, जुन अझै पनि विश्वकै सबैभन्दा ठूला कम्पनी हो । उनले आफ्नो व्यवसाय चिनीको व्यापारबाट थालेका हुन् । 

कुओकका बुबा २० औं शताब्दीमा चीनको फुजिआनबाट मलाया आएका थिए । उनी चिनियाँ फुझाउ भाषा बोल्ने परिवारमा हुर्केका हुन् । उनले आफ्नो व्यापार एउटा कार्यालयको सहयोगीका रूपमा थालेका हुन् । पछि आफन्तहरूको सहयोगमा छुट्टै व्यापार थाले । स्नातकपछि उनले जापानको चामल व्यापार विभागमा कलर्कको काम गरे । त्यहाँ आफ्नो पर्फमेन्स राम्रो देखाएपछि प्रमुखमा पदोन्नति भए । सन् १९५९ मा दुई जापानी साथीसँग मिलेर मलायन सुगर उत्पादन कम्पनी खोले । सन् १९६१ मा सस्तोमा भारतबाट चिनी आउन थालेपछि उनी एकाएक अत्तालिएका थिए । तर, चिनी प्रशोधन गर्ने व्यापारमा अडिग रहे, लगानी बढाए । फलस्वरूप मलेसियाको चिनी बजारमा उनको पकड ८० प्रतिशतसम्म पुग्यो । उनको कम्पनीले डेढ मिलियन टनसम्म चिनी उत्पादन गरेको थियो । जुन विश्वकै चीन उत्पादनको १० प्रतिशत हिस्सा हुन पुग्यो । त्यसैले त उनलाई ‘सुगर किङ अफ एसिया’ नामबाट पनि सम्बोधन गर्न थालियो । 

केहीले उनलाई किङ अफ कुकिङ आयल (खाना पकाउने तेलका राजा) समेत भनेर बोलाउँछन् । उनले सन् १९७१ मा सिंगापुरमा पहिलो पटक संग्रिला होटल खोले । त्यसको छ वर्षपछि उनले हङकङमा प्लट गरिएको जमिन खरिद गरी त्यहाँ दोस्रो होटल ‘कोवलुन संग्रिला’ खोले । सन् १९९३ मा उनको केरी ग्रुपले साउथ चाइना मर्निङ पोस्टमा म्युडोकको न्युज करपोरेसनबाट ३४ दशमलव ९ प्रतिशत सेयर खरिद गरे । उनको कम्पनीले सिंगापुर, फिलिपिन्स, थाइल्यान्ड, चीन, इन्डोनेसिया, फिजी र अस्ट्रेलियालगायतका मुलुकमा आफ्नो लगानी विस्तार गर्‍यो । चीनमा कोकाकोलाका लागि १० बोटलिङ कम्पनीमा उनले लगानी गरे, बेइजिङ वल्र्ड ट्रेड सेन्टरलाई आफ्नो बनाए । ९३ वर्षीय उनी चिनी कम्पनी र उखु खेतीमा आफ्नो लगानी कायमै राखेका छन् ।

लुइस कार्लोस सरर्मिएन्टो
कोलम्बियाका सर्वाधिक धनाढ्यमध्ये एक हुन्, लुइस कार्लोस सरर्मिएन्टो । निर्माण कम्पनीबाट व्यापार थालेका उनी पछि वित्तीय सेवाहरूतिर हानिए । ८२ वर्षीय उनी अझै पनि आफ्नो कम्पनी ‘ग्रुपो एभल’ का प्रमुखको हैसियतमा कायम गरिरहेका छन् । हाल उनको वित्तीय कम्पनीले कोलम्बियाका सबै बैंकसहित एक तिहाईमा उनको कब्जा छ । 

उनले सन् १९९० को दशकमा अवासीय र व्यापारिक भवनहरूबाट आफ्नो करिअर सुरु गरेका हुन् । निर्माण व्यापारमा आफूलाई स्थापित गरेपछि विभिन्न कम्पनीको प्राप्ति अभियानमा जुटे । झन्डै एक दशक जारी राखेको अभियानपछि उनी बैंक र वित्तीय सेवा कम्पनीतिर केन्द्रित भएका हुन् । सन् २००० सम्म उनी कोलम्बियाको टप बैंकिङ मोगुल बन्न सफल भए । यो अवधिसम्म पुग्दा स्थानीय बैंकहरूमा उनको पकड २२ प्रतिशतसम्म पुग्यो । पछि उनले होल्डिङ कम्पनीका रूपमा ‘ग्रुपो एभल’ स्थापना गरेका हुन् । यो कम्पनीमार्फत बैंकिङ गतिविधि, टेलिकम्युनिकेसन्स र रियल इस्टेटमा आफ्नो पकड बढाउँदै लगे । चारवटा प्रमुख बैंक र अन्य वित्तीय सेवालाई कोर संगठनका रूपमा स्थापना गरी आफ्नो सक्रियता पनि बढाए । आफ्नो परम्परागत व्यवस्थापनका कारण उनी हाल कोलम्बियाकै सफल उद्यमीमा दरिएका छन् । उनी लगानी गर्नमा सधै सचेत रहँदै आएकाले कोलम्बिया विभिन्न समस्यासँग जुधिरहेको अवस्थामा पनि उनको संस्थाले प्रगति गर्न छाडेन । 

उनले जे जति गरे आफ्नो लगन, परिश्रम र मिहिनेतबाटै गरे । कोलम्बियाको नेसनल युनिभर्सिटीबाट कला/विज्ञानमा स्नातक गरेका उनी अझै पनि साताको ६० घण्टासम्म काममा खटिने गरेका छन् । बंैकिङ र वित्तीय क्षेत्रमा मात्रै उनले आफूलाई सीमित राख्न चाहेनन् । त्यसैक्रममा उनले कोलम्बियाकै सबैभन्दा ठूलो अखबार एल टिएम्पो खरिद गर्नसमेत भ्याए । अखबार खरिद गरेको दुई महिना नबित्दै उनले बोगोटामा ग्रान्ड ह्यात निर्माण गर्ने घोषणा गरे । उनको सफलताको रहस्य रूढिवादी व्यापार अभ्यास हो । 

धानिन चियराभानोन्ट
थाइल्यान्डका सर्वाधिक चर्चित र धनाढय हुन्, उनी । उनले स्थापना गरेको चारोएन पोक्फान्ड समूह (सीपी ग्रुप) लाई कृषि व्यापार, खाद्य, टेलिकम्युनिकेसन्स, खुद्रा र वितरकजस्ता कोर व्यापारमा विस्तार गरे । उनका बुबा र काका सन् १९२० को दशकमा चीन छाडेर बैंकक आएका थिए । बैंककमा बीउ र कृषि रसायन बेच्न थाले । यो व्यापार एसियाभरि फैलियो, यसमा ठूलो संस्थामा प्राविधिक लगानीकर्ता र करारमा कृषि गर्नेहरूसमेत थपिँदै गए । सन् १९८० को दशकमा चारोइन पोक्फान्ड ग्रुप होन्डा, वाल मार्ट र टेस्कोजस्ता अन्तर्राष्ट्रिय ब्रान्डको पार्टनर बन्न पुग्यो । सीपी ग्रुप कृषि, टेलिकम्युनिकेसन्स, मार्केटिङ, डिस्ट्रिब्युसन र लजिस्टिक, अन्तर्राष्ट्रिय व्यापार, पेट्रोकेमिकल्स, पोपर्टी र जमिन, क्रप इन्टिग्रेसन, इन्स्युरेन्स, अटोमोटिभ र घरपालुवा जनावरको खानाका लागि एसियाकै सबैभन्दा ठूलो समूह हो । ७७ वर्षीय उनी ठूला सम्झौताहरू गर्न धेरै निपुण भएकाले सफलताको मार्गमा अग्रसर छन् । 

(एजेन्सीहरूको सहयोग)

 

प्रकाशित : फाल्गुन ६, २०७३ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?