कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीडामा सहारा दिने हातहरु [तस्बिरसहित]

जितेन्द्र साह

विराटनगर — भनिन्छ, समस्या पर्दा छिमेकी नै चाहिन्छ । भिषण वर्षासँगै विराटनगरमा २७ साउन रातिदेखि आएको बाढीकापीडितहरुतर्फ सबैभन्दा पहिले छिमेकीहरुकै सहयोगी हात अघि बढ्यो । ७० वर्षीय किसान गिर्जानन्द यादवले सयजना बाढीपीडितलाई घरमा शरण मात्र दिएनन्, भोजनको प्रबन्ध समेत गरे । यादवको विराटनगर ८, हाटखोलाको अग्लो एवं सुरक्षित थलोमा आठकोठे पक्की घर छ ।

पीडामा सहारा दिने हातहरु [तस्बिरसहित]

‘घरमा भएको खाद्यान र ओछयानले मिलिजुली काम चलायौं,’उनले भने । यादवको घरछेउको बस्तीलाई स्थानीय सिंघिया खोलाको बाढीले डुबानमा पारेको थियो । 

एकै पटक महानगरको अधिकांश भाग जलमग्न भएकाले सबैतिर प्रहरी प्रशासन एवं महानगरपालिकाको पहुँच सम्भव थिएन । उनले यस्तो बेला आफ्ना कोठाहरु बस्नलाई छरछिमेकलाई उपलब्ध गराए । यादवकै घर वरिपरिसम्मको सडकमा छातीसम्म पानी थियो । पानी नसुकुन्जेलसम्म यादवले उनीहरुलाई घरमा राखे । बाढीको सातापछि पुरानै अवस्थामा फर्केको शान्त सिंघिया खोला हेर्दै उनले भने,‘विश्वास नै लाग्दैन, अस्ति यही खोलाले ताण्डव मच्चाएको थियो ।’स्थानीयलाई सम्हालिन नीकै समय लाग्ने गरी उक्त खोलाले सबै खाले पीडा दिएर गएको उनले बताए । 

उनकै अर्का छिमेकी ४४ वर्षीय इन्द्रदेव राजवंशीले आफू बसिरहेकै घरको माथिल्लो तल्लामा आसपासकालाई सामान राख्नलाई दिए । यस्तो बेलामा व्यक्तिगत स्वार्थबाट माथि उठेर घरबेटिहरु एवं छरछिमेकको सहयोगी भावनाले पीडितलाई हिम्मत मिल्यो । स्थानीय संगमचोककी ४२ वर्षीया गृहिणी हेमकुमारी भूजेलको घर अघिल्तिरको सडकमा घाँटिसम्मै पानी थियो । उनले पनि खुल्ला दिलले खोलाको जोखिममा रहेका २० जनालाई घरमा बास दिइन्, खाना खुवाइन् । यतिमात्र हो, विभिन्न ठाउँबाट घर छेउकै चोक एवं मार्गमा ५ वटा शवहरु बगेर आए । तर, भूजेल र उनको छिमेकीहरुले प्रहरी भ्यान एवं एम्बुलेन्स डाकेर शवहरु उठाउन लगाए । बाढीमा शव, सोफा, दराज, पलंग, खाट, लत्ताकपडा, दाउरा र गरगहना बगेर आइरहेको सम्झँदा भूजेलको आङ सिरिंग हुन्छ ।

घर जलमग्न भएकी स्थानीय ५० वर्षीया देवी काफ्लेले एक राति छिमेकीको शरण लिएपछि अर्को दिन आफैं मद्दत गर्न हिंडिन् । ‘२८ साउनको साँझपख कोठाहरुमा कम्मरमाथिसम्म पानी थियो, जसोतसो पौडिंदै केही पर रहेको छिमेकीकोमा पुग्यौं,’उनले भनिन्,‘उनीहरुले आफूलाई पीडित नमानी पाहुनाको रुपमा स्वागत गरे ।’ अर्को दिन बिहानै पानी बगिसकेको हुनाले फोहोर सोरसार पारेर घरमै बस्न थालिन् तर काफ्लेको अन्य छिमेकीको स्थिति अझै दयनीय थियो । ‘म पनि उनीहरुलाई सकेजति सहयोग गर्नतिर लागेँ,’उनले भनिन् ।

खोला पारी मोरंगको कटहरी–२, आदर्शनगरवस्तीका मञ्जित ठाकुर र वारी बसपार्क छेउका अजय शाहको घरको आधीभाग पानीमा डुबेको थियो । उनीहरुले पनि नजिकैको अर्को घरको छतमा टेन्ट खडा गरी आश्रय लिए । तर, यस्तो अवस्थामा समेत उनीहरु आपसमा रकम उठाएर चिउरा, भुजिया, चाउचाउ एवं पानीको बोत्तल किनी बाढी प्रभावित बस्तीमा बाँडिरहेका थिए ।
 
कटहरी २ को एक घरको भुइँतलाको तीन कोठामा पानी प्रवेश गर्दा बिचल्लीमा परेका भाडावालहरुलाई एकछिन ढिलो नगरी घरबेटी ४० वर्षीय रामविलास मुखियाले आफू बसेको माथिल्लो तलामा लगेर राखेर खुवाए । उनी एवं उनको परिवारजनले भाडावालको एकएक सामान उठाएर सुरक्षित ठाउँमा पुर्‍याए । अर्को दिन पानी सुकेपछि उनीहरुले आफैंले भाडावालका कोठाहरुको सरसफाइ गरे । ‘यस्तो घरबेटी पाएकोमा आफूलाई भाग्यशाली ठान्छौं, हामीलाई आ–आफ्नो काममा जान लगाए, सबथोक उनीहरुले नै गरे,’भाडामा बस्दै आएका आयुर्वेद चिकित्सक गंगा शाहले भने ।
 
पूर्णतया बाढी प्रभावित खोला किनारको वस्तीमा स्थानीयवासीले उपलब्ध स्रोतसाधन एवं जनशक्तिको प्रयोग गर्दै घरवारविहिनकालागि टेन्टको सहयोगले अस्थायी बासको प्रबन्ध गरे । स्थिति सामान्य नहुन्जेलसम्मकालागि भोजन एवं पानीको बन्दोबस्ती मिलाए । स्वास्थ्य शिविरको आयोजना गराए । स्थानीय युवाले बाढी गएपछिको साता दिनसम्म पनि पीडितको साथ छाडेका छैनन् । ‘भोलि चुनावमा उठ्ने वा कुनै खाले आर्थिक, राजनीतिक वा सामाजिक लाभ लिने उद्देश्यले यो सेवा गरेका होइनौं’ स्थानीय युवा ईश्वर भट्टराईले भने ।

छरछिमेककै सहयोगका कारणले बाँचेको खोला किनारको सुकुम्बासी बस्तीका मजदुर ४७ वर्षीय मोहम्मद जहाँगिरले बताए । ‘स्थानीय निकाय र सरकारी सहयोगको भर परेको भए त भोकभोकै मरिन्थ्यो,’उनले भने । दुई छोराछोरीका पिता उनी खोलाले घर बगाएपछि स्थानीय सहयोगी परिवारजन, दाता एवं समाजसेवीबाहेक कसैको भर नरहेको बताए ।

यी त केही उदाहरण मात्र हुन् । विराटनगरको बाढी प्रभावित बस्तीहरुमा पुग्दा मानवताले ओतप्रोत थुप्रै नागरिक भेटिन्छन् जसले आफ्नै घरमा क्यान्सर, मधुमेह, मिर्गौला, उच्च रक्तचाप र मनोरोगीका बिरामीहरु हुँदाहुँदै पनि निजी पीडा बिर्सेर छिमेकीलाई कोठामा सुताए र खुवाए । खाद्यान र खर्च सकेर भोलि आफ्नै स्थिति के होला भन्ने चिन्ता नगरी बाढी पीडितको सेवा गरे । ‘व्यक्तिगत स्वार्थ वा फाइदा नहेरी एकअर्कालाई मद्दत गर्ने भावनाले गर्दा हामीले एकसाथ मिलेर भयंकर बाढीको सामना गर्न सक्यौं,’ स्थानीय अविनाश बरालले भने । 

प्रकाशित : भाद्र ९, २०७४ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?