अझै कुरिरहेछन् बेपत्ताका आफन्त

OO केहीले अझै सरकारी राहत पाउन सकेनन् OO खोजीमा राज्यले चासो नदेखाएको आफन्तजनको गुनासो
पोखरा ब्युरो

काठमाडौं — १० वर्षे सशस्त्र द्वन्द्वका बेला सरकार तथा माओवादी पक्षबाट थुप्रै बेपत्ता पारिए । उनीहरुको अवस्था अहिलेसम्म अज्ञात छ । राज्य तथा माओवादीले पनि अवस्थाबारे केही बताएका छैनन् । मुलुक शान्ति प्रक्रियामा पुगेको दशक बिते पनि बेपत्ताको अवस्था सार्वजनिक नहुादा र राज्यले पीडितलाई कुनै पनि क्षतिपूर्ति नदिँदा पीडित झनै पीडामा छन् ।

१३ देखि डेढ वर्षका ४ छोराछोरी पत्नीको जिम्मा लगाएर चितवनका फणीन्द्र सिंखडा माओवादी युद्धमा होमिएका थिए । गोरखा धावाबाट चितवन बसाइँ सरेका उनलाई ०५४ फागुन ३ मा नारायणी नदीमा नुहाउँदै गर्दा प्रहरीले गिरफ्तार गर्‍यो । यो थाहा पाएर उनकी पत्नी राधिकाले खोजी गर्न थालिन् । जिल्लादेखि सर्वोच्च अदालतसम्म पुगिन् तर अहिलेसम्म पत्तो लागेको छैन ।

बाबुलाई फर्काउँछु भन्दै माओवादीको विद्यार्थी संगठनमा लागेका उनका जेठा छोरा हेममणि ०६० भदौ १६ मा लमजुङको पसगाउँमा मारिए । द्वन्द्व सकिएर शान्ति प्रक्रिया पनि टुंगिँदै छ । माओवादी आफैं पनि पटक–पटक सरकारमा पुग्यो । बेपत्ताको स्थिति भने अहिलेसम्म सार्वजनिक गर्न नसकेको राधिकाको गुनासो छ । ‘बेपत्ता खोजबिन नगरी सरकारमा जाँदैनौं भन्थे,’ पोखरा बसपार्कको सुकुम्बासी टोलमा बस्दै आएकी उनले भनिन्, ‘अहिलेसम्म केही भएन ।’ २० वर्ष पुग्दा पनि पतिको स्थिति सार्वजनिक गर्न नसक्नु सरकारकै कमजोरी भएको उनी बताउँछिन् । माओवादी सेनामा गएका कान्छा छोरा रविन सुरक्षाकर्मीको यातनाले कान कम सुन्ने भएका छन् । राधिका अहिले तरकारी बेचेर दैनिकी चलाइरहेकी छन् । पतिको अवस्था सार्वजनिक हुन्छ भन्नेमा उनी अझै आशावादी छिन् । भन्छिन्, ‘कि मारेको ठाउँ देखाउनुपर्‍यो कि अंगभंग भएको, जस्तो अवस्थामा हुनुहुन्छ त्यस्तै देखाउनुपर्‍यो ।’

सशस्त्र युद्धका क्रममा कास्कीमा बेपत्ता हुनेको संख्या २४ छ । २३ लाई राज्य र एक जनालाई माओवादीले बेपत्ता बनाएको हो । बेपत्ता छानबिन आयोगले प्रभावकारी काम गर्न नसकेको बेपत्ता परिवार समाज कास्की अध्यक्ष अणनाथ बराल बताउँछन् । उनले बेपत्ता नागरिक सार्वजनिक नहुँदा परिवारले सम्पत्तिको भोगचलन गर्न, जग्गाको नामसारी तथा बेचबिखन गर्न समस्या रहेको बताए ।

पाल्पाको रैनादेवी छहरा, ५ मुझुङकी डुलकुमारी कार्कीको आँसु अझै ओभाएको छैन । २०६० चैत २५ देखि बेपत्ता पति मीनबहादुरको बाटो हेरेरै बसेकी छन् । कतैबाट आउनुहुन्छ कि भन्ने आशा उनमा छ । ‘यतिका वर्ष श्रीमान्को सास वा लास नपाउँदा कम्ता पीडा छैन,’ उनले भनिन्, ‘वास्तविकता थाहा पाउने कहिले हो ?’ रम्भा गाउँपालिका ३, पीपलडाँडाकी सुमित्रा जीसी पति कर्णध्वजलाई सम्झेर भक्कानिन्छिन् । नेपाल प्रहरीबाट पेन्सन निस्केका पति पढाउन घरदेखि ४ घण्टा टाढा हुँगी बसेकी सुमित्रालाई भेट्न हिँडेदेखि अहिलेसम्म फर्केनन् । २०५४ देखि बेपत्ता कर्णध्वज कहाँ छन् ? अहिलेसम्म थाहा छैन । ‘तैपनि कतैबाट आउनुहुन्छ कि भन्ने आशा छ,’ उनले भनिन् । सरकारले अहिलेसम्म कुनै राहत नदिएको उनको गुनासो छ ।

बेपत्ताका परिवारजन अझै आफन्तको बाटो हेरी बसेका छन् । बेपत्ता आयोगमा उजुरी दिए पनि कहिले टुंगो लाग्ने भन्नेमा उनीहरू प्रतीक्षारत छन् । शान्ति समिति सचिव प्रेम ज्ञवालीले १० परिवारको निवेदन परेको बताए । उनीहरूमध्ये ५ परिवारले सरकारबाट राहत पाएका छन् ।

तत्कालीन माओवादीको तनहुँ क्षेत्र नं ३ का इन्चार्ज श्रीराम घिमिरे २०५६ वैशाखदेखि बेपत्ता छन् । पुरानो बरभन्ज्याङका घिमिरेलाई भन्सार प्रहरी चौकीबाट खटिएको दंगा प्रहरीले पक्राउ गरेको थियो । घिमिरेकी पत्नी सर्वदा खनाल अहिलेसम्म पतिको खोजीमै छिन् । पक्राउ गर्ने प्रहरी र तत्कालीन गृहमन्त्रीसमेतलाई मुद्दा दिइन् । तर सुनुवाइ भएन । ‘किन मेरो श्रीमान्लाई पक्राउ गरी बेपत्ता बनाइयो, सत्य जान्न चाहन्छु,’ खनालले भनिन्, ‘आस र पीडा लिएर बाँचेकी छु ।’ मारिएको भए पनि यति ठूलो पीडा नहुने भन्दै उनले बेपत्ता हुँदाको पीडा साह्रै गाह्रो हुने बताइन् । सशस्त्र द्वन्द्वको समयमा जिल्लामा ३० जना बेपत्ता भएको उजुरी परेको स्थानीय शान्ति समिति संयोजक विमल गिरीले बताए । अधिकांश राज्यपक्षबाटै बेपत्ता भएको पाइएको छ ।

पर्वतको कुश्मा ७ स्थित देव गिरीको परिवारमा बेपत्ताविरुद्धको दिवस आउने सम्झिँदा केही दिनअघिदेखि रुवाबासी छ । गिरीका जेठा छोरा सुरज २०६२ फागुन २ मा तिलाहारबाट बेपत्ता पारिएपछि अहिलेसम्म उनको अवस्था अज्ञात छ । मुलुक शान्तिप्रक्रियामा पुगेको दशक बिते पनि राज्यपक्षले अवस्था सार्वजनिक नगर्दा जिल्लाका १९ बेपत्ता परिवार पीडामा बाँच्न बाध्य छन् । साथै सरकारले दिने भनेको राहतसमेत नपाउँदा उनीहरूमा झनै पीडा थपिएको छ । शान्ति समितिमा १९ जना बेपत्ता पारिएको उजुरी परेको छ । तर, समितिले प्रकाशित गरेको ‘शान्तिपथ’ पुस्तकमा १० जनाको नाम मात्रै छ । सोही पुस्तकमा उल्लेखमध्ये २ परिवारले मात्रै मृतकसरहको राहत पाएका छन् । ०५६ को दसैंको साँझ विद्रोही पक्षबाट बेपत्ता पारिएका मल्लाजका रवि जीसीका बाबु छोरो बेपत्ता भएदेखि नै मानसिक रोगी भए । मनोपरामर्शको अभावमा घर छाड्दै हिँडेका उनले नजिकैको भीरबाट हाम फाले । गत पुसमा उनको मृत्यु भएको रविका दाजु राजेन्द्रले बताए । छोराकै चिन्ताले आमालाई पनि बेला–बेला टोलाउने, बर्बराउने समस्या देखिन थालेको उनले बताए ।

अध्ययनका लागि काठमाडौं पुगेका गुल्मीको रुरु गाउँपालिका २, ग्वादीका २२ वर्षीय विमल ज्ञवाली २०५७ मंसिर ७ गते नयाँ बानेश्वरबाट बेपत्ता भए । उनलाई कसले किन बेपत्ता बनायो भन्ने पत्तो छैन । बाबु नारायणप्रसाद ज्ञवालीलाई अझै पनि छोरो फर्किएला भन्ने आशा छ । तरकारी, फलफूल र खसी–बोकाको व्यापार गर्दै आएका धुर्कोट गाउँपालिका ६, रजस्थलका विष्णुबहादुर बस्नेत पनि २०६२ पुस ११ देखि बेपत्ता छन् । तम्घास गएका २६ वर्षीय बस्नेत नफर्किएपछि उनको प्रतीक्षा गर्दागर्दै २ वर्षपछि आमाले संसार छाडिन् । त्यसको एक वर्षपछि बाबु पनि पक्षाघातले ओछयान परे । उनी बेपत्ता हुने बेला गर्भमै रहेकी छोरी १२ वर्ष पुगिन् ।

विस्तृत शान्ति सम्झौतापछि द्वन्द्व अन्त्य भए पनि ११ वर्षसम्म बेपत्ताको अवस्था सार्वजनिक हुन सकेको छैन । रेनपा ९ का नवराज पन्थी आफू कार्यरत भीमफेदी ब्यारेकबाट २०५६ असोजदेखि बेपत्ता भएको इन्सेकको विवरणमा उल्लेख छ । २०५८ मंसिर ८ मा रुरु गापा ४ बलेटक्सारका केशवराज ज्ञवालीलाई गाउँबाटै सेनाले अपहरण गरी बेपत्ता पारेको थियो । कमाउने उमेरका आफन्त बेपत्ता भएपछि उनीहरूको परिवारमा दैनिक जीवन निर्वाहको समस्या परेको छ । स्थानीय शान्ति समितिकी सूचना अधिकारी दुर्गा कुँवरका अनुसार जिल्लामा अहिलेसम्म १२ जना बेपत्ता भएको समितिले ठहर गरेको छ । स्याङ्जाको मग्याम चिसापानीका भोजराज लम्साल बेपत्ता भएपछि दाजु ज्ञानबहादुर खोजीमा धेरै भौंतारिए । २०६० पुस १८ मा बेपत्ता भोजराजबारे केही थाहा पाउन सकेनन् । ‘अहिलेसम्म बेपत्ताको अवस्था सार्वजनिक नगर्नु सरकारले पीडितमाथि अन्याय गरेको हो,’ उनले भने, ‘आयोगले पनि केही काम गर्छ कि भन्ने थियो । तर आशा टुटेको छ ।’ बेपत्ताको परिवारलाई सरकारले राहतस्वरूप उपलब्ध गराउने भनेको १० लाख रुपैयाँ पाए पनि ज्यानभन्दा ठूलो पैसा नभएको उनले बताए ।

अंगुर र नरिवल लिएर आउँछु भनेर निस्किएका बाबु अनुप थापा अहिलेसम्म नआएको छोरा सेतीदोभानका २० वर्षीय प्रशान्त बताउँछन् । ‘बाबा आउनुहुन्छ भन्ने अझै पनि आशा छ,’ उनले भने । अनुपलाई सेनाले ०६२ माघ ७ गते नागडाँडामा पक्रेको थियो । बानेथोक देउराली ८ की बुद्धमाया विकले सरकारले बारम्बार निवेदन माग गरेर पीडितलाई झन् पीडा बल्झाइदिने काम गरेको बताइन् । ०५९ वैशाख २ गते सप्तरीको लहानमा बेपत्ता भएकी २० वर्षीया छोरी जुना हालसम्म बेखबर रहेको भन्दै उनले भनिन्, ‘अब त राज्यले कानमा तेल नहाली खोजी गरिदिए पनि हुन्थ्यो ।’ जिल्लामा १४ जना बेपत्ता पारिएका थिए ।

बागलुङका द्वन्द्वपीडितले न्याय दिनतर्फ राज्य गम्भीर नभएकाले पीडा झेल्नुपरेको बताएका छन् । द्वन्द्वपीडित समाज नेपालका महासचिव तथा बागलुङ अध्यक्ष बद्रीबहादुर केसीले पीडितको समस्या समाधानमा चासो नराख्नुले आफूहरू अचम्ममा परेको बताए । पीडितले उजुरी माग गरे पनि आयोगबाट न्याय पाइएला भन्ने विश्वास नलागेको बताएका छन् । पीडितलाई विशेष अवसर र रोजगारीको ग्यारेन्टी गर्नुपर्नेमा उनीहरूको जोड छ । जिल्लामा २३ जना बेपत्ता भएको तथ्यांक छ ।

(दीपक परियार, माधव अर्याल, प्रकाश बराल, अगन्धर तिवारी, घनश्याम गौतम, प्रतीक्षा काफ्ले र पूर्ण बीके)

प्रकाशित : भाद्र १४, २०७४ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्

बर्खामा गुड्दैनन् गाडी

८५२ मध्ये जम्माजम्मी १०२ किमिमा मात्रै सवारी गुड्छन्
हरि गौतम

रुकुम — जिल्लाभर ८ सय ५२ किलोमिटर लामो सडक सञ्जाल छ । गाडी भने जम्माजम्मी १ सय २ किलोमिटर सडकमा मात्रै गुड्छ । निर्माण गरिएकामध्ये अधिकांश सडकमा हिउँदमा मात्रै सवारी गुड्ने गरेका छन् ।

सडक निर्माणको क्रममा नाला निर्माण नगर्दा, ससाना खोलामा पनि पुल अर्थात् वैकल्पिक उपाय नलगाउँदा जिल्लामा निर्माण गरिएका अधिकांश सडक नाम मात्रैका छन् । 
जिल्लामा विभिन्न निकायको सयोगमा साबिकको जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालयले ६ सय ७८ किलोमिटर सडक निर्माण गरेका छन् । त्यसैगरी १ सय २५ किमि मध्यपहाडी लोकमार्गले जिल्लाको पूर्वदेखि पश्चिमसम्म छोएको छ । ३२ किमि राप्ती लोकमार्ग पनि जिल्लामै छ । 

यसैगरी केही वर्षअघि मात्रै जिल्लामा स्थापना भएको सडक डिभिजन कार्यालय चौरजहारीले पनि विभिन्न ठाउँमा १७ किलोमिटर सडक निर्माण गरेको जनाएको छ । यसमा साबिकका गाविस कार्यालय आफैंले निर्माण गरिएका सडकको लम्बाई भने जोडिएको छैन । कतिपय गाविसले मुख्य सडकदेखि गाविस कार्यालयसम्म जाने सडक आफैं निर्माण गरेका छन् । 

हरेक वर्ष सडकको लम्बाइ बढे पनि सवारी साधन गुड्ने सडक भने बढेको छैन । हिउँदभर झन्डै ८ सय किलो मिटर सडकमा सवारी गुडे पनि असारपछि कात्तिक महिना सम्म त निकै कम सडकमा मात्रै सर्वसाधारणले गाडीमा यात्रा गर्न पाउँछन् । आव ०७२/७३ मा ७ सय ८ किलोमिटर सडक निर्माण भएकामा त्यसको वर्षदिनपछि ८ सय ५२ किमि सडक निर्माण भयो । आर्थिक वर्ष ०७३/७४ मा मात्रै १४४ किमि सडक निर्माण भएको छ । 

वर्षको ६ महिना मात्रै गाडी गुड्ने सबैभन्दा बढी जिविस र जिल्ला प्राविधिक कार्यालयले निर्माण गरेका सडक रहेका छन् । त्यसपछि मध्यपहाडी लोकमार्गको पनि वर्षाको समयमा खण्डखण्डमा मात्रै गाडी चल्ने गरेका छन् । बाह्रै महिना गाडी गुड्ने भनेको राप्ती लोक मार्गको ३२ किलो मिटर सडकमा हो । सडक डिभिजन कार्यालय चौरजहारीले बनाएको १७ किलो मिटर सडकमा पनि ६ महिना मात्रै सवारी गुड्छन् । बाँकी समय पैदल यात्रा गरेर सर्वसाधराणले चित्त बुझाउनुपर्छ । सल्यानको सिमाना खौलादेखि जिल्ला सदरमुकाम खलंगासम्म बाह्रै महिना सवारी आवजावत गर्ने एउटा मात्रै पूर्ण सडक यही हो । 

राप्ती लोकमार्गको ३२ किलोमिटर, मध्यपहाडी लोकमार्गको झन्डै ६० किलो मिटर र जिविस तथा जिल्ला प्राविधिक कार्यालयले निर्माण गरेको ३० किलोमिटरमा मात्रै वर्षामा सवारी गुडिरहेका छन् । त्यो पनि जोखिमका साथ । हिलाम्मे सडक, माथिबाट झरिरहने पहिरो र ससानादेखि ठूला खोलाको कारण निर्माण भएका अधिकांश सडकमा वर्षायाममा सवारी नगुडेका हुन् । स्थानीय विकास अधिकारी नरेन्द्रकुमार रानाले राप्ती लोकमार्गबाहेक अन्य सडकमा गाडी गुड्छन् भन्न मिल्ने अवस्था नरहेको बताए । सडक निर्माणमा ख्याल नगर्दा सर्वसाधारण जनताले वर्षायाममा दु:ख पाउनुपरिरहेको उनको भनाइ छ । ‘सडक निर्माणका सम्पूर्ण मापदण्ड पूरा नगरी सडक निर्माण भएको भनिन्छ,’ रानाले भने, ‘सडकमा नभई नहुने नाला निर्माणमा ध्यान नदिँदा धेरै सडकहरू वर्षामा ठप्पै हुने गरेका छन् ।’ विकास निर्माणका बेला सबैको ध्यान नपुग्नु नै वर्षाभर सडक ठप्प हुनुको मुख्य कारण भएको उनी स्विकार्छन् ।

प्रकाशित : भाद्र १४, २०७४ ०८:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्