कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनमा तीव्र विकाससँगै संस्कृति संरक्षण

अखण्ड भण्डारी

पुलिट्जर प्राइजका ह्याट्रिक विजेता अमेरिकी लेखक थोमस फ्राइडम्यानले भनेका छन्, ‘जब म ठूलो हुँदै थिएँ, मेरा अभिभावकहरू भन्नुहुन्थ्यो— छिटो खाना खाइसक, चीन र भारतका जनता भोकले छटपटाइरहेका छन् ।

 चीनमा तीव्र विकाससँगै संस्कृति संरक्षण

अहिले म छोरीहरूलाई भन्ने गर्छु— छिटो होमवर्क सक, चीन र भारतका जनता तिमीहरूलाई जागिर दिन छटपटाइरहेका छन् ।’ 

हो पनि, चीन हेर्दाहेर्दै साँझ–बिहानको चिन्ताबाट सम्पन्नताको शिखरमा उक्लिँदै गएको छ । तीव्र सहरीकरण र उच्च मानव विकासका विश्वव्यापी सूचीमा अचेल चीनका धेरैवटा ठाउँ छुट्दैनन् । तीमध्ये कुनमिङ प्रायश: अग्रपंक्तिमा आउँछ । 
त्यही कुनमिङमा हालै रात्रिभोज चलिरहेको थियो । किस्ताबन्दीमा पस्किइने पृथक् परिकारले पेट डम्म भइसकेको थियो । सबैका अघिल्तिर पाथीभन्दा ठूला माटे–डबकामा अर्को विशेष परिकार आइपुग्यो । 
खानुअघि चिनियाँ कम्युनिस्ट पार्टी स्ट्यान्डिङ कमिटी सदस्य एवं युनान पब्लिसिटी टिपार्टमेन्टका मन्त्री जाओ जिनले एउटा लोककथा सुनाए––

 ‘युनानको दक्षिणी क्षेत्र मेङ्जीमा तालको बीचमा सानो टापु छ । यो अति मोहक टापुले परापूर्वकालदेखि धेरैलाई लठ्याउँदै आएको छ । एकान्त खोज्ने, अध्ययन–अनुसन्धान गर्नेका लागि यो पहिल्यैदेखि अति लोकप्रिय थलो हो । 
सयौं वर्षअघिको कुरा हो । एक व्यक्ति दरबारिया पण्डितको कडा परीक्षा तयारी गर्न त्यही टापुमा जाँदो रहेछ । उसकी श्रीमती हरेक दिउँसो उसलाई खाना पुर्‍याउन पुल तरेर जान्थिन् । ऊ पढाइमा यति मन्त्रमुग्ध हुन्थ्यो कि खाना सेलाएर अति चिसो भएपछि मात्र पेटलाई सम्झन्थ्यो । पतिको पारा देखेर मन पोलिरहेकी महिलाले प्राकृतिक उपाय खोजिन् । उनले माटाको भाँडामा सुप बनाइन् । त्यसको माथि हल्का तेल तैर्‍याइन्, ता कि यो छिटो चिसो नहोस् । लोग्नेलाई मन पर्ने चामलको पिठोको नुडल्स छुट्टै उसिनिन्, साथमा लोकल कुखुराको मासु । 
जब लोग्ने खान तयार भयो, सुप र अन्य वस्तुलाई एकै ठाउँ मिसाइन् । सुप तातै थियो । तातो खान पाएर लोग्ने दंग पर्‍यो । उसले परीक्षा पास गर्‍यो, जस पायो नुडल्सले । पुल तारेर लगी खुवाइएको उक्त परिकारलाई ‘क्रसिङ द ब्रिज नुडल्स’ भन्न थालियो । र, यो युनानी जीवनको अभिन्न संस्कृति बनेर पुस्तौंपुस्ता आइरह्यो ।’ 

मन्त्री जाओका अनुसार यो अति विशिष्ट पाहुनालाई अनिवार्य खुवाइन्छ । हामी अघाएको पेटमा त्यही ‘क्रसिङ द ब्रिज नुडल्स’ को बाफ लिइरहेका थियौं । खाने कसरी, अटाउने कहाँ, अन्योलग्रस्त थियौं ।
‘यो सबै खाइसक्ने हो ?’ समूहबाट नेपाली भाषामा आश्चर्यमिश्रित प्रश्न फुत्कियो । 
‘आयोजकले के गर्छन्, पहिला हेरौं’, अर्को कुनाबाट उत्तर आयो, त्यहीं रुमल्लियो । 
मन्त्रीले भनेजस्तै त्यो अत्यन्त तातो थियो । र, घण्टौं तातो रहने विशेषताको थियो । उनले सचेत गराएकै पारामा होसियारीपूर्वक हामीले सुरुप्प पार्न थाल्यौं । जति खायो, उति नछोडौं लाग्ने, अनौठो गुण थियो त्यसमा । भोज समापनअघि उनले थपे, ‘यो प्रेमको देन हो । यसको सेवनले प्रेम नै बढाउँछ भन्ने युनानीको विश्वास छ । त्यसैले यसलाई लभ नुडल्स पनि भनिन्छ ।’ 
थपे, ‘अब हामीबीच पनि प्रेम झाँगिएको छ ।’ 


रूपमा संस्कृति भए पनि सारमा ‘लभ नुडल्स’ ले चिनियाँ समृद्धिको चिनारी दिन्छ । भोक मार्ने उसबेलाको उपाय अहिले सोख व्यक्त गर्ने सांस्कृतिक आधार बनेको झलक मिल्छ । किनकि, यो सम्पन्नताको पहिचान हो । यसमा सुप र कुखुराको मासु मात्र होइन, विभिन्न खुराक मिसाएर स्वादिलो अनि पसिना छुटाउने बनाइन्छ । यो अत्यन्त पोसिलो मात्र होइन, निकै महँगो पनि छ । विशिष्ट आयोजकले विशिष्टै पाहुनालाई मात्र खुवाउन सक्ने हैसियततिर गइरहेको छ यो, जसले चीनको जनजीवनको हालतलाई प्रतिनिधित्व गर्छ । 

अर्थात्, त्यही सुपको परिष्कारको गतिमै युनान विकासमा हुइँकिइरहेको छ । चीनको चामत्कारिक विकासलाई सम्झँदा धेरैको मनमा झट्ट बेइजिङ र सांघाई आउँछन् । अलि धेरै जान्नेले छेङदु, जेङदु, हुवाइबेई, हुवाइनान, चोङक्वुइङ, हेङयाङ, सिङयाङ, गुइयाङ, फुजोउ, सियामेनजस्ता द्रुत गतिका सहरका नाम जोड्छन् । तर, समग्र विकासका हिसाबले छुटाउनै नहुने नाम हो— कुनमिङ । अर्थात्, युनान प्रान्तको राजधानी । 

यो सहर एक दशकमै उन्नतिको उचाइमा पुगेको हो । नवीनतम विकास भएकाले यसलाई फाइदा पनि छ— सबैजसो भौतिक संरचना योजनाबद्ध र साजसज्जायुक्त छन् । ‘विमानस्थलदेखि सडकसम्म डिजाइनका हिसाबले अब्बल छन्,’ युनान डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका उपनिर्देशक ली जिन्जेले भने, ‘हरेक पूर्वाधारमा यहाँ सिर्जनशीलता खोजिन्छ । सिर्जनशीलतामा सुन्दरता हुन्छ भन्ने ठानिन्छ र सुन्दरतालाई अनिवार्य मानिन्छ । सहरी विकास त्यही ढंगले गरिएको छ ।’ 

रणनीतिक राजधानी
चीनको एक्काइसौं शताब्दीको महत्त्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को एउटा केन्द्रविन्दुमा कुनमिङलाई राखिएको छ । दक्षिण तथा दक्षिण पूर्वी एसियाको योजनकारी थलो (हब) यही बन्दै छ । त्यसैले केन्द्र सरकारले यहाँ लगानी खन्याउँदै गएको छ । 
चीनलाई एसिया, युरोप, ओसियाना, पूर्वी अफ्रिकासम्म सडक मार्गले जोड्ने यस परियोजनालाई सफल पार्न राष्ट्रपति सी चिनफिङ जोडतोडले लागिपरेका छन् । सन् २०४९ मा पूरा गर्ने लक्ष्य राखिएको खर्बौं डलरको बीआरआई सफलतामा कुनमिङ अर्थात् युनानको प्रारम्भिक एवं महत्त्वपूर्ण भूमिका रहनेछ । 

कम्युनिस्ट पार्टीका नेता जाओका अनुसार कुनमिङ विभिन्न यातायात कोरिडोरलाई जोड्ने स्थल बन्दै छ । त्यसमध्ये सन् २०२० मा यहाँबाट सिंगापुरसम्म रेल जोडिनेछ, जसलाई चीनले अत्यन्त महत्त्व दिएको छ । 
सन् १९९२ मा सुरु गरिएको ‘ग्रेटर मेकोङ सब–रिजनल इकोनोमिक कोअपरेसन प्लान (जीएमएस)’ र त्यहीअन्तर्गत सन् २००० मा अघि सारिएको ‘वेस्टर्न डेभलपमेन्ट क्याम्पेन’ मा युनान पनि समेटिएको थियो । त्यसमा ६ प्रान्त, ५ स्वायत्त क्षेत्र र एक नगर छन् । त्यसैको परिस्कृत एवं विस्तृत रूपमा बीआरआईलाई लिन सकिन्छ, जसले विकास, उद्योग–व्यापार, संस्कृति एवं सुरक्षाका हिसाबले देश–देशलाई जोड्नेछ । 

‘हरित अर्थतन्त्र, जातीय संस्कृतिको पूर्ण जगेर्ना र तीव्र भौतिक विकास युनानका मुख्य लक्ष्य हुन्’, मन्त्री जाओले भने, ‘यसलाई आन्तरिक मात्र होइन, बाह्य सम्पर्क एवं सम्बन्धको थलो बनाउन द्रुत गतिमा लागेका छौं ।’ 
त्यसैको एउटा कडी हो— कुनमिङबाट भियतनाम, म्यानमार, थाइल्यान्ड, बंगलादेश र भारतसम्म जोड्ने सडक । यो २ हजार ५ सय ९७ किलोमिटर लामो हुनेछ । 

‘युनानमा यति सम्भावनाको खानी छ, यहाँ देखिएको विकास यसको सानो अंशसम्म होइन,’ युनान प्रान्तीय सरकारको विदेश मामला कार्यालय, सूचना विभागकी उप–निर्देशक जु जियाओकियानले भनिन्, ‘युनानको अग्रसरतामा एसियाली मुलुकले लाभ लिन सक्ने आधारहरू धेरै छन् । चीन सरकारको प्राथमिकता त्यसमै केन्द्रित छ ।’

तेङ सिआओपिङले सन् १९७८ मा वैदेशिक व्यापारको ढोका खोलेपछि चीनले ह्वात्तै फड्को मारेको हो । चीनमा मिश्रित किसिमको ‘समाजवादी बजार अर्थतन्त्र’ छ । त्यसकै आडमा उसले आफूलाई अघि लगिरहेको छ । त्यसकै एउटा नमुना हो कुनमिङ, जसले अर्थ–वाणिज्यका क्षेत्रमा क्षेत्रीय नेतृत्वको जमर्को गरिरहेको छ । त्यसका लागि चीनले यसलाई ‘रणनीतिक राजधानी’ का रूपमा उपयोग गरिरहेको छ । 

फूलैजस्तो फूलको सहर 
चीन भ्रमणमा जानुअघि नेपाली पत्रकार टोलीसँग काठमाडौंस्थित राजदूत यु होङले कुनमिङको फूलखेतीबारे वर्णन गरेकी थिइन् । ‘नेपाल र कुनमिङको भूगोल करिब–करिब मिल्छ,’ उनले भनेकी थिइन्, ‘त्यहाँको फूल संसारभरि निर्यात हुन्छ, नेपालमा त्यस्तै किन गर्न सकिँदैन ? तपाईंहरू त्यो पनि सिकेर फर्किनुहोस् भन्ने मेरो चाहना छ ।’

कुनमिङको सुन्दरतासँग फूलको साइनो पनि उत्तिकै जोडिएको छ । अधिकांश सडकका बीचका भाग एवं चोकहरू फूलै मुस्कुराइरहेका हुन्छन् । ‘सुन्दरता र संस्कृतिसँग यहाँ फूलको इतिहास जोडिएको छ,’ युनान डेलीकी पत्रकार येहोङले भनिन्, ‘वर्तमानमा आइपुग्दा यसले उच्च व्यावसायिकतासमेत आर्जन गरेको छ ।’

कुनमिङको एउटा आकर्षण यो हो, घर–घर र आँगन–आँगनमा फूलको सुगन्ध पोखिइरहेको हुन्छ । ‘कुनमिङको कमाइको महत्वपूर्ण हिँस्सा फूलको व्यापार पनि हो,’ युनान डेली प्रेस ग्रुपका सम्पादक डोरिस लिउले थपे, ‘यसले गरिबी उन्मूलनमा ठूलो भूमिका खेलेको छ । र, अब समृद्धिको आधार बनिरहेको छ ।’ 

युनान सरकारको कृषि मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार सन् २०१५ मा ४० अर्ब युआन (करिब साढे ६ खर्ब रुपैयाँ) फूल व्यापारबाट आर्जन भएको थियो । उक्त फूल चीनका विभिन्न भागका साथै ४६ मुलुकसम्म निकासी गरिएको थियो । 


पर्यटक प्रिय
‘तपाईं कुनमिङ घुम्न आउनुहुन्छ भने स्टोन फरेस्ट नछुटाउनुहोला,’ चाइना (कुनमिङ) इन्स्टिच्युट अफ साउथ एसियन एन्ड साउथ इस्ट एसियन स्टडिजका उपनिर्देशक गुआओ सुइआनको सुझाव छ, ‘यसले तपाईंलाई अर्कै किसिमको रोमाञ्चकता एवं सिर्जनशीलता प्रदान गर्नेछ ।’ कुनमिङबाट करिब ९० किलोमिटर दूरीमा रहेको ‘ढुंगे–जंगल’ आफैंमा आकर्षक गन्तव्य हो, जहाँ रूख प्रकृतिका ढुंगा छन् । 

चीनको दक्षिण पश्चिमी प्रान्त युनानको भियतनाम, म्यानमार र लाओससँग सीमा जोडिएको छ । नेपालको करिब ३ गुणा अर्थात् ३ लाख ९४ हजार वर्गकिलोमिटर क्षेत्रफल रहेको युनानको ९० प्रतिशत भूभाग पहाडी छ । ‘कतिपय ठाउँ यस्ता छन्, जहाँ एकै दिनमा चारै सिजन हुन्छन्,’ टुरिस्ट गाइड लिसाले भनिन्, ‘यसको उदाहरण हो— डियान ताल ।’ उक्त ताल क्षेत्रमा एकै छिनमा गर्मी हुन्छ, एकै छिनमा ज्याकेट लगाउने जाडो । घाम चर्किइरहेको हुन्छ, अचानक पानी पर्छ । यो पनि प्रसिद्ध पर्यटकीय स्थल हो । 

युनान नेस्नालिटी भिलेज, युआन्टोङ टेम्पल, ग्रिन लेक, युनान प्रान्तीय संग्राहलयलगायत स्थलमा पर्यटकको भीड लाग्छ । युनान सरकारको तथ्यांक भन्छ— वर्षको ४० लाखभन्दा बढी विदेशी पर्यटक स्टोन फरेस्ट हेर्न मात्र पुग्छन्, जुन सानो अंश हो । 
 
सांस्कृतिक धरोहर
टोलको बीचमा ठूलो–गोलाकार–पक्की आँगन छ । त्यहाँ हरेक बिहान सांस्कृतिक कार्यक्रम हुन्छ । गत शनिबार बिहान त्यहीं कलाकारहरू प्रस्तुति दिइरहेका थिए । तीमध्ये केही युवती थिए, उद्घोषक पुरुष । उनले बीच भागमा कुर्सी राखे । र, चिनियाँ भाषामा केही भने, जुन हामीले बुभेनौं । 
अल चाइना जर्नालिस्ट एसोसिएसन विदेश विभागका उपप्रमुख मा यु यनले पत्रकार ओम शर्मालाई त्यता जान इसारा गरे । उनी गए । कुर्सीमा बसाइए । उनका दुवै तिघ्रामा युवती बसे । दुईतिरबाट अँगालो मारे । उनलाई युवतीका कम्मरमा समाउन लगाए । र, दुवै युवतीले प्यालाबाट रक्सी पिलाए । 

हामी थियौं युनान नेस्नालिटी भिलेजभित्र । र, यो थियो— अल्पसंख्यक जाति ‘यि’ को सांस्कृतिक प्रस्तुति । चीनमा २५ अल्पसंख्यक जनजाति छन् । तीमध्ये १३ जाति (तिब्बेतन, लिसु, नाक्सी, बाई, यी, जिङ्पो, डाई, वा, हानी, लाहु, जिनोउलगायत) युनानमै पाइन्छन् । तीमध्ये अधिकांश यस्ता जाति छन्, जो युनानमै मात्र छन् । त्यसैले पनि युनानलाई जातीय संस्कृतिको संग्रहालयसमेत भनिन्छ ।

नब्बे युआनको टिकट काटेर छिर्नुपर्ने यस ‘भिलेज’ भित्र पच्चीसै जातिका अलग–अलग गाउँ छन् । कुन जनजातिले कुन ठाउँको प्रतिनिधित्व गर्छन्, त्यही शैलीका घर र वातावरण बनाइएको छ । र, हरेक समुदायले हरेक बिहान सांस्कृतिक कार्यक्रम गर्छन् । त्यसलाई हेर्न पर्यटकको भीड लाग्छ । कार्यक्रममा सहभागी हुने कलाकारको पारिश्रमिकदेखि सम्पूर्ण खर्च सरकारले बेहोर्छ ।

‘चीनलाई चुनौती भनेकै विकाससँगै संस्कृति बचाउन सक्नु हो । युनान यस मामलामा निकै अगाडि छ,’ पत्रकार येहोङको ठम्याइ छ, ‘अन्यत्र आधुनिकताले परम्परा मार्छ । हामीले जगेर्नाको हदै प्रयास गरेका छौं । कुनै पनि जनजाति लोप नहुन् र तिनको संस्कृतिको व्यापक प्रवद्र्धन होस् भनेर नेस्नालिटी भिलेजको अवधारणा आएको हो ।’ 

युनान आर्ट थिएटरमा अल्पसंख्यक जनजातिका संस्कृतिमा आधारित प्रस्तुति ‘डाइनामिक युनान’ चलिरहेको थियो । परम्परागत गीत–नृत्यले युनानको समृद्धिलाई झल्काउँथ्यो । 
आदिवासी जनजातिका पहिरन, परम्परा, संस्कृति, रहनसहन, धर्म आदिलाई देखाउने उक्त प्रस्तुति मोहक थियो । नेस्नालिटी भिलेज डुल्दा त्यसैको झल्को मिल्थ्यो । लाग्थ्यो— युनान सभ्यताको उद्गम नै यही हो । 
[email protected]

प्रकाशित : भाद्र २६, २०७४ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?