आधुनिक युगका कर्ण

डा. सुरेन्द्र लाभ

काठमाडौँ — हाम्रो देशमा अचेल कुनै पनि सामाजिक कार्यका लागि दातृ निकायको मुख ताक्नैपर्ने प्रचलन बस्दै गएको छ । काम सानो होस् कि ठूलो, त्यसका लागि स्थानीय स्तरमै सम्पूर्ण आर्थिक सहयोग जुट्न असम्भवप्राय: हुँदै गएको छ ।

तर कुनै समय थियो जति बेला हाम्रै समाजका दाताहरूको अग्रसरतामा पाटी, पौवा, मन्दिर, तलाउ, इनार, शिक्षण संस्था आदिको निर्माण हुुने गथ्र्यो। त्यो समयमा सामाजिक कार्य पनि धार्मिक अनुष्ठान मानिन्थ्यो। त्यसै कालखण्डमा जनकपुर क्षेत्रमा एउटा दाता परिवारको उदय भयो, जुन कालान्तरमा रामस्वरूप–रामसागरका नामबाट विख्यात भयो।

को थिए रामस्वरूप–रामसागर?
१९५४ सालमा जन्मिएका रामस्वरूप साह र १९५९ मा जन्मिएका रामसागर साह दाजुभाइ त थिए, तर सहोदर थिएनन्। उनीहरूका हजुरबाचाहिँ एकै थिए— बालचन साह। तर, दाताका रूपमा दुवै जनाको नाम सँगसँगै लिइन्छ, सहोदर भ्राताजस्तै। धनुषाको मुजेलिया गाउँमा उनीहरूको निवास थियो। उनीहरूका सन्तति अहिले पनि त्यहाँ छँदै छन्। तर हाल यो गाउँ जनकपुर नगरपालिकाको वार्ड नं १४ बनिसकेको छ। नगरपालिका पनि उपमहानगरपालिका बनिसकेको छ र महानगरपालिका बन्ने चर्चा छ। २०१७ सालमा बितेका रामस्वरूप साह र २०२५ सालमा यस संसारबाट बिदा भएका रामसागर साह मुजेलिया गाउँले महानगरपालिकासम्मको यात्रा गरिसक्दा पनि जनजनका मनमस्तिष्कमा जीवितै छन्। यसै साह परिवारका रामचन्द्र साह, शिवचन्द्र साह, फुलगेन साहजस्ता सन्ततिहरू पनि प्रख्यात भए। त्यस्तै उनीहरूका सन्ततिहरू ताराचन्द्र साह, इ. प्रकाशचन्द्र साह, इ. सुवासचन्द्र साह, डा.इ. कृष्णचन्द्र साह, शरदचन्द्रप्रसाद साह, प्रभाकरप्रसाद साह, दिवाकरप्रसाद साह, विद्याकरप्रसाद साहहरू पनि आ–आफ्ना क्षेत्रमा कहलिएका छन्। र, पछिल्लो पुस्ता पनि यही बाटामा अगाडि बढिरहेको छ।

Yamaha

धर्म संस्था
रामस्वरूप साह र रामसागर साहले २००१ सालमा ‘धर्म संस्था’ स्थापना गरे। सामाजिक संस्थाका रूपमा यसलाई जेठोमध्येको मात्र नभई नेपालकै समृद्ध संस्था पनि मान्न सकिन्छ। यस संस्थाको सञ्चालनका लागि ३ सय २ बिघा १० कट्ठा १० धुर जमिन, भारु १० हजार १, धान १ हजार १ सय १ मन धान छुट्टयाइयो। त्यति बेलाको किशोरी राइस मिलको मुनाफाको २५ प्रतिशत हिस्सा पनि यस संस्थालाई दिइयो।

यो सुरुआती संस्था स्थापना गर्दा नै रामस्वरूप–रामसागरले आफ्नो छाती कति फराकिलो छ भन्ने उदाहरण प्रस्तुत गरेका थिए। बालचन साहका तीन भाइ छोरा थिए— लगन साह, कन्हाई साह र भैरव साह। रामस्वरूप लगनका छोरा थिए भने रामसागर कन्हाईका। भैरव नि:सन्तान थिए। धर्म संस्था स्थापनार्थ जुन सम्पत्ति दान गरियो, त्यो वस्तुत: भैरवकै हिस्साको थियो। उनकै स्मृतिमा यो संस्थाको स्थापना गरियो। रामस्वरूप–रामसागरको महानता के देखियो भने, आफैँले बाँडचुँड गरेर राख्न सक्ने सम्पत्ति उनीहरूले दान गरेका थिए। त्यो संस्था आफ्ना नामबाट खोल्न सक्ने अवसर हुँदाहुँदै उनीहरूले अर्को महानता प्रदर्शन गरे।

सरस्वती नमुना मावि
जनकपुरमा २००४ सालमा दाताकै सदिच्छा र सत्प्रयासबाट नेपालकै प्रख्यात सरस्वती नमुना माविको स्थापना गरियो। रामस्वरूप–रामसागरले त्यति बेला डेढ लाख भारु लगाई विद्यालयको भव्य भवन निर्माण गरिदिए। यो विद्यालयको स्थापना नभएको भए आधुनिक जनकपुर शिक्षाको केन्द्र बन्ने थिएन। पहाडी जिल्लाहरूदेखि लिएर मध्यमधेसका विभिन्न जिल्लाका छात्रछात्राका लागि यो विद्यालय तत्कालीन नेपालको आकर्षणको केन्द्र थियो। संस्थापक शिक्षक पं. ठाकुरप्रसाद रेग्मी, रामेश्वर झा, सूर्यकान्त झा, प्रधानाध्यापक अमरेश भट्टाचार्य र पछि ख्यातिप्राप्त प्रधानाध्यापक गंगाधर दत्तलगायतको कुशल नेतृत्वबाट यो विद्यालयले चिकित्सक, इन्जिनियर, प्राध्यापक, अफिसर, साहित्यकार गरी असंख्य प्रतिभाहरूलाई जन्मायो। नेपाल राष्ट्र बैंकको गभर्नर उत्पादन गर्न सक्यो यो विद्यालयले। त्यस्तै, देशलाई कतिपय विश्वविद्यायका उपकुलपति दियो यो विद्यालयले। यति मात्र होइन, नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव पनि यही विद्यालयका उत्पादन हुन्।

सकल भवन कन्या मावि
अचेल महिला शिक्षामा सर्वत्र जोड दिने गरिएको छ। यसका लागि दातृ निकायले सहयोगको खोलो पनि बगाउने गरेको छ। तैपनि देशकै कति ठाउँका बालिकाहरू त्यो सुविधा, त्यो मौलिक हकबाट अझै वञ्चित छन्। महिला शिक्षाका मामिलामा पनि रामस्वरूप–रामसागरले करिब सात दशकअघि नै आफूहरूलाई दूरदर्शी सिद्ध गरेका थिए।

सरस्वती माविको स्थापनापछि रामस्वरूपलाई उनकी आमा सकली देवीले भनिन्, ‘केटाहरूको लागि त अब स्कुल भयो, तर केटीहरूको लागि खोइ?’ सकली देवीले यसका लागि आफ्नातर्फबाट ५० हजार भारु पनि छुट्टयाइन्। तर, २००६ सालमा उनको निधन भयो। २००७ सालमा रामस्वरूपले आमाकै स्मृतिमा ‘सकल भवन कन्या मावि स्थापना गरे। जनकपुर क्षेत्रको नारी शिक्षा अभिवृद्धिमा ‘सकल भवन कन्या मावि’ को अति महत्त्वपूर्ण योगदान छ। त्यो समयमा बालिकाहरूलाई पढाउने खासै चलन थिएन। तर सकली देवीको परिकल्पनाले यस भेगका बालिकाहरू पनि शिक्षा क्षेत्रमा अग्रसर भए। सकल भवन कन्या माविमै पढेका कतिपय महिलाले अहिले चिकित्सा, प्राध्यापन, राजनीति आदि क्षेत्रमा नाम कमाइरहेका छन्।

रामस्वरूप–रामसागर बहुमुखी क्याम्पस
रामस्वरूप–रामसागरको अर्को ठूलो योगदान जनकपुरको बहुचर्चित रामस्वरूप–रामसागर बहुमुखी क्याम्पस हो। २०१४ सालमा यस क्याम्पसको स्थापना सरस्वती माविको हाताभित्र गरियो। पछि गुठीबाट प्राप्त जग्गामा क्याम्पस सर्‍यो, हालको स्थानमा। त्यति बेलासम्म यसको नाम जनकपुर डिग्री कलेज थियो। २०२० सालमा रामस्वरूप साहको स्मृतिमा उनका छोरा रामचन्द्र साहले वर्तमान स्वरूपको क्याम्पसको निर्माण गरे। र, नाम राखियो— रामस्वरूप—रामसागर कलेज। पछि रामस्वरूप–रामसागर बहुमुखी क्याम्पस नामकरण गरियो। साह परिवारले क्याम्पसलाई आत्मनिर्भर बनाउन ६९ बिघा जग्गा दान दियो। रामचन्द्रले छात्रावास भवन पनि बनाइदिए।

जनकपुरको यो शिक्षण संस्थाको निर्माणमा डिट्ठा गौरीनारायण गिरी, मकेश्वरप्रसाद सिंह, मेघप्रसाद उपाध्यायलगायतको पनि ठूलो योगदान छ।

रामस्वरूप–रामसागर बहुमुखी क्याम्पस कुनै बेला देशकै चर्चित शिक्षण संस्थामध्ये एक थियो। यहाँ हरसमय १०–१२ जिल्लाका विद्यार्थी हुने गर्थे। यो संस्थाले डाक्टर, इन्जिनियर, प्राध्यापक, राजनीतिज्ञ कति जन्मायो, हिसाब गर्न गाह्रो छ।

रामस्वरूप–रामसागर संस्कृत उच्च विद्यालय
यी दाताहरूले आधुनिक शिक्षामा मात्रै होइन, प्राच्य विद्याको प्रचारप्रसारमा पनि अविस्मरणीय योगदान गरे। रामस्वरूप–रामसागर संस्कृत महाविद्यालय यसैको प्रमाण हो। यसमा बाटो देखाउने काम गरे पं. गणेश्वर झाले। पं. झाले साह परिवारमा रामस्वरूपको स्मृतिमा संस्कृत शिक्षाको एउटा केन्द्र खोल्न पाए हुन्थ्यो भनेर कुरा चलाए। धर्म संस्थाले ५० हजार भारु दिने भयो। त्यही रकमले भारतीय सिमानाछेउ धनुषाको महिनाथपुरमा ४ बिघा १७ कट्ठा जग्गा किनियो। त्यसको १ बिघा ६ कट्ठामा २०१७ सालमा रामस्वरूप–रामसागर संस्कृत महाविद्यालयको स्थापना गरियो। साह परिवारले त्यसपछि पनि कार्यालय भवन र शौचालय निर्माणका लागि पनि पटक–पटक आर्थिक सहयोग प्रदान गर्दै रह्यो। यस विद्यालयको स्थापनामा पं. झाको योगदानको कदर गर्दै अहिले यसको नाम गुणेश्वर रामस्वरूप–रामसागर उच्चमावि बनाइएको छ।

यसका साथै सोहनी, मुजेलियाको निमावि, सतोषरको रामजानकी विद्यालय र बेंगाडावर मावि तथा राधाकृष्ण पुस्तकालयका लागि भवन निर्माणमा पनि साह परिवारले ठूलो आर्थिक सहयोग गरेको छ। शिक्षा क्षेत्रमा उल्लेख्य सहयोगका माध्यमले साह परिवारले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, सिरहा, उदयपुर, ओखलढुंगा आदि जिल्लाका हजारौँ नेपाली सन्ततिहरूलाई ज्ञानको ज्योति दिएको छ।

धार्मिक कार्य
रामस्वरूप–रामसागरद्वारा स्थापित धर्म संस्था र साह परिवारले अनेकानेक धार्मिक कार्य पनि गरेका छन्। जनकपुरको पौराणिक एवं धार्मिक पोखरी रत्नसागरको उत्तरतर्फ डिलमा साह परिवारले साकेत विहारीको मन्दिर बनाएको छ। जनकपुरमा मनाइने पन्ध्रदिने झुलनोत्सवका लागि यस परिवारले झुलाघरको निर्माण गरिदिएको छ। सतोषर पोखरी र महादेव मन्दिरको जीर्णोद्धार, जनकपुरको प्रसिद्ध गंगासागर पोखरीमा पानीघाट र वर्षाती घाटको निर्माण साह परिवारकै सहयोगका कारण सम्भव भएको हो। जनकपुरको शिवचोकमा शिखरशैलीको शिव मन्दिरको निर्माणमा पनि यस परिवारको आर्थिक उदारता प्रकट भएको छ। यस्तै अन्य धार्मिक कार्यमा पनि धर्म संस्था र साह परिवारको योगदान छ।

सामाजिक कार्य
धर्म संस्थाले जानकी अञ्चल अस्पतालको इन्डोर भवन, नेपाल रेडक्रस धनुषा शाखाको भवन, सबैला थाना जिल्ला प्रहरी कार्यालय एवं एसपी कार्यालयको भवन निर्माणमा चन्दा दिएको छ। जनकपुर क्षेत्रबाट परापूर्वकालदेखि नै बर्सेनि बाबाधाम (भारतको झारखण्ड) जाने परम्पराको सम्मान गर्दै यात्रुहरूका लागि बाटाके काँवरी धर्मशालामा एउटा कोठा बनाइदिएको छ। जमुनी नदीमा नेपाल–भारत जोड्ने पुल निर्माणमा समेत यस संस्थाको महत्त्वपूर्ण योगदान रहेको छ।

योगदानको कदर
कुनै पनि राष्ट्रको विकास–निर्माणमा कुनै एउटा व्यक्ति, जाति वा स्थानविशेषको मात्रै योगदान हुँदैन। राष्ट्रनिर्माणमा दृश्य–अदृश्य, प्रत्यक्ष–परोक्ष, धेरै रूपमा धेरै किसिमका व्यक्तिहरूको योगदान परेको हुन्छ। नेपाल राष्ट्र निर्माणमा पनि यो अक्षरश: लागू हुन्छ। काठमाडौँको आँखाबाट ओझेलमा रहेका थुप्रै सुयोग्य पात्र देशभरि नै छन्, जसको समुचित मूल्यांकन हुन बाँकी छ। रामस्वरूप साह र रामसागर साह यस्तै पात्रहरू हुन्। त्यो युगमा न आजको जस्तो मिडिया थियो, न आजको जस्तो आफ्नो कामभन्दा नामकोझ्याली पिट्ने परम्परा नै थियो। मौन साधकभएर उनीहरूले अरूले हत्तपत्त आँट गर्न नसक्ने हिसाबले समाजसेवा गरे। यी मौनसाधकको सत्कार्यबाट प्रभावित भई पूर्वप्रधानमन्त्रीकृष्णप्रसाद भट्टराईले लेखेका छन्, ‘कर्मवीरद्वय श्री रामस्वरूप साह र श्री रामसागर साहले शैक्षिक–धार्मिक क्षेत्रमा पुर्‍याउनुभएको योगदानको विस्तृत परिचयले ... आजका र भावी पीढीलाई समेत असीम प्रेरणा प्रदान गर्नेछ।’ नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले एक समय लेखेका छन्, ‘समाजसेवीद्वय दीर्घकालसम्म जनमानसमा अमर रहनुहुनेछ।’
सुश्री भद्रकुमारी घलेले उनीहरूलाई आधुनिक कर्ण भनेकी छन्।

यसर्थ रामस्वरूप–रामसागर साहको व्यक्तित्व उदाहरणीय छ, अनुकरणीय छ।

प्रकाशित : आश्विन १०, २०७४ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जिम्मेवारी दिए प्रदेश प्रमुखको नेतृत्व लिन तयार : गगन

विमल खतिवडा

चितवन — नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीले जिम्मेवारी दिए आफू प्रदेश नम्बर ३ को प्रदेश प्रमुखको रुपमा नेतृत्व लिन तयार रहेको बताएका छन् ।

प्रेस युनियन चितवनद्धारा भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले पार्टीले प्रदेशको नेतृत्व घोषणा गरेर चुनावमा होमिनुपर्ने बताउँदै उनले आफूलाई पार्टीले जिम्मेवारी सुम्पिए प्रदेश ३ को प्रमुख भएर चुनावमा होमिने इच्छा रहेको बताए । उनले यो आफ्नो इच्छा रहे पनि अन्यथा पार्टीले जे निर्णय गरे पनि आफू मान्न तयार रहेको बताए ।

मुलुकको निर्वाचन प्रणालीले गर्दा तालमेल आवश्य रहेको बताउँदै उनले निश्चित मुद्दा लिएर मात्र गठबन्धन गर्नुपर्नेमा जोड दिए । स्थानीय साथीहरुको चाहना बुझेर मात्र पार्टीले को सँग कहाँ गठबन्धन गर्ने भन्ने निर्णय लिने बताए ।

अर्को फरक प्रसंगमा पूर्वस्वास्थ्यमन्त्री समेत रहेका नेता थापाले बिरामीलाई सास्ती दिने गरी चिकित्सकहरुले गरिरहेको आन्दोलन फिर्ता लिन आग्रह गरे । अस्पताल बन्द गर्दा लाखौं बिरामीहरुले दु:ख पाइरहेको बताउँदै उनले संघर्षको स्वरुप परिवर्तन गरी सरकारसँग आफ्नो माग पूरा गराउनुपर्नेमा जोड दिए ।

प्रकाशित : आश्विन १०, २०७४ ११:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT