इतिहासका विपरीत धार : महेशचन्द्र रेग्मी

व्यक्तित्व विशेष : २५० वर्षका २५
युग पाठक

इतिहासका पुराना भाष्यमाथि प्रश्न उठेपछि हिजोआज चलेको एउटा रैथाने प्रतिप्रश्न छ— पुराना चिहान खोतलेर के पाइन्छ ? यो प्रतिप्रश्नले पुराना कागजपत्रको धूलोमा पुरिंदै नेपालको आर्थिक इतिहास उत्खनन् गरिरहेका महेशचन्द्र रेग्मीको घुर्मैलो आकृति सम्झाउँछ ।

साढे चार दशक (सन् १९५९–२००३) सम्म अठारौं र उन्नाइसौं शताब्दीको चिहान खोतल्न उनलाई किन मन लाग्यो ? त्यो चिहानभित्र उनले के पाए र हामीले के पाइरहेका छौं ? पछिल्लो समय ‘चर्चा धेरै गरिने तर कम पढिने’ ठानिएका रेग्मीले फेला पारेको इतिहास के थियो ?

इतिहास भनेको शिलालेख, ताम्रपत्र, ताडपत्र, लालमोहर वा स्याहामोहरमा लेखिएका तथ्यहरूको संकलन मात्र होइन, सही अर्थमा इतिहास कसै न कसैको दृष्टिकोणबाट गरिएको तथ्यहरूको विश्लेषण हो । रेग्मीले आफ्ना पुस्तकमा उद्धृत गर्ने गरेका इतिहास सिद्धान्तकारहरू इ.एच.कार हुन् वा आर.जी. कलिङवुड, विद्वान्हरू यो कुरामा सहमत छन् । भारतीय इतिहासकार रोमिला थापरले पनि ‘इतिहास तथ्यहरूको कोष’ होइन भनेकी छन् । आफ्नो पुस्तक ‘पास्ट एज् प्रेजेन्ट’ (वर्तमानको रूपमा भूतकाल) मा थापरले भनेकी छन्— इतिहासको चलनचल्तीको व्याख्या वर्तमानमा शासन गर्ने एक औजारको रूपमा प्रयोग भइरहेको छ । भारतमा अहिले नरेन्द्र मोदीको नेतृत्वमा चलेको ‘हिन्दु अन्ध–राष्ट्रवाद’ इतिहासको त्यस्तै व्याख्याको मलजलमा फले–फुलेको हो ।

Yamaha

इतिहास भूतकालमा मात्र टुकुटुकु हिँड्दैन, वर्तमानमा पनि मस्तिष्कहरूको राजमार्ग हुँदै उडान गर्छ । त्यसैले आज अनिवार्य रूपमा हिजोको जगमा टेकेर उभिएको हुन्छ । समाज, देश वा सभ्यताहरूले आज जे–जस्ता समस्याको सामना गरिरहेका छन् वा विकासको जस्तो पाइला छापिरहेका छन्, ती सबैमा हिजोको प्रभाव प्रकट भइरहेको हुन्छ । त्यसैले आज समाजमा देखिएका अन्तरविरोधहरू बुझ्न र बदल्न इतिहासको चिहान खोतल्नैपर्ने हुन्छ । २००७ सालमा राणाशासन ढलेपछि नेपालमा इतिहास लेखनको उर्वर समय सुरु भयो । मूलत: शासक खान्दानहरूको वंशावली र जितबाजीको कहानीलाई इतिहास ठान्ने निरपेक्ष इतिहास–चिन्तनले गाँजेको समय थियो त्यो । त्यही मेहेरोमा ६० वर्षपहिले महेशचन्द्र रेग्मीमा अर्थतन्त्रको इतिहास खोतल्ने अभिरुचि पैदा भयो । आम रुचिभन्दा भिन्न रुचि राख्नु आफैंमा जोखिमको कुरा हो ।

व्यक्तिगत पहलमा ‘रेग्मी रिसर्च सेन्टर’ खोलेर उनले त्यो जोखिम उठाए । सरकारी अड्डाहरूमा थुप्रेर रहेका पुराना कागजपत्रका पोकाहरूसम्म उनको पहुँच थियो । अठारौं र उन्नाइसौं शताब्दीका इतिहासका धड्कन ती पोकाहरूमा थिए, उनले एक–एक गर्दै ती धड्कनहरू टिप्दै गए । उनको एउटा सानो टोली थियो, जो ती कागजपत्र उतार्ने र अंग्रेजीमा उल्था गर्ने काममा खटिन्थे । रेग्मी रिसर्च सेन्टरले प्रकाशन गर्ने ‘नेपाल प्रेस डाइजेस्ट’ र ‘नेपाल प्रेस रिपोर्ट’ दुई यस्ता प्रकाशन थिए, जो नेपालका पत्रपत्रिकाका कुरा अंग्रेजीमा उल्था गरेर तयार गरिन्थ्यो र बिक्री गरिन्थ्यो । त्यसैगरी नेपाली कानुन उल्था गरेर तयार गरिने ‘नेपाल रेकर्डर’ पनि बिक्रीमा हुन्थ्यो । सेन्टरका अरू महत्त्वपूर्ण प्रकाशन थिए— ‘नेपाल मिसेलेनियस सिरिज’ र ‘रेग्मी रिसर्च सिरिज’— जो मूलत: पुराना सरकारी कागजपत्र उल्था गरेर छाप्ने प्रकाशन थिए । यी प्रकाशनबाट हुने आम्दानीले रिसर्च सेन्टर चल्न कति पुग्थ्यो भन्न कठिन छ । जब रेग्मीका मित्र लियो ई. रोजले अमेरिकी क्यालिफोर्निया विश्वविद्यालयबाट आर्थिक सहायता दिलाइदिए, आफ्नो अनुसन्धानमा लाग्न उनलाई पक्कै सजिलो भएको हुनुपर्छ । यद्यपि त्यो सहायताले उनलाई विवादमा पनि तान्यो ।

रेग्मीले उठाएको जोखिम आजसम्म पनि कायम छ । राज्यले लगानी गरेर स्कुल–स्कुल र क्याम्पस–क्याम्पसमा पुर्‍याएको इतिहास रेग्मीले खोज गरेको इतिहास थिएन । औंलामा गन्न सकिने अनुसन्धानकर्ताले उनका प्रकाशनबाट फाइदा अवश्य उठाए, तर इतिहासको मूलधारे पाठ्यपुस्तकको चाङमुनि रेग्मीका खोज गुमनाम भइरहे । त्यसैले इतिहासको मूलधारे भाष्यमा प्रश्न उठाउने जो कोहीले आज पनि खतरासँग खेल्नैपर्छ । रेग्मीले आखिर के पत्ता लगाएका थिए, जो आज पनि खतरनाक छ ?

राज्यको जगमा साबेल
सरकारी कागजपत्र नै हुन् रेग्मीका स्रोत । राज्यले जनतासँग गरेको आर्थिक व्यवहार खोज्न उनले तिनै कागजपत्रको उपयोग गरेका थिए । ‘ल्यान्ड टेन्योर एन्ड ट्याक्सेसन इन नेपाल’ उनको आधारभूत ग्रन्थ हो । ‘अ स्टडी इन नेपाली इकोनोमिक हिस्ट्री : १७६८–१८४७’ र ‘एन इकोनोमिक हिस्ट्री अफ नेपाल : १८४६–१९०१’ नामका दुई आर्थिक इतिहासका पुस्तकमार्फत उनले राज्यको जगमा साबेल चलाएका छन् । ‘ल्यान्ड ओनरसिप इन नेपाल’ उनको त्यस्तो पुस्तक हो, जसले नेपालको भूमि–सम्बन्धलाई उजागर गर्छ । रेग्मीको लामो अध्ययनको निष्कर्षजस्तो लाग्ने पुस्तकचाहिं ‘थ्याच्ड हट्स एन्ड स्टुको प्यालेसेज’ हो, जसले किसानलाई इतिहासभरि गरिब तुल्याइराख्ने शासक वर्गको पोल खोल्छ ।

कार्ल माक्र्सलाई सन्दर्भित गर्ने हो भने अर्थतन्त्रले निर्माण गर्ने परिस्थिति नै त्यो पोखरी हो, जहाँ समाज नामको माछा जीवित रहन्छ । अर्थतन्त्रको लय समात्ने हो भने समाजको गति सजिलै बुझिन्छ । नेपाली अर्थतन्त्रको इतिहास खोतल्ने क्रममा रेग्मी त्यस्ता निष्कर्षहरूमा पुग्छन्, जसले नेपाली समाजको आजको हविगत बुझ्न सघाउँछ । रेग्मीका पुस्तकहरू पढिरहँदा यो पंक्तिकार धेरैपटक झस्केको छ र नेपाली समाजको लय एवम् गति थाहा पाएर चकित भएको छ । राज्यले जनतासँग बनाएको सम्बन्ध इतिहासमा के रहेछ भन्ने थाहा पाउनेबित्तिकै आम जनताले भोगेको कष्टकर समय र त्यही समयलाई मथ्ने क्रममा बनेको वर्तमानका बारेमा थाहा पाइन्छ ।

रेग्मीको अनुसन्धानले प्रस्ट बताउँछ— नेपालको राज्य जनतासँग अलगथलग बसेको थियो । वास्तवमा राज्य र जनताको बीचमा आदानप्रदानको सम्बन्ध र पुँजी निर्माणमा सहकार्य नभएसम्म आर्थिक प्रणालीले सुदृढ रूप नै लिँदो रहेनछ । सात सालको क्रान्ति सम्पन्न भइन्जेल अस्तित्वमा रहेको राज्य, बिर्ता र किपट प्रणालीले स्पष्ट भाषामा के भन्छन् भने नेपालको राज्यसत्ता नेपालखाल्डोभित्र साँघुरिएर, खुम्चिएर दुई शताब्दीसम्म बसेको थियो । कर उठाउने, सलामी उठाउने, जनतालाई सित्तैमा काम लगाएर झारा पनि तिराउने, तर जनतासँग आदानप्रदानको सम्बन्ध नबनाउने । राज्य ठालुजस्तो छ, मुम्बइया फिल्ममा डनलाई ‘हफ्ता’ तिरेझैं जनता राज्यलाई कर तिरिरहेछन् । जनताको राज्यप्रति न त अपनत्व छ, न अपेक्षा नै । राज्य नै मानौं दरबार र त्यसका आसेपासेको बिर्ता हो ।

बेला–बेला कर उठाउने प्रणालीमा फेरबदल आउँछ । कहिले इजारादार, कहिले ठेकदार, कहिले जिम्दार त कहिले सुब्बा, थरी–थरीका सरकारी एजेन्ट कर उठाउन आउँछन् र किसानले दु:खजिलो गरेर उब्जाएको उब्जनीको ठूलो हिस्सा बेचेर लैजान्छन् । मुस्ताङको बाज होस् वा मधेसको सुगा, हात्ती होस् वा जंगलका काठ, सबका सबको आम्दानी राज्यको ढुकुटीमा जान्छ । तर त्यो ढुकुटी राइँदाइँ चल्छ उसैको, जो शक्तिमा छ । सयौं, हजारौं बिघा उर्बर जग्गा पनि शक्तिशालीकै बिर्ता छ । धेरैजसो बिर्तावाल कर तिर्दैनन् । जो वास्तविक किसान हुन्, उनीहरू या त राज्यको कर दोहनबाट टाक्सिएका छन्, या त शक्तिशालीको बिर्ता जोत्ने खेतीहर मजदुरजस्ता छन् । वर्षभरिको मिहिनेत गर्ने किसानको हातमा बचत आम्दानी नै नरहेपछि पुँजी निर्माण कसरी हुन्छ ?

नेपालखाल्डोमा एकसेएक भव्य दरबार बने । दरबारियाको मस्तीका निम्ति युरोपबाट सजावटका सामान आए । रैथाने बाह्रसिंगाको टाउको र बाघको छालाले मात्र सोख पूरा नभएपछि बेल्जियमका कार्पेट, एथेन्समा बनेका मूर्ति र बेलायतबाट महँगा झल्लरहरू मगाइए । नेपालखाल्डो युरोपेली देश, जापान आदिबाट आएका सामान उपभोग गर्ने एक ‘हट् स्पट’ बन्यो । घरेलु उद्योगहरू धराशायी भए । राज्य र त्यसका एजेन्टहरूको अत्याचारबाट बच्न हजारौं मानिस बसाइँ सरेर सीमापार पुगे । राज्यले समाजलाई चाहिने विभिन्न संस्थागत संरचनाहरू निर्माण गर्नेबारे कहिल्यै सोचेन । जनता अलगथलग, राज्य मुठ्ठीभर कुलीनहरूले आर्जेको र उनीहरूले नै भोगचलन गर्ने एक एकाइ बन्यो । पश्चिमका रजौटाहरू, पूर्वका किपटिया, मधेसका किसान, सबै नै राज्यसँग अलगथलग अवस्थामा रहे । एक त भाषिक, सांस्कृतिक भिन्नताले विविध समुदाय र राज्यको बीचमा चिनियाँ पर्खाल हालेको छ, अर्कोतिर शासकहरू केवल करको धागोले मानिसहरूलाई उन्न खोजिरहेछन् । 

राज्यको जगमा साबेल चलाएर रेग्मीले यस्ता तमाम् तथ्य उत्खनन् गरेका छन् । राजा–महाराजाको कहानीबाट इतिहासलाई झिकेर जनताको धड्कन नाप्ने कलाको रूपमा विकसित गर्न रेग्मी प्रतिबद्ध देखिन्छन् । नेपालको इतिहासलेखन परम्परामा यो बिल्कुल नौलो आयाम थियो । गोर्खा साम्राज्यको सैनिक अभियान, दरबारिया षड्यन्त्र र सत्ताको दाउपेचलाई नै इतिहासको रूपमा अतिरञ्जित भाषामा अभिव्यक्त गर्ने प्रवृत्तिका विरुद्धमा उनी खडा मात्र छैनन्, रचनात्मक ढंगले जवाफ पनि दिएका छन् ।


जंगबहादुर जन्माउने दरबार
एकीकरणको भाष्य पढेर नेपालका केही पुस्ता हुर्के । रेग्मी भने पुराना कागजपत्रबाट गोर्खा साम्राज्य निकाल्छन् । संसारका विशाल साम्राज्यको कथा सुनेका हामीलाई ‘गोर्खा साम्राज्य पनि हुन्छ र’ भन्ने लाग्छ । गोर्खाली राज्यविस्तार अभियानलाई छाडेर इतिहासकार अघि बढ्न सक्दैन । तर रेग्मीले त्यहाँ हामीलाई टक्क अड्याइदिन्छन् । उनी भन्छन्— सैनिक विजयले राज्य त ठूलो बन्यो, तर राष्ट्र निर्माण हुन सकेन । कतै राजा–रजौटासँग सम्झौता गरिएको छ त कतै लिम्बुवानजस्तो समुदायलाई किपट र आन्तरिक स्वायत्तता दिइएको छ । राज्यसत्तामा केवल पहाडी क्षत्री–बाहुन गठबन्धन हुनु र अरू समुदाय शासनप्रणालीबाट बाहिरै पर्नु पनि राष्ट्र निर्माणको तगारो हो ।

नेपाल एकिकरणको कहानी रेग्मीमा आइपुग्दा ३६० डिग्रीमा घुमिसक्छ । ‘किङ्स एन्ड पोलिटिकल लिडर्स अफ दी गोर्खाली एम्पायर’ र ‘इम्पेरियल गोर्खा’ दुई यस्ता पुस्तक हुन्, जसले एकीकरणको भाष्यलाई विश्राम दिन्छन् । रेग्मीका अनुसार ‘राष्ट्रवादी’ इतिहासकारहरू या त पृथ्वीनारायणको महान् इच्छा या बेलायती उपनिवेशबाट देश जोगाउने महान् उद्देश्यसँग एकीकरणलाई जोड्छन् । वास्तवमा गोर्खाली शासक र भाइभारदारका निम्ति तराईको उर्वरभूमि, भारत र तिब्बत जाने व्यापारिक रुट र नेपालखाल्डोको धनधान्य मुख्य प्रेरक तत्त्व थिए । रेग्मीकै तर्क पछ्याउँदै अर्का इतिहासकार लुड्विग स्टिलरले पनि आफ्नो पुस्तक ‘नेपाल : ग्रोथ अफ अ नेसन’ मा जग्गाको मोहले गोर्खाली शासकदेखि सिपाहीसम्मलाई लडाइँमा डट्न प्रेरित गरेको उल्लेख गरेका छन् ।

मूलधारे इतिहासले धेरैजसो नेपालखाल्डोमा जमेर बस्न पुगेको गोर्खाली दरबारभित्रको षड्यन्त्रको कथा भन्छ । पृथ्वीनारायणको मृत्युपछि दरबारभित्र षड्यन्त्रको खेल सुरु भएको र त्यस्ता खेलमा खास–खास पात्रको चारित्रिक कमजोरी वा दाउपेच नै कारक तत्त्व रहेको त्यस्ता इतिहासकारको ठहर छ । तर राजनीतिको व्याख्या यस्तो भावुकतामा स्वत: पिलन्धरे हुन पुग्छ । प्रश्न छ— जंगबहादुर जन्माउने दरबार केले जन्मायो ? जंगबहादुर त्यसै जन्मिएको त होइन । जंगबहादुर जन्माउने दरबारभित्र कुनै न कुनै रहस्य हुनैपर्छ । रेग्मीले सोझै यो प्रश्नको उत्तर त दिएका छैनन्, तर उनका रचनामा प्रकारान्तरले जवाफ पाइन्छ ।

पृथ्वीनारायणका आँखा नेपालखाल्डोको समृद्ध सभ्यता र अर्थतन्त्रमा परेको तथ्य स्पष्टै छ । ‘पकेटमनी’ पनि स्थानीय साहुसँग सापटी लिनुपर्ने हैसियत थियो गोर्खा दरबारको । त्यसैले नेपालखाल्डो जित्ने महत्त्वाकांक्षाले २५ वर्षको अग्निपरीक्षा पार गर्‍यो ! युद्धको बेला युद्धकै राग बलियो हुन्छ । जब युद्ध सकियो, दरबारभित्र शक्तिको छिनाझपटी सुरु भयो । किन नहोस्, जबकि जो शक्तिशाली हुन्थ्यो उसले मधेसमा हजारौं बिघा जमिन बिर्ता पाउँथ्यो । अरू सलामी, असुली र राज्यको ढुकुटीको रजाइँ त छँदैछ । मुलुक ठूलो भएको थियो, आम्दानी पनि धेरै हुन्थ्यो । दरबारको न्यानो पाउनु भनेको धनधान्यले पूर्ण हुनु पनि हो । आफ्नो मात्र होइन, आफ्ना आफन्तलाई समेत मालामाल बनाउन सकिने शक्ति भर्खरै जितिएको साम्राज्यले दिन्थ्यो ।

ठीक यही भट्टीबाट जंगबहादुरको जन्म भएको थियो । शक्ति हातमा आउनासाथ धन, ऐश्वर्य, वैभव, हुकुम सबै प्राप्त हुन्छ भने जंगबहादुरले कोतपर्वको जोखिम किन नउठाउने ? गोर्खा र वरपरका पहाडी राज्यबाट आएका गोर्खाली कुलीनहरूका निम्ति यो सुनौलो अवसर थियो, किनभने यस्तो अवसर उनीहरूले पहिला कल्पना पनि गरेका थिएनन् । नभन्दै जंगबहादुर र उनीपछिका राणाशासकहरूले श्री ३ को शक्ति अभ्यास मात्र गरेनन्, प्रशस्त पैसा पनि कमाए । जनताप्रति उत्तरदायी नहुने र जनताको उत्पादनबाट पुँजी खिंचेर मोजमस्तीमा लगाउने शासक इतिहासभरि भए । गोर्खाली शासन आफैंमा साम्राज्यवादी चरित्रको भएको हुनाले यसले विविध समुदायमाथि आन्तरिक उपनिवेशको अभ्यास गर्‍यो । 


उपसंहार
विश्वविद्यालयहरूमा इतिहासप्रति रुचि कम भइरहे पनि हिजोआज आमजनतामा इतिहासको पुरानो भाष्यप्रति आलोचनात्मक चेत विकास भइरहेको छ । मूलधारे इतिहास समाजको चरित्र बुझ्न र बदल्न मद्दत गर्ने खालको छैन । यसमा रेग्मीले पनि रोष प्रकट गरेका छन् । वीरताको पगरी र अतिरञ्जित व्याख्याले इतिहासका पात्रहरू मिथकीय पात्रझैं लाग्छन् । इतिहासलेखनको यो प्रवृत्ति बदल्न रेग्मी प्रतिबद्ध थिए ।

जब उनी कुमाउँमा गोर्खालीले थोपरेको अत्याचारको कुरा गर्छन्, इतिहासले साँच्चै नयाँ लय पक्रिन्छ । बलभद्र, अमरसिंह र भक्ति थापाहरूका वीरगाथा सुनेर हुर्किएको हाम्रो पुस्ता एकपटक नराम्रोसँग झस्कने निश्चित छ । आर्थिक इतिहास लेख्दालेख्दै अन्ततिर ‘इम्पेरियल गोर्खा’ लेख्न पुगेका रेग्मीले कुमाउँमा गोर्खाली शासनको २५ वर्षलाई मूल्यांकन गरेका छन् । गोर्खाली राज्यविस्तारको मूल चरित्र उपनिवेशवादी थियो । गोर्खाली प्रशासकले कुमाउँमा गरेको अत्याचारको कथा त्यहाँको लोकगीतमा अझै सुरक्षित छ । अंग्रेजसँग लडाइँ हार्नुको मुख्य कारण नै त्यहाँ खेलिएको अत्याचारको होली थियो ।

रेग्मीको इतिहासलेखनबाट वीरताका मिथक गायब हुन्छन् र पात्रहरू खुट्टाले टेकेर हिँड्न थाल्छन् । चाहे नेपाल राष्ट्र बन्नै बाँकी रहेको दलिल होस् वा पृथ्वीनारायणले आर्थिक हिसाबले एकीकरण गर्न नसकेको स्पष्टोक्ति होस्, उनले वर्तमानका समस्या पहिल्याउनका निम्ति नै इतिहास लेखेको छाँट मिल्छ । नेपाल–अध्ययनमा लाग्ने अनुसन्धाताहरू रेग्मीको पुस्तक नछिचोली कहीं पुग्दैनन् । वर्णव्यवस्था र विविध समुदायको सीमान्तकरण बुझ्ने सन्दर्भमा पनि उनका पुस्तक उपयोगी छन् । राष्ट्र र सभ्यता दुवै बन्नका लागि रेग्मीजस्ता इतिहासकारका खोज मनन गरिनुपर्छ । आखिर मान्छे चिन्तन र इतिहासको कथाबिना बाँच्न सक्दैन । रेग्मीका पुस्तक हामीलाई बचाउन तम्तयार छन् ।

प्रकाशित : आश्विन १२, २०७४ १७:४३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कूटनीतिका मियो

डा. जयराज आचार्य

भनिन्छ, ‘पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरे, भानुभक्त आचार्यले नेपाली भाषाको स्तरीकरण गरे, यदुनाथ खनालले नेपालको परराष्ट्र नीतिको बौद्धिकीकरण गरे ।’ मलाई यो भनाइ ठीक लाग्छ । यीमध्येका यदुनाथ खनालसित मेरो लामो सम्पर्क रह्यो ।

भनिन्छ, ‘पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरे, भानुभक्त आचार्यले नेपाली भाषाको स्तरीकरण गरे, यदुनाथ खनालले नेपालको परराष्ट्र नीतिको बौद्धिकीकरण गरे ।’ मलाई यो भनाइ ठीक लाग्छ । यीमध्येका यदुनाथ खनालसित मेरो लामो सम्पर्करह्यो ।

खनाल विद्वान्, समालोचक, कूटनीतिज्ञ र प्रखर बुद्धिजीवी थिए । उनले पहिला संस्कृत, अनि कलकत्तामा विज्ञान र अङ्ग्रेजी साहित्य पढेर फर्की १९९९ देखि २०१२ सालसम्म त्रि–चन्द्र कलेजमा पढाए । २०१२ मा प्रधानमन्त्री टंकप्रसाद आचार्यले आफ्नो प्रमुख सचिवका साथै गृहसचिव बनाएर सिंहदरबार लगे पनि खनाल कर्मचारी होइन, स्वतन्त्र विद्वान्का रूपमा परिचित रहे । उनको कूटनीतिक क्षमतालाई बीपी कोइराला, राजा महेन्द्र र राजा वीरेन्द्रले मात्र होइन, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासम्मले प्रयोग गरे । नेपालमा दुईपटक परराष्ट्रसचिव र नेपालका लागि अत्यन्त महत्त्वपूर्ण देशहरू भारत, चीन र अमेरिकामा राजदूत हुने एक मात्र व्यक्ति खनाल नै भए ।

२०१७ सालमा यदुनाथ खनाल राजा महेन्द्रबाट परराष्ट्रसचिव नियुक्त हुँदा नेपालको आन्तरिक राजनीति र परराष्ट्र सम्बन्धमा संकट थियो र त्यस संकटको समाधानमा सहायता लिन उनलाई महेन्द्रले परराष्ट्रसचिव बनाएका थिए । २०१७ पुस १ गते कू गरी शासनसत्ता हातमा लिनेबित्तिकै राजा महेन्द्रले भर्खर न्युयोर्कमा संयुक्त राष्ट्रसंघको पन्ध्रौँ साधारणसभामा भाग लिएर नेपाल फर्केका खनाललाई दरबारमा बोलाएर भने, ‘खनालजी, मैले बुवा त्रिभुवनले ल्याइबक्सेको प्रजातन्त्र बिगार्न खोजेको होइन । तर यी कांग्रेसहरूले भन्दा छिटो देश विकास गर्न सक्छु कि भनेर मैले पुस १ गतेको काम गरेँ । अब मलाई तपाईंले सहयोग गर्नुपर्‍यो । म तपाईंलाई परराष्ट्रसचिव बनाउन चाहन्छु । भारत मसित धेरै रिसाएको छ, सम्हाल्नुपर्‍यो ।’ खनालले ‘हुन्न, म सक्दिनँ’ भन्न मिलेन । उनी बीपी कोइरालासित संयुक्त राष्ट्रसंघ गएका थिए र उनको भाषण लेखेका थिए । तर महेन्द्रले खनाललाई ‘बीपीको मान्छे’ भनेनन्, ‘देशको मान्छे’ भने ।

यदुनाथ खनाल परराष्ट्रसचिव भएको दोस्रो वर्ष (२०१९ कात्तिक–मंसिरतिर) चीन–भारत सीमायुद्ध नै भयो । दुई देशको चेपमा रहेको नेपाल अप्ठयारोमा पर्‍यो । भारतीय सेनामा नेपालीहरू पनि थिए । तर भारतीय अखबारहरू लेख्थे, ‘नेपालले बाहिरबाहिर तटस्थ रहेजस्तो देखाए पनि भित्रभित्रै चीनलाई सघाइरहेछ ।’ अनि खनालले तत्कालीन भारतीय राजदूत हरीश्वर दयाललाई सिंहदरबार बोलाएर सोधे, ‘के हो, अखबारहरूमा आएको विचार भारत सरकारको पनि हो कि अखबारवालाहरूको मात्र हो ? यदि भारत सरकारले पनि त्यस्तै ठानेको छ भने हाम्रा राजासितसमेत कुरा गर्नुपर्‍यो ।’ अनि हरीश्वर दयालले खनाललाई भने, ‘होइन, नेपाल सरकारले जुन नीति अवलम्बन गरेको छ त्यो बिलकुल ठीक छ । त्यसको हामी प्रशंसा गर्छाैं । अखबारको पछि नलाग्नोस् ।’ खनालले मैले जीवनी लेख्ने क्रममा कुरा गर्दा यस्तो भनेका थिए ।

त्यसै वर्ष (२०१९ सालमा) भारतका लागि नेपाली राजदूत नरप्रताप थापाको विमान दुर्घटनामा देहावसान भयो । अप्ठयारोमा परेको नेपाल–भारत सम्बन्धलाई सम्हाल्न जान्ने अर्काे मानिस भेटिएन र राजा महेन्द्रले यदुनाथ खनाललाई नै भारतमा राजदूत बनाई पठाए । त्यतिखेर नेपाली कांग्रेसका कार्यकर्ताहरूले भारतबाट नेपालमा सशस्त्र विद्रोहको कार्यक्रम पनि चलाइरहेकै थिए । खनालले भारतमा राजदूत भई गएर २०१९ पुस १० गते (१ जनवरी १९६३) का दिन राष्ट्रपति सर्वपल्ली राधाकृष्णनलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाए । त्यसताका नेपाल–भारत सम्बन्ध चिसो थियो । त्यो वर्ष नेपालको राष्ट्रिय दिवसमा आयोजित जलपानमा भारतका कुनै उच्चपदस्थ अधिकारी आएनन् । उपराष्ट्रपति आउने चलन थियो, ती पनि आएनन् । अनि खनालले जनस्तरमा कूटनीति सुरु गरे । त्यसैको फल थियो त्यो किताब— ‘रिफ्लेक्सन्स् अन् नेपाल–इन्डिया रिलेसन्स्’ । त्यस किताबमा संकलित लेख तथा भाषणहरूमा उनले नेपाल–भारत सम्बन्धका स्थायी पक्षहरूको व्याख्या गरेका छन् ।

अनि २०२४ सालमा भृकुटीमण्डप प्रदर्शनीस्थलमा रहेको चिनियाँ स्टलमा विद्यार्थीहरूले तोडफोड गरेर माओ जे दुुङको तस्बिर पनि खसालिदिए । नेपाल–चीन सम्बन्धमा त्यस घटनाले ठूलो तनाव पैदा गर्‍यो । चिनियाँ राजदूत नेपाल सरकारसित बिदै नभई चीन फर्के । त्यो संकटको समाधान गर्न फेरि यदुनाथ खनाललाई नै दिल्लीबाट फिर्ता बोलाएर परराष्ट्रसचिव बनाइयो र चीन पठाइयो । बेइजिङमा कुराकानी हुँदा चाउ एन लाईले त्यस विषयमा चिन्ता नगर्न आश्वासन दिए । नेपाल सरकार निकै चिन्तित थियो किनकि काठमाडौँस्थित चिनियाँ दूतावासका कर्मचारीले नेपाल सरकारलाई कडा विरोधपत्र लेखेर धम्क्याएका थिए । त्यस विषयका जानकार प्रधानमन्त्री चाउ एन लाईले त्यस्ता कर्मचारीलाई सरुवा गरिदिने समेत वचन दिएका थिए । त्यो मिसन सफल पार्न खनालको सुझबुझ उपयुक्त भयो ।

२०२६ सालमा यदुनाथ खनालले नेपालबाट भारतीय सैनिक सल्लाहकारहरूको टोली फिर्ता पठाउनमा कूटनीतिक सफलता हासिल गरे । त्यो धेरै गाह्रो काम थियो । त्यसको केही चर्चा मैले साझा प्रकाशनको अनुरोधमा लेखेको किताब ‘यदुनाथ खनाल : जीवनी र विचार’ (पृष्ठ ९६–१०४) मा गरेको छु । तर त्यसमा नपरेको एउटा कुरा उल्लेख गर्नु आवश्यक ठान्छु । खनालले मलाई के बताए भने, कूटनीतिमा त्यसको विषयवस्तु (कन्टेन्ट) जस्तै प्रक्रिया (प्रोसेस) पनि महत्त्वपूर्ण हुन्छ । २००९ सालमा एक–डेढ वर्षका लागि आएको भारतीय सैनिक सल्लाहकार समूह सोह्र–सत्र वर्षसम्म नेपालमा बसिरहयो र राजा महेन्द्रलाई त्यो हटाउने इच्छा भयो । उनले खनाललाई भने, ‘खनालजी, तपाईं एउटा भाषण लेख्नोस्, म त्यो पढ्छु ।’ तर खनालले भने, ‘सरकारले पढ्न हुँदैन, किनकि सरकारको भाषणमा व्यक्त चाहनाबमोजिम भारतले आफ्ना सैनिक सल्लाहकार टोली फिर्ता लग्यो भने त सरकार हिरो होइबक्सिन्छ, तर भारतले मानिदिएन भने कता गइबक्सिन्छ ?’ खनालको तर्क सुनेर राजा झस्किए र भने, ‘ठीक भन्नुभयो खनालजी । मैले होइन, प्रधनमन्त्री कीर्तिनिधि विष्टले पढ्छन् ।’ तर खनालले फेरि भने, ‘भाषण पनि नदिऔँ । ‘राइजिङ नेपाल’ मा एउटा अन्तर्वार्ताका रूपमा हाम्रा विचार राखौं । त्यसमा भारतको कस्तो प्रतिक्रिया आउँछ, सोहीअनुसार अघि बढ्ने या नबढ्ने निर्णय गरौंला । वास्तवमा यो यति संवेदनशील र खतरनाक विषय हो, यसमा कूटनीतिक गल्ती भयो भन्ने अवस्था आयो भने हामीमध्ये कुनै एकले आफ्नो पदबाट हट्ने तयारीका साथ अघि बढ्ने हो ।’ खनालको कुरा राजालाई उचित लाग्यो र त्यस विषयमा २०२६ असार ११ को ‘राइजिङ नेपाल’ मा प्रधानमन्त्री कीर्तिनिधि विष्टका नाममा एउटा अन्तर्वार्ता छापियो । केही दिनपछि तत्कालीन भारतीय राजदूत राजबहादुरले सिंहदरबार आएर खनाललाई भनेका थिए रे, ‘भाषा त जम्मै तिम्रैजस्तो लाग्छ नि !’ त्यसपछि लामो कूटनीतिक संवादमार्फत भारतीय सैनिक सल्लाहकार टोली फिर्ता पठाइयो ।

त्यति मिहिनेत गरेर परराष्ट्रसचिव यदुनाथ खनालले भारतसितको सम्बन्ध नबिगारीकन सेना फिर्ता पठाए, तर त्यसपछि राजा महेन्द्र नेपाल–भारत सम्बन्ध बिगार्ने काम गर्न थाले । अनि खनाल चित्त दुखाई परराष्ट्रसचिव पद छोडेर सन् १९७० मा हार्वर्ड विश्वविद्यालयमा फेलो हुन गए र त्यहाँ नेपालको परराष्ट्रनीतिबारे पचास पृष्ठ लामो लेख लेखे । उनी फर्किंदा नेपालमा नयाँ राजा स्थापित थिए— वीरेन्द्र । उनले खनाललाई दरबारमा बोलाएर (आफ्ना बाबु महेन्द्रकै भाषामा) ‘मलाई मद्दत गर्नुपर्‍यो’ भने र संयुक्त राज्य अमेरिकामा राजदूत बनाई पठाए । त्यतिखेरको चुनौतीपूर्ण प्रसंग के थियो भने सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले चीनको साताव्यापी भ्रमण गरिसकेका थिए, जसलाई उनले संसार परिवर्तन गर्ने एक साता (द विक द्याट् चेन्ज्ड् द वल्र्ड) भनेका थिए । अमेरिका र चीनबीच स्थापित नयाँ सम्पर्कले चीनसित सीमा जोडिएको नेपालका लागि के अर्थ राख्छ, गम्भीर चासोको विषय थियो यो । त्यतिखेर हाम्रो दक्षिणतर्फको छिमेकी भारतको सोभियत संघसँग निकट सम्बन्ध थियो । तर भारत–अमेरिका सम्बन्ध यति खराब थियो, राष्ट्रपति निक्सनले इन्दिरा गान्धीलाई ‘बिच’ (कुकुर्नी) भनेका थिए र निक्सनका राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरले भारतीयहरूलाई ‘बास्टर्ड’ (ठिमाहा) भनी गाली गरेका थिए । कारण, पूर्वी पाकिस्तान (हालको बंगलादेश) लाई स्वतन्त्र बनाउने युद्धमा भारत सोभियत संघसित २० वर्षे पारस्परिक सुरक्षा सन्धि गरेर अमेरिकी नीति र इच्छाविपरीत अघि बढेको थियो । खनालले राजदूत भएर वासिङ्टन पुगेको सातादिन पनि नपुग्दै राष्ट्रपति निक्सनलाई ह्वाइट हाउसमा ओहोदाको प्रमाणपत्र बुझाए (जुन २४, १९७३) । तर उनीभन्दा धेरैअघि वासिङ्टन पुगेका भारतीय राजदूत टीएन कौल भने महिनौंअघिदेखि पालो कुरेर बसिरहेका थिए । खनाललाई भेटेर भारतीय राजदूत कौलले सोधेछन्, ‘मेरो पालो कहिले आउलाजस्तो लाग्छ, केही बुझ्नुभयो कि ?’ खनालले भने, ‘खै, अलि कुर्नैपर्नेजस्तो लाग्यो ।’

यदुनाथ खनाललाई स्वागत गर्दै आफ्नो लिखित वक्तव्यमा राष्ट्रपति निक्सनले भनेका थिए, ‘मेरो प्रशासन विश्वशान्तिको नयाँ संरचना निर्माण गर्न कृतसङ्कल्प छ र त्यसमा नेपालका राजा र जनताले दिएको योगदानको हामी हार्दिक प्रशंसा गर्छाैं ।’ त्यस भनाइको अर्थ बुझाउँदै मलाई खनालले पछि भनेका थिए, ‘सोभियत संघलाई आफ्नो एक नम्बरको प्रतिपक्षी मान्दै अमेरिकाले चीनसित मित्रता र सहकार्य गर्ने नयाँ नीति अख्तियार गर्दै थियो । त्यसैलाई निक्सनले विश्वशान्तिको नयाँ संरचना भनेका हुन् । अनि चीनसितको सम्बन्धसूत्रका रूपमा अमेरिकाले नेपाललाई प्रयोग गर्न खोजेको थियो, तर हामीले त्यो भूमिका खेल्दा भारतले हामीमाथि कारबाही गर्ने खतरा थियो र हामीले त्यो गर्न सकेनौं । अनि पाकिस्तानको भ्रमणमा आएका अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरले त्यताबाट सुटुक्क चीन गई निक्सनको चीन भ्रमणको तयारी गरेका थिए । नेपालको भूराजनीतिक संवेदनशीलतालाई अमेरिकीहरूले बुझेका थिए र हामीले व्यक्त गरेको असमर्थतालाई लिएर चित्त दुखाएका थिएनन् । हामी रूसतिर ढल्केका छैनौं भन्ने उनीहरूले बुझेका थिए । त्यही कुरालाई निक्सनले नेपालका राजा र जनताले दिएको योगदान भनेका हुन् ।’ यसबारे मलाई खनालले बुझाए र निक्सनले दिएको भाषणको कपी पढ्न दिए । खनाललाई व्यक्तिगत रूपमा प्रशंसा गर्दै राष्ट्रपति निक्सनले आफ्नो लिखित भाषणको अन्तिम प्याराग्राफमा भनेका रहेछन्, ‘तपाईंंजस्तो ख्यातिप्राप्त र उच्च सम्मानप्राप्त व्यक्तिलाई श्री ५ वीरेन्द्रले अमेरिकाका लागि राजदूत नियुक्त गर्दा संयुक्त राज्य अमेरिका नै विशेष रूपमा सम्मानित भएको छ । तपाईंको नियुक्ति हाम्रा दुई देशबीचको सम्बन्धमा एउटा कोसेढुंगा हो ।’

अमेरिकाले तिब्बती खम्पाहरूलाई सीआईएमार्फत तालिम र हतियार दिएर चीनका विरुद्ध काण्डहरू मच्चाउन गोप्य रूपमा मद्दत गरिरहेको धेरै वर्ष भइसकेको थियो, लगभग एक दशक नाघिसकेको थियो । त्यो काममा नेपालको भूमि प्रयोग हुनु हाम्रो राष्ट्रिय हितमा थिएन । आखिर सन् १९७५ (२०३२ साल) तिर नेपालले मुस्ताङ, डोल्पा, हुम्ला आदि जिल्लामा कारबाही अभियान चलाएर उनीहरूका हतियार खोस्यो र केवल ‘शान्तिपूर्ण ढंगले नेपालमा बस्ने’ अनुमति दियो । त्यसताका यदुनाथ खनालले अमेरिकी सरकार र तिनका एजेन्सीहरूलाई के भनेर सम्झाए भने, ‘नेपाल संवेदनशील भूराजनीतिक अवस्थामा छ । हामी हाम्रा छिमेकी भारत र चीनलाई अप्ठयारो पारेर अमेरिकाको हित गर्ने काममा संलग्न हुन सक्दैनौँ । यो कुरा तपाईंहरूले बुझ्नुपर्छ । जहाँसम्म खम्पाहरूको विषय छ, अब त अमेरिका स्वयं चीनसित सम्बन्ध सुधार्ने प्रयासमा छ भने तिनीहरूलाई प्रयोग गरिरहने आवश्यकता नै के छ र ?’ खनालको यो गम्भीर कूटनीतिक तर्कबाट अमेरिकी सरकारी कूटनीतिज्ञहरूको चित्त बुझ्यो ।

यस सन्दर्भमा ‘यदुनाथ खनाल : जीवनी र विचार’ मा नपरेको एउटा प्रसंग पनि यहाँ चर्चा गर्नु सान्दर्भिक देख्छु । संयुक्त राष्ट्रसंघ ज्यादै ‘पश्चिमपरस्त’ र अझ ‘अमेरिकापरस्त’ भयो भन्ने रूसी सिकायत थियो । त्यो कुरा बीपी कोइराला संयुक्त राष्ट्रसंघ जाँदा खु्रस्चेभले उनीसित उठाएका पनि थिए र तीन जना महासचिव राख्ने प्रस्ताव गरेका थिए । तर त्यो प्रस्ताव अव्यावहारिक भनी नेपालले सहमति जनाएन । त्यस विषयमा बीपीको भाषणमै असहमति आइसकेको थियो । सन् १९६० को दशकको अन्त्यतिर एक दिन रूसी राजदूत परराष्ट्रसचिव यदुनाथ खनाललाई भेट्न आएर भने, ‘तपाईं संयुक्त राष्ट्रसंघको महासचिव हुनोस्, रूसले समर्थन गर्छ ।’ रूसको त्यस्तो प्रस्ताव आउनुको कारण थियो— नेपालको स्पष्ट र दृढ असंलग्नता तथा खनालको व्यक्तिगत क्षमता र अन्तर्राष्ट्रिय स्तरमा सम्मानित व्यक्तित्व । खनालले ‘यो गम्भीर कुरा हो, यसमा म केही सोचेर र सरसल्लाह गरेर जवाफ दिउँला’ मात्र भने ।

यदुनाथ खनाललाई थाहा थियो— अमेरिकाले नचाहेमा संयुक्त राष्ट्रसंघमा केही पनि हुँदैन । सुरक्षा परिषद्मा पाँच स्थायी सदस्यमध्ये चार एकातिर (अमेरिकी पक्षमा) हुन सक्थे । त्यस कारण यस विषयमा खनालले नेपालस्थित अमेरिकी राजदूत क्यारोल सी. लेसलाई बोलाएर कुरा गरे । लेसले कूटनीतिक शैलीमा खनालको प्रशंसा गरिन्, तर यस्ता विषयमा कसैको व्यक्तिगत क्षमताभन्दा पनि देशको अवस्था, सम्बन्ध र हैसियतले काम गर्ने कुरा गरिन् । खनालले कुरो बुझिहाले । त्यो प्रस्तावको चर्चा बाहिर ल्याएनन् । निक्सनले आफ्नो स्वागत–भाषणमा ‘तपाईंजस्तो ख्यातिप्राप्त र उच्च सम्मानप्राप्त व्यक्ति’ भन्नुको कारण थियो— अमेरिकीहरूले रूसी प्रस्तावका बारेमा थाहापाएका थिए ।

तर यदुनाथ खनाल वासिङ्टनमा धेरै बस्न चाहेनन् । आफ्नी श्रीमतीको स्वास्थ्यका कारण नेपालै फर्कन चाहे र राजा वीरेन्द्रको राज्याभिषेकमा नेपाल आएका बेला सो इच्छा जाहेर गरी फर्केर लोक सेवा आयोगको अध्यक्ष भए । राजा वीरेन्द्र उनलाई खाली राख्न चाहन्नथे । अनि जब चीनमा माओ जे दुङको मृत्यु भयो, त्यहाँ नयाँ युगको प्रारम्भ हुने संकेत देखियो र त्यसले राजनीतिक, आर्थिक र कूटनीतिक कोल्टो फेर्न थाल्दा नेपालको केकस्तो प्रतिक्रिया हुनुपर्छ भन्ने विषय बुझ्ने व्यक्ति यदुनाथ खनाललाई नै ठहराई चीन पठाइयो । उनले चीनका विषयमा गरेको विश्लेषणात्मक प्रतिवेदनमा भनिएको थियो, ‘माओपश्चात्को चीनको परराष्ट्र नीतिमा क्रान्तिकारिता, सैन्यशक्ति र आधुनिकीकरणका तीन धार छन् । साथै आधुनिकीकरण भनेको चीनको आर्थिक, सामाजिक, राजनीतिक, कूटनीतिक यी चार क्षेत्रमा गरिने परिवर्तनको कार्यक्रम हो ।’ सन् १९८२ मा खनालले दुइटा भविष्यवाणी गरेका थिए । एक, चीनको पश्चिमामुखी परराष्ट्र नीति धेरै वर्षसम्म चलिरहनेछ । र दोस्रो, चीनको प्रतिव्यक्ति औसत आय दुई दशकमा चार गुना बढ्नेछ । त्यो सन् २००२ मा ठीक साबित पनि भएको थियो ।
चीनको नेपाल र भारतसितको सम्बन्धमा यदुनाथ खनाल भन्थे, ‘चिनियाँहरू यथार्थवादी छन् । उनीहरू नेपाल–चीन सम्बन्ध, नेपाल–भारत सम्बन्ध र चीन–भारत सम्बन्ध तीन अलग विषय हुन् भन्ने मान्छन् । हरेक सम्बन्ध विकसित हुनुको आफ्नै औचित्य वा तर्क छ । हरेक सम्बन्धलाई आ–आफ्नै मूल्य र महत्त्वका आधारमा हेरिनुपर्छ । चिनियाँहरू नेपाल–चीन मैत्रीलाई महत्त्व दिन्छन् एवं हाम्रो स्वतन्त्रता र सार्वभौमिकतालाई सम्मान गर्छन् र यस विषयमा उनीहरूका नेताहरूले विशेष ध्यान पनि दिन्छन् । तर, उनीहरूले नेपाल–चीन सम्बन्धलाई जतिसुकै महत्त्व दिए पनि त्यो नेपाल–भारत मैत्रीको स्थानापन्न हुन सक्दैन भन्ने पनि मानेका छन् । साथै त्यो भारत–चीन मित्रताको स्थानापन्न पनि हुन सक्दैन भन्नेमा उनीहरू स्पष्ट छन् । उनीहरू आफ्नो राष्ट्रिय हितलाई ध्यानमा राखेर आफ्ना मित्रहरूको उचित सम्मानका साथ उनीहरूसित स्वतन्त्रतापूर्वक मित्रता बढाउन चाहन्छन् र हामीले पनि भारतसितको सम्बन्धमा पनि त्यसै गरौँ भन्ने अपेक्षा गर्छन् ।’

नेपालले आफ्नो परराष्ट्र सम्बन्धमा कठिन चुनौती भोगिरहेको आजको समयमा यो साँच्चै मननीय कुरा हो । यो परिप्रेक्ष्यमा, यदुनाथ खनाल नेपालको परराष्ट्र नीतिलाई बौद्धिकीकरण गर्ने एक मनीषी नै थिए ।

प्रकाशित : आश्विन १२, २०७४ १७:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT