कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुगुकी प्रथम महिला ‘डाक्टर’

राजबहादुर शाही

मुगु — हिमाली जिल्ला मुगुमा एक जना महिला एमबीबीएस उत्तीर्ण गरी प्रथम महिला चिकित्सक बनेकी छन् । जिल्लाको इतिहासमै अहिलेसम्म महिला 'डाक्टर' बनेको रेकर्ड थिएन ।

मुगुकी प्रथम महिला ‘डाक्टर’

छायाँनाथ रारा नगरपालिका वडा नं २ अन्तर्गत चैन गाउँकी २५ वर्षीया मीना काफ्ले (चौलागाईं)ले एमबीबीएस उत्तीर्ण गरी मुगुको प्रथम 'डाक्टर' भएकी छन् । पाटन एकेडमी अफ हेल्थ साइन्स र डाक्टर्स फर नेपालको साझेदारी सहयोगमा दुर्गम महिला छात्रवृत्तमा उनले एमबीबीएस पास गरेकी हुन् ।

वि.सं २०६४ सालमा जुम्ला कनकासुन्दरी माध्यमिक विद्यालय बाट मिनाले एसएलसी पास गरेकी उनले काठमाडौं ह्वाइट हाउस इन्टरनेशनल कजेजमा २०६७ सालमा कक्षा १२ उत्तीर्ण गरी पढाई सुरु गरेको करिब साढे ६ वर्षमै उनले एमबीबीएस कोर्स पूरा गरिन् । उनको माइती घर जुम्ला सिँजा पाउसेरा हो । वि.सं २०६७ असोजमा मुगु चैन गाउँका प्रबलकुमार चौलागाईसँग विवाह गरी मुगेली बुहार भएकी हुन् ।

यही असोज २० गतेबाट जिल्ला अस्पताल ठिनीमा मिनाले आठौं तहको अस्थायी करार चिकित्सक सेवाको नियुक्ति प्राप्त गरी महिला बालबालिका वृद्धालगायत आफ्नै जिल्लाभित्रका बिरामीहरुको उपचार सेवा सुरु गरेकी छन् । आफ्नै जिल्ला निवास महिला डाक्टर पाउँदा जिल्लावासी हर्षित भएका छन् ।

मुगुमा प्रथम महिला डाक्टर्नी बनेर महिला बालबालिका बूढापाकाको रोगको उपचार गर्न पाउँदा सारै खुसी लागेको मिनाले सुनाइन् । 'मेरा दाइ ओमप्रकाश काफ्ले र श्रीमान् प्रबलको उत्प्रेणाले गर्दा म डाक्टर बनेकी हुँ' उनले भनिन्, 'एमबीबीएस अध्ययनमा खर्च भएन, सीमित लत्ताकपडा खानपिनमा मात्र केही पैसा खर्च भयो ।' साथीहरुले पढाईमा उत्साह थपिदिए उनी भन्छिन् ‘दुर्गममा शिक्षा क्षेत्र कमजोर भएकोले एमबीबीएसमा धेरै मिहिनेत गर्नु पर्‍यो ।’

भविष्यमा मेडिसियन र गाइनोलोजीसम्बन्धी विशेषज्ञ डाक्टर बनेर मुगुका लजालु महिलाको स्वास्थ्योपचारमा टेवा पुर्‍याउने मीनाको प्रमुख लक्ष्य छ । जिल्लाका अन्य महिलालाई पनि डाक्टर हुन हौसला दिने उनी बताउँछिन् । बुहारी डाक्टर बनेर घरमा आउँदा निकै खुसी लागेको मीनाको ससुरा लक्ष्मीप्रसाद चौलागाईंले बताए ।

जिल्ला बाहिरका अपरिचित पुरुष डाक्टरको भरमा विभिन्न रोगको उपचार गर्दै आएका यहाँका कर्मचारीदेखि सर्वसाधारण स्थानीयवासी अब आफ्नै जिल्लाभित्रकै महिला डाक्टरको हातबाट उपचार सेवा पाउने भएका छन् ।

जिल्लाले प्रथम महिला डाक्टर पाउँदा गौरवको विषय भएको जिल्ला अस्पताल ठिनीका व्यवस्थापन समिति अध्यक्ष केशरबहादुर शाहीले बताए । उनको शिक्षा र कार्यशैलीबाट अन्य महिलाहरुलाई डाक्टर बन्न उत्साह हुने उनले जनाए ।

जिल्ला अस्पताल ठिनीमा कार्यरत स्वास्थ्यकर्मी स्टाफ नर्स कार्यालय सहायकहरुले मिनालाई फूलमाला अबीरले स्वागत गरेका छन् । बिहान १० नबज्दै उनी अस्पतालमा पुगेर बिरामीहरुको चेकजाँच औषधि उपचारमा खटिन थालेकी छन् ।

जिल्लामा अझै महिला साक्षरता दर ३६ प्रतिशत मात्र छ । विद्यालय शिक्षिकाबाहेक माथिल्लो तहमा यहाँका महिला पुग्न सकेका छैनन् । घरको चुलोचौकोदेखि खेतीपातीको काम गर्दै मुगुका महिलाहरुको जुनी बित्ने गरेको छ । अर्कोतिर पुरुषभन्दा महिलाहरु बीचमै पढाई छाडेर विवाह गर्ने चलनले उच्च शिक्षा हासिल गर्नेको संख्या अत्यन्तै न्यून छ ।

विगत वर्षहरुमा मुगुमा डाक्टरको निकै समस्याले पोस्टमार्टमको लागि जुम्ला, सुर्खेत र नेपालगञ्जबाट डाक्टर बोलाउनु पर्ने अवस्था थियो । अब जिल्लामै युवायुवतीहरुले एमबीबीएस पढेर डाक्टर बनेर सेवा दिन थालेका छन् । जिल्लामा महिलातर्फ डाक्टर हुने मीना हुन् भने पुरुषतर्फ जिमागाउँका अर्जुनप्रसाद भट्ट हुन् । यो वर्ष श्रीनगर गाउँका डबलबहादुर मल्लले पनि एमबीबीएस पास गरी जिल्ला अस्पताल ठिनीमा करारमा कार्यरत छन् ।

प्रकाशित : कार्तिक १, २०७४ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?