कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन सय वर्षअघि बनेको रानीपोखरीको फेरिँदो स्वरुप 

दामोदर न्यौपाने

काठमाडौँ — रानीपोखरी बनेको तीन सय वर्ष नाघ्यो । वि.सं. १७२७ मा प्रताप मल्लले बनाएका हुन् रानीपोखरी । यो बीचमा रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरमा निकै परिवर्तन आएको बेला बेलाको तस्बिरले देखाएका छन् । भुइँचालोले मन्दिरमा क्षति पुगेपछि यसलाई महानगरले आधुनिकीकरण गर्न खोज्यो । त्यही कारण अहिले चर्चामा छ- रानीपोखरी । यसमा कसरी र के कस्ता परिवर्तन आए ?

तीन सय वर्षअघि बनेको रानीपोखरीको फेरिँदो स्वरुप 

रानीपोखरीको सबैभन्दा पुरानो एउटा चित्र सार्वजनिक भएको छ । यो चित्रले रानीपोखरीको धेरै स्वरुप परिवर्तन भएको देखाउँछ । रानीपोखरीको यो चित्र पर्सियाका राजकुमारको भ्रमणको समयमा बनाइएको रहेछ । सन् १८४४ देखि १८४६ सम्म भारत हुँदै नेपालको भ्रमण गरेका रहेछन् राजकुमार वल्डेमरले । जर्मनीको एक पत्रिकाले जनाएअनुसार आफूसँग थुप्रै कलाकार साथै आएका थिए । भ्रमण दलका एक चित्रकारले बनाएको रानीपाखरीको चित्र जर्मनीको एउटा पत्रिकामा छापिएको रहेछ ।



भुइँचालोले भत्काउनुभन्दा अघि रानीपोखरी बीचको यमलेश्वर महादेवको मन्दिरको शैली र यो चित्रमा भएको यमलेश्वर मन्दिरको शैली फरक छ । भुइँचालोले भत्कनु अघि यो मन्दिर गुम्बज शैलीमा थियो । पर्सियाका चित्रकारले बनाएको चित्रमा चाहिँ शिखरशैलीमा देखाइएको छ । शिखरशैलीको मन्दिर भएको यो चित्र कैलाश जर्नलमा पनि छापिएको थियो ।


कसरी परिवर्तन भयो मन्दिरको शैली ? संस्कृतिविद् यज्ञमानपति बज्राचार्यका अनुसार राणाहरुले नियोजित रुपमा काठमाडौंका मौलिकता शैली मासे । मन्दिर, भवनलगायतमा पश्चिमी शैली अपनाए । त्यसैको सिकार रानीपोखरी पनि भयो । शिखरशैली मासेर यसलाई मुगल शैलीमा ढालियो ।


बज्राचार्यका अनुसार जंगबहादुरकै शासनकालमा राजधानीका प्राचीन नेवारी कलालाई अन्धधुन्ध पश्चिमीकरण भयो । वि.सं. १९०३ सालमा प्रधानमन्त्री भएका जंगबहादुर १९०७ मा युरोप घुम्न गए । युरोप घुमेर आएपछि यहाँ त्यहाँको वास्तुशास्त्र अनुसार घर निर्माण गर्न थाले । मठमन्दिर बनाए । त्यसमा पनि रोम शैली भित्र्याए । ‘हाम्रो मौलिकता त्यही बेलादेखि मासिन थालेको हो’, बज्राचार्य भन्छन्, ‘संस्कृतिमा आक्रमण गर्ने क्रम निरन्तर छ । भुइँचालो आययता पनि हाम्रो मौलिकता मास्ने षड्यन्त्र भइरहेको छ ।’


भीमसेन थापाले मुगल शैलीको धरहरा बनाए । बागदरबार बनाए । यहाँका अधिकांश राणाकालीन दरबार मुगल र रोमको प्रभाव छन् । जंगबहादुरले त्यही क्रममा रानीपाखेरी पनि मुगल शैलीमा निर्माण गर्न लगाएको सम्पदा संरक्षण अभियान चलाइरहेका आलोकसिद्धी तुलाधर बताउँछन् । १९९० सालमा भुइँचालो गएपछि उपत्यकाको धेरै सम्पदा भत्किए । त्यही बेला जुद्धशम्शेरले रानीपोखरीको पनि जीर्णोद्धार गरेको इतिहासमा पाइन्छ । रानीपोखरीको बीचमा भएको बालगोपालेश्वर (यमलेश्वर) मन्दिरजस्तै अरु थुप्रै मन्दिर शिखरशैलीमा छन् । शिखरशैलीमा बनेका मन्दिर पर्वतको चुलीझैं माथितिर चुलिँदै गएका हुन्छन् । शिखरजस्तै चुच्चो आकारको देखिने हुनाले यो शैलीलाई शिखरशैली भनिन थालियो । छुट्टै छानो नहुनु यो शैलीको विशेषता हो ।


रानीपोखरी शोकको प्रतिकका रुपमा लिइन्छ । आफ्ना माइला छोरा चक्रवर्तेन्द्रको अल्पायुमै मृत्यु भयो । जेठा छोरा भूपेन्द्र मल्लको पनि मृत्यु भएकाले माहिला छोरालाई भावी राजाको रुपमा अघि सारिएको थियो । चक्रवर्तेन्दको नामको अगाडि ‘महाराजधिराज नेपालेश्वर राजराजेन्द्र’ भन्ने पदावली समेत प्रयोग गर्न थालिएको प्रताप मल्लले स्थापना गरेको स्तम्भलेखमा उल्लेख छ । उक्त स्तम्भ वसन्तपुर क्षेत्रको देगुतले मन्दिर अगाडि छ ।


प्रताप मल्लले दुई रानी गुमाइसेका थिए । कुचविहार राज्यको राजकन्या रुपमति र उनको बहिनी अनन्तप्रियासँग पहिल्यै विवाह गरिसकेका थिए । भगवतीपुर राज्यकी राजकन्या लालमति र राजमतिसँग पनि विवाह गरे । प्रभावती नामकी अर्की रानी पनि थिइन् । पाँच रानीबाट भूपेन्द्र, चक्रवर्तेन्द्र, महिपर्तेन्द्र, नृपेन्द्र र पार्थीबेन्द्र गरी पाँच राजकुमार जन्मिए । पाँच रानीमध्ये रुपमति र राजमतिको अल्पायुमै निधन भयो । त्यही भएर प्रताप मल्ल मानसिक रुपमा विक्षिप्त भएका थिए । भौतिक रुपमासँगै नरहे पनि रानीसँग विछोड हुन नपरोस् र यो जन्ममा साथमै रहन पाइयोस् भन्ने कामना गर्दै रानी रुपमति र राजमतिको सम्झनामा वसन्तपुर क्षेत्रमा बालगोपाल (कृष्ण) मन्दिर बनाए । त्यहाँ वंशगोपाल, सत्यभामा र रुक्मिणीको प्रतिमा निर्माण गराए । आफ्ना दुइ रानीको सम्झनामा सालिक समेत राख्न लगाए । त्यहाँ रुक्मणी, सत्यभामा र वंशगोपालको मूर्ति राख्न लगाए । आफ्ना अर्का दुई रानी अनन्तप्रिया र प्रभावतीको सालिक, पाँच छोरा भूपालेन्द्र, नृपेन्द्र, पार्थिवेन्द्र, महीपतेन्द्र, चक्रवर्तेन्दका सालिक पनि राख्न लगाए । आफ्नो सालिक पनि राखे ।


युवराजको पदवी पाएसँगै चक्रवर्तेन्द्रको निधन भयो । त्यसको शोकमा डुबेकी रानीलाई शान्त पार्न काठमाडौंको उत्तरपूर्वी कुनामा पोखरी खन्न लगाए । पोखरीमा प्रयाग, काशी, मुक्तिक्षेत्र, वैद्यनाथ धाम, सप्तगण्डकी, सप्तकौशीकी, गंगासागरलगायत प्रशिद्ध तीर्थस्थलबाट जल ल्याएर पोखरी स्थापना गरिएको थियो । यसलाई नेवारी भाषामा न्हुहु पुख पोखरी भनेर चिनिन्थ्यो पहिला । नेवारी भाषामा न्हुहु पोखरी भनेको नयाँ पोखरी हो । यसले विस्तारै रानीपोखरीको रुपमा चर्चा पाउन थाल्यो ।

पोखरीको बीचमा यमलेश्वर मन्दिर स्थापना गरे । पर्सियाका कलाकारले चित्रमा कोरिएकोलाई आधार मान्ने हो भने यो शिखरशैलीको थियो । शिखरशैलीको सुरुआत लिच्छवीकालमै भएको मानिन्छ । चिनियाँ यात्री वाङह्वेन त्सेले नेपाली मन्दिरको शैलीबारेमा वर्णन गरेको इतिहास पाइन्छ । उनले लिच्छवीकालमा बनेका मन्दिर शिखरशैलीको भएको बताएका थिए । उनी लिच्छवी राजा नरेन्द्रदेवको पालामा नेपाल भ्रमण गरेका थिए । त्यतिबेलाका मन्दिर प्यागोडाशैली र शिखरशैलीमा बनेको उनले वर्णन गरेका छन् । प्यागोडा शैलीमा छानाको तहै तह बनाएर लगिन्छ । शिखरशैलीमाचाहिँ तलबाट माथितिर क्रमश सानो हुँदै लगिन्छ । टुप्पामा गजुर बनाएर टुंग्याइन्छ ।


लिच्छवीकालमा सुरु भएपनि मध्यकालमा शिखरशैली लोकप्रिय भएको मानिन्छ । खासगरी सत्रौं शताब्दीको मध्यतिर र अठारौं शताब्दीको सुरुतिर प्रस्तर र इँटाबाट यस्तो शैलीको मन्दिर बन्न क्रम तीव्र भयो । मल्लराजाहरुले कलामा नवीनता ल्याउन पनि यो शैली विस्तार गरेको इतिहासकारहरु बताउँछन् । नवीन शैली विस्तार गर्ने मल्ल राजाहरुको सोच अनुसार नै शिखरशैलीका थुप्रै मठ मन्दिर बनाइए । त्यही मध्यकालमै बनेको सम्पदा हो रानीपोखरी । ‘त्यसबेला शिखरशैली लोकप्रिय रहेकाले पनि पोखरीबीचको मन्दिर शिखरशैलीमा हुनु पर्छ,’ तुलाधर भन्छन्, ‘त्यही भएर अब यसको थप अध्ययन गरेर पुरानै शैलीमा लैजानु पर्छ भन्ने हाम्रो माग ।’


रानीपोखरी कस्तो बनाउने ? राष्ट्रिय भूकम्प दिवसको अवसर पारेर अघिल्लो माघ २ गते यसको पुनर्निर्माणको शिलान्यास गरियो । त्यही डिजाइनलाई मान्ने हो भने पोखरी अत्याधुनिक बनाइने छ । रंगीन फोहोरा दिइने छ । रानीपाखेरी वरिपरिको सौन्दर्यतालाई ध्यान दिएर पुनर्निर्माण गरिने छ । डुंगा चलाइने छ । स्थानीयवासीको मागलाई सुन्ने हो भने यहाँ रंगिन फोहोरा बनाउने दिइने छैन । डुंगा चलाउन दिइने छैन । ‘यो पवित्र पोखरी हो,’ स्थानीयवासी शैलेश शाक्य भन्छन्, ‘पहिला जुन रुपमा थियो, त्यही रुपमा यसको पुनर्निर्माण गर्नु पर्छ ।’


माघमा शिलान्यास भएको रानीपोखरी वैशाखबाट पुनर्निर्माण सुरु भयो । महानगरले पुरातात्विक मान्यताविपरीत रड, कंक्रिट र सिमेन्ट प्रयोग गरेर बनायो । यसको चौतर्फी विरोध भएपछि पुरातत्व विभागले भत्काएर फेरि पुरानै स्वरुपमा बनाउन आदेश दियो । फेरि नयाँ डिजाइन गरेर पठायो । पुरातात्विक मान्यताअनुसार बनाउन आफूसँग जनशक्ति नभएको भन्दै महानगरले बनाउन नसक्ने जानकारी पुरातत्वलाई गरायो । पुरातत्वले तीन साता पहिला आफैं बनाउन जिम्मेवारी लिएको छ ।


रानीपाखेरीभित्रको यमलेश्वर महादेव पुरातत्वले बनाउने र बाहिरी स्वरुप पुनर्निर्माण गर्ने जिम्माचाहिँ महानगरले नै लिएको छ । वि.सं १७२७ मा बनेको रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर महादेव मन्दिर क्षतिग्रस्त छ अझै । मन्दिर बनाउने क्रममा पोखरी सुकाइयो । यहाँ भएकामध्ये ५ समय माछा बालाजु उद्यानमा सारियो । पोखरीको बीच भागमा शिवलिंग, महिषाशुर मर्दिनीको प्रतिमा राखिएका छन् ।


हरेक वर्ष तिहारमा खुल्थ्यो यो मन्दिर । दिदीबहिनी नहुनले दाजुभाइले टीका लगाउथे यहाँ । दुइ वर्ष भयो यो परम्परा रोकिएको । केही वर्षयता पोखरी राजधानीमा बस्ने तराईवासीको लागि छठ मान्ने केन्द्र बन्दै गएको थियो । त्यो पनि बन्द भयो । बाहिरै भए पनि तिहारको भाइटीका भने भइ नै रहेको छ । मन्दिर ढले पनि आस्था ढल्दो रहेनछ भन्ने देखाउँछ यसले ।


प्रताप मल्लले आफ्ना दुइ रानीको सम्झनामा सालिक समेत राख्न लगाए । आफ्नो दरबार अगाडि दुइ रानी रुपमति र राजमतिको सम्झनामा कृष्ण मन्दिर पनि बनाए । त्यहाँ रुक्मणी, सत्यभामा र वंशगोपालको मूर्ति राख्न लगाए । आफ्ना अर्का दुइ रानी अनन्तप्रिया र प्रभावतीको सालिक, ५ छोरा भूपालेन्द्र, नृपेन्द्र, पार्थिवेन्द्र, महीपतेन्द्र, चक्रवर्तेन्दका सालिक पनि राख्न लगाए । आफ्नो सालिक पनि राखे ।


संस्कृतिविद् बज्राचार्यका अनुसार रानीपोखरीमा पानी तान्त्रिक विधि अनुसार भरिएको थियो । अब यहाँ पानी भर्न पनि तान्त्रिक विधि अपनाउनु पर्ने उनी बताउँछन् । प्रताप मल्ल धार्मिक स्वभावका थिए । उनी सबै धर्मलाई समान महत्व दिन्थे । यिनले हिन्दुका मठमन्दिर, देवालय बनाए । बौद्धका चैत्य, गुम्बालगायत निर्माण, जीर्णोद्धार गर्न लगाए । तर, यिनको विशेष झुकाव चाहिँ हिन्दु र त्यसमा पनि तान्त्रिक परम्परामा बढी थियो । उनले हिन्दु र बौद्ध धर्मका तान्त्रिकलाई विशेष सम्मान गर्थे । उनको दरबारमा शैव, हिन्दु, बौद्ध धर्मका तान्त्रिकलाई सम्मानका साथ राखेका थिए । भारतबाट झिकाइएका तान्त्रिक समेत थिए उनका दरबारमा । शैव तान्त्रिक गुरु ज्ञानानन्द, बौद्ध तान्त्रिक जामुना गुभाजु उनका दरबारमा सम्मानका साथ राखिएका थिए । जामुना गुभाजुले तान्त्रिक चमत्कार गर्ने गरेका लोकोत्ती नेवारी समुदायमा अझै पाइने इतिहासकार बताउँछन् ।


पानी मात्रै तान्त्रिक विधि होइन, अन्य संरचना पनि प्रताप मल्लले आफ्नो तान्त्रिक विश्वासअनुसार बनाएका थिए । त्यतिबेला भूतप्रेतमा विश्वास गरिन्थ्यो । प्रतापको छोरालाई भूतले खाएको विश्वास गरियो । छोरा खाने भूतलाई हात्तीले कुल्चेर मार्‍यो । त्यही विश्वासले रानीपोखरी छेउमा हात्तीले भूतलाई कुल्चेको प्रतिमा राखिएको छ । रानीपोखरी स्वदेशी र विदेशी पर्यटकको लागि आकर्षण केन्द्र हो । पोखरीमा ४ वटा स्टेप छन् । २२ फिट ४ इन्चको पोखरीबाट मन्दिरसम्म पुग्न पश्चिमतिरबाट पुल निर्माण गरिएको छ । यहाँ माछा पौडिरहेका दृश्य आकर्षक देखिन्थे । यी दृश्य अहिले देखिँदैन ।


काठमाडौंका सबैजसो सम्पदासँग इतिहास जोडिएको छ । भुइँचालोले सम्पदामा झन् चासो बढाइदिएको स्थानीयवासी वीरेन्द्रभक्त श्रेष्ठ बताउँछन् । ‘खोजी बढेको छ,’ उनी भन्छन्, ‘नयाँ तथ्य बाहिर आएका छन् । हाम्रा मौलिकता जोगिने गरी पुनर्निर्माण गर्नु पर्छ । रानीपोखरीको चित्रले लम्बाइ, चौंडाइ, उचाइबारे थाहा नहुन सक्छ तर पहिला शिखरशैलीको भएको चाहिँ पुष्टि भएको छ ।’पुरानो चित्र अनुसार बनाउने हो भने रानीपाखेरीको स्वरुपै फेरिने छ । पुरानो चित्रअनुसार पुनर्निर्माण हुन्छ ? पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर भन्छन्, ‘फोटोग्राफ पाइयो भने पुरानै अवस्थामा लान पनि सकिन्छ । किताबमा लेखिएका विषय पनि आधार हुन सक्छन् । बलियो आधार भेटियो भने त्यही अनुसार पुननिर्माण गर्छौं ।’

प्रकाशित : पुस १३, २०७४ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?