कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रक्त व्यवस्थापनको चुनौती

यो वर्षको विश्व रक्तदाता दिवसको नारा विश्व स्वास्थ्य संगठनले यस्तो तय गरेको छ– ‘प्राकृतिक प्रकोपले गर्ने विनाशकारी दिन नकुरौं । तपाई के योगदान पुर्‍याउन सक्नुहुन्छ ? रक्तदान गरौं ।

रक्त व्यवस्थापनको चुनौती

आजै गरौं । निरन्तर गरौं ।’

विश्व रक्तदाता दिवस जून १४ को नारालाई सर्थक तुल्याउन हरेक स्वस्थ व्यक्तिले नियमित रक्तदान गर्न जरुरी छ । अनि यस्ता प्राकृतिक प्रकोपको बेलामात्र नभई सधैं चिकित्सा विज्ञानमा उपचारका क्रममा आइपर्ने रगत र रक्ततत्त्वहरूको मागलाई समेत सम्बोधन गर्न सकिन्छ । आज हाम्रो देशमा नेपाल रेडक्रस सोसाइटी र नेपाल सरकारले खासै ठोस कदम चाल्न सकेको देखिँदैन ।

हाम्रो मुलुकमा केवल डिग्रीवालाहरूको विगविगी छ । र सेवाप्रति बदमासी छ । पीडितको निम्ति आवश्यक रगत र रक्ततत्त्वहरूको जोहो गरेर दिनुको साटो नेपाल रेडक्रस सोसाइटी कर्मचारीहरू केवल पीडितलाई रगत छैन, मान्छे ल्याऊ भनेर रुखो जवाफ दिने र थप हैरानी दिने गर्छन् । 

विज्ञानले गुणस्तरमा जसरी छलाङ मार्दै आइरहेको छ, त्यसको ठिक उल्टो हामीकहाँ त्यो प्रभाव न्युन छ । तर तिनकै निहुँ र बहानामा विदेश सयर, सभा, सम्मेलन, गोष्ठी आदि–इत्यादि भने मनग्ये हुने गर्छ । त्यसले जनमानसमा प्रभाव कति पार्न सक्यो त ? त्यसको कुनै लेखाजोखा छैन । ७ दशकसम्म आइपुग्दा रक्तदाताहरूलाई हतोत्साहित, हैरानी र पीडितलाई अनावश्यक दु:ख र पीडामात्र थपिएको अनुभव मिलेको छ ।

हाम्रो देशमा विभिन्न संघ/संस्था र व्यक्तिहरूबाट हदैसम्मको रक्तदान कार्यक्रमको आयोजना र रक्तदान गर्ने कार्य नियमित भइ नै रहेको अवस्था छ । तर यी र यसरी प्राप्त रगतलाई सही तवरले व्यवस्थापन नगर्दा स्वयंसेवी रक्तदाताहरूबाट दानस्वरुप प्राप्त रगतको पूर्णत: अवमूल्यन भइरहेको छ । फलस्वरुप बिरामीको शरीरमा नभई नालीमा फाल्ने काम भइरहेको छ ।

विश्व रक्तदाता दिवसको दिन तय गरिएको नारालाई सार्थक बनाउन हरेक तह–तप्काको योगदान हुन त्यतिकै जरुरी छ । त्यसैले हामीले एउटा नारा नै बनायौं । त्यो हो– ‘रक्त व्यवस्थापनमा सबैको सहभागिता ।’ सबै क्षेत्र, समुदाय लाग्ने हो भने रक्त व्यवस्थापनमा देखिएको समस्या र अभावलाई धेरै हदसम्म न्युनीकरण गर्न सकिन्छ । सबैले आ–आफ्नो कर्म र कर्तव्य बोध गरिदिने हो भने, कर्म र कर्तव्य पालना गर्दै जाने हो भने यहाँ कुनै प्रकारको समस्याबाट सेवाग्राही पीडित भएर बस्नुपर्ने अवस्था आउँदैन ।

हरेक देशमा आफ्नो आवश्यकता अनुरुपका नियम कानुन बनाई त्यहाँका जनताद्वारा सम्मान जाहेर गरिएको हुन्छ । हाम्रो देशमा पनि त्यस्तै हुनुपर्ने हो, तर यहाँ त्यस्तो हुन सकिरहेको छैन । राष्ट्रिय रक्त सञ्चार नीति–२०७१ लाई हेर्ने हो भने कतै सेवाको नाममा पीडितसँग मौकाको फाइदा उठाउन खोजिएको त होइन ? भन्ने आभाष मिल्छ । राष्ट्रिय रक्त सञ्चार नीतिले अप्रत्यक्ष तवरले स्वयंसेवी रक्तदाताहरूबाट दानस्वरुप प्राप्त रगतलाई सेवाको नाममा व्यापार गर भनी लाद्न खोजेको छ । नेपाल रेडक्रस सोसाइटीले गरेका बदमासी र कमी–कमजोरीलाई क्षम्य गरी अरु थप बदमासी भित्र्याउने मनसायले यो नीति कार्यान्वयन गर्न खोजिएको छ । सुधारको बाटो नअँंगाली व्यापारको बाटो अंँगाल्न खोजिएको देखिन्छ ।

राज्यले नि:शुल्क भने तापनि हालसम्म सशुल्क भइरहेको रक्त व्यवस्थापन पक्षलाई सरकारी पक्षको हदैसम्मको उदासीनताले सेवाग्राही सधैं मारमा परिरहेका छन् । यसरी २०४८ सालदेखि पूर्णत: नि:शुल्क भनिएको रगत र रक्ततत्त्वहरू आजसम्म आइपुग्दा पनि नि:शुल्क नभई सशुल्क भइरहँदा कतै राज्यद्वारा गरिएको लापरबाहीको पराकाष्ठा त होइन ? यदि नेपाल रेडक्रस सोसाइटीको कमी–कमजोरी र बदमासी छ भने किन कारबाहीको दायरामा ल्याइँदैन ? यसरी सेवाग्राहीलाई सही र पूर्ण सेवा नदिई व्यवस्थापनको कमजोरीले पीडितलाई किन थप पीडा थपिरहेको छ ?

२०७२ वैशाख १२ र २९ गतेको प्राकृतिक महाप्रलय (भूकम्पन) र यो वर्षको विश्व रक्तदाता दिवसको नारा अनि रक्त व्यवस्थापनलाई साँच्चै बुझ्ने र हेर्ने हो भने हामी के पाउँछौं त ? विश्व रक्तदाता दिवस जून १४ ले रक्तदान गर्न प्राकृतिक विपत्तिसम्म नकुरौं भन्ने सन्देश दिएको छ भने प्राकृतिक विपत्ति पर्दा सही तवरले व्यवस्थापन गर्न सकिएन भने रगत र रक्ततत्त्वहरू खेर जान्छ भन्ने पाठ पनि सिकाएको छ । हाम्रो देशमा जुन घटना अप्रत्यासित रूपमा आयो, त्यसमा राहत दिन स्वस्फुर्त रूपले स्वयम्सेवी रक्तदाताहरूको ओइरो नै लाग्यो, लाग्छ ।

फलस्वरुप सोचेभन्दा बढी रगत संकलन हुनगई व्यवस्थापनको कमी–कमजोरीले नालीमा फाल्नुपर्ने अवस्थासमेत आयो । यसले गर्दा कृत्रिम अभाव सिर्जना हुनपुग्यो । सेवाग्राही धेरै मारमा परे । सही व्यवस्थापनका लागि जबसम्म समर्पण हुँदैन, तबसम्म यस्तो नियति भोग्न बाध्य र विवश भइरहनु पर्नेछ । त्यसैले पवित्र यो दिवस मागिखानेहरूको भाँडोमा परिणत नहोस् । 


 

प्रकाशित : जेष्ठ ३१, २०७४ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?