कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रोस्टेटको समस्या बढ्यो

फातिमा बानु

काठमाडौं — राति तारन्तार पिसाब लाग्ने, पिसाबको धारा मसिनो हुने, पिसाब गरेपछि अप्ठेरो हुने समस्या देखिएपछि ठिमीका गोपाल महर्जन महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल गए ।

परीक्षणपछि थाहा भयो— उनलाई प्रोस्टेट क्यान्सर भएको रहेछ । ‘लामो समयदेखि यस्तो समस्या थियो, वास्ता नगरी उपचार गरिनँ,’ उनले भने, ‘समयमै उपचार गरेको भए सामान्य उपचारले सन्चो हुने रहेछ ।’ उपचारमा ढिलाइ भएकै कारण उनको पिसाबथैली निकालेर फाल्नुपर्‍यो । ‘अहिले कृत्रिम पिसाबथैलीको भरमा बाँच्नुपरेको छ’ उनले भने, ‘उमेर हुन्जेल कमाएको सम्पत्ति सबै यही रोगको उपचारमा खर्च भयो र ऋण पनि लागेको छ ।’

शरीरमा हुने टेस्टोस्टेरोन हर्मोनको गडबडीका कारण पुरुषमा प्रोस्टेटको समस्या देखिन्छ । सामान्यतया ४५ उमेर कटेका पुरुषमा प्रोस्टेटको समस्या बढ्दै जाने चिकित्सकहरू बताउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार पुरुषहरूको मृत्यु हुने कारणमा विभिन्न क्यान्सरमध्ये प्रोस्टेट क्यान्सर दोस्रो कारण हो । नेपालमा भने यो रोगका कति बिरामी छन् भन्ने यकिन तथ्यांकसमेत छैन । अस्पतालहरूबीच सहकार्य नहुँदा यकिन तथ्यांक संकलन गर्न नसकिएको युरोलोजिस्ट डा. रविन जोशी बताउँछन् । शिक्षण अस्पतालको तथ्यांकअनुसार दैनिक १० देखि १५ जना प्रोस्टेट ग्रन्थिको समस्या लिएर आउँछन् ।

सानेपाका सुरेश श्रेष्ठलाई पनि प्रोस्टेट ग्रन्थिको समस्या छ । ढाड दुख्ने, यौनशक्तिमा कमी हुने, पिसाब गर्न बल गर्नुपर्ने, पिसाब रोक्न नसक्ने, मलद्वारदेखि अण्डकोषसम्मको भाग बेस्सरी दुख्ने भएपछि उनी वीर अस्पताल गए । परीक्षण गर्दा उनको प्रोस्टेट ग्रन्थि बढेको रहेछ । ‘शल्यक्रिया गरेर उनको ग्रन्थि हटाइयो, ढिलो भएको भए क्यान्सर हुने रहेछ,’ उनले भने । अहिले उनी उपचारका लागि वीर अस्पताल धाइरहेका छन् । प्रोस्टेटको समस्या भएदेखि बैंकको जागिर पनि छाड्नुपरेको उनले सुनाए ।

प्रोस्टेटको समस्यालाई ठूलो नमान्ने, अरू अंगमा फैलिएका अवस्थामा मात्रै उपचारका लागि अस्पताल आउने हुँदा ५० प्रतिशत बिरामीलाई मात्रै बचाउन सकिने डा. जोशी बताउँछन् । ‘सामान्य लक्षण देखापर्नासाथ उपचार गराएमा ८० प्रतिशतलाई बचाउन सकिन्छ,’ उनले भने, ‘सुरुमै उपचार गरे खर्च र समय पनि कम लाग्छ ।’ धेरैलाई वंशाणुगत कारणले यो रोगको समस्या देखिने हुनाले ५० वर्ष पुगेका सबै पुरुषले नियमित स्वास्थ्य जाँच गराउनुपर्ने उनले सुझाए । ‘७५ उमेर कटेका ७५ प्रतिशत पुरुषमा प्रोस्टेटको लक्षण देखिएकै हुन्छ, फैलिन नदिएमा सामान्य उपचारले समेत ठीक हुन्छ,’ उनले भने ।

हरियो सागपात र फलफूल नखाने, माछामासु धेरै खाने र नियमित व्यायाम नगर्ने पुरुषमा बढी प्रोस्टेटको क्यान्सर देखापर्ने वरिष्ठ क्यान्सर विशेषज्ञ डा. सुदीप श्रेष्ठ बताउँछन् । ‘खानपान र जीवनशैली परिवर्तन गर्न सकेमा प्रोस्टेटको समस्या धेरै हदसम्म कम गर्न सकिन्छ,’ उनले भने । प्रोस्टेटका समस्यालाई सामान्य मानेर बसेमा यो जटिल बन्दै जाने, पिसाबमा रगत देखिने, पिसाबथैलीमा पत्थरी हुने, मृगौला फेल हुने, सन्तान उत्पादन क्षमता ह्रास हुने र क्यान्सर भई मृत्यु हुन सक्ने चिकित्सक बताउँछन् ।

प्रकाशित : भाद्र २७, २०७४ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?