के हो टन्सिलाइटिस ?

समयमै उपचार नगरे मुटु र मृगौलासम्बन्धी जटिलता
अतुल मिश्र

काठमाडौं — बालबालिकामा देखिने टन्सिलको समस्यालाई प्राय: हामी मामुली ठान्ने गर्छौं । टन्सिल दुख्ने सामान्य समस्याको उचित उपचार नभए भविष्यमा मुटुको भल्भ बिग्रिने, बाथ, मुटु रोग हुन सक्छ । यो रोगले गर्दा मुटुको शल्यक्रिया गरेर भल्भ फेर्नुपर्ने अवस्था आउन सक्छ । रोगीले शल्यक्रियापछि समेत जीवनभर औषधि खाइराख्नुपर्ने हुन्छ ।

घाँटी दुख्ने साधारण समस्याबाट सुरु भएर अन्त्यमा मुटुको भल्भलाई क्षति पुर्‍याई यो रोगले मुटुलाई अत्यन्तै कमजोर बनाउँछ र रोगीको मुटु फेल हुन्छ । यसैले विशेषज्ञहरू टन्सिलको समस्या भए चिकित्सकीय सल्लाह आवश्यक रहेको बताउँछन् । यद्यपि वर्षभरि नै टन्सिलाइटिसको समस्या हुने गर्छ तथापि हाम्रो मुलुकमा जाडो सुरु हुनलाग्दा यो समस्या बढी मात्रामा हुने गर्छ । 

टन्सिलले अबका चार महिना बढी दु:ख दिने उल्लेख गर्दै वरिष्ठ कान, नाक, घाँटी विशेषज्ञ डा. राकेशप्रसाद श्रीवास्तव भन्छन्, ‘वयस्कलाई यो समस्या देखिए पनि मुख्यत: ३ देखि ८ वर्षका बालबालिकालाई यसले बढी सताउने गर्छ ।’

हाम्रो मुलुकमा टन्सिलको समस्याबारे कुनै विस्तृत अध्ययन भएको छैन । अमेरिकन एकेडेमी अफ ओटोल्यारिङ्गोलजी हेड एन्ड नेक सर्जरीका अनुसार, अमेरिकाका करिब सबै बालबालिका कम्तीमा एक पटक टन्सिलको समस्याले आक्रान्त हुने गर्छन् । चिकित्सा र शल्यक्रियाको क्षेत्रमा उपचारको प्रगतिले गर्दा हाल टन्सिलबाट उत्पन्न जटिलताका कारण मृत्यु हुने घटना बन्दप्राय: भएको छ । 

यो मुख्यत: भाइरस वा ब्याक्टेरियाको संक्रमणले गर्दा हुन्छ । भाइरसले गर्दा हुने टन्सिलाइटिसमा लाक्षणिकबाहेक कुनै खास उपचार आवश्यक नरहेको आंैल्याउँदै डा. श्रीवास्तव भन्छन्, ‘ब्याक्टेरियाले गर्दा संक्रमण भएको भए एन्टिबायोटिकको माध्यमले उपचार गर्नुपर्ने आवश्यकता हुन सक्छ ।’

तर, तपाईंलाई भाइरस ब्याक्टेरियाको संक्रमणले गर्दा टन्सिलाइटिस भएको हो भन्ने कुरा सामान्य व्यक्तिले छुट्टयाउन सक्दैन । भाइरसले गर्दा हुने यो समस्यामा टन्सिलमा रातोपना देखिन्छ, यसमा पस प्वाइन्ट (पिप भरिएको ठाउँ) देखिँदैन । तर ब्याक्टेरियाले गर्दा यो संक्रमण भए टन्सिलमा पिप भरिएको ठाउँ देखिन्छ, घाँटीको ग्रन्थी सुन्निन्छ । 

भाइरसले हुने यो समस्या ५–६ दिनसम्म रहन्छ । ब्याक्टेरियाले गर्दा हुने टन्सिलाइटिस ८–१० दिनसम्म लम्बिन सक्ने डा. श्रीवास्तव बताउँछन् ।

बालबालिका र वयस्कमा टन्सिलाइटिसको लक्षण उस्तै हुन्छ । एक पटक टन्सिलाइटिस भएपछि पुन: ६ महिनामा हुनु सामान्य नै हो । तर यदि वर्षमा ५ पटक वा योभन्दा बढी यो समस्या देखियो भने यसलाई ‘क्रोनिक/पुरानो’ समस्या ठानेर शल्यक्रिया गर्ने सुझावसमेत दिइन्छ ।

टोन्सिल्याक्टोमी नामक शल्यक्रियाको माध्यमले टन्सिललाई झिक्नु कतिपय समय आवश्यक भए पनि यो गराउनुभन्दा अघि दुई तीन जना विशेषज्ञको सल्लाह लिनु राम्रो मानिन्छ । विशेषज्ञ चिकित्सकको सल्लाहमा अन्य विकल्प नहुँदा बारम्बार यो समस्याले दु:ख दिन थाले मात्र टन्सिलको शल्यक्रिया गरिन्छ । अर्थात्, बारम्बार टन्सिलाइटिस हुनु भनेको टन्सिल नै अति कमजोर हुनु हो, त्यसैले यसले शरीरको रक्षा गर्न सकिरहेको हँुदैन । यस्तो अवस्थामा टन्सिलले ब्याक्टेरियालाई आफूभित्र लुकाएर राख्ने काम मात्र गर्छ । टन्सिलाइटिसको समस्या हुने अधिकांशले पसलेसँग सोधेर औषधि सेवन गर्ने तथ्य औंल्याउँदै डा. श्रीवास्तव सचेत गराउँछन्, ‘तपाईंलाई एन्टिबायोटिक आवश्यक छ वा छैन, वा कस्तो लाक्षणिक उपचार चाहिन्छ भन्ने निर्णय चिकित्सकलाई गर्न दिनु नै बुद्घिमानी हो ।’

केही टन्सिलाइटिसमा एन्टिबायोटिकलगायतका औषधिले उपचार गर्नु आवश्यक हुने जनाउँदै डा. श्रीवास्तव भन्छन्, ‘विशेषज्ञको माध्यमले वास्तविक समस्या पहिचान नगरी सय रुपैयाँभन्दा सस्तो एन्टिबायोटिक सेवन नगर्नुको दण्ड भविष्यमा मुटु रोग, भल्भसम्बन्धी विकृति, मृगौलालगायतका जटिलताले चुकाउनु परेको तथ्य पनि सबैसामु छर्लङ्गै छ ।’ टन्सिल हुँदा चिसो/गुलियो बार्नुको वैज्ञानिक तथ्य छैन ।

टन्सिलाइटिसको समस्या देखिनेबित्तिकै हाम्रो समाजमा चिसो, गुलियोलगायत बार्ने चलन छ । तर यसका पछाडि कुनै वैज्ञानिक तथ्य छैन । ‘चिकित्सकले चिसो, अमिलो, पिरो आदि नखाने सल्लाह बिरामीको सन्तुष्टिका लागि मात्र दिन्छन् । यो बार्नु पछाडि कुनै वैज्ञानिक तथ्य छैन,’ डा. श्रीवास्तव भन्छन्, ‘टन्सिलमा केही बार्नु आवश्यक छैन ।’

के हो टन्सिल ?

हाम्रो मुखभित्र घाँटीका दुवैतर्फ देखिने बदाम आकारको अंग नै टन्सिल हो । टन्सिल लिम्फेटिक प्रणालीको एउटा खण्ड हो । यो प्रणालीले संक्रमणलाई हटाएर शरीरको तरल पदार्थलाई सन्तुलनमा राख्छ ।

यसैले टन्सिललाई घाँटीको द्वारपालसमेत भन्ने गरिन्छ । टन्सिलले हामीलाई मुख र नाकबाट आउने कुनै पनि रोगाणुहरूलाई शरीर भित्र जान दिँदैन । अर्थात्, बाहिरी संक्रमणबाट जोगाउँछ । 

के हो टन्सिलाइटिस ?

हाम्रो टन्सिलमा हुने संक्रमणलाई नै टन्सिलाइटिस भनिन्छ । टन्सिलले मुख वा नाकको माध्यमले शरीरमा प्रवेश गर्न लागेको जीवाणुसँग भिडेर यसलाई सखाप पार्ने गर्छ र यस क्रममा कहिलकाहीं आफू सुन्निएर संक्रमितसमेत हुने गर्छ । यसो हुँदा हामीले आफूलाई टन्सिलाइटिस भएको भन्छौं । 

यदि हाम्रो टन्सिल बलियो छ भने यसले हाम्रो शरीरमा रोगलाई जानबाट रोक्नुको साथै आफू पनि रोग वा संक्रमणबाट बच्छ । यो संक्रमण ब्याक्टेरिया वा भाइरसले गर्दा हुन्छ । तर यो ढुसी र परजीवीले गर्दा पनि हुन सक्छ । अर्थात्, टन्सिल सुन्निनु नै टन्सिलाइटिस हो । यसअन्तर्गत कहिलेकाहीं घाँटीको ग्रन्थी पनि सुन्निन्छ । 

टन्सिल सर्छ ?

टन्सिल एक व्यक्तिबाट अर्कोमा सर्ने रोग होइन । तर टन्सिलाइटिस उत्पन्न गर्ने भाइरस र ब्याक्टेरिया एक व्यक्तिबाट अर्कोमा सर्न सक्छ । 

खोक्दा वा हाच्छिउँ गर्दा टन्सिलाइटिस उत्पन्न गर्ने भाइरस वा ब्याक्टेरिया संक्रमित व्यक्तिबाट स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गर्न सक्छ । यसैले बालबालिकालाई संक्रमणबाट जोगाउन टन्सिलाइटिस वा घाँटीको दुखाइ भएकाहरूको सम्पर्कमा राख्नु हुँदैन । निरन्तर साबुनपानीले हात धुने गर्दा यो संक्रमणबाट बँच्न सकिन्छ ।

लक्षण

  • घाँटी दुख्नु

  • घाँटीको ग्रन्थी सुन्निनु

  • ज्वरो आउनु

  • टन्सिल रातो देखिनु

  • टन्सिलमा सेतो वा पहेँलो तह देखिनु

  • खाना/थुक निल्दा अप्ठयारो हुनु

  • सास गन्हाउनु 

  • टाउको दुख्नु

atulmishra7@gmail.com

प्रकाशित : आश्विन २१, २०७४ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्

असमय कपाल फुल्नु मुटुको कमजोरीको संकेत

कान्तिपुर संवाददाता

उमेरभन्दा अगावै कपाल सेतो हुनु मुटु रोगको संकेत हुन सक्छ । अध्ययनअनुसार, उमेरभन्दा अगावै कपाल फुल्न थाल्ने पुरुषलाई मुटु रोगको चपेटामा आउने सम्भावना सामान्य पुरुषको दाँजोमा बढी हुन सक्छ ।

यो अध्ययन स्पेनको मालागामा गतअप्रिल ६ देखि ८ तारिखसम्म भएको युरोपियन एसोसिएसन अफ प्रिभेन्टिभ कार्डियोलजीको वार्षिक बैठकमा प्रस्तुत गरिएको हो । मिश्रको काहिरा विश्वविद्यालयको अनुसन्धानकर्ताले सयौं वयस्क व्यक्तिमाथि गरिएको अध्ययनपछि यो परिणाम प्रस्तुत गरेका हुन् ।

अध्ययनअनुसार, धमनीको आन्तरिक पर्खालमाबोसो जम्नु र कपाल सेतो हुनुको जैविक प्रक्रियामाधेरै समानता छ । उमेरमा वृद्घि हुनुका साथै दुवैमावृद्घि हुन्छ ।

बिग्रिएको डीएनए, तनाव, सुन्नाइ, हार्मोनसम्बन्धी परिवर्तनसँगै कार्यशील कोषिकामा उमेरको लक्षणजस्तो वस्तु यो प्रक्रियामा सामान रूपले उपस्थित रहन्छ ।

आर्टरियोस्क्लेरोसिस अर्थात् धमनीको कडापनको एउटा चरण यस्तो हुन्छ, जसमा धमनीको आन्तरिक पर्खालमा बोसो जम्न लाग्छ । एथेरोस्केलेरोसिस भनिने यो चरणले गर्दा धमनीमा रक्त प्रवाहको बाटो साँगुरो हुन्छ ।

अध्ययनमा सहभागीहरूमा मुटुको रोग छ वा छैन, मुटुको प्रमुख रक्त बाहिनीमा कुनै क्षति ग्रस्त त छैन भनी जान्नका लागि धमनीको आन्तरिक स्थितिको सिटी कोरोनरी एन्जियोग्राफी प्रविधिको माध्यमले जाँच गरियो ।

अनुसन्धानमा मुटुको रोग र कपालको सेतोपनाको मात्राका आधारमा सहभागीलाई दुई समूहमा बाँडियो । सेतो कपालका आधारमा अनुसन्धानकर्ताहरूले कपाल सेतो हुनुको विभिन्न चरणका लागि अंंक तय गरे । यसअनुसार पूरै कालो कपालका लागि १ अंक, सेतोभन्दा बढी कालो कपालका लागि २ अंक, कालो र सेतो कपालकोबराबर मात्राका लागि ३ अंक, कालोभन्दा बढी सेतो कपालका लागि ४ अंक र पूरै सेतो कपालका लागि ५ अंक तय गरियो ।

हरेक सहभागीको अंक दुई स्वतन्त्र पर्यवेक्षकद्वारा निश्चित गरियो । उनीहरूको मधुमेह, तनाव, रक्तचाप, धूमपान, मुटु रोगको आनुवांशिक इतिहासजस्तो मुटु रोगका लागि पारम्पारिक कारकहरूको तथ्यांकसमेत एकत्रित गरियो ।

सबै तथ्यांकको विश्लेषणले के थाहा पाइयो भने,जुन सहभागीको कपाल बढी सेतो भइरहेको थियो, उनीहरूमा मुटु रोगको खतरा बढी थियो । उमेर रमुटु रोगसँग जोडिएको कारकको यसमा छुट्टै कुनैप्रभाव थिएन ।

अनुसन्धानअनुसार, वास्तविक उमेर कम भए पनि कपालको सेतोपनाले व्यक्तिको बढेको जैविकउमेरको वर्णन गर्छ । यो मुटु रोगको चेतावनीको संकेत हुन सक्छ ।

प्रकाशित : आश्विन २१, २०७४ ०८:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्