काठमाडौं — सेवानिवृत्त एक पूर्वप्रशासकको चिन्ता देशको परिस्थिति, बढ्दो आयु नभएर एउटा सामान्य समस्या, अरूलाई नसर्ने छालासम्बन्धी समस्या ‘रोजेसिया’ भइरहेको छ । अधबैंसे उमेरदेखि देखिन थाल्ने यो समस्याले उनलाई यतिसम्म गाँजेको छ, उनी उदासी रोग (डिप्रेसन) मा जान सक्ने अवस्थासमेत छ ।
‘मेरो पूरै अनुहार रातो भएकाले निकै चिन्तित भइरहेको छु,’ कुनै जमानामा देश हाँकेका ती पूर्वप्रशासकले करुण स्वरमा भने, ‘सार्वजनिक यातायातमा पनि कोही मेरो छेउमा आउन चाहँदैन । सबै मभन्दा टाढा बस्न खोज्छन् । यो सरुवा रोग होइन, मलाई यो हुनुको कारण पनि थाहा छैन । यो रोगका पीडितहरूलाई समाजमा गरिने भेदभाव निकै दु:खद छ ।’
हाम्रो मुलुकमा यो रोगबारे कुनै सर्वेक्षण गरिएको छैन । अमेरिकास्थित नेसनल रोजेसिया सोसाइटीको एउटा सर्वेक्षण अनुसार, यो रोगबाट प्रभावित ४१ प्रतिशत व्यक्तिहरू जनसम्पर्कबाट जोगिने प्रयास गर्छन्, सामाजिक भेटघाटमा जान मन गर्दैनन् । अमेरिकी सरकारका अनुसार त्यहाँका करिबव १ करोड ४० व्यक्ति रोजेसियाबाट पीडित छन् ।
रोजेसिया भएका धेरैजसो व्यक्ति ३०–५० वर्षका र सेतो छाला भएका छन् । रोजेसिया वा डन्डिफोरले सताएका व्यक्तिको परिवारका अरूलाई पनि यो रोग देखिएको छ ।
‘रोजेसिया भएपछि अनुहारमा राताराता सानाठूला बिमिरा आउँछन्,’ धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, ‘यसमा पिपसमेत भरिएको हुन्छ । छालाभन्दा तल रहेको रगतनली सुन्निँदा यस्तो हुन्छ ।’
यो एक व्यक्तिबाट अर्कोमा सर्ने रोग होइन । रोजेसिया हुने पक्का कारण थाहा पाउन नसकिएको औंल्याउँदै डा. कर्ण थप्छन्, ‘तर यो रोग हुनुका केही महत्त्वपूर्ण संकेत भन्ने पाइएका छन् ।’
परिवारमा एक जनालाई यो रोग देखिए अरूलाई पनि हुने सम्भावना हुन्छ । यस्तै रोग प्रतिरोधक शक्तिले समेत महत्त्वपूर्ण भूमिका खेल्छ । अर्कातिर, एच पाइलोरी भएकाहरूमा रोजेसिया देखिनु सामान्य हो । हाम्रो छालामा हुने सुलसुले (माइट) डेमोडेक्स शरीरमा बढी भएकाहरूलाई समेत रोजेसिया भएको भेटिएको जनाउँदै डा. कर्ण भन्छन्, ‘छालालाई संक्रमणबाट जोगाउने एउटा प्रोटिन क्याथेलिसिडिन पनि रातोपना र सुन्नाइमा जिम्मेवार हुन सक्ने देखिएको छ ।’
गालामा लालिमा ल्याउन प्राय: महिला/पुरुषले कृत्रिम उपाय गर्छन् । तर, त्यस्तो लालिमा रोजेसियाले गर्दा भएको हो भने धेरै पीडा हुन्छ । यद्यपि रोजेसिया महिला र पुरुष दुवैलाई हुने गर्छ तथापि यसका धेरैजसो लक्षण महिलामै पाइन्छ । ३०–४० वर्षका, गोरो छाला भएका महिलाको अनुहारलाई रोजेसियाले बढी असर गर्छ ।
डा. कर्णका अनुसार, सूर्य किरणको प्रत्यक्ष सम्पर्कमा आउने, बढी मद्यपान गर्ने, मसलादार खानपान गर्ने, तीव्र व्यायाम गर्ने, साइनस संक्रमण हुने, बढी तापक्रममा बस्ने व्यक्तिलाई रोजेसियाले सताउन सक्छ । महिलालाई भने गर्भावस्था, हार्मोनको असन्तुलन, गर्भनिरोधक औषधिको गलत उपयोगजस्ता कारणले गर्दा यो समस्या उब्जिन सक्छ ।
अमेरिकन एकेडेमी अफ डर्मेटोलजी (एएडी) का अनुसार, रोजेसियाले अनुहार राता बनाउने मात्र नभई अरू विभिन्न समस्या उत्पन्न गर्न सक्छ ।
रोजेसिया चार प्रकारको हुन्छ । त्यहीबमोजिम भिन्नभिन्न उपचार आवश्यक हुन्छ । यसैअन्तर्गत केही व्यक्तिलाई एक पटकमा एकभन्दा बढी किसिमका रोजेसियासमेत हुन सक्छ ।
पहिलो प्रकार : यसअन्तर्गत अनुहारमा लालिमा हुन्छ, रक्तबाहिनी बाहिरबाटै देखिन्छ । अनुहारको बीचभागमा लालिमा वा रातोपना देखिनु, बाहिरबाटै टुटेका रक्तनली देखिनु, छाला सुन्निनु, छाला अत्यधिक संवेदनशील हुनु, पोल्नु, छाला सुक्खा हुँदै जानु र छाला बाक्लो हुनु राजेसियाका लक्षण हुन् ।
दोस्रो प्रकार : यसमा डन्डिफोरजस्तै लक्षण देखिन्छ । डन्डिफोरजस्तै छाला बढी रातो हुनु, डन्डिफोरझैँ गालामा समस्या देखिँदै हराउँदै फेरि देखिनु, छाला चिल्लो हुनु, छालामा जलनको अनुभूति हुनु, टुटेका रक्तबाहिनीहरू बाहिरबाटै देखिनु यसका केही लक्षण हुन् ।
तेस्रो प्रकार : यस्तो हुँदा प्रभावित व्यक्तिको अनुहारको छाला मोटो हुन्छ । छाला बाक्लो हुनुका साथै उबडखाबडसमेत हुन सक्छ । तर, यस्तो विरलै हुन्छ । यस्तो भएका व्यक्तिमा रोजेसियाको अर्को प्रकारका लक्षणहरूसमेत देखिन्छन् । यस्तो रोजेसिया खासगरी नाकमा हुन्छ । नाकको छाला मोटो हुँदै जान्छ । यस्तो अनुहारलाई राइनो फेस (गैंडाजस्तो अनुहार) समेत भनिन्छ । निधार, गाला, चिउडो, कानको छालासमेत बाक्लो हुन्छ । बिरामीको अनुहारको छाला तैलीय हुन्छ ।
चौथो प्रकार : रोजेसियाको चौथो प्रकार आँखामा देखिन्छ । आँखामा बालुवा परेजस्तो अनुभूति हुनु, आँखा पोल्नु र चिलाउनु, आँखा धेरै सुक्खा हुनु, धमिलो देख्नु, आँखा प्रकाशप्रति संवेदनशील हुनु, परेलामा आनो (सिस्ट) देखिनु आदि यसका लक्षण हुन् ।
उपचार
तपाईंलाई रोजेसिया भएको छ वा छैन भन्ने निक्र्योल छाला रोग विशेषज्ञले गर्ने हो । कहिलेकाहीं कुनै अन्य चिकित्सकीय अवस्थाका कारण समेत रोजेसियाजस्तै लक्षण देखिन सक्छ ।
‘कुनै चिकित्सकीय परीक्षणले भन्दैन तपाईंलाई रोजेसिया छ भनेर,’ डा. कर्ण भन्छन्, ‘रोजेसिया पहिचान गर्न छाला रोग विशेषज्ञले तपाईंका आँखा र छालाको परीक्षण गर्छन् ।’
रोजेसियाबाट मुक्ति पाउन हाल लेजर उपचार, जीवाणुरोधी वास, क्रिम, एन्टिबायोटिक, फोटो चिकित्सा, आइसोट्रिटिनोइन र प्रकाश उपचार आदि उपलब्ध छन् । डा. कर्ण भन्छन्, ‘यी उपचारका माध्यमले रोजेसियालाई नियन्त्रण गर्न सकिन्छ । यसलाई निर्मूलै पार्न भने सकिन्न ।’
सही उपचार हुन सके रोजेसियाका कारण उत्पन्न लक्षणहरू कम हुनुका साथै बिरामीलाई असुविधासमेत कम हुँदै जान्छ । बेलैमा उपयुक्त उपचार गरे रोजेसियाका कारण शारीरिक अवस्था धेरै बिग्रिन पाउँदैन ।
रोजेसियामा केही जनरल फिजिसियनहरूले स्टेरोयड आधारित क्रिम प्रस्तावित गर्ने गरेको आंैल्याउँदै डा. कर्ण सचेत गर्छन्, ‘यसले स्थितिलाई झन् नराम्रो बनाउँछ ।’
बचाउ
रोजेसियाबाट पीडितहरूले घामबाट जोगिनुपर्छ । उनीहरूले चिकित्सकीय सल्लाहबिना पसलमा पाइने क्रिम आदि उपयोग गर्नु हुन्न । अनुहारमा बढी मात्रामा फेस वासको उपयोग गर्नुसमेत यसमा घातक हुन सक्छ । खानपानमा अमिलो, पिरो, मसला उपयोग गर्नु हुँदैन । चिया–कफीको उपयोगबाट बच्नुपर्छ । मद्यपान त गर्नै हुँदैन ।