कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

जन्मनुअगावै रेटिना समस्या

फातिमा बानु

काठमाडौं — राजधानीका अस्पतालको तथ्यांक केलाउँदा नौ महिना नपुग्दै जन्मिने शिशुहरूको संख्या बढदै गएको छ । समयअगावै जन्मिने शिशुहरूमा विभिन्न स्वास्थ्य समस्या देखिने बाल विशेषज्ञहरू बताउँछन् ।

उनीहरूमा देखिने धेरै स्वास्थ्य समस्यामध्ये मुख्य रेटिना (दृष्टि पर्दा) च्यातिनु हो । मुख्यगरी मधुमेह रोगी महिलाबाट जन्मने शिशुमा यस्तो समस्या देखिने गरेको तिलगंगा आँखा अस्पतालका रेटिना सर्जन डा. सन्यम बजिमयले बताए । ‘रेटिना ठूलो समस्या होइन, यसबारे चेतना नहुँदा रेटिनाका कारण अधिकांश शिशुहरू आँखाको पूरै दृष्टि गुमाइरहेका छन्,’ डा. बजिमयाले भने, ‘समयअगावै जन्मिएका शिशुलाई अस्पतालले आँखा अस्पतालमा रिफर गर्नुपर्ने हो, गर्दैनन् ।’ तिलगंगाले राजधानीका सरकारी अस्पतालमै गएर नौ महिनाअगावै जन्मिएका शिशुका अभिभावकलाई यसबारे परामर्श दिने अभियान नै सुरु गरेको छ ।

आँखाभित्र रक्तस्राव हुने, आँखाको पर्दा च्यातिने र विस्तारै दृष्टि क्षमता घटदै जानु रेटिना समस्या हो । विश्वव्यापी तथ्यांक हेर्दा रेटिना रोगमा नेपाल १० नम्बरमा परेको छ । महाराजगन्जस्थित शिक्षण अस्पताल (टिचिङ) को तथ्यांकअनुसार गत आर्थिक वर्षमा चार हजार तीन सय ७४ महिला सुत्केरी भए, जसमा ९५ शिशु नौ महिनाअगावै जन्मिए । पछिल्ला वर्षको तथ्याकंको तुलनामा समयअगावै शिशु जन्मने प्रवृत्ति बढिरहेको अस्पतालको नर्सिङ निर्देशक कोपिला पालिखे श्रेष्ठ बताउँछिन् । ‘नौ महिना नपुगी जन्मिएका शिशुको वृद्धि विकास पूर्ण भइसकेको हुँदैन, बचाउनै गाह्रो हुन्छ, ‘निर्देशक पालिखेले भनिन्, ‘उनीहरूलाई एनआईसीयूमै राखेर बचाइन्छ, २४ घण्टा अक्सिजन दिएर राख्नुपर्ने हुन्छ ।’

यस्ता शिशुहरूलाई २४ घण्टा अक्सिजन दिएर राखेकै कारण रेटिनाको समस्या आइपर्ने डा. बजिमय बताउँछन् । ती शिशुहरूमा आँखाबाहेक पनि धेरै समस्या हुने, अधिकांशलाई बचाउनै गाह्रो हुने बालविशेषज्ञहरू बताउँछन् । बाँचिहाले पनि जीवनको कुनै घडीमा उनीहरू रेटिनाको समस्याबाट गुज्रिने गरेको डा. बजिमयले बताए । प्रसूति गृहका बाल विशेषज्ञ डा. शैलेन्द्रवीर कर्माचार्यले भन्छन्, ‘यस्ता शिशु निकै कम तौलका जन्मन्छन्, उनीहरूमा संक्रमण हुने सम्भावना पनि बढी हुन्छ, शिशुको फोक्सो, कलेजो, मुटु, मृगौलालगायत कुनै पनि अगंको पूर्ण विकास भइसकेको हुँदैन, लामो समयसम्म आईसीयूमा राखेकै भरमा उनीहरू बाँचेका हुन्छन् ।’

महाराजगन्जस्थित कान्ति बाल अस्पतालले सन् २००४ मा गरेको एक अध्ययनअनुसार समयअगावै जन्मिएका हरेक चार जना शिशुमा एक जनालाई रेटिना समस्या देखिने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सामान्यतया आमाको गर्भमा बसेको ३६ हप्तापछि बच्चा जन्मने उपयुक्त समय हो । तर, गर्भवती आमा मधुमेह, उच्च रक्तचाप, थाइराइडजस्ता रोगी हुँदा शिशुलाई शल्यक्रिया गरेर समयअगावै गर्भबाट झिक्नुपर्ने स्त्रीरोग विशेषज्ञहरू बताउँछन् ।

टिचिङ अस्पतालका एनआईसीयूकी नर्सिङ अफिसर प्रेमा लक्ष्मी खागीका अनुसार समयअगावै जन्मने अधिकांश शिशुुको आईसीयूमै मृत्यु हुने गरेको छ । ‘यस्ता शिशुहरू बाहिरको तापक्रम सुहाउँदो हुँदैनन्, ‘उनले भनिन्, ‘कम्तीमा २४ घण्टादेखि एक सातासम्म आईसीयूमा राख्नुपर्छ, नत्र हल्का चिसो हुनेबित्तिकै मर्न सक्छन्,’ उनले भनिन् । एनआईसीयूको तथ्यांकअनुसार गत आर्थिक वर्षमा समयअगावै जन्मिएका ३० शिशुको मृत्यु भयो । ‘डिस्चार्ज भई घर पुगेकाको पनि उत्तिकै संख्यामा मृत्यु हुने गरेको खबर आउँछ,’ खागीले भनिन् । समयअगावै जन्मने शिशुहरूमा अपाङ्गता हुन सक्ने सम्भावना पनि तीव्र हुने बाल चिकित्सकहरू बताउँछन् । कम उमेरमा विवाह गर्ने, कलिलो उमेरमा बच्चा जन्माउने महिलाबाट समयअगावै शिशु जन्मने गरेको डा. कमाचार्यले बताए ।

सरकारले गर्भवती महिला, सुत्केरी आमा र नवजात शिशुको पोषणका लागि विभिन्न कार्यक्रममार्फत २० वर्षअघि बच्चा जन्माउन नहुने चेतना फैलाइरहेको छ । यस्तो जनचेतना गाउँगाउँ अझै फैलाउन आवश्यक भएको प्रसूति गृहका निर्देशक डा. अमिरबाबु श्रेष्ठले बताए । ‘बालविवाह नरोकिनुले पनि समयअगावै शिशु जन्मने क्रम रोकिन नसकेको हो,’ डा. श्रेष्ठले भने, ‘यसले पनि मातृशिशु मृत्युदर बढाइरहेको छ ।’

समयअगावै शिशु जन्मिने समस्या रोक्न आमाले आफ्नो स्वास्थ्यमा पूर्ण ध्यान दिनुपर्ने स्त्रीरोग विशेषज्ञहरू सुझाउँछन् । डा. कर्माचार्य भन्छन्, ‘महिलाले पहिलो बच्चा २० वर्षपछि ३० वर्ष नपुग्दै जन्माउनुपर्छ, गर्भवतीले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ र धूमपानबाट टाढै बस्नुपर्छ ।’

समयअगावै जन्मिने शिशुको पनि समयमै उपचार गर्न सकेमा रेटिना समस्या पूर्ण रूपमा ठीक हुन सक्ने डा. बजिमय बताउँछन् । तिलगंगाको तथ्यांकअनुसार ५० प्रतिशत अन्तिम स्टेजमा मात्रै अस्पताल आइपुग्छन् । ‘हामीसम्म आइपुग्दा आँखा धेरै बिग्रिसकेको हुन्छ, थोरैको मात्रै शल्यक्रिया सफल हुन्छ,’ उनले भने ।

प्रकाशित : आश्विन ३१, २०७४ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?