कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुघाखोकी र घरेलु उपचार

अतुल मिश्र

काठमाडौं — जाडोयाम सुरु हुनासाथ, मौसममा आएको परिवर्तनका कारण रुघा–खोकीको समस्या देखिन थाल्छ । घाँटी खसखस हुनु, नाक बन्द हुनु, नाकबाट पानी बग्नु, रुघाखोकी आदि यो मौसममा देखिने सामान्य समस्या हुन् ।

रुघाखोकी र घरेलु उपचार

बूढापाका, बालबालिका र जटिल स्वास्थ्यस्थिति भएकाहरूका लागि सामान्य रुघाखोकीले समेत स्वास्थ्यसम्बन्धी जटिलता निम्त्याउन सक्छ । यस्ता व्यक्तिहरूले सामान्य रुघाखोकी हुँदा पनि चिकित्सकको सल्लाहअनुसार उपचार प्रक्रिया अघि बढाउनुपर्छ । 

तर स्वस्थ व्यक्तिलाई जाडोयाममा सामान्य रुघाखोकी लागे हाम्रा पुर्खाहरूले परापूर्वकालदेखि अपनाउँदै आएका घरेलु उपायबाटै सन्चो हुन सक्छ । जाडोयाममा स्वस्थ व्यक्तिलाई समस्यामा पार्ने रुघाका लागि हाम्रो घरदैलोमै पाइने जडीबुटी आदिको उपयोग गर्दा राम्रो हुन्छ । 

‘तुलसीको पात सामान्य रुघाखोकीका लागि सबैभन्दा राम्रो उपचार हो,’ डा. ऋषिराम कोइराला भन्छन्, ‘यसले भाइरसलाई समेत निष्क्रिय पार्छ ।’ तुलसीको पात चपाउनाले वा चियाजस्तो पकाएर खानाले रुघा निको हुन्छ ।

यो मौसममा रुघा प्रभावितले दिनहँु दुईतीन पटक र सामान्य व्यक्तिले समेत एक पटक तुलसीपात, बेसार, अदुवालाई चियाजस्तै पकाएर महको साथ सेवन गर्नाले धेरै फाइदा पुग्छ । 

धेरै खोकी भए ज्वानो पकाएर पिउँदा खोकी निको हुनुका साथ खकार आदि समेत शरीरबाहिर निस्किन्छ । ज्वानो र अदुवा हालेर उमालेको पानीको बाफ लिँदा नाक खुल्छ, घाँटीको खसखस दुईतीन दिनमै निको हुन्छ । यस्तै बेसार, मह, अदुवा चपाइरहँदा पनि फाइदा गर्छ । 

रुघा लाग्दाताका दूधमा बेसार मिलाएर सेवन गर्नाले समेत आराम हुन्छ । पानको पातमा थोरै मह र अदुवा राखेर दिनमा दुईतीन पटक खाँदा खोकी राम्रो गर्ने डा. कोइराला बताउँछन् । लसुन उमालेको पानी खानाले वा यसको पोटी खाँदा समेत रुघाखोकीमा राहत मिल्छ । रुघाखोकीको प्रत्यक्ष सम्बन्ध हाम्रो रोगप्रतिरोधक क्षमतासँग हुन्छ । आयुर्वेदले रोगप्रतिरोधक क्षमता बढाउन भूमिका खेल्छ । 

 

कुल्ला गर्ने

नुन हालेको मनतातो पानीले कुल्ला गर्दा रुघाखोकीबाट निकै आराम पाइन्छ । कुल्ला गर्दा घाँटीको सुन्नाइ कम हुन्छ, दुख्न पनि छोड्छ । कुल्ला गर्दा मुखभित्रको मांसपेशीको पीडा कम हुन्छ । यसले प्रभावित क्षेत्रमा ताप बढाएर रक्तसञ्चार बढाउँछ ।

यति मात्र नभई, कुल्ला गर्दा मुखको ब्याक्टेरियासमेत नष्ट हुन्छ । ब्याक्टेरियाले मुखभित्रको प्राकृतिक पीएचको सन्तुलन बिगारेको हुन्छ । नुनपानीले कुल्ला गर्दा मुखको प्राकृतिक पीएचको सन्तुलन सामान्य अवस्थामा फर्किन्छ । 

४ सय व्यक्तिमा गरिएको एउटा अध्ययनले के देखाएको छ भने, जाडो याममा मौसमी रुघाखोकी भए वा नभए पनि नुनपानीले दिनमा तीन पटक कुल्ला गर्दा छातीसम्बन्धी संक्रमणको सम्भावना ४० प्रतिशतसम्म कम हुन्छ ।

 यस्तै, चियापत्ती, बेसार, नुन हालेर उमालेको पानीले कुल्ला गर्दा घाँटीलाई धेरै सन्चो हुने डा. कोइराला बताउँछन् । तुलसी प्राकृतिक एन्टिसेप्टिक हो, जसले घाँटीको संक्रमण हटाउन सघाउँछ । 

 

योग

विज्ञहरूका अनुसार योगका केही आसनसमेत मौसमी रुघाखोकीको उपचारमा सहायक हुन्छन् । योगले हाम्रो शरीरलाई स्वस्थ र शक्तिशाली बनाउनुका साथै मनलाई स्थिर र केन्द्रित गर्न सघाउँछ । योगले रोगप्रतिरोधक क्षमता बढाउँछ, साथै बाहिरी किटाणु/जीवाणुसँग लड्ने क्षमता वृद्धि गर्छ ।

मौसमी रुघाखोकी लागेका बेला नाडी शोधन प्राणायाम, अनुलोम विलोम, कपालभाति, मत्स्यासन, शवासन आदि गर्नु उपयुक्त हुन्छ । तर रुघाखोकीबाट पीडित भएकाहरूले योगविशेषज्ञको सल्लाह लिएर मात्र आफ्ना लागि उपयुक्त आसन छनोट गर्नुपर्छ ।

[email protected]

 

  • तुलसीको पात सामान्य रुघाखोकीका लागि सबैभन्दा राम्रो उपचार हो । यसले भाइरसलाई समेत निष्क्रिय पार्छ ।
  • खोकी गढेको भए ज्वानो पकाएको पानी खानुपर्छ ।
  • ज्वानो र अदुवा हालेर उमालेको पानीको बाफ लिँदा नाक खुल्छ ।
  • पानको पातमा थोरै मह र अदुवा राखेर दिनमा दुई–तीन पटक खाँदा खोकी निको हुन्छ ।
  • लसुन हालेर उमालेको पानी खाँदा वा यसको पोटी मात्रै खाँदा पनि रुघाखोकीमा आराम हुन्छ ।
  • नुनपानीले दिनमा तीन पटक कुल्ला गर्दा छातीसम्बन्धी संक्रमणको सम्भावना ४० प्रतिशतसम्म कम हुन्छ ।

प्रकाशित : मंसिर १६, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?