कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सालैजो नुवाकोटे नानी

हेलो शुक्रबार

रोजीरोटीका लागि कतारी देश दुनियाँमा बस्दै आएकी नुवाकोटकी नानु घले छोटो छुट्टीमा भर्खरै घर फिरेकी थिइन् । तर, उता कतार छँदाको दौडधुपभन्दा यता घर बस्दाको कामकाजले उनलाई फुर्सद मिलेन ।

सालैजो नुवाकोटे नानी

कतारमा ग्रुप सेक्युरिटी सर्भिस (जीएसएस) को जागिरे भए पनि नानुको भित्री रुचि र सौख भने भिन्नै रहेछ । त्यही सौख पूरा गर्न घर फिरेको छोटो छुट्टीमा पनि उनी तल्लीन भइहालिन्– दोहोरी साँझदेखि रेकर्डिङ स्टुडियो धाउँदै । लोकगीत र दोहोरी गायनमा खुबै रुचि राख्ने नानु आफ्नै जिन्दगीको कथा–व्यथा भुल्न पनि गाउने–रमाउने दुनियाँमा आएकी रहिछन् ।
आफू सानै छँदा आमा गुमाएकी नानु सौतेनी आमाको दलनमा हुर्किएकी रहिछन् । आफ्नै जिन्दगीको अनेक आरोह–अवरोह खेपिरहेका बेला नानुलाई माओवादी ललाइफकाईमा पारेर ०६३ सालको शान्ति प्रक्रिया छेउछाउमा चितवनको शक्तिखोर पुर्‍याइएको रहेछ । ‘माओवादी लडाकु ३० हजारको संख्यामा छ भनेर गफ लडाएका बेला संख्या देखाउन मलाई पनि नुवाकोट गाउँबाट जबर्जस्ती लगिएको थियो,’ नानु सम्झिन्छिन्– ‘लडाकु गणना भइरहेका बेला मलाई शक्तिखोरमा राखिएको थियो । खासमा मेरो इच्छाअनुसार हेल्थ असिस्टेन्ट पढाइदिन्छु भनेर लगिएको थियो । तर केही पनि भएन । अनि शक्तिखोरमा १ वर्षभन्दा बढी बसेपछि म भागेरै बाहिर आएँ ।’
नानुको जीवन कहानी पनि उस्तै विचित्रको रहेछ । शक्तिखोर शिविरबाट निस्केर उनले चितवनबाटै एसएसली परीक्षा दिएकी थिइन् । लगत्तै करकापमा परेर घरजम गरेकी नानुका श्रीमान् नेपाली सेनामा रहेछन् । तर, ती सैनिकसँग बिहे गरेर एउटा छोरो भइसकेपछि मात्रै उनले थाहा पाइछन्– आफ्नी सौता पनि छ भनेर । पछि अझ थाहा हुँदै गएछ– सौता मात्रै होइन, अरू धेरै युवतीसँग नाम जोडिएका श्रीमान् आफूले पाएको रहेछ भनेर ।
‘श्रीमान्को नैतिक र चारित्रिक हर्कतका बारेमा उजुरी गर्न हनुमानढोका प्रहरीकहाँ पुगेकी थिएँ, तर सैनिकको मुद्दा प्रहरीले नहेरेपछि फेरि फर्किएँ,’ नानुले सुनाइन् । यसरी आफ्नै भाग्यसँग लडिरहेकी नानु अहिले श्रीमान्सँग सम्पर्कहीन छिन् । यो निरन्तरको आफ्नै संघर्ष र जीवनको लडाइँबाट नथाकेरै उनी कतार गएको ४ वर्ष हुनै लागेको छ । यति भएर पनि उनले आफ्नो सौखलाई बचाएकै छिन् । त्यही क्रममा उनका लोकदोहोरी एल्बम बजारमा आइसकेका छन्– फूलै फुलेन, सालैजो, सालैजो नुवाकोटे नानी आदि ।
‘सालैजो’ लोकभाका पश्चिमी भेगको भए पनि नानुले नुवाकोटे नानी बनेर यताको श्रोताका लागि पनि भाका भित्र्याएकी हुन् । ‘मनको बह कसैलाई नकह भन्छन्,’ कतार विमानस्थलको सेक्युरिटी जागिरको छोटो छुट्टी सिध्याएर अर्को साता कर्म भूमि जान लागेकी नानुले हतारमै सुनाइन्– ‘तर म भने आफ्नै जिन्दगीको कथा–व्यथा मिसाउँदै सालैजो भाका गाइरहेकी छु ।
सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला भन्छन् के रे... ।’

प्रकाशित : वैशाख ८, २०७४ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?