कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीटीएसको सनसनी

प्रयोगवादी कोरियाली केटाहरुको ब्यान्ड ‘बीटीएस’ ले विश्व संगीतमा तहल्का मच्चाइरहेको छ ।
सजना बराल

काठमाडौं — दक्षिण कोरियाली गायक साईको गीत ‘ओप्पा, गङ्नम स्टाइल...’ विश्व प्रसिद्ध बन्यो । युट्युब भ्युजमा यसले कायम गरेको रेकर्ड तोड्न ‘सी यु अगेन...’ लाई लामै समय कुर्नुपर्‍यो । गैरअङ्ग्रेजी भाषाको ‘गङ्नम स्टाइल...’ पछि स्पेनी गीत ‘डिस्पासितो...’ भाइरल बन्यो । अहिले के–पपले नै पुन: तहल्का मच्चाइरहेको छ ।

बीटीएसको सनसनी

यसपटक गीत विशेषभन्दा पनि कोरियन ब्वाई ब्यान्डको चर्चा ठूलो छ । बीटीएस अर्थात् ब्यांगट्यान सोनियोन्डन (बुलेटप्रुफ ब्वाई स्काउट्स) साईपछिको कोरियन सेन्सेसन हो । सात सदस्यीय पप ब्यान्डका सबैभन्दा पाको सदस्य २४ वर्षका छन् । आफ्नै स्टाइलसहित प्रस्तुत हुने ‘ब्याकस्ट्रिट ब्वाइज’ र ‘वान डिरेक्सन’ कै पछिल्लो संस्करण मानिएको छ, बीटीएसलाई ।


सन् २०१३ मा स्थापना हुँदा बीटीएसले ‘नो मोर ड्रिम...’ गीत निकालेको थियो । त्यसले नवप्रतिभा अवार्डसँगै मेलन म्युजिक, गोल्डेन डिस्कलगायत थुप्रै अवार्ड जित्यो । डेब्यु गीतबाटै ब्यान्ड कोरियनमाझ लोकप्रिय बनेको थियो । सन् २०१५ को ‘द मोस्ट ब्युटिफुल मोमेन्ट इन लाइफ : पार्ट टु’, ‘योङ फरेभर’ र ‘विङ्ग्स’ एल्बम बिलबोर्ड चार्ट टु हन्ड्रेडमा परे । 
यो सूचीको टप टेनमा इन्ट्री गर्ने पहिलो कोरियन समूह पनि यही हो ।
बिलबोर्ड प्रवेशसँगै ब्यान्डको ख्याति चुलिन थाल्यो । सामाजिक सञ्जालमा फलोअर्स अर्थात् आर्मी (ब्यान्ड आफ्ना फ्यानलाई आर्मी भन्छ) बढे । भोग, द न्युयोर्क टाइम्स, फोब्र्स, टाइम जस्ता ठूला पत्रिकाले फुच्चे गायकहरूको लोकप्रियतामाथि सकारात्मक समीक्षा छाप्न थाले । स्थानीय सञ्चार माध्यममा त ब्यान्ड दिनका दिन प्रस्तुत हुनु नौलो कुरै भएन । 


बीटीएस प्रयोगवादी ब्यान्ड हो । कुनै बेला ‘बटरफ्लाई...’ जस्तो स्लो–सेन्टिमेन्टल गीत निकालेको ब्यान्ड अहिले ‘डीएनए...’ मार्फत आफूलाई नयाँ धारमा प्रस्तुत गरिरहेको छ । इलेक्ट्रो–र्‍याप शैलीको पछिल्लो गीत सुनेपछि संगीत विज्ञहरूले बीटीएसलाई क्यानडियन गायक सावन मेन्डेस र स्कटिस केल्भिन ह्यारीसँग दाँज्न थालेका छन् । के–पपको विशेषता नै भनौं, डान्ससहितको आकर्षक म्युजिक भिडियोले पनि ब्यान्डको अनलाइन फेम मज्जाले बढाइदिएको छ ।
टाइम म्यागजिनले इन्टरनेटका २५ प्रभावशाली व्यक्तिमध्ये बीटीएसलाई एक मानेको छ । फोब्र्सका अनुसार सन् २०१६ मा बीटीएस सबैभन्दा बढी रिट्वीट भएको आर्टिस्ट/ब्यान्ड हो । ट्वीटरले ब्यान्डलाई समेटेर पहिलो पटक के–पप इमोजी लन्च गर्‍यो । केही महिनाअघिको बिलबोर्ड म्युजिक अवार्डमा पनि ब्यान्डलाई नै टप सोसल आर्टिस्टको ट्रफी दिइएको थियो । उक्त विधामा जस्टिन बिबर, सेलेना गोमेज, एरियाना ग्राण्डीलगायत स्टारहरू मनोनीत थिए । 
एकपछि अर्को रेकर्ड कायम गरिरहेको ब्यान्डलाई पछिल्लो एल्बम ‘लभ योरसेल्फ...’ ले झनै फाइदा पुर्‍याइरहेको छ । करिब महिना दिनअघि रिलिज गरिएको उक्त एल्बम बिलबोर्डको उच्च स्थानमा पुग्ने के–पप एल्बम बन्यो । अमेरिकी बजारमा बिक्री उच्च भइरहेका बेला आइट्युन्स एल्बम–चार्टको नम्बर एक स्थानमा पनि यही एल्बम पुगेको छ । त्यसमै समाविष्ट ‘डीएनए...’ गीतको भिडियोले युट्युबमा अपलोड भएको २० घण्टामै २ करोड भ्युज पाएको थियो ।
बीटीएस ब्यान्डमा चार पप गायक– जिमिन, भी, जंगकुक, जीनसँगै तीन र्‍यापर (र्‍याप मोन्स्टर्स, सुगा र जे–होप) आबद्ध छन् । उनीहरू सबै दक्षिण कोरियाको राजधानी सोलमा बस्छन्, रुम मेट्स हुन् । चार वर्षको सहकार्यमा ब्यान्डले तीन वटा वल्र्ड टुर गरेको छ भने चार वटा स्टुडियो एल्बम र पाँच वटा इपी सार्वजनिक गरिसकेको छ । सबैभन्दा ठूलो कुराचाहिँ विश्वभरका लाखौं फ्यान यसले कमाएको छ ।
अङ्ग्रेजी भाषामा एउटा पनि गीत ननिकाली र बिनाप्रचारप्रसार यति धेरै प्रसिद्ध हुन चानचुने कुरा होइन । त्यसमाथि अमेरिका र क्यानडामा दक्षिण कोरियाली आर्टिस्टको यस्तो लोकप्रियता देखेर कतिपयले आश्चर्य जनाएका छन् । ‘अमेरिकी र क्यानडियन संगीत संसारमा कोरियन ब्यान्डले प्रवेश पाउनु गाह्रो कुरा हो,’ क्यानडाको सीटीभी न्युजले लेखेको छ, ‘तर, बीटीएस समूह अपवाद बनिरहेको छ ।’
बीटीएसले १९ नोभेम्बरमा हुने अमेरिकन म्युजिक अवार्ड्स (एएमए) मा समेत प्रस्तुति दिने भएको छ । यसअघि बिलबोर्ड म्युजिक अवार्डमा पनि उनीहरूले कोरियन गीत सुनाएका थिए । ब्यान्डले एएमएमा भाग लिने खबर बाहिर आएसँगै ट्वीटरमा ‘बीटीएस एक्स एएमए’ ट्ेरन्डिङमा छ । समारोहमा क्रिस्टिना एगुलेरा, सेलेना गोमेज, डायना रोजस्ता सेलिब्रिटीले पनि प्रस्तुति दिने छन् ।
सन् २०१५ मा पहिलोपटक यूएस टुरमा जाँदासम्म बीटीएसले एउटा मात्रै पूर्ण एल्बम निकालेको थियो । तैपनि त्यसबेला एकै दिन सबै बिक्री भएको बिलबोर्ड म्यागजिनले उल्लेख गरेको छ । ‘ब्यान्डको मार्केटिङ नीति बलियो छ,’ कोरियन पत्रकार ग्रेस जियोङलाई उद्धृत गर्दै बिलबोर्ड लेख्छ, ‘कोरियन भाषा नबुझ्नेलाई पनि उनीहरूले आकर्षित गर्न जानेका छन् । तर, बीटीएसलाई अब एउटा भाइरल गीतको खाँचो छ । गङ्नम स्टाइल जस्तै... ।’ 
–एजेन्सीको सहयोगमा

प्रकाशित : कार्तिक २४, २०७४ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?