रोयल लुक्स
काठमाडौँ — राणा परिवारमा चलेका फेसन शैलीदेखि बेलायती साम्राज्य फैलँदाको रोयल लुक्सलाई डिजाइनमा उतारिएको थियो ।
राजधानीमा चिसो बढ्दै जाँदा शनिबार साँझ हायत होटलको वातावरण निकै तातिएको छ । कारण थियो, रन–वे सेभेन । आईईसी कलेज अफ आर्ट एन्ड फेसनको सातौं ब्याचद्वारा आयोजित रन–वेमा करिब तीन घण्टासम्म डिजाइनरहरूका सिर्जनालाई मोडलहरूले प्रस्तुत गरेका थिए ।
५१ जना डिजाइनरलाई १३ समूहमा विभाजन गरिएको थियो । र, उनीहरूका सिर्जनालाई दुई महिनाको तयारीपछि कोरियोग्राफर प्रशान्त ताम्रकारले २६ मोडलमार्फत हायतमा प्रदर्शन गरिदिए । नायिकाहरू मलिना जोशी, स्वस्तिमा खड्का र आशिष्मा नकर्मी शो स्टपरका रूपमा आएका थिए ।
१२ राशिबाट प्रभावित भई तयार पारिएका पहिरनलाई पहिलो सिक्वेन्समा प्रस्तुत गरिएको थियो । त्यसमा दर्जन मोडल थिए । बाँकी १२ सिक्वेन्समा आठ–आठ जना मोडल र्याम्पमा उत्रिएका थिए । ती पुराना शैलीलाई आधुनिक बनाइँदा अझ आकर्षक देखिएको थियो । नेपाल, चीन र भारतको सांस्कृतिक सम्बन्ध झल्कने पहिरन पनि प्रदर्शन गरिएको थियो ।
तस्बिरहरू : महेश प्रधान