कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेमौसममा फुल्यो गुराँस

घनश्याम गौतम

गुल्मी — उच्च पहाडी जंगलमा गुराँस फुल्ने मुख्य सिजन फागुनदेखि चैत र वैशाख हो तर यहाँ माघ पहिलो साता नै पहाड राताम्मे हुन पुगेका छन् ।

बेमौसममा फुल्यो गुराँस

जिल्लाकै उच्च भाग मदाने क्षेत्रमा पुस तेस्रो सातादेखि नै गुराँस फुल्न थालेको थियो । माघ लाग्दासम्म सदरमुकाम नजिकैको रेसुंगा क्षेत्र पनि गुराँसले ढाकेपछि हेर्ने र तस्बिर खिचाउनेको भीड लागेको छ । प्राय: फागुन पहिलो सातासम्म बढी चिसो रहने क्षेत्रमा मौसम पनि तातेको छ ।

‘जलवायु परिवर्तनको प्रत्यक्ष असर नै हो,’ जिल्ला वन कार्यालय प्रमुख विशाल घिमिरेले भने, ‘धेरै चिसो हुने स्थानमा पुस–माघमै गुराँस फुलेको देखिएको छ ।’ उनका अनुसार जलवायुमा अहिले विश्वव्यापी उष्णीकरण बढदो छ । विश्वव्यापी रूपमा तापक्रम ० दशमलव ०४ डिग्री सेन्टिग्रेडले बढिरहेको छ । तर, यो आधारभन्दा नेपालको औसत तापक्रम तराई र हिमालको अनुपातमा ० दशमलव ०६ डिग्री सेन्टिग्रेडले बढ्दै गएको छ । 

 २ हजार ६ सय ९० मिटर उचाइको मदाने क्षेत्रमा यसपटक हिउँ नै परेन । लुम्बिनी अञ्चलभित्रकै अग्लो यो भूभागमा वर्षेनी पुस र माघमा हिउँ पर्दै आएको थियो । रेसुंगा, पुर्कोटदह, सालिमे, थाप्ले र सत्यवतीलगायतका उच्च लेकमा पनि यो वर्ष हिउँ परेन । 

हिउँ नै नदेखेकाहरूले यी क्षेत्रमा छिटो गुराँस फुलेको देख्न पाएका छन् । ‘अहिले पहिलापटक पुसमै मदाने जंगलमा गुराँस फुलेको देखें,’ हाङी ९ का ७९ वर्षीय देवबहादुर घर्तीमगरले भने, ‘यो वर्ष चिसो भएको थाहा नै पाइएन, माघमै गर्मी बढ्यो ।’ उनले माघको घामले शरीरमा पसिना आएको पहिलोपटक अनुभव गरेको सुनाए । चिसो स्थान हुम्लामा धान फल्नु र उत्पादन बढ्नु, हिउँ छिटोछिटो पग्लनु जलवायु परिवर्तनको सकारात्मक प्रभाव भए पनि कृषिमा देखिएका नयाँ–नयाँ रोग, नयाँ कीराफट्याङ्ग्रा र फरक प्रकृतिका लामखुट्टेलगायतको वृद्धि नकारात्मक असर भएको डीएफओ घिमिरेले बताए । 

‘त्यस्तै पानी पर्ने दर पनि पूर्वानुमान गर्न नसकिने अवस्थामा पुग्यो,’ उनले भने, ‘थोरैथोरै पानी धेरै समयसम्म पर्ने गरेकोमा अहिले लामो समय नपर्ने र पर्‍यो भने एकैपटक पर्ने गरेको छ ।’ गर्मीका दिन बढ्नु र जाडोको समय घट्नु पनि जलवायु परिवर्तनकै असर भएको उनले बताए । यस्तो प्रभावले जीवजन्तुले बासस्थान फेर्न थालेका छन् । यस वर्ष हिउँदे वर्षा नै नभएकाले पनि बालीनालीदेखि वनजंगल र जन्तुमा त्यसको असर देखिँदै जाने, आगलागीका घटनासमेत बढ्न सक्ने घिमिरेले बताए । 

प्रकाशित : माघ १७, २०७३ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?