कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गिनिज बुकमा रेकर्ड राख्न हातले हिँड्दै

दुर्गालाल केसी

दाङ — तुलसीपुर १, रानागाउँका २५ वर्षीय ऋषि परियार खुट्टा माथि उठाएर दुई हातले सरासर लामो दूरीसम्म हिँड्न सक्छन् । बिहानैको झिसमिसे होस् या दिउँसोको घाम, उनी जतिबेला पनि सडकमा खुट्टाले झैं निर्धक्क हातले हिँड्न सक्छन् ।

गिनिज बुकमा रेकर्ड राख्न हातले हिँड्दै

गिनिज बुकमा नाम लेखाउने उद्देश्यसहित उनी हातले हिँडिरहेका छन् । उनी ५ किलोमिटरसम्म पनि हातको सहाराले हिँड्न सक्छन् । दिनहुँ सडकमा हातले हिँडिरहेको एक युवा देख्दा मानिसहरू अचम्म मान्छन् । ‘बिहानपख त कोही भूत आयो भनेर भाग्छन्,’ उनले भने, ‘राप्ती राजमार्ग अन्तर्गत लाहुरेचौर नजिकको सडकमा नियमित हिँडिरहेको हुन्छु । अप्ठ्यारो बाटोमा हिँड्न गाह्रो हुन्छ । सडकमा हिँडदा गाडी, मोटरको जोखिम हुन्छ ।’

मानिसहरूले उनलाई सुरुमा पागल भने । केहीले विदेश गएर पैसा कमाउन सल्लाह दिए । कतिले केही काम गरेर पैसा कमाऊ भने । उनी भने निरन्तर उल्टो हिँडिरहे । ‘मलाई धेरैले गाली नै गर्छन् । के गरेको होला भन्छन् । बरु काम गरे हुन्छ भन्छन्,’ उनले भने, ‘मैले काम गर्न छोडेर हिँडेको छैन । नयाँ रेकर्ड राख्न साँझबिहान समय मिलाएर हिँडेको हुँ । म यही कामबाट नाम राख्न चाहन्छु ।’

सानैदेखि हातले हिँड्ने अभ्यास गरेको उनले बताए । बाल्यकालदेखि नै खेल्दाखेल्दै हातले हिँड्ने बानी बसेपछि उनी निरन्तर यसको अभ्यासमा लागे । आर्थिक अभावका कारण प्रावि तहको पढाइपछि विद्यालय छोडेका परियार अहिले मजदुरी गरेर जीविका चलाउँछन् । हातले हिँड्ने सोखका कारण उनी राम्रो फाँट देख्यो कि खुट्टा उचालिहाल्छन् । गिनिज बुकमा नयाँ रेकर्ड राखेरै छोड्ने धोको रहेको 
उनले बताए ।

प्रकाशित : वैशाख ७, २०७४ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?