कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्याउ खस्दा...

रुखको स्याउ बोटबाट चुडिएपछि माथि नउडेर किन तल झर्‍यो ? यही प्रश्नको उत्तर खोज्दै जाँदा उनले वस्तुलाई आफूतिर तान्ने गुरुत्त्वाकर्षणको शक्ति पृथ्वीमा भएको पत्ता लगाएको मानिन्छ ।

स्याउ खस्दा...

सन् १६४३ को ४ जनवरीमा बेलायतको विलस्थ्रोपमा जन्मिएका आइज्याक न्युटन १७ औं शताब्दीको वैज्ञानिक क्रान्तिका सबभन्दा महान् वैज्ञानिक मानिन्छन् । पृथ्वीको गुरुत्त्वाकर्षण शक्तिबारे व्याख्या गर्ने न्युटनको जन्ममितिबारे विवाद भने छ । कतिले उनको जन्म २५ डिसेम्बर १६४२ मा भएको पनि बताउने गरेका छन् । भौतिकशास्त्री र गणितज्ञ न्युटनको मृत्यु मार्च ३१, १७२७ मा लन्डनमा भएको थियो । उनको सबभन्दा प्रसिद्ध किताब ‘म्याथम्याटिकल प्रिन्सिपल अफ नेचुरल फिलसफी १६८७ मा प्रकाशित भएको थियो । महान् वैज्ञानिक न्युटनको बाल्यकाल भने खासै सुखद थिएन ।
न्युटन एक निरक्षर किसानका एक्लो सन्तान थिए । उनका पिताको नाम पनि आइज्याक न्युटन नै थियो । न्युटन जन्मिनुभन्दा तीन महिनाअघि नै उनका पिताको मृत्यु भएको थियो ।
न्युटन समय नपुगी जन्मिएका थिए । यसैले उनी निकै साना र कमजोर थिए । कसैले पनि न्युटन बाँच्छन् भनेर सोचेका थिएनन् ।
उनी तीन वर्षको हुँदा आमा हन्ना अस्क्युग न्युटनले त्यसबेलाका मन्त्री (कसै कसैले चर्चका पादरी पनि भनेका छन्) बर्नाबस स्मिथसँग दोस्रो बिहे गरिन् । आमा विवाह गरेर सहरमा गएपछि न्युटन आफ्नी मामाघरकी हजुरआमाको जिम्मामा रहे । हजुरआमासँग मावलमै उनको बाल्यकाल बित्यो । आमा र बुबासँग अलग भएकाले उनमा असुरक्षा र एक्लो भावना बढ्न थाल्यो । न्युटन धेरैजसो एक्लै बस्ने गर्न थाले । दोस्रो पतिबाट उनकी आमाले तीनजना सन्तान जन्माएकी थिइन् ।
न्युटन १२ वर्षको हुँदा उनकी आमाले बिहे गरेका दोस्रो पतिको मृत्यु भयो । अनि बल्ल न्युटन आमासँग सहरमा बस्न थाले । उनी सहरको किंग्स कलेजमा भर्ना भए । यहाँ उनले पहिलोपटक केमेस्ट्री विषयबारे थाहा पाए । यसको अध्ययनमा उनी रमाइरहेका बेला आमाले उनलाई स्कुलबाट निकालिन् । उनी छोरालाई कृषक बनाउन चाहन्थिन् । तर, न्युटन राम्रो कृषक बन्न सकेनन् । उनले खेतबारीमा राम्ररी काम गर्न सकेनन् किनभने उनलाई यो काम कत्ति पनि मन परेको थिएन । त्यसपछि उनलाई फेरि आधारभूत शिक्षा पूरा गर्नका लागि किंग्स स्कुल फर्काइयो ।
१८ वर्षको उमेरमा उनी क्याम्ब्रिजको ट्रिनिटी कलेजमा भर्ना भए । यो कलेजमा पढ्न सुरु गर्दा उनको आर्थिक अवस्था गतिलो थिएन । यसैले उनले पैसाका लागि कलेजका धनी विद्यार्थीको सहयोगीको काम गरे । न्युटन उनीहरूको काम गर्थे र आफ्नो पढाइ गर्थे । उनी धनी साथीहरूका सामानको हेरविचार गर्ने, उनीहरूका सामान मिलाउने र कोठा सफा गरिदिनेजस्ता काम गर्थे ।
ट्रिनिटीमा तेस्रो वर्षमा पुग्दा उनी नेचुरल फिलसफी (त्यसबेला फिजिक्सलाई नेचुरल फिलसफी भनिन्थ्यो) तिर आकर्षित भए । न्युटन कलेजमा आइपुग्दा १७ औं शताब्दीको वैज्ञानिक क्रान्ति आफ्नो चरमतिर पुग्दै थियो । कपरनिकस र किप्लरजस्ता वैज्ञानिकको पृथ्वी गोलो छ भन्ने सिद्धान्तलाई अर्का वैज्ञानिक ग्यालिलियो ग्यालिलीले सिद्ध गरेका थिए ।
कलेजको पहिलो तीन वर्षमा न्युटनले कलेजको पाठयक्रमबाहेक अरू किताबहरू पनि टन्नै अध्ययन गरे । यसमा धेरैजसो आधुनिक दर्शनशास्त्र र विज्ञानका किताब हुन्थे । परीक्षामा न्युटनले साधारण नतिजा पाए । तैपनि उनले अरू चार वर्ष अध्ययनका लागि छात्रवृत्ति भने पाए । तर, त्यसैताका सन् १६६५ मा युरोपमा प्लेग रोगको महामारी फैलियो । प्लेग फैलिँदै क्याम्ब्रिजमा पनि आइपुग्यो । यसले गर्दा कलेज बन्द भयो ।
न्युटन आफ्नो घर फर्किए । त्यसबेला उनी डेढ वर्ष घरमा बसे । यो अवधिमा उनले व्यक्तिगत रूपमा आफैं अध्ययन गरिरहे । यही बेला उनले रंग र प्रकाशसम्बन्धी आफ्ना सिद्धान्तहरूको आधार तयार गरे । गतिसम्बन्धी नियमहरू पत्ता लगाए ।
यही अवधिमा गरेका अध्ययनहरू संकलन गरेर उनले १६८७ मा ‘प्रिन्सिपिया’ पुस्तक प्रकाशित गरे ।
न्युटनले गुरुत्त्वाकर्षण पत्ता लगाएको सम्बन्धमा एउटा प्रख्यात किस्सा छ । एक दिन स्याउको रूखमुनि बसिरहेका बेला रूखबाट झरेको स्याउ देख्दा उनलाई जिज्ञासा भयो– रूखको स्याउ बोटबाट चुडिएपछि माथि नउडेर किन तल झर्‍यो ? यही प्रश्नको उत्तर खोज्दै जाँदा उनले वस्तुलाई आफूतिर तान्ने गुरुत्त्वाकर्षणको शक्ति पृथ्वीमा भएको पत्ता लगाएको मानिन्छ । कलेज बन्द भएर घर बसेको यही अवधिमा यो घटना भएको मान्ने गरिन्छ ।
सहरमा प्लेगको महामारी समाप्त भएपछि सन् १६६७ (दुई वर्षपछि) न्युटन फेरि कलेज फर्किए । यति बेलासम्म पनि उनलाई विशिष्ट प्रतिभा मानिएको थिएन । उनी माइनर फेलोका रूपमा ट्रिनिटी कलेजमा छानिए । यसपछि भने उनको राम्रो समय सुरु भएको मानिन्छ । कलेज फर्किएको दुई वर्षपछि (१६६९) मा न्युटनले आर्टसमा मास्टर्स डिग्री प्राप्त गरे । त्यतिबेला न्युटन २७ वर्षका थिए । यसैबेला उनले विभिन्न विद्वान्हरूका सिद्धान्त र आविष्कार बारे सोधखोज र लेखपढ गर्न थाले । उनले आफ्नै सिद्धान्तहरूलाई लेखेर आफ्ना गुरु आइज्याक बरोलाई देखाए । यसमा उनले आफ्नो नाम लेखेका थिएनन् ।
१६६९ को जुनमा बरोले त्यो पाण्डुलिपि बेलायतका प्रसिद्ध गणितज्ञ जोन कलिन्सलाई देखाए । अनि, अगस्टमा बरोले न्युटनलाई त्यो पाण्डुलिपिको लेखकका रूपमा चिनाए पनि । न्युटनको त्यही पाण्डुलिपिले पहिलोपल्ट गणितज्ञ र वैज्ञानिकको समूहमा न्युटनलाई चिनियो । उनलाई विशिष्ट प्रतिभाका रूपमा गणना गर्न थालियो । यसको केही समयमा नै बरोले क्याम्ब्रिजको प्राध्यापकबाट राजीनामा दिए, उनको ठाउँमा न्युटन प्राध्यापक भए ।

प्रकाशित : चैत्र २७, २०७३ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?