कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चारानानी

रत्न प्रजापती

सुमिना ओछयानमै थिई । ऊ भर्खर निद्राबाट ब्युँझेकी थिई । हजुरआमाले ‘आ..आ.. भनेर कसैलाई बोलाएको सुनी । उसले कान थापेर सुनी । हजुरआमाले फेरि आ..आ.. भनेर बोलाएको सुनी ।

चारानानी

हजुरआमाले कहाँ बसेर कसलाई बोलाउनुभएको होला ? मनमा खुल्दुली बोकेर सुमिना कोठाबाट निस्की । 

हजुरआमा कौसीमा हुनुहुँदो रहेछ । उहाँ आ..आ.. भन्दै चरालाई बोलाउँदै हुनुहुँदो रहेछ । कौसीभरि चराहरू थिए । हजुरआमा चराका लागि चामल छर्दै हुनुहुन्थ्यो । धेरै परेवा, दुई चारवटा भँगेरा, एक/दुइटा काग, एक/दुइटा सारौं र एउटा सुगा पनि कौसीमा चारो खाँदै थिए । चारो खाँदै चराहरू भुर्र भुर्र उडेको सुमिनालाई सार्‍है मन पर्‍यो । 

पेटभरि चारो खाएर चरा रमाइरहेका थिए । एउटा परेवा भुर्र उडेर हजुरआमाको काँधमै बस्यो । सुमिनाले मनमनै सोची– हजुरआमासँग कस्तो नडराएको होला । हजुरआमाले त्यो परेवालाई हातमा लिनुभयो । अनि उसको जीउमा मायाले सुमसुम्याउनुभयो । परेवा नचलमलाईकन आनन्दले बसिरहयो । सुमिनालाई झन् अनौठो लाग्यो । 

‘हजुरआमा, हजुरसँग चराहरू किन डराउँदैनन् ?’ सुमिनाले उत्सुकतापूर्वक सोधी ।

‘माया गर्नेसित कोही पनि डराउँदैनन् नानी,’ हजुरआमाले सुमिनालाई मायाले सुमसुम्याउँदै भन्नुभयो ।

‘त्यसो भए मैले माया गरेँ भने मसँग पनि डराउँदैनन् त हजुरआमा ?’ सुमिनाले फेरि निकै उत्सुक भएर सोधी ।

‘डराउँदैनन् नानी । माया गर्नेसित कोही पनि डराउँदैनन्,’ हजुरआमाले फेरि भन्नुभयो ।

‘त्यसो भए अबदेखि म पनि चरालाई चारो दिन्छु,’ सुमिनाले खुसी भएर भनी ।

भोलिपल्ट बिहान, सुमिना अरू दिनभन्दा छिटो उठी । हजुरआमा चरालाई चारो दिन जाँदै 

हुनुहुन्थ्यो । सुमिनाले हतारहतार भनी, ‘हजुरआमा, म पनि जान्छु ।’

‘मेरी नातिनी आज कत्ति चाँडो उठेकी । लौ हिँड चरालाई चारो दिन ।’ यसो भन्दै हजुरआमाले सुमिनालाई पनि चरालाई चारो दिन कौसीमा लिएर जानुभयो ।

हजुरआमालाई कौसीमा देख्नासाथ एक बथान चरा आएर कौसीमा बसे । हजुरआमाले चामल छरिदिनुभयो । चराहरू निकै भोकाएका थिए । त्यसैले हतारहतार चारो टिपेर खान थाले । सुमिनाले पनि चामल छरिदिई । पहिलोपटक सानी केटीले पनि चारो हालेको देखेर चराहरूले अनौठो मानेर हेर्दै चारो खान थाले । आफूले हालिदिएको चारो चराले छिटोछिटो टिपेर खाएको देखेर सुमिना खुसीले उफ्रिँदै कराई, ‘हजुरआमा, मैले दिएको चारो पनि चराहरूले खाए ।’ ‘मायाले दिएपछि खाइहाल्छन् नि,’ 

हजुरआमाले भन्नुभयो ।

सुमिना खुसी भएर चराहरूले भुर्र भुर्र उड्दै–बस्दै चारो खाएको हेरिरही । चराहरूले रमाईरमाई चारो खाएको देखेर उसलाई निकै रमाइलो लाग्यो । चराहरू चारो खाएर खुसी भएको देखेर सुमिनालाई आफ्नै पेट पनि भरिएजस्तो लाग्यो । 

चारो सकियो । अघाएका चराहरू बिस्तारै उड्दै यताउता जान थाले । तर नअघाएका चराहरू भने गर्दन तन्काईतन्काई हजुरआमा र सुमिनातिर हेर्न थाले । हजुरआमाले भन्नुभयो, ‘यिनीहरूलाई खान पुगेको छैन । अलिकति चामल छरिदेऊ त नानी ।’ 

सुमिनाले फेरि अलिकति चामल छरिदिई । बाँकी चराहरू उसैगरी छिटोछिटो चारो टिपेर खान थाले । खाँदाखाँदै दुइटा परेवा झगडा गर्न थाले । ‘ए..ए.. यसरी झगडा गर्नुहुन्न ।’ यसो भन्दै हजुरआमाले दुइटै परेवालाई छुट्टयाइदिनुभयो । अनि फेरि परेवाहरू चारो टिपेर खान थाले । यो देखेर सुमिनालाई अचम्म लाग्यो ।

‘हजुरआमा, हजुरले बोलेको पेरवाले बुझ्छन् र ?’ सुमिनाले सोधी ।

‘मायाले बोलेपछि बुझ्छन् नि,’ हजुरआमाले भन्नुभयो । मायाले गर्दा त सबै कुरा राम्रो पो हुँदोरहेछ । सुमिनाले यस्तै बुझी । 

अर्को दिन हजुरआमालाई सन्चो भएन । उहाँ चरालाई चारो दिन जान सक्नुभएन । सुमिना एक्लै चारो लिएर कौसीमा गई । कौसीभरि चराहरू कुरेर बसिरहेका थिए । सुमिनालाई देख्नेबित्तिकै सबै चराहरू चलमलाउन थाले । अब चारो खान पाइने भयो भनेर उनीहरू खुसी भए । तर हजुरआमालाई नदेखेर उनीहरू यताउता हेर्न थाले ।

सुमिनाले कौसीभरि चामल छरिदिई । 

चराहरू चारो टिप्न थाले । यो क्रम केही दिनसम्म चलिरह्यो । 

अचेल चरालाई चारो खुवाउने सुमिनाको दैनिकी नै भएको छ । चरालाई चारो खुवाउन थालेदेखि सुमिना बिहान सबेरै उठ्न थालेकी छ । समयमै स्कुल जान थालेकी छ । अनि स्कुलबाट समयमै घर आउने भएकी छ । होमवर्क पनि समयमै गर्ने भएकी छ । 

सुमिना कौसीमा जानासाथ चराहरू पनि आउँछन् । चराहरू सुमिनाको वरिपरि घुम्छन् । परेवाहरू घुर्र घुर्र गरेर घुर्न थाल्छन् । अरू चराहरू पनि रमाएर चिरबिरचिरबिर गर्न थाल्छन् । आफ्नो वरिपरि चराहरूलाई देखेर सुमिनालाई रमाइलो लाग्छ । चराहरू सुमिनाका साथी भएका छन् । सुमिनाले आऊ भने चराहरू उसको नजिकै आउँछन् । जाऊ भने चराहरू उडेर पर जान्छन् । 

सधैं चरालाई चारो दिने भएकाले अचेल हजुरआमाले सुमिनालाई ‘चारानानी’ भनेर बोलाउनुहुन्छ । हजुरआमाले यसो भन्दा सुमिना मुसुक्क हाँसिदिन्छिन् । 

चारो खान धेरैथरी चराहरू आउने भएकाले हरेक बिहान चराहरूको चिरबिरले सुमिनाको घर संगीतमय हुन थालेको छ । चरालाई चारो दिँदादिँदा सुमिनाले अनुभव गरी– माया गरे सबै साथी बन्छन् ।

प्रकाशित : श्रावण २९, २०७४ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?