कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गल्फका आशा सद्भाव

सुबास हुमागाईं

काठमाडौं — सद्भाव आचार्य ११ वर्षका भए । उनले पछिल्लो दुई सातामा कतार ओपन र पेप्सी ओपन गल्फ प्रतियोगिताको जुनियरतर्फ उपाधि जिते । १७ वर्षसम्मका गल्फरले सहभागिता जनाउने जुनियर गल्फमा उनले पाँच उपाधि जितिसकेका छन् । एक वर्षअघि पहिलो प्रतियोगिता खेल्दै उपाधि जितेका उनले त्यसयता ७ प्रतियोगिता खेलेका छन् । दोस्रो र तेस्रो सहभागितामा उपाधिविहीन रहे पनि त्यसयता उनले लगातार ४ उपाधि जिते ।

गल्फका आशा सद्भाव

बुबा दीपक आचार्यले गल्फ खेलेको देख्दादेख्दै उनमा पनि गल्फको बानी बस्यो । दुई वर्षको उमेरमा क्लब समातेर गल्फ खेल्न थालेका उनले ४ वर्षको उमेरमा कोर्समा प्रवेश गरे । उनले गतवर्ष मात्र प्रतियोगिता खेल्न सुरु गरेका हुन् । आफ्नो बुबालाई गल्फको आदर्श मान्ने उनलाई अमेरिकी गल्फर रिकी फाउलर पनि मन पर्छ ।


पढाइको समयमा गल्फ प्रशिक्षण गर्न नपाए पनि उनी बिदाको दिन दैनिक ६ घण्टा गल्फ प्रशिक्षणमा बिताउँछन् । ठूलो भएर बुबाभन्दा धेरै उपाधि जित्ने उनको लक्ष्य छ । ‘म अहिले बिदाको दिन ६ घण्टा प्रशिक्षण गर्छु । मेरो ड्राइभिङ र चिपिङ राम्रो छ तर पटिङमा भने थप मिहिनेत गर्नुपर्ने छ । अबको पाँच वर्षमा बुबाभन्दा बढी उपाधि सोच राखेको छु,’ उनले भने । बुबा दीपक भने उनलाई त्यति समय नलाग्ने बताउँछन् । ‘उसले निकै राम्रो खेलिरहेको छ । कुनै समय त यहाँ खेल्ने सिनियर खेलाडीभन्दा राम्रो चिपिङ गरेको देख्छु । यो उमेरमा यस्तो प्रदर्शन गर्नु निकै राम्रो हो,’ उनले भने, ‘तर सुरुवाती समयको प्रगतिले भविष्यमा त्यसैअनुसारको नतिजा आउने पक्का हुन्छ भन्ने छैन । अहिले भर्खर उसले खेल्न सुरु गरेको छ । उसले चाहेअनुसार हामीले सहयोग गरिरहेका छौं ।’ 
प्रशिक्षणमा उनले एकै दिनमा १२ सय बल हानेको कुरा दीपक आफैंले पत्याएनन् । सामान्यात: सिनियर खेलाडीले प्रशिक्षणमा अधिकतम ६ सयसम्म बल हान्ने गर्छन् । तर सद्भावको यो लगावले उनकै बुबा दीपक पनि चकित परेका छन् । उनले बिदाको बेलामा गरेको प्रशिक्षणकै भरमा यो प्रदर्शन गरिरहेका छन् । उनी काष्ठमाण्डप विद्यालयमा ६ कक्षामा पढ्छन् ।
दीपकले एक दिन छोराले पीजीए टुर खेलेको हेर्ने सपना साँचेका छन् । ‘पीजीए टुर खेल्ने हाम्रो पनि इच्छा थियो । त्यो सम्भव हुन सकेन । तर अब छोराले पीजीए टुर खेलेको हेर्ने सपना छ । त्यसका लागि हामीले सक्दो सहयोग गर्नेछौं । उसले पनि खेललाई निकै गम्भीरताका साथ लिएकाले त्यसको सम्भावना देख्छु,’ उनले टुंग्याए । 
सद्–भावले अघिल्लो बिहीबार सम्पन्न फाल्डो सिरिजको नेपाल च्याम्पियनसिपमा उमेर नपुगेका कारण सहभागिता जनाउन पाएनन् । १२ देखि २१ वर्षका खेलाडीले खेल्ने यस प्रतियोगिता जुनियरतर्फ नेपालको सबैभन्दा ठूलो प्रतियोगिता हो । यसमा विजयी हुने खेलाडीले एसियन च्याम्पियनसिप हुँदै विश्व च्याम्पियनसिपमै खेल्न सक्छन् । आउने वर्षमा सद्भावले यसै प्रतियोगितामार्फत सफलताका कथा बुन्नेमा सम्पूर्ण नेपाली गल्फले आशा राखेको छ ।

प्रकाशित : पुस २, २०७४ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?