कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘संविधानको समीक्षा खोइ ?’

पूर्वप्रधान्यायाधीश कल्याणकुमार श्रेष्ठ अवकाश जीवनलाई घरेलु कामसँगै धर्म, दर्शन पुस्तक अध्ययन गरेर बिताउन चाहन्थे । तर, इन्टरनेसनल कमिसन अफ जुरिट्स (आईसीजे) को आयुक्तमा ५ वर्षका निम्ति निर्वाचित भएपछि फेरि उनलाई कानुनकै पुस्तकले छाडेनन् । फेरि उनी राष्ट्रिय/अन्तर्राष्ट्रिय कानुन अध्ययनमै घोत्लिएका छन् ।

प्रधानन्यायाधीशबाट अवकाश लिएपछि केही समय त के गर्ने भन्नेमै बित्यो । केही दिन घरको मर्मत–सम्भारमा बिताएँ ।

‘संविधानको समीक्षा खोइ ?’

गहन किताब पढ्न समय लाग्छ 

यो पढ्छु, त्यो पढ्छु भनी पुस्तकहरू साँचिराखेको थिएँ । पछिल्लो समय हिन्दु, बौद्ध दर्शन पढ्छु भनेर किताबहरू थन्क्याएर राखेको छु (आफू छेउका पुस्तकहरू देखाउँदै) । भागवत्–गीतालगायतका पुस्तक पनि साँचेर राखेको छु । गहन अध्ययन गर्न समय लाग्छ । गहकिला किताब निधार खुम्च्याएर पढ्नुपर्छ । फिक्सन जस्तो सरर्र पढ्न सकिँदैन । हरेक श्लोकहरूको अर्थ केलाएर पढ्नुपर्छ र फुर्सतको समय चाहिन्छ । तर यतिबेला धेरै समय मिलेको छैन । थोर–थोरै गरेर पढ्न थालेको छु । दैनिक गरिने काम मुद्दा, ममिला, फैसला, आदेशजस्ता विषयका चाहना घटेको छ । तर राष्ट्रियसहित अन्तर्राष्ट्रिय रूपमा कानुन, मानव अधिकारका विषय र ‘इन्टरनेसनल रुल अफ ल’ लाई ‘नेसनल रुल अफ ल’ मा हेर्ने, अन्तर्राष्ट्रिय कानुनअनुसार हाम्रो मुलुकको कानुन कसरी गइरहेको छ, त्यसबारे गहन अध्ययन गरिरहको छु ।

रुचि हिन्दु दर्शनको 
विद्यार्थीकालमा मैले बढी किताब पढें । त्यस बेला संसारका उत्कृष्ट लेखकहरूको किताब पढ्ने मौका पाइयो । त्यसपछि काम गरेपछि व्यावसायिक विषयमा ध्यान केन्द्रित रह्यो । कानुन, विकास, अर्थतन्त्र, प्रशासन, संसारका पद्धतिहरू ध्यान रह्यो । रुचिकै कुरा गर्नुपर्दा हिन्दु दर्शन हो, त्यसले साँच्चिकै ज्ञान र विद्यालय पनि हो । यसले निखार दिन्छ । 
म फिक्सनका लागि होइन
मैले उपन्यासहरू पढें । अमर न्यौपानेको ‘सेतो धर्ती, बुद्धीसागरको ‘कर्नाली ब्लुज’ राम्रा छन् । ‘सेतो धर्ती’ पढेपछि आञ्चलिक साहित्य अत्यन्त शशक्त भएको पाइन्छ । भाषाको अभिव्यक्ति सक्षम छ । आजको साहित्यमा पनि यो पाइन्छ । साहित्य पढ्न समय लाग्छ । तर सबैको अर्थ चाहिन्छ । म अन्डरलाइन गरेर पढ्छु । त्यसले पढाइ धेरै छिटो जाँदैन । पढाइ अर्थ कोट्याएर पढ्ने हो । फिक्सनमा समय लाग्ने भएर म त्यसका लागि होइनजस्तो लाग्छ । 

पढाइको दायरा थप फराकिलो 
अवकाशपछि खालि समयमा अलि आराम तरिकाले पढ्छु भन्ने सोचमा थिएँ । तर इन्टरनेसनल कमिसन अफ जुरिट्स (आईसीजे) को आयुक्तमा ५ वर्षका निम्ति निर्वाचित भएपछि जिम्मेवारी थपियो । अझ अध्ययनका दायरा थप फराकिलो पार्नुपर्ने भयो । आईसीजेको ‘म्यान्डेट अफ ल’ मा विभिन्न अन्तर्राष्ट्रिय कानुन प्रयोगबारे बुझ्नुपर्छ । अब राष्ट्रियबाट अन्तर्राष्ट्रिय तहकै कानुनहरू अध्ययन गर्नुपर्छ ।

कानुन मात्र पढेर कानुन बुझिन्न 
धेरै पाना पढ्ने भन्दा पनि अक्षरहरू अर्थ पूर्ण छ भने मात्र पढ्छु । मैले सामान्यतया पढ्नेचाहिँ नन–फिक्सन नै हो । पछिल्लो समयमा मैले पढेको कानुन, विकास र अर्थशास्त्र हुन् । कानुन पढेर ‘कानुन’ जानिन्न । कानुन घोकेर, मुखाग्र गरेर हुँदैन । त्यसका मूल्य/मान्यताँसग जोडिएका दार्शनिक पुस्तक पढ्नुपर्छ । कानुन बुझ्न निर्माण भएको सन्दर्भ, पृष्ठभूमि, इतिहास र कार्यान्वयनको धरातल पनि बुझ्नुपर्छ । कानुन बुझ्न अर्थशास्त्र, समाजशास्त्र, संस्कृति दर्शनशास्त्र, संख्याशास्त्र पढ्नुपर्छ । भन्नुको मतलब कानुन विकास र अर्थतन्त्रको अन्तरसम्बन्ध अध्ययन गरेर सकारात्मक योगदान दिन पाए हुन्थ्यो भन्ने लागिरहेको छ । संवैधानिक कानुनका सबै विधा मेरा लागि रुचिकर छन् । 

नयाँ संविधानका सन्दर्भ
पछिल्लो दिनमा सबैभन्दा निराशलाग्दो कुरा के छ भने संविधान जारी भएपछि कुनै किताब आएन । लेख छापिएन । संविधानको रिभ्यु भएको देखिंदैन र अनुसन्धान पनि छैन । सम्पादकलाई चिठीसमेत लेख्दैनन् । यो कस्तो उल्लासविहीन संविधान हो ? संविधान जारी भएपछि जसरी सन्नाटा छाएको छ, यसले कुनै ठूलै आँधीलाई त निम्त्याइरहेको छैन भन्ने मलाई चिन्ता छ । यो क्षेत्रमा विद्वत्वर्गको ध्यानाकषर्ण भएको छैन । संविधानका विषयवस्तुमा विद्वत्वर्ग, दार्शनिक, प्राज्ञिक चिन्तकहरू लागेको देखिंदैन ।

त्यो जिब्रोको स्वाद मेटिएन
बजारमा नयाँ–नयाँ साहित्य आएका छन् । धरातलीय विषयवस्तु आएका छन् । तर म पुराना जमानाका साहित्यको विद्यार्थी परें । मैले पढेको ठूला मान्छे भनेको लेखनाथ पौडेल हुन्, बालकृष्ण सम हुन्, लक्ष्मीप्रसाद देवकोटा हुन्, सिद्धिचरण श्रेष्ठ हुन् । मेरो जिब्रोमा उनीहरूले जुन स्वाद दिएका छन्, अरूले मेट्न सकेका छैनन् । समले जसरी हरेक अक्षर माझेको विषय पढ्न अझै पनि पाइँदैन । एउटा किताब वा कविता लेखे पुग्दो रहेछ । सिद्धिचरणले थोरै कविता लेखे, एउटै ‘ओखलढुंगा’ लाई नै विश्व बनाइदिए । उनको एउटा कविता छ, ‘मेरो प्रतिबिम्ब’ भन्ने, हालको राजनीतिमा त्यो खुरु–खुरु सम्झिए पुग्छ:

दुइटा लठ्ठी, एउटा ढुंगा
ढुंगा मास्तिर एउटा फर्सी 
राखी यो हो मानिस भन्दै 
बालकहरूले तानिरहे झैं,
को त्यो पथमा आइरहेको ?

सत्य नचिन्ने, झुट अंगाल्ने
गिर्दै तलतल म उठें भन्ने
वातावरण नै दूषित पार्ने,
वरपर हेरी देख्न नसक्ने
को त्यो पथमा आइरहेको ?

आकृति हो तर रूपविहीन
भाषा हो तर भावविहीन
मान्छे हो तर आत्माहीन
चारैतिरको बन्दविचार–,
यो मेरो प्रतिबिम्ब हिँडेको ?

मान्छे अहिले मान्छेजस्ता छैनन् । मान्छेको प्रतिबिम्बजस्ता मान्छेहरू छन् । यतिखेर, देवकोटाको एउटा ‘पागल’ कविता पढे पुग्छ, भूपी शेरचनको ‘हामी’ पढे पुग्छ । आफूले आफूलाई कटाक्ष गरे पुग्छ । आत्मसमीक्षा गर्न त्यो पर्याप्त छ । त्यस बेला दरो सन्देशहरू भएको, भित्र आत्मासँगै तोड्ने, तीक्ष्ण, त्यस्तो व्यंग्ययुक्ति रचनाहरू लेखिन्थे । मैले यो कुराहरूको सम्झना गर्दा आधुनिक लेखहरू र कविहरूलाई नजरअन्दाज गर्न मिल्दैन । म खाली समयको अन्तरालमा भइसकेको प्रगतिबारे साक्ष्तकार हुन नसकेको हो । सम्झन नसकेको मात्र हो । तर पछिल्ला कविताहरू पनि पढि/ सुनिराखेको हुन्छु, राम्रा छन् । 

राजनीतिक प्रक्रियाको निचोड कानुन 
कुनै पनि विषयमा समझ निर्माण गर्नुपर्छ, समझ स्वतस्फूर्त पाइँदैन । त्यसका लागि धेरै मिहिनेत गर्नुपर्छ । कानुनको अध्ययन गर्दा त्यस बेलाको इतिहास, निर्माण मात्र पढेर पुग्दैन, त्यसको पृष्ठभूमिलाई मात्र बुझेर पुग्दैन । त्यसको प्राविधिक पक्ष मात्र बुझेर पुग्दैन । कानुनको आर्थिक, सामाजिक, राजनीतिक सबै पक्ष हुन्छ । राजनीतिक प्रक्रियाको सर्वोत्तम निचोड कानुन हो । राजनीतिक प्रक्रियाको मसिना र सानो निचोड हो, कानुन । त्यसैले जसले राजनीति बुझ्दैन, उसले कानुन बुझ्दैन । राजनीतिकसँग सामाजिक, आर्थिक, संस्कृति सबै पक्ष जोडिएका हुन्छन् । त्यसकारण ज्ञानको फराकिलो धरालत निर्माण नगरेसम्म, त्यसमा आफ्नो परिपक्व धारणा बनाउन सक्ने क्षमता नभएसम्म, कानुनलाई बुझन र प्रयोग गर्न सकिन्न । विवेकशील र न्यायपूर्ण प्रयोग गर्न अझ सकिन्न । 

लोकतन्त्रको लाभ लिनुपर्छ 
ज्ञानको खोज हो लोकतन्त्र । र, लोकतन्त्र नभएर ज्ञानको खोज रोकिंदो रहेनछ । लोकतन्त्र नहुँदा पौडेलले ‘पिँजडाको सुगा’ लेखे । त्यो ‘मेरो प्रतिबिम्ब’ २००७ सालको समयमा लेखिएको हो । जुन बेला मुलुकमा राणा शासन थियो । खालि अभिव्यक्ति शैलीको कुरा हो । आज उन्मुक्त हुन पाइन्छ, त्यस बेला सुषुप्त रुपमै गर्नुपथ्र्यो । के बीपीले जेलभित्रबाटै लेख्न भ्याएनन् र ? ठू–ठूला विद्वान्ले जेलबाटै ल्याएका साहित्य महत्त्वपूर्ण छन् । लोकतन्त्रमा ह्वाङ्गै हुन्छ होला र अर्कोतर्फ जेलमा थुनिएको हुन्छ होला । फराकिलो आकाशमा विचरण गर्ने चराले जति धेरै हेर्छ । वसन्त सम्झेर शिशिरमा कराउने कोइलीले झैं, वसन्त सम्झेर लेख्ने/पढ्ने होला । सम्झेर लेख्नु र भोगेर लेख्नुमा अन्तर हुन्छ । त्यसको मतलब लोकतन्त्र नभए हुन्छ भन्ने होइन । लोकतन्त्रले मुक्त आकाशमा घुम्ने अवसर दिन्छ । हिजोको प्रतिबन्धित अवस्थामा त त्यति राम्रो साहित्य आएको थियो । त्यही अनुसार लोकतान्त्रिक अवस्थामा गुणस्तरीय कृति आएनन् भने लोकतन्त्रले दिएको पूर्ण लाभको सदुपयोग गर्न नसक्नु हाम्रो अयोग्यता हो । पाठकले लेखकलाई प्रोत्साहित गर्न नसक्नु र लेखकले पाठकलाई राम्रा कृति दिन नसक्नु, दुवैका कमजोरी होलान् ।

राष्ट्रिय गीत नै महाकाव्य 
मलाई उपन्यासमा बीपी कोइराला, काव्यमा लक्ष्मीप्रसाद देवकोटा, लेखाइमा बालकृष्ण सम मन पर्छ । मेरो जीवनमा प्रभाव पारेको लेखकहरू उनीहरू नै हुन् । भूपी शेरचनको काव्यको सीपचाहिँ अन्यमा देखिएको छैन । मलाई उनको पनि प्रभाव छ । राष्ट्रिय गीत लेखेका ब्याकुल माइला पनि मन पर्छ । उनको सिर्जनशीलता देखेर म प्रभावित भएँ । राम्रो रचना लेख्न सके उनले । अहिलेको पुस्ताले र हामी नेपालीहरूले अहिले यो राष्ट्रिय गीतलाई नै महाकाव्य बुझिदिए पुग्छ । योभित्र धेरै कुरा छन् । हरेक साहित्यले यसलाई विस्तारित गर्न सकेको भए, हुन्थ्यो । यसले धेरै फाँट दिएको छ । ब्याकुलका पाइलालाई हामीले अहिले प्रतिनिधिका रूपमा लिनुपर्छ । 
 

प्रकाशित : माघ ८, २०७३ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?