कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साठी वर्षअघिको सिंहदरबार कब्जा

रामप्रसाद राई नेपाली कांग्रेसको मुक्ति सेनाका अग्रणी योद्धा थिए । तर २००७ सालमा राजा, राणा र कांग्रेसबीच दिल्लीमा त्रिपक्षीय सम्झौता भएपछि यसको विरोधमा उभिए उनी । सम्झौताले राणाहरूलाई सत्तामा पुन:स्थापित गरेको, राष्ट्रिय स्वाधीनतामा आँच पुगेको र सच्चा प्रजातन्त्रविरुद्ध षड्यन्त्र भएको बताउँदै माघ ८, २००८ सालमा रामप्रसाद राईले डा. केआई सिंहसँग मिलेर सिंहदरबार विद्रोह गरेका थिए । यसै सन्दर्भमा प्रस्तुत छ, आज सार्वजनिक हुन गइरहेको भोगीराज चाम्लिङद्वारा लिखित ‘जननायक रामप्रसाद राई : माझकिरातको क्रान्तिदेखि सिंहदरबार विद्रोहसम्म’ पुस्तकको सम्पादित अंश :

२००८ साल माघ ४ गते भूगोलपार्कमा भाषण गरेपछि रामप्रसाद राईलाई सरकारले गिरफ्तार गर्‍यो । सुरुमा हनुमानढोका र भोलिपल्ट भद्रगोल जेलमा थुनियो । छोरा मानबहादुर राई भन्छन्, ‘भूगोलपार्कको भाषण सकेपछि राति बुबा र म सँगै आयौं ।

साठी वर्षअघिको सिंहदरबार कब्जा

काठमाडौंमा रामप्रसाद राई गिरफ्तार 

म पनि बुबासँगै थिएँ । मुमाले खाना बनाइराख्नुभएको रहेछ । खाना खानुहुँदै थियो, आधासरो होला खानुभएको थियो । बहिनीलाई काखमा लिएर खुवाउनुहुँदै थियो, बाहिर ढोकामा ‘ढयाकढयाक’ गरेको आवाज आयो ।’ 
बुबाले भन्नुभयो, ‘को हो ?’ 
‘भान्सा गर्नुस्, म हेरेर आउँछु’ भनेर मुमा हेर्न जानुभयो । यसो झ्यालबाट हेर्दा गाडी अनि प्रहरी पनि देख्नुभएछ । म पनि कुनामा बसेर खाँदै थिएँ । दिदी पनि थिइन् । 
‘होइन हजुर गाडी पनि छ, पुलिस, मिल्ट्रीजस्ता मान्छेहरू पनि छन्,’ मुमाले भन्नुभयो । एकदम अँध्यारो थियो । 
बुबाले भन्नुभयो, ‘को रैछ त ?’ 
मुमाले ‘होइन हजुर पुलिसजस्तो छ । क्या हो हजुर बरु बाहिरबाट यसो...’ भन्नुभाथ्यो, ‘के रे ? के भन्छौ तिमी ?’ भनेर बुबा झट्ट आउनुभयो र झ्यालबाट भन्नुभयो, ‘को हो ?’ 
‘हजुर, हामी पो, हजुरलाई माथि बोलावट भा छ, लिन आएको’, तिनीहरूले भने । 
बुबाले भन्नुभयो, ‘ल ठीक छ, म कपडा लाउँछु ।’ भात छोड्नुभयो । कपडा लगाएर फुत्त बाहिर निक्लिहाल्नुभयो । 
‘हजुर माथि गाडीमा बस्नुस्,’ उनीहरूले भने । 
अनि ठयाप्प राखे, हुइयाँ लगे । 
हामी त जाने कुरा भएन । हाम्रो गार्डचाहिँ गएछ । उसले पो समाचार ल्यायो, ‘लेफ्टिनेन्ट सापलाई हनुमानढोकाभित्र लगे ।’ 
आमा चिन्ताले रातभरि सुत्नु भएन । भोलिपल्ट भद्रगोल लगेपछि चाहिँ बुबाले खबर पठाउनुभयो, ‘म यहाँ भद्रगोलभित्र छु । केही चिन्ता नमान्नू । मलाई ल्याएर यहाँ राखेका छन् ।’ 
सरकारभित्र पनि खैलाबैला भयो होला । उहाँलाई ‘रिलिज’ गर्ने भन्ने कुरा भएको थियो, बुबा मान्नुभएन । मुक्तिसेना उत्तेजित भइगए । रामप्रसाद राईलाई माघ ४ गते गिरफ्तार गरिएको थियो । पुष्पकर शाक्यका अनुसार रामप्रसाद राईलाई हनुमानढोका पुलिस चौकीका तत्कालीन इन्चार्ज बलदेव उपाध्यायको कमान्डमा गएको रक्षादलका जवानहरूले गिरफ्तार गरेका थिए । मुगाधन राई खुलासा गर्छन्, ‘मेरो, जंगवीर राई र सुरवीर राईका कमान्डमा धेरै मुक्तिसेना थिए । शूरवीर राईको कमान्डमा रहेको मुक्तिसेनाहरूले ले. रामप्रसाद राईलाई पक्रेर थुनेका थिए ।’... 
रामप्रसादले फोडे डा. केआई सिंह थुनिएको ताला 
सिंहदरबार कब्जा गर्नुभन्दा पहिले लप्टन रामप्रसाद राई, मेजर नारायणसिंह, अग्निप्रसाद खरेल, चन्द्रकर शाक्यलगायतबीच गोप्य छलफल र योजना बनेको थियो । उनीहरूले सिंहदरबार कब्जा गर्ने योजना निर्माण गर्दा ‘रगतले सहीछाप गरेका’ थिए । तर, सिंहदरबार विद्रोहपछि पक्राउ पर्ने डरले माटोमुनि गाडेर लुकाउँदा नष्ट हुन पुग्यो । 
रामप्रसाद राईका केही सहयोगीले माघ ११ गते शुक्रवार सिंहदरबार कब्जा गर्न सुझाव दिएका थिए । किनभने, शनिबारको दिन सरकारी सेना बिदामा हुने भएकोले विद्रोहलाई नोक्सान हुँदैन भन्ने तर्क थियो । पुष्पकर शाक्य अहिले पनि चुकचुकाउँदै भन्छन्, ‘हाम्रो बुबा र म रामप्रसाद राईलाई भेट्न जेलमा गएका थियौं । उहाँले माघ ८ गते राति ११ बजे बिजुली निभेपछि सिंहदरबार कब्जा गर्ने भनेर हाम्रो बुबालाई भन्नुभयो । ‘मैनबत्तीहरू तयार गरिराख्नू’ भन्नुभएको थियो । हाम्रो बुबाले माघ ८ गते सिंहदरबार कब्जा गर्नु हुँदैन भनेर सल्लाह दिनुभएको थियो । उहाँले मंगलबार बिहान टुँडिखेलमा सेनाको कवाज हुन्छ, सेनाहरू जम्मा हुन्छन् त्यसैले अप्ठेरो हुन्छ, शनिबार (बिहान) भए कवाज खेल्दैनन्, मान्छेहरू पनि घरमै हुन्छन् त्यस दिन कब्जा गर्‍यो भने राम्रो हुन्छ भन्नुभएको थियो । अग्निप्रसाद खरेलले मंगलबार साइत छ भनेर मंगलबार नै सिंहदरबार कब्जा गरेको हो । (शुक्रबार राति) कब्जा गरेको भए रामप्रसाद राईहरू सफल हुन्थे । उनीहरूको राज चल्थ्यो ।’ गृह मन्त्रालयको स्पष्टीकरणलाई आधार मान्ने हो भने शनिबार अर्थात् शुक्रबार बेलुका नै सिंहदरबार कब्जा गर्ने तयारी थियो । किनभने, माघ ८ गते मंगलबार २ बजे रक्षादलका जवानहरूबाट हतियार लिई अफिसरलाई जिम्मा दिने आदेश दिइएकोले शनिबारको सट्टा मंगलबार सारिएको थियो । हतियार खोसिएपछि विद्रोह गर्नुको अर्थ नहुने ठानी मंगलबारकै दिन सिंहदरबार विद्रोह भएको हुन सक्छ अथवा हतियार खोस्ने आदेश र कब्जा गर्ने ‘साइत’ संयोग मात्र पनि हुन सक्छ । 
सरकारप्रति रक्षा दलको असन्तुष्टि चुलिँदै थियो । यही बेलामा रामप्रसाद राईलाई गिरफ्तार गरेर सेन्ट्रल जेलमा राखियो । राणा शासन ढाल्न पूर्व २, ३, ४ नम्बर र धनकुटा जिल्लामा सैन्य नेतृत्व गरेका आफ्ना कमान्डरलाई पुरस्कृत गर्नुको सट्टा उल्टै गिरफ्तार गरिएपछि रक्षादलका रूपमा चिनिने जनमुक्ति सेनाहरू चरम असन्तुष्ट हुन पुगे र आफ्नो भविष्यमाथि अँध्यारो बादल मडारिएको देखे । उनीहरूले रामप्रसाद राईलाई मृत्युदण्ड दिइने हल्ला पनि सुने जुन कुरा उनीहरू कदापि देख्न र हुन दिन चाहँदैनथे । गिरफ्तार गरेर भद्रगोल जेलमा राखेको भोलिपल्टदेखि नै मुक्तिसेनाहरूले रामप्रसाद राईको टेबहालस्थित डेरामा हतियार जम्मा गर्न थाले । कोहीले स्टेन गन ल्याए, कोहीले ब्रेनगन ल्याए, कोहीले रिभल्बर र गोलीगठ्ठाहरू ल्याएर कोठाभरि टमाटम राखे । मुक्तिसेनाहरू भन्थे, ‘यहाँ राजधानी क्याप्चर गर्छाैं । हाम्रो कमान्डरलाई थुने, कमान्डरलाई मुक्त गराउँछौं ।’ ‘भरै पर्‍यो भने हामी यहीँबाट लड्नुपर्छ, हामीलाई हतियार बाहिरै चाहिन्छ भनेर हामीले यहाँ ल्याएर राखेका छौं, यो हजुरले कुनै अप्ठयारो नमान्नुहोला, भरै केही पर्‍यो भने हतियार, गोलीगठ्ठा चाहिन्छ । त्यसकारण हामीले यहाँ ल्याएर राखेको,’ उनीहरू रामप्रसाद राईकी श्रीमती दिलकुमारीलाई भन्थे । त्यही हतियार प्रयोग गर्दै मुक्तिसेनाको एउटा समूहले रामप्रसाद राईलाई सेन्ट्रल जेलबाट मुक्त गर्‍यो । 
जनमुक्ति सेनाले रामप्रसाद राईलाई जेलमुक्त गरेर उनकै नेतृत्वमा सिंहदरबारमा बन्दी बनाइएका डा.केआई सिंहलाई छुटाइयो । यसपछि मुक्तिसेनाका जवानहरू रामप्रसाद राईको परिवारमा सोबारे जानकारी दिन आए । मानबहादुर राई भन्छन्, ‘हाम्रो कमान्डरलाई भरे नै ल्याउँछौं, हजुरले चिन्ता नमान्नुस्, निकालिसक्या छौं, निकालेर सिंहदरबारमा राख्या छौं’ भन्न थाले । हाम्री मुमाले ‘को को के के छ ?’ भन्दा ‘यहाँबाट राती जेल फुटाएर उहाँलाई हामीले निकाल्यौं । त्यहाँबाट हाम्रो कमान्डरको आदेशअनुसार सिंहदरबारमा थुनिएका डा.केआई सिंहलाई पनि जेल फोरेर निकाल्यौं । र, उहाँहरूको छलफल भइराखेको छ’ भने । मुमाले ‘मेरो श्रीमान् सकुशलै हुनुहुन्छ होला नि !’ भन्दा ‘एकदम चिन्ता मान्नु पर्दैन हजुरले’ भने । तर, गृह मन्त्रालयको स्पष्टीकरणमा डा. केआई सिंहलाई छुटाएपछि मात्र रामप्रसाद राईलाई छुटाइएको बताइएको छ । तर, यो सही हो जस्तो लाग्दैन किनभने डा. केआई सिंह र जनमुक्ति सेनाका बीचमा प्रत्यक्ष सम्बन्ध थिएन । जनमुक्ति सेना परिचालन रामप्रसाद राईमार्फत् नै भएकाले पहिला रामप्रसाद राईलाई मुक्त गरेपछि मात्रै उनको नेतृत्वमा डा. सिंहलाई मुक्त गरिएको थियो । 
मुक्तियोद्धा श्रीपाल राई भन्छन्, ‘रामप्रसाद राईले तहसनहस भएको मुक्तिसेना पुनर्गठन गरे । डा. केआई सिंहलाई सिंहदरबारबाट मुक्त गराए । मुक्तिसेनाले एकरातभरि सिंहदरबार कब्जा गर्‍यो ।’ यस्तै भनाइ मुक्तिसेना सर्वधन राईको पनि छ । मुक्तिसेना मुगाधन राईको भनाइ पनि श्रीपाल र सर्वधन राईकै जस्तै छ । भन्छन्, ‘डा.केआई सिंहलाई सिंहदरबारमा तीन महिना राखिएपछि रामप्रसाद राई प्रजातन्त्र आएपछि पनि किन जनतालाई कैद गर्ने भन्ने गुनासो गर्नुहुन्थ्यो । रामप्रसाद राईले म र एकदेव आलेसँग पनि सल्लाह गर्दै थिए ।’ रक्षादलको सिंहदरबार विद्रोहमा साथ दिने अर्का व्यक्ति हुन् एकदेव आले । 
भद्रगोल जेलबाट निस्किएपछि रामप्रसाद राईले नेतृत्व गर्दै सिंहदरबार पुगेर डा.केआई सिंहलाई थुनिएको कोठाको ताला राइफलले फोडी मुक्त गरेका थिए । मुक्तिसेनाका पदमबहादुर राई बताउँछन्, ‘रामप्रसाद राईलाई मुक्त गरेपछि उहाँकै नेतृत्वमा ताला फोरी केआई सिंहलाई पनि छुटायौं । त्यस बेला रातको ११ बजे तोप लाग्थ्यो । तोप लागेपछि बत्ती निभाउनुपर्ने । हामीले यसकै फाइदा लियौं । डा.केआई सिंहलाई जेलबाट निकाली विशाल जुलुस गरिएको थियो । प्रेमबहादुर राई र पदमहादुर राईका अनुसार यसरी मुक्त गरिएका दुई नेताहरूले सानो टुँडिखेल तोपखानाको डिलनेरको खरीको रूखको फेदमा बसेर १४ जना मन्त्रीहरू पक्रेर ल्याउन अह्राएपछि उनीहरू समात्न गएका थिए । प्रत्यक्षदर्शी पुष्पकर शाक्य बताउँछन्, ‘...सिंहदरबार कब्जा गर्ने राति बुबा र म राति तीन पटक सिंहदरबारमा हेर्न गयौं । बत्ती निभेर अँध्यारो भएको थियो । सुन्धारासम्म गयौं बुबा र म । यताबाट पनि कुकुर भुकेको सुनिन्थ्यो, उताबाट पनि कुकुर भुकेको सुनिन्थ्यो । रामप्रसाद राईहरू त जेलबाट निस्केर केआई सिंहलाई पनि निकालेर टुँडिखेलमा जम्मा भएका रहेछन् । रक्षादलका सेनाहरू सिंहदरबारको वरिपरि त्रिपुरेश्वरसम्म गार्ड बसेका रहेछन् ।’ 
सिंहदरबार कब्जा गरिएको भोलिपल्ट माघ ९ गते बिहान मुगाधन राईलाई गठ्ठाघर कब्जा गर्न पठाइएको थियो । अमेरिकाबाट ल्याइएका अत्याधुनिक हतियार त्यहाँ रहेको हल्ला चलेको थियो । मुगाधन राईले रक्षादलका पाँच–छ सय जनमुक्ति सेनासहित गएर गठ्ठाघरमाथि आक्रमण गरी त्यहाँ रहेका तीन ट्रक हातहतियार पनि ल्याउन सफल भए तर सिंहदरबारतर्फ आउँदाआउँदै डिल्लीबजारमा राष्ट्रिय सेनाका कालीबहादुर र कालीप्रसाद दलले घेराबन्दी गरेर सबैलाई पक्राउ गर्‍यो । उनी भने भाग्न सफल भए । 
मुगाधन राई भन्छन्, ‘... डा. केआई सिंहलाई ले. रामप्रसाद राईका नेतृत्वमा जेलबाट निकाली विशाल जुलुस गर्‍यौं ।’ विद्रोही रक्षादलले ‘छाप लगाएको कागज बोकेपछि मात्र काठमाडौंमा यताउता हिँड्न’ पाउने व्यवस्थासमेत गरेको थियो । 

प्रकाशित : माघ ८, २०७३ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?