कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेइजिङमा किचेन कमान्ड

भोजपुरका विष्णु मगर चीनको राजधानी सहरस्थित पाँचतारे होटल ‘बेइजिङ सेराटन’ मा एक्जुकेटिभ सेफ छन् । कुनै बेला काठमाडौंको सामान्य होटलमा भाँडासमेत माझेका यिनी कसरी यो स्थानसम्म आइपुगे ?

चिनियाँ राजधानी सहरको ‘बेइजिङ सेराटन’ मा भोजपुरे विष्णु मगर, ४१, को लोभलाग्दो दैनिकी देख्न पाइन्छ । उनी हुन् त्यहाँका एक्जुकेटिभ सेफ । कर्मचारीहरू मात्र ४ सय ६० जना भएको उक्त पाँचतारेमा ४५ प्रतिशत ‘फुड एन्ड वेभरेज’ मा छन्, जसको कमान्ड उनै मगरको हातमा छ ।

बेइजिङमा किचेन कमान्ड

सञ्जीव गिरी

होटलमा इटालियनदेखि जापानीसम्म, चिनियाँदेखि मल्टिकुजिनसम्मको दायरा समेट्ने ७ वटा त आलिसान रेस्टुराँ छन्, दिनहुँ हजारौं जुट्ने ठूल्ठूला पार्टी आयोजना हुन्छन् । जसमा पस्किने दजर्नौं स्वाद र परिकारले होटलको इज्जत धानेको छ । मगरले होटल उद्योगमा चल्तीकै भनाइ दोहोर्‍याए, ‘पाहुनाले होटलका अरू सबै कमजोरी बिर्सन सक्छन्, खानामा भने त्यो लागू हुँदैन ।’
काठमाडौंका पाँचतारेमै पनि नेपाली सेफले कमान्ड सम्हाल्न थालेको धेरै भएको छैन । जति छन् ती औंलामा गन्न सकिन्छन् । त्यसमाथि होटल म्यानेजमेन्ट नपढीकनै, चीनको बाटो नापेर यो तहसम्म पुग्नु चानचुने होइन ।
कक्षा ९ मा पढ्दै गर्दा काठमाडौं छिरेका उनी ठमेलको एक होटलमा भान्छा–सहयोगी बने । ‘तरकारी काट्नेदेखि भाँडा माझ्नसम्म सघाइयो,’ उनले सुनाए । त्यसबीचमा उनले काठमाडौंका झन्डै आधा दर्जन होटल र रेस्टुराँ चहारे, जसबाट हुने आम्दानीकै भरमा अर्थशास्त्रमा स्नातकको पढाइसमेत सके । उनले होटल म्यानेजमेन्ट किन पनि पढेनछन् भने आफू कुनै बेला एक्जुकेटिभ सेफ बनिएला भन्ने उनको मनले कहिल्यै मानेन ।
‘पैसा कमाउनुपर्छ भन्नेचाहिं थियो,’ ठन्डीले समातिसकेको मौसमबीच मंसिरको पहिलो साता होटलकै एक रेस्टुराँमा मगरले सुनाए, ‘बीचमा बिहे भयो, छोरा जन्मिएपछि त औसतभन्दा कमको कमाइले भविष्य चुनौतीपूर्ण लाग्न थाल्यो ।’ लाखौं नेपालीसामु हुने सहज विकल्पझैं उनीसमेत विदेश हान्निन चाहे । उनले मध्यपूर्व ताकिरहेका थिए । त्यसै बेला काठमाडांैमा एक नेपाली साथी भेटिए जसले नेपालीहरूले चलाएको एक रेस्टुराँमा काम गर्न उनलाई सांघाई पुर्‍याउने भए । यो सन् २००२ तिरको कुरा हो ।
विश्वको सबैभन्दा बढी मानिस बसोबास गर्ने सांघाई सहर विश्व आर्थिक केन्द्रको रूपमा शीर्ष स्थानमा छ । जसको भव्यतालाई एक–दुई कुनै पक्ष समातेर व्याख्या गर्न पनि गाह्रो पर्छ । तर मगर भने त्यो भव्यताको लहरभित्र मिसिन सकेनन् । एकातर्फ उनलाई चिनियाँ भाषा ठप्पै आउँंदैनथ्यो भने अर्कोतर्फ उनी काम गर्ने रेस्टुराँ पुगेको दुई महिनामै बन्द भयो ।
पुरानै रेस्टुराँका केही साथीहरूले एउटा बन्द भएको पुरानो बार किनेर रेस्टुराँ बनाए । त्यसपछि मगर त्यहीं काम गर्न थाले । त्यतिखेर हरेक तीन महिनामा भिसा लगाइरहनुपथ्र्यो भने ९ महिनामा त चिनियाँ भूमि छाडेकै हुनुपथ्र्यो । ‘पैसा पनि सोचेजसरी कमाइएन अनि मलाई दिक्क लाग्यो,’ उनले सम्झिए, ‘तर नेपाल फर्किएपछि फेरि उही त हो, मर्नुभन्दा बहुलाउनु निको भन्दै यतै फर्किएँ ।’
धन्य फर्किएछन् उनी । नत्र, सायद उनी पनि गल्फ छिर्ने लाखौं कामदारकै भीडमा हराउन सक्थे जहाँ उनको ‘करिअर’ आफ्नो क्षमता र रोजाइइतरकै काममा मोडिने सम्भावना ज्यादा थियो । किनकि त्यस पटक चीन फर्किंदा उनको दाउ सांघाईकै पाँचतारे ‘पुदोङ सांग्रिला’ मा लाग्यो जहाँ उनी स्पेस्यालिटी सेफ बने । सन् २०११ सम्ममा उनले सेराटन र इन्टर कन्टिनेन्टल होटलमा समेत काम गर्न भ्याए । आफ्नो ‘बिग ब्रेक’ को रूपमा भने ग्वाङ्दोङ पुग्नुलाई मान्छन् जहाँ उनी सिनियर ‘एक्जुकेटिभ सु सेफ’ भएर पुरानै सेराटन गु्रपमा फर्किन पाए । त्यहाँ ६ महिना काम गरेपछि उनको एक्जुकेटिभ सेफमा पदोन्नति भयो ।
चीनमा मगर जसरी आफूले चाहेबमोजिम लामो समय करिअरमा तंग्रिन सकेका थिएनन्, संसारको अर्थतन्त्र पनि त्यस्तै थियो । सन् २००८/९ मा विश्व आर्थिक मन्दीसँगै सेराटनजस्ता विश्व स्तरका होटल चेनले कर्मचारी कटौती र मितव्ययिताका तरिका अपनाउन थाले । ‘तर अर्को तरिकाबाट सोच्दा त्यो मन्दी मेरा लागि अवसर पनि बनेको थियो,’ उनले सम्झिए, ‘त्यस बेलासम्म किचेनका उच्च पदमा मोटो रकम बुझ्दै कब्जा जमाउने पश्चिमा सेफहरू हुन्थे ।’ मन्दीका बीच पश्चिमा सेफहरूलाई मोटो तलब खुवाउन धौधौ हुन थाल्यो अनि बल्ल विकल्पमा एसियालीहरू पर्न थाले । थपे, ‘नत्र एसियालीहरूमा त्यस्तो महत्त्वपूर्ण र संवेदनशील जिम्मेवारीका लागि काविल हुन्छन् भन्ने खासै सोचिँंदैनथ्यो ।’
त्यही लहरमा मंगोल मुहार हुनु पनि मगरको लागि लाभ भइदियो । र, हरेक सेफको उच्चतम सपना एक्जुकेटिभ सेफ हुने बाटो विपनातर्फ मोडियो । त्यसयता उनी आफ्नो करिअरमा कहिल्यै पछाडि फर्केर हेरेका छैनन् । सन् २०१६ मा अमेरिकी होटल कम्पनी स्टारउड्स म्यारियोट इन्टरनेसनलसँग गाभियो । विश्वभर ३० वटाभन्दा बढी ब्रान्ड र पाँच हजार पाँच सयभन्दा बढी होटल र रिसोर्ट भएको म्यारियोट इन्टरनेसनलअन्तर्गत अहिले सेराटन होटल पर्छ । यो विशाल नेटवर्कभित्र छिर्नु यति ठूलो कुरा हो कि त्यसपछि पछाडि फर्केर हेर्नु पर्दैन । मगरले सन् २०१२ मा पहिलो पटक एक्जुकेटिभ सेफ भएपछि यस कम्पनीअन्तर्गतका चार ठूला होटलमा यो पदको जिम्मेवारी निर्वाह गरे ।
बेइजिङमा उनी सन् २०१५ देखि छन् । आफ्नो काम उनी सीधै होटलका जनरल म्यानेजरलाई रिपोर्ट गर्छन् । उनको मासिक तलब मात्र रुपियाँमा भन्दा ६ अंकको दायरामा पनि माथितिरै पर्छ । तर उनी आफ्नो पेसालाई तलबभन्दा माथि राखेर हेर्छन् । भन्छन्, ‘अति नै संवेदनशीलता र जिम्मेवारीसँग जोडिनु नै मेरो कामको सुन्दरता हो ।’
तारे होटलको भान्छामा जिब्रोका लागि मात्र पनि खाना बनाइँदैन, सबैभन्दा पहिले त आँखाले खाने गरी प्रस्तुतिलाई सुन्दर बनाउन मिहिनेत गर्नुपर्छ । त्यसमाथि यो स्वास्थ्यसँग प्रत्यक्ष जोडिन्छ । मगरको भनाइमा खाना विज्ञान हो जसमा पोषण तत्त्वहरूको ‘कम्पोजिसन’ र मात्राको अर्थ उत्तिकै हुन्छ । होटलमा यस्ता पनि अतिथिहरू आउने रहेछन् जो जटिल हुने ग्लुटोन फ्री र कार्बोहाइडेड फ्री परिकार खोज्छन् । जब खेलाडीहरू आउँछन् उनीहरूको आवश्यकता र दैनिकीअनुरूपको तुरुन्तै ‘इम्प्रोभाइजेसन’ क्षमता पनि हुनुपर्छ । भीभीआईपी गेस्टका आफ्नै खाले मेनु हुन्छन् जसलाई तुरुन्तै बुझेर त्यसैअनुसार चल्नुसमेत पर्छ । यही यात्राका दौरान मगरले जर्मन चान्सलर एन्गेला मार्केललाई समेत सर्भ गर्ने अवसर पाएका छन् ।
यी सबैको नियमन र व्यवस्थापन गर्नेदेखि तीनका आर्थिक मुनाफाका हिसाबकिताब तयार पार्ने, आफ्ना सेफहरूलाई तालिम दिने र खानामा नयाँ प्रयोगहरूको डिजाइन गर्ने भूमिकामा छन् मगर । यस्तो दैनिकीमाझ रहँदा उनलाई दशकअघि मात्र काठमाडौंका होटल र्‍याडिसन र ह्यात रेजेन्सीमा किचेनका सुरुआती तहको मानिने कमी थ्री पदकै लागि अस्वीकृत भएको सम्झना आइरहन्छ, जसको कारणबारे उनी लख काट्छन्, ‘होटल म्यानेजमेन्ट नपढेकै कारण मेरो दरखास्तमा अरू पक्ष हेर्ने खोजिंदैनथ्यो ।’
उनलाई नेपालमै आएर काम गर्ने रहर कत्ति मरेको छैन । तर होटलमा व्यावसायिक दक्षताको काम गर्न पनि राजनीति जोडिनुपर्ने अवस्थासँग झस्किन्छन् । नयाँ–नयाँ होटल गु्रपहरू भित्रिरहेको देख्दा भने छिट्टै नेपाल फर्किएर काम गर्न पाइएला भन्ने आस जीवितै छ । अरूले देख्दा सफलतामा शीर्ष तहसम्म पुगे तापनि छोराको हुर्काइ देख्न नपाएकोमा उनलाई सधैंभरि पछुतो हुने गर्छ । छोरा हुर्काउन उनकी श्रीमती नेपालमै बस्छिन् । ६ महिनाको छँदा पहिलो पटक नेपाल छाडेको छोराले यो वर्ष एलएलसी दिंँदै छ । ‘जीवनमा सबैभन्दा ठूलो कुरा भनेको त परिवार हो,’ उनी भावुक बने, ‘एक्जुकेटिभ सेफ हुनुको सान ठूलो छ तर परिवार साथमा नहुँदा जीवनमा सधैं एउटा महत्त्वपूर्ण पक्षको अभाव खड्किरहेको अनुभव हुन्छ ।’


प्रकाशित : माघ ८, २०७३ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?