‘देब्रे आँखा’ माथि देब्रे दृष्टि

खगेन्द्र संग्रौला

सानो स्पष्टीकरण र क्षमायाचनाबाट म यो झाराटारुवा टिप्पणी सुरु गर्छु । कसैको विनयशील आग्रहको प्रत्युत्तरमा ‘नाइँ’ भन्न मेरो मन मान्दैन ।

र, यो आफ्नै स्वभावजन्य कमजोरीले मलाई प्राय: उल्झनमा अल्झाइरहन्छ । हेर्नोस्त मेरो होस्ल्याङे ताल, कार्यक्रमको सनातनी ढाँचाबारे कुराको चुरै नबुझी रेशम विरहीको ‘देब्रे आँखा’ सम्बन्धी विमर्शमा हाजिर हुने निम्ता मैले स्वीकार गरेँछु । मेरो लाटो लख कटाइ थियो— पुस्तकबारे कुनै विज्ञले कार्यपत्र प्रस्तुत गर्ला र त्यसबारे टिप्पणी गर्ने काम मेरो भागमा पर्ला । पछि सरस्वती प्रतीक्षासँग मिहिन कुरो बुझ्दा पो थाहा भयो, कार्यपत्र प्रस्तुत गर्ने पण्डित मै लम्फू रहेँछु । अब परेन कि डोठयाङ । कुराको तत्त्व जब खुल्यो, म परेँ बिलखबन्द । मेरो वाचा गिरिसकेको थियो, र वाचा फिर्ता लिन धेरै विलम्ब भइसकेको थियो ।

संस्थाको नाम छ ‘र्‍यान्डम रिडर्स’, कार्यक्रमको ढाँचा भने फम्र्याटबद्ध । ‘र्‍यान्डम रिडर्स’ ले मेरो मानसमा गरेको भाव–सम्प्रेषणमा फम्र्याटबद्ध कार्यक्रमको चित्र थिएन, बरु खुकुलो संरचनामा नितान्त अनौपचारिक वातावरणमा गरिने अन्तरंग संवादको चित्र पो थियो । सिर्जनकर्मसम्बन्धी मेरा मान्यता, मेरो स्वभाव र शैलीले फम्र्याटबद्ध ढाँचासँग कतै मेल खाँदैनन् । औपचारिक कार्यपत्रबारे म यसै पनि अनविज्ञ त छु नै, यसप्रति ममा चाख पनि छैन । साहित्यका इतिहासकार, साहित्य समीक्षक, प्राध्यापक वा विकासेहरू फम्र्याटबद्ध कार्यपत्र लेख्न जान्दछन्, म जान्दिनँ । यस प्रयोजनका लागि म सर्वथा गलत पात्र हुँ । तसर्थ मलाई आयोजक संस्थासँग क्षमायाचना गर्नुपर्ने खण्ड आइलाग्यो । सरस्वती प्रतीक्षाको पाँच सय–हजार शब्दको खेस्रा टिपोट भए काम चल्छ भन्ने उदार वचनले मलाई त्राण प्राप्त भयो, र नै बिनाकार्यपत्र म कार्यक्रममा हाजिर भएको छु । मेरो यो टिपोटलाई आस्वादनपत्र वा अज्ञानतापत्र वा अलपत्रेपत्र जे भनिदिए पनि हुन्छ ।
जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा समाजशास्त्रका एक जना विख्यात प्रोफेसर छन्, अभिजित पाठक । उनी विधिशास्त्र (म्याथोडोलोजी) पढाउँछन्, र फम्र्याटबद्ध, यान्त्रिक एवं रूढ विधिको खिल्ली उडाउँछन् । फम्र्याटबद्ध लेखनको चरित्रबारे उनका केही घतलाग्दा कथन छन् । एउटा कथन हो, ‘कार्ल माक्र्स हातमा प्रश्नावलीको मुठो बोकेर मानिसहरूका घरदैला चहार्दै हिँडेका भए उनबाट ‘कम्युनिस्ट मेनिफेस्टो’ किमार्थ लेखिने थिएन ।’ र अर्को । जेएनयूको एउटा भवनको माथिल्लो तलातर्फ आँखा तन्काएर उनी विद्यार्थीहरूलाई भन्छन्, ‘हेर, त्यो सुनसान कोठामा पीएचडीका थिसिस वा शोध–ढड्डाहरू छन् । ती कसैले पढ्दैन । किन ? किनभने ती फम्र्याटबद्ध छन् ।’ यहाँ प्रोफेसर पाठकको अभिप्राय हो— फम्र्याटबद्ध लेखनमा कल्पनाशीलता र सिर्जनशीलताका पखेटा काटिन्छन् र लेखन फम्र्याटरूपी पिँजराको सुगा बन्छ । थाहा छ, पोखरा कल्पनाशीलता र सिर्जनशीलताको उर्बरभूमि हो । यस्तो भूमिमा कल्पनाशीलता र सिर्जनशीलताभक्षी यो फम्र्याटप्रति यत्रो मोह किन ? अन्वेषणशील सिर्जनकर्म त फम्र्याटभञ्जक पो हुन्छ । शंकर लामिछानेले निजात्मक शैलीमा पारिजातको ‘शिरीषको फूल’ को भूमिका लेखेर रूढ प्रकृतिको भूमिकालेखनलाई भञ्जन गरे । कृष्णचन्द्रसिंह प्रधानले निजात्मक पाराले उनै पारिजातको ‘बोनी’ कथामालाको समीक्षा गर्दै समीक्षालेखनको रूढ प्रचलनमाथि औँलो ठडयाए । उन्मुक्त अभिव्यक्तिको बाटोमा जे तगारो बन्छ, स्वतन्त्र चिन्तक र सर्जकले त्यसलाई भत्काएरै छाड्छ ।
मेरो अनुभवमा कार्यपत्रयुक्त कार्यक्रम प्राय:जसो पटयारलाग्दो हुन्छ । कार्यपत्रको लेखक रूढिगत औपचारिकताका चार किल्ला बाँधेर लेखिएको लम्बेतान कार्यपत्र घाँटीका नसा फुलाउँदै र फिँज काड्दै रिठ्ठो नबिराई पढ्छ । यो पठनमा ऊ आनन्दित हुन्छ, कारण उसलाई लाग्छ— म श्रोतागणलाई अमूल्य दुई शब्द प्रदान गर्दै छु । आफ्नो कार्यपत्रको भारले किचिएर श्रोतागण निसास्सिएको उसलाई रत्तिभर चेत हुँदैन । सकस र अत्यासको भावलाई दबाएर झर्कोलाग्दो कार्यपत्र अद्योपान्त सुन्न श्रोतागण अभिशप्त हुन्छ । मलाई जे मन मर्दैन, श्रोताहरूमाथि मैले त्यो चीज थोपर्न चाहिनँ । मेसँग यो खेस्रा टिपोट छ । म यो पढ्दिनँ । यसका आधारमा म रेशम विराहीको ‘देब्रे आँखा’ बारे आफ्नो आस्वादकीय टिप्पणी प्रस्तुत गर्छु ।
‘देब्रे आँखा’ को अगाडि र पछाडि गरी पुस्तकमाथि नौ जना विद्वान्का प्रशंसामय कथनहरू राखिएका छन् । कतिपय कथन त पुस्तकको सामथ्र्यले धान्नै नसक्ने गरी अतिरञ्जित महिमा मण्डनयुक्त छन् । सामान्यतया पुस्तकको अन्तिम पृष्ठमा एकाध ब्लर राख्ने प्रचलन छ । पुस्तकमाथि आएका प्रतिक्रियाहरूबाट दोस्रो संस्करणमा अरू एकाध कथन थप्ने प्रचलन वा फेसन पनि छ । तर प्राय: शिष्टतावश यतिविधि प्रशंसाका वचनहरूको ओइरो लगाइँदैन । पुस्तकको अगाडि र पछाडि प्रशंसायुक्त कथनहरूको यो लामबन्दी देख्दा भुइँचालोले हल्लाएको फुकीढल भवनलाई निम्छरा टेकाहरूले अडयाउन खोजेजस्तो लाग्छ । पाठकले जब यो पुस्तक पढिसक्छ, उसलाई यी टेकाहरू एकदमै अनावश्यक लाग्छन् । कारण आफूलाई अविचल राख्न पुस्तक आपैंm समर्थ छ । ‘देब्रे आँखा’ का लेखकको परिचाय दिन र यो पुस्तकको महत्तामाथि प्रकाश पार्न श्यामलको सुन्दर भूमिका नै पर्याप्त छ । प्रशंसाकारी वचनको यो ओइरो लेखकको रुचि र रोजाइ हो भने त्यसको अर्थ हुन्छ, लेखकमा आफ्नो रचनात्मक सामथ्र्यप्रति यथेष्ट आत्मविश्वास छैन । यो प्रकाशकको रुचि र रोजाइ हो भने त्यसको अर्थ हुन्छ, प्रकाशकमा छिटो लगानी उठाउने र लाभ हात पार्ने आतुरता छ । कारण जेसुकै होस्, पुस्तकमा सँगालिने यस्ता प्रशंसाकारी वचनहरूको आधिक्यले पाठकहरूको आलोचनात्मक चेत र निर्णयकारी सामथ्र्यमाथि धावा बोल्छन् ।
रेशम विरहीको व्यक्तित्व उनले कर्म गरेका तीन विधा अर्थात् राजनीति, साहित्य र पत्रिकारिताको सुन्दर संगम हो । विधागत कार्यक्षेत्रको यो विविधताका कारण विरहीका अनुभूति र अनुभवहरूमा मनमोहक विविधता छ । त्यसैले विरहीका निबन्धहरूको विषयगत र पात्रगत वृत्त एवं दृष्टिक्षितिज फराकिलो छ । यी निबन्धहरू विचार र अनुभूतिको एक रङ र एक रस, एक लय र एक सुरको सरलरेखीय रूढपनाबाट निकै नै मुक्त छन् । र नै पढ्नलाई यी रुचिकर छन् ।
‘देब्रे आँखा’ का दुई खण्ड छन्— दृष्टि र सोच । दृष्टि खण्डमा लेखकले जीवनका भिन्नभिन्न कालखण्डमा संगत गर्न पाएका केही राजनीतिज्ञ र लेखक–कलाकारहरूको विचार, सिर्जना र व्यक्तित्वमाथि दृष्टिपात गरिएको छ । र, दोस्रो खण्डमा लेखकले आफ्नो जीवनका अनेक कालमा र अनेक ठाउँमा राजनीति, पत्रकारिकता र साहित्य साधनाको क्रममा आर्जन गरेका अनुभूति र अनुभवहरूका शब्दचित्रहरू सजिएका छन् । प्रायजसो निबन्ध पढ्दा लाग्छ, लेखकको मनोदशा सैलुङे लेकको मौसमझैँ छिनछिनमा फेरिइरहन्छ र सँगसँगै फेरिन्छ निबन्धको शैलीगत बान्की पनि । एउटै निबन्ध कतै कोरा र सपाट अभिव्यक्तिमा प्रकट हुन्छ, कतै माधुर्ययुक्त लयद्वारा सज्जित भएर आउँछ । एउटै निबन्धमा निहित यो शैलीगत असंगतिले निबन्धको लय भंग गर्छ, पाठकको पठन–आनन्दमा बाधा पार्छ र परिणामस्वरूप रचनाको पाठकमाथिको प्रभावलाई निम्छरो तुल्याउँछ । तथापि यी निबन्धहरूले पाठकसामु यहाँ बिम्बित व्यक्तिहरूका सोच, कर्म र कृतिहरूका न्यूनाधिक सजीव चित्र अवश्य प्रस्तुत गर्छन् । यिनमा खास गरेर जीवन आचार्य र प्रेमविनोद नन्दनको व्यक्ति–बिम्बको चित्रण कथ्य र सीपको संयोजनका दृष्टिले सुन्दर छन् । ‘सोच’ खण्डका ‘स्विपर मालती’ र ‘चपरगौढी डायरी’ लाई पनि रचनाको यही कोटिमा राख्न सकिन्छ ।
दृष्टि खण्डमा ‘भाङ्ग्राको टोपीमा गुएँलीको फूल’ शीर्षकको निबन्धमा चेतकान्त नामक कवि छन्, जो आम पाठकलाई निबन्ध पढिसकेर पनि सायद अपरिचित वा अज्ञय लाग्छन् । चेतकान्त नवलपरासी कतैका कवि हुन् । तिनका कृतिहरूको पहुँच र प्रभावद्वारा तिनको परिचय राष्ट्रिय तहमा उठेको मलाई थाहा छैन । निबन्धकारले भूगोलको स्थानीय वृत्तमा सीमित तिनको परिचयलाई तिनका सामान्यीकृत विशिष्टताहरूको जगबाट उच्च र व्यापक तहमा उठाउने चेष्टा गरेका छैनन् । त्यसैले रैथाने परिवेशबाहिरका पाठकका लागि अपरिचित चेतकान्त निबन्धको अन्त्यमा पनि अपरिचिततुल्य नै रहन्छन् । यो सम्प्रेषणको संकट हो । सोच खण्डमा यस्तै एउटा निबन्ध छ, ‘पूर्णलाल चुकेलाई पत्र’ । सायद आमपाठक यो निबन्ध पढिसकेर पनि पूर्णलाल चुकेलाई चिन्दैन । निबन्धबाट यति मात्र थाहा हुन्छ— पूर्णलाल चुके प्रकाशक हुन्, रेशम विरही उनको प्रकाशनका स्तम्भकार । निबन्धभरि लेखकको उल्झिएको आवेगको उत्ताल वेग व्याप्त छ । त्यो चुकेको निन्दा हो कि प्रशंसा हो पाठकले भेउ पाउँदैन । पाठकले केवल लेखक र प्रकाशकमाझ केही न केही खटपट छ भन्ने अनुमान मात्र गर्न सक्छ । 
उसलाई जडी कुराको तत्त्वबोध हुँदैन । सम्प्रेषणसम्बन्धी अघिल्लो निबन्धको उही समस्या यहाँ पुनरावृत्त भएको छ । सायद कुनै रैथाने पत्रमा रैथाने वृत्तमा सीमित विषयको निबन्ध छापिएको हुँदो हो । त्यसलाई जुरुक्क उचालेर ज्यूँका त्यूँ संकलनमा राखियो । र, फेरि सम्प्रेषणको संकट उत्पन्न भयो । ‘माल्दाइ २ : विचारको सकस’ र ‘चालीस वर्षपछि’ पुनरावृत्तिको अर्को उदाहरण हो । योचाहिँ विषयगत पुनरावृत्ति हो । यो पछिल्लो निबन्ध झन्डैझन्डै पहिलो निबन्धको कार्बनकपीजस्तो लाग्छ । यी त पुनरावृत्तिका केही मात्र उदाहरण हुन् ।
शीर्षक ‘देब्रे आँखा’ ले यसै पनि संकेत गर्छ— लेखक रेशम विरही देब्रे ढल्कुवा मनुवा हुन् । लेखकले ‘सोच’ खण्डभरि आफू क्रियाशील कर्ता र सजग अवलोकनकर्ता दुवै भएर यात्रा गरेको, मसिनोसँग नियालेको र आफ्नै ढंगले बुझेको नेपाली कम्युनिस्ट आन्दोलनका यात्राका डोबहरू अंकित गरेका छन् । लेखक परे कम्युनिस्ट आन्दोलनभित्रको जडवत् प्रवृत्ति, अवसरवाद, ढोङ, द्रव्यतृष्णा र भोगलिप्साका भुक्तभोगी साक्षी । र नै ‘सोच’ खण्डमा वामवृत्तका खास गरेर लेखकलाई रुष्ट, क्षुब्ध र मर्माहत तुल्याउने घटना र पात्र एवं मनोवृत्ति र प्रवृत्तिको आलोचनात्मक चर्चा छ । माक्र्सवाद रहस्यवादको समेत रहस्योद्घाटन गर्ने भौतिकवादी दर्शन हो । तर आफूलाई अविचल माक्र्सवादी मान्ने विरहीको माक्र्सवादमा यत्रतत्र रहस्यवादको छनक पाइन्छ । कतिपय घटना, पात्र र तिनका प्रवृत्ति रहस्यको कुहिरोभित्र लुकेका वा लुकाइएका लाग्छन् । यहाँ प्रत्येक निबन्धमा प्रवेश नगरी माक्र्सवादी विरहीका यस्ता रहस्य र चिन्तनका केही असंगतिले मेरो मनमा पैदा गरेका केही जिज्ञासा वा प्रश्नहरूको म उठान गर्छु ।
‘साधनाको महानाटकीय यन्त्रशाला’ की इन्द्रमाया के हो ? स्वैरकल्पनाको उपज कि सांसारिक यथार्थ मानव ? लेखकसँग केवल भावुक सम्बन्धको झीनो तुन्तुले बाँधिएकी इन्द्रमाया पाठक होइन । तथापि ऊ किन लेखकका हजार पुस्तक लिन्छे र दिन इन्कार गर्छे ? अनि उही इन्द्रमाया पछि पुस्तकालयलाई प्रदान गर्न लेखकलाई पुस्तक किन दिन्छे ? ज्ञात मानवचरित्रभित्र यो अज्ञात रहस्य माक्र्सवादी चिन्तनमा कहाँनेर कसरी फिट हुन्छ ? र, यो रहस्यको रचनामा लेखकको माक्र्सवादी यथार्थवाद कहाँ विलुप्त छ ?
लेखक रेशम विरही सत्र वर्षको लामो कालखण्ड बिताएको नेपालगन्जबाट अतिशय विषादको मुद्रामा पाखा लाग्नुको पाठकले चाल पाउनु नुहने कारण के होला ? ‘स्विपर मालती’ को मुखबाट लेखकले नेपालगन्जको आफ्नो जीवनको कारुणिक बिम्ब उतारेका छन् । मालतीको मुखबाट लेखक बोल्छन्, ‘उसले धेरैलाई कृतार्थ बनायो तर कसैले पनि कृतार्थबोध गरेनन्, कृतघ्न भएर बिर्सिए ।’ र मालती थप्छे— नेपालगन्जबाट बाटो लाग्ने बेलामा उसलाई एक कप चिया खुवाउने पनि कोही भएन । सामाजिक सत्संगका तीन–तीन विधामा साधना गरी व्यापक जनपहिचानको निधि आर्जन गरेका जोदाहा, कवि र पत्रकार नेपालगन्जमा किन त्यतिसाह्रो एक्ला, तिरष्कृत र निरीह ? यो एक्लोपना, तिरष्कार र निरीहताको कारण लेखकबाहिरको लोकमा मात्र छ कि लेखकभित्रको अव्यक्त ग्रन्थिमा पनि छ ? बृहत्तर समाज यतिबिघ्न कृतघ्न हुने गरी पतित भएको हो र ? लेखकले बाहय लोकलाई हेर्ने दृष्टि आफ्नै अन्तरतर्फ लगाएका भए आभ्यान्तरिक यथार्थको कस्तो चित्र गोचर हुँदो हो ?
राजनीतिक कार्यव्यापारमा उदात्त आदर्शका संवाहक पात्रहरूको वैचारिक र नैतिक पतन आदर्श स्वयंको पतनको पर्याय किमार्थ होइन । र, असल व्यवस्थाका सञ्चालकहरूको भ्रष्टता व्यवस्था स्वयंको भ्रष्टताको परिचायक किमार्थ होइन । तर लेखक विरही अतिशय आक्रोशित आवेगको प्रभावमा कम्युनिस्ट नामक पात्रहरूको पतनलाई तिनले बहन गरेको उदात्त आदर्शलाई नै निषेध गर्ने गरी किन प्रक्षेपण गर्छन् ? यो अप्रीतिकर प्रक्षेपण हेर्दा प्रश्न उठ्छ— के कम्युनिस्ट रेशम विरहीलाई सबभन्दा मन नपर्ने मानिस कम्युनिस्ट नै हो ? के पुस्तकमा यत्रतत्र जम्काभेट हुने विरहीका यस्ता अभिव्यक्तिहरू साँच्चि नै उनको अभिप्रायका यथार्थपरक प्रतिबिम्बन हुन् ?
यो संग्रहमा एउटा ठग पात्र छ, ठक्करसिंह । लेखकको निरुपणमा ठग ठक्करसिंह माओवादी प्रवृत्तिको प्रतिमूर्ति हो । लेखकको दृष्टिमा माओवादी दानव हो र माओवादीकृत जनयुद्ध दानवी ताण्डव हो । सत्य हो, माओवादी जनयुद्ध ज्यादतीमुक्त थिएन । त्यसमा चर्को हिंसामोह थियो । त्यसमा व्यापक अराजकता र उग्र असहिष्णुता थियो । तर यो सब त इतिहास भयो । जनयुद्धको ज्वलन्त परिणाम वर्तमानमा प्रत्यक्ष छ । व्यापक जनजागरण, गणतन्त्रको स्थापना, धर्मनिरपेक्षता, संघीयता र समावेशिताका दृष्टान्त एवं प्रक्रियाहरूको पछिल्तिर, मेरो विचारमा, मूलत: उही जनयुद्धको भूमिका छ । के माओवादीको ऐतिहासिक भूमिकालाई निरपेक्ष रूपले निषेध गर्दा गणतन्त्र र संघीयता आदि पनि स्वत: निषेधमा पर्दैनन् ? लेखक विरहीको यो आग्रह माक्र्सवादी सर्जकको इतिहासदृष्टिमा कहाँनेर फिट हुन्छ ?
‘भुङ्ग्रो, खड्कुलो र बन्दुक’ मा लेखक भन्छन्, ‘म कम्युनिस्ट कदापि थिइनँ र होइन पनि तथापि माक्र्सवादको वैचारिक जगमा कतै विचलित भएको पनि छैन ।’ उता श्यामलसितको ‘मित्र संवाद’ मा उनै लेखक भन्छन्, ‘म एमालेमा वर्षको २ सय २५ तिर्ने कार्यकर्ता हुँ ।’ पार्टीलाई लेबी तिर्ने कम्युनिस्ट हुनु र छातीमा मुड्की ठोकेर म कम्युनिस्ट हुँ भन्ने हयाउ नहुनु कस्तो कम्युनिस्ट हुनु हो ? पुस्तकमा अंकित लेखकको अन्तर्विरोधी धारणाको यो दृष्टान्त पहिलो र अन्तिम होइन । यस्ता अन्तर्विरोधी धारणाहरू पुस्तकमा यत्रतत्र व्याप्त छन् ।
भूमिका नभनिएको भूमिकामा श्यामल रेशम विरहीको अस्तित्वको चित्रण यसरी गर्छन्, ‘द्रव्यदास र शक्तिपूजक संस्कृतिमा ऊ द्रव्यहीन र शक्तिहीन देखिएको छ ।’ श्यामलको यो कथनमा विरहीप्रति करुणाजनक सहानुभूतिको आभास हुन्छ । बागी दृष्टियुक्त सिर्जनशील लेखक समाज र सत्ताको सतत: आलोचक हो । ऊ आफ्नो स्वत्व र निजत्वको रक्षा गर्न सदैव सत्तादेखि निश्चित दूरीमा बस्छ । तसर्थ द्रव्यहीन र शक्तिहीन हुनु त लेखकले राजीखुसीले राजेको नियति नै होइन र ?
विचार र शिल्प दुवै तहमा गोडमेल नपुगेजस्तो लाग्ने यो निबन्धसंग्रह मलाई एक अभागी कम्युनिस्टको कारुणिक बकपत्रजस्तो लाग्यो । रेशम विरहीजस्ता आफ्नो स्वत्व र निजत्वको सबल जगमाथि उभिएका समर्थवान् लेखकमा यो निरीह आत्म–कारुणाभाव किन ?
(र्‍यान्डम रिडर्स, पोखरामा बोलिएका कुराको सम्पादित र थोरै विस्तारित संस्करण)

Yamaha

Esewa Pasal

प्रकाशित : माघ २२, २०७३ ०९:२३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

राउटेमा उपचार द्वन्द्व

‘तपाईंहरू दुनियाँ, हामी राउटे । तपाईंहरू राउटे हुन सक्नुहुन्छ ? त्यसैले दुनियाँले जे–जे गर्छ । राउटेले त्यही गर्न सक्दैन । राउटेले पनि अस्पताल गएर उपचार गर्छ ?’
प्रकाश अधिकारी

औषधिको पोको देखेपछि राउटे महामुखिया महिनबहादुर शाहीले सोधे, ‘यो मेडिकलको होकी स्वास्थ्य चौकीको ? मेडिकलबाट किनेको भनेपछि आश्वस्त भए ।

६–७ महिनादेखि पेटसम्बन्धी रोगले थलिएकी १९ वर्षीया छोरी ढुंग्या शाहीलाई जाँच गर्न उनले एउटा सर्त तेर्साए, ‘काठमाडौंका डाक्टरसँग मात्र जाँच गराउने ।’ मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतका डाक्टर पारस चिपालुले आफ्नो घर काठमाडौंै भएको बताए । स्वास्थ्य शिविर लिएर पुगेको टोलीले पनि ‘डाक्टरसाप काठमाडौंकै भएकाले ढुक्क हुन’ आग्रह गर्‍यो । डाक्टर र औषधिबारे निकै सोधीखोजी गरेपछि महामुखियाले छोरीको समस्या सुनाए । कुन औषधि कति बेला खुवाउने ? दोहोर्‍याई–तेहर्‍याई सोधे । करिब चार वर्षअघि यिनै महिनबहादुरले पत्नी दुनीको जावलाखेलस्थित अल्का अस्पतालमा खुट्टाको अप्रेसन गराएका थिए । मुखियाले अस्पताल लिएर औषधि उपचार गराएको भन्दै अन्य सदस्यले त्यति बेला महिनबहादुरको विरोध गरेका थिए । बस्तीमा जति विरोध भए पनि खुट्टाको समस्या ठीक भएपछि उनलाई काठमाडौंका डाक्टरप्रति ठूलो भरोसा जाग्न थालेछ । महिनबहादुर समुदायकै परिवर्तनशील अगुवा मानिन्छन् । उदार स्वभावका उनले बिरामी सदस्यलाई उपचार गर्न अनुरोध गरे पनि अन्य मुखियाहरू भने उनको प्रयासमा छेकबार लगाउने गर्छन् ।
‘अस्पताल गएर उपचार गर्नु हुन्न’ भन्ने मान्यताकै सिकार बनेका छन्, एक राउटे युवा । मुखिया वीरबहादुर शाहीका १९ वर्षीय छोरा कपिल आगोले जलेर घाइते भएको १३ महिना बित्यो । घीउ र जडीबुटीले पोलिएको घाउ निको पार्ने प्रयासमै लागे । निको भएन । घाउ बल्झेर शरीरभर फैलिएको छ । कपिललाई अत्याधुनिक अस्पताल लगेर उपचार गर्न पोहोरदेखि बस्ती धाइरहेका दीपेश पुन केही अघि सुर्खेतबाट एम्बुलेन्स लिएरै गए । तर राउटेले उपचार गराउन मानेनन् । अछामको नाडास्थित राउटे बस्ती पुगेका उपराष्ट्रपति पुत्र दीपेश यसपल्ट पनि निराश भएर फर्किए । कपिल हिँडडुल गर्न सक्दैनन् । हात–खुट्टा सुक्दै गएका छन् । तर, उनी उपचार गर्न डराइरहेका छन् । बस्तीमा पुगेका चिकित्सकसँग कपिलले उपचार गर्न जाँदा बाटोमा घाउ दुख्ने चिन्ता सुनाए । ‘घाउ दुख्यो भने के गर्ने ? सुई लगाएपछि झन् दुख्ला ?’ उनले डाक्टरसँग भनेका थिए, ‘उता (अस्पताल) गएर दु:ख पाउनुभन्दा बरु यतै ठीक छ ।’ अनेक सम्झाइ–बुझाइ गर्दासमेत कपिल र, उनको परिवारले मानेन । उपचार गर्नुपर्छ र गर्नु हुन्न भन्ने दुई थरी वर्गमा राउटे विभाजित छ । ‘एउटा तप्काले कपिललाई अस्पताल पठाउँ भन्छ’ दीपेश भन्छन्, ‘अर्कोथरी बीचैमा आएर हुन्न भनेर भड्काइहाल्छ ।’ एक किसिमले यो जातिमा स्वास्थ्य उपचारको बहसले स्थान पाइरहेको छ । उपचार गर्नुपर्छ भन्ने विचारको पक्षमा महामुखिया महिनबहादुर र, गर्नै हुन्न भन्ने पक्षमा मुखियाहरू वीरबहादुर शाही र सूर्यनारायण शाहीले नेतृत्व गरेका छन् । कसैले आदेशविपरीत औषधि ल्यायो, उपचार गरायो भने आफ्नै भाषा खाम्सीमा उसलाई हर्पार्ने गर्छन् । केही दिनअघि त्यहाँ आयोजित एक शिविरमा बिरामीको संख्याभन्दा निकै कमले मात्र स्वास्थ्य जाँच गराए । 

राउटे समुदायमा बालकदेखि वृद्धसम्मले काठको काम गर्छन् । काठे सामग्री बनाउँदो हात, खुट्टा काटिने समस्या हुन्छ । काटिएको उपचार गर्दैनन् । जाडोबाट जोगिन आगो ताप्ने क्रममा पोलिएका उस्तै हुन्छन् । अधिकांश कुनै न कुनै स्वास्थ्य समस्याबाट पीडित छन् । एकातिर जंगलको कष्टकर बसोबास र, अर्कोतिर ‘औषधि उपचार गर्नु हुन्न’ भन्ने मान्यताका छन् राउटेहरू । पश्चिम नेपालको मध्यपहाडी जंगलमा फिरन्ते जीवन बिताउने यो समुदायको आधुनिक औषधि उपचार पद्धतिप्रति खासै भरोसा छैन । ‘जंगलमा बस्नेले पनि अस्पतालमा गएर उपचार गर्छ ? गर्दैन,’ मुखिया सूर्यनारायण भन्छन् । ‘तपाईंहरू दुनियाँ, हामी राउटे । तपाईं राउटे हुनुस् हामी दुनिया हुन्छौं,’ उनी भन्छन्, ‘त्यसैले दुनियाँले जे–जे गर्छ । राउटेले त्यही गर्न सक्दैन ।’ 
राउटेको संख्या १ सय ४९ छ । दुई वर्षअघि १ सय ९० हाराहारी थियो । साउनयता मात्रै अकालमा पाँच जनाको मृत्यु भइसकेको छ । विभिन्न अनौपचारिक अध्ययनले यो संख्या बर्सेनि घट्दै गइरहेको देखाएको छ । राउटेहरू गणना गर्न दिन्नन् । त्यसैले वास्तविक संख्या पत्ता नलागेको हो । अहिलेसम्म उनीहरूको जनगणना भएको छैन । एक प्रकारले यो जाति राज्य संयन्त्रको परिधिदेखि टाढा छ । नागरिकता बनाउँदैनन् । भन्छन्— राउटेलाई किन चाहियो नागरिकता ? त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र विभागका प्राध्याक डा. नन्दबहादुर सिंहले राउटे संस्कार, संस्कृतिमाथि अहिलेजस्तै आक्रमण भए यो जातिको अस्तित्व हराउन धेरै वर्ष पर्खनुनपर्ने बताउँछन् । भन्छन्, ‘राउटे वंश, धर्म संस्कृति, बेग्लै भाषा भएको दुर्लभ मानव जाति पृथ्वीबाट लोप हुनु दुर्भाग्य हो । सरकार गम्भीर भएको देखिएन् ।’ लोपोन्मुख भत्ता दिएर मात्र सरकार पन्छिन नमिल्ने उनको भनाइ छ । राउटे वंशको सुरक्षा महत्त्वपूर्ण सवाल हो । ‘मानसिक रूपले स्वस्थ भए पनि शारीरिक एवं भौतिक रूपले उनीहरूको अवस्था रुग्ण बनेको पाइयो,’ मध्यपश्चिम क्षेत्रीय अस्पतालका चिकित्सक डा. पारस चिपालु भन्छन्, ‘भोलिको चिन्ता नहुँदा अन्य जातिको तुलनामा मानसिक रूपले राउटे धेरै स्वस्थ छन् । यो स्वास्थ्य विज्ञानकै लागि नौलो र खुसीको कुरा हो ।’

राउटे समुदायमा शिशु मृत्युदरसमेत उच्च छ । मुखिया वीरबहादुर शाहीका १४ सन्तानमध्ये हाल पाचमा जीवित छन् । दुई ठूलो उमरेमा बितेको र अन्य पाँच वर्षमुनिमै बिते । ‘पाँच वर्षको उमेरसम्म बचाउन गाह्रो हुन्छ,’ प्राणीशास्त्री सिंहले भन्छन्, परिवार नियोजन, गर्भनिरोधक साधन प्रयोग नगर्ने हुँदा प्रजनन दर उच्च छ । सँगसँगै शिशु मृत्युदर पनि उच्च छ ।’ अधिकांशले आफ्नो प्रजनन अवधिभर १० भन्दा बढी सन्तान जन्माएको बताउँछन् । तीमध्ये ६० प्रतिशतको अकालमै मृत्यु गरेको पाइएको छ । प्रा. नन्दबहादुर सिंह राउटेलाई राज्यले संरक्षित मानव समुदायका रूपमा विकास गर्नुपर्ने धारणा राख्छन् । राउटे कला, भाषा, संस्कृति, परम्परा, वेशभूषाको जगेर्ना हुनुपर्छ,’ उनी भन्छन्, भत्ता रकम कुलतमा खर्च हुन नदिन ध्यान दिनुपर्छ ।’ सरकारले चालु आवदेखि भत्ता बढाएर प्रतिव्यक्ति मासिक दुई हजार रुपैयाँ प्रदान गर्दै आएको छ । राउटे परिभ्रमण क्षेत्रका जंगलमा कन्दमूल खेती गर्ने, काठसामग्रीको बजारीकरणको व्यवस्था गर्ने, बस्तीलाई ‘टुरिस्ट एरिया’ को रूपमा विकास गर्नुपर्ने उनको सुझाव छ । 

प्रकाशित : माघ २२, २०७३ ०९:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT