कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

प्रकृतिलाई प्रेम

कृष्ण खनाल

फागुन पहिलो साताका पाँच दिन नवलपरासीको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा बिताउने अवसर जुटयो । चिकित्सालयबारे सामान्य जानकारी चितवन र नवलपरासीका केही मित्रहरूबाट पहिले नै पाएको थिएं । अर्को एक जना साथीको पनि त्यहाँ जाने इच्छा थियो । यु ट्युबबाट सम्पर्क सूत्र र थप जानकारी मिल्यो ।

प्रकृतिलाई प्रेम

प्रमुख व्यवस्थापक हरि सापकोटा स्वयंले फोन उठाए । संक्षिप्त वार्तालाप र आवासीय सुविधाको जानकारी पाएपछि ५ फागुनमा म कलंकीबाट बिहान सबेरै नारायणघाटका लागि माइक्रो चढें । नारायणघाटमा पहिल्यै प्रतीक्षारत साथीसँगै अर्को २०–२२ किलोमिटर यात्रापछि रजहर पुगियो । पूर्वपश्चिम राजमार्गको राजहर चोकबाट करिब ५ सय मिटर दक्षिणमा अगाडि पातलो बस्ती भएको फराकिलो फाँट र सामुदायिक बनको रमणीय वातावरणमा रहेछ चिकित्सालय । म खास कुनै स्वास्थ समस्याका कारण त्यहाँ गइराखेको थिइनँ । काठमाडौंको धूलो, तनाव र प्रदूषित राजनीतिबाट प्रकृतिनिकट ब्रेक खोजेको थिएँ । सामान्य प्रक्रिया पूरा गरेर प्राकृतिक चिकित्सक डा. विनोद पौडेलसँगको परामर्शपछि हामी सोही दिनको अपराह्नदेखि चिकित्सालयको दैनिकीमा प्रवेश गर्‍यौं ।

बिहान ५ बजे उठ्ने, ५:३० मा योगका लागि तयार हुने । करिब एक घण्टा योगाभ्यास गर्ने । ७ बजे जमरा वा दुवोको जुस खाने । चिया, कफी बर्जित रहेछ । मलाई चिकित्सकको सल्लाह थियो मह हालेर कागती पानी खानु । ७:३० देखि उपचारमा लाग्ने । आफ्नो अवस्था र भइरहेको प्रगतिबारे चिकित्सकसँग परामर्शपछि आवश्यकताअनुसारको उपचार सुरु हुन्छ । मेरो खासै स्वास्थ्य समस्या नभएकाले चिसो तातो पानीको केही स्नान विधि, आँखा, नाइटो, छाती तथा घाँटीमा पट्टी बाँध्नेजस्ता केही सामान्य उपचारमा म सरिक हुन्थें । एक–डेढ घण्टाको यो नियमित प्रक्रियापछि १० बजे बिहानको खानाको समय हुन्थ्यो । खाना पनि चिकित्सकको सल्लाहअनुसार २ वटा रोटी, १ कचौरा दलिया, २ कचौरा तरकारी, १ सानो गिलास गाईको दूध, दिउसो केही फलफूल । २:३० देखि फेरि उपचारको प्रक्रिया सुरु हुन्थ्यो । ५ बजे साँझको खाना । खानाको परिकार र मात्रा उही । त्यसपछि खास कुनै नियमित काम थिएन । एकाध घण्टा साँझमा घुमफिर गरिन्थ्यो । सुत्ने बेला अगाडिको समय बिताउन कठिन भए हलमा टीभी पनि थियो भुल्नका लागि । मैले एक जना मित्रको अध्यात्मसम्बन्धी पाण्डुलिपि बोकेको थिएँ । बेलुकाको समय त्यसैको अध्ययनमा उपयोग भयो । त्यहाँ बसाइको ५ दिनलाई मैले त्यहींको पद्धतिमा पूर्ण रूपले समर्पित गरेको थिएँ । मन शान्त, शरीर हलुका र आनन्द एवं सन्तोषपूर्ण थिए ती दिनहरू ।

तरकारी सामान्यत: लौका, बन्दा वा सागमध्ये दुईथरी हुन्थ्यो । नुन अत्यन्तै कम । चिल्लो, पीरो, मसला बन्द । सेतो चिनी पनि त्यहाँ बर्जित रहेछ । गुलियो खानुपर्ने भए मह, सखर, गुड आदि प्रयोग गर्न सकिन्थ्यो । सुरुको एक दुई छाक खान के नपुगेको, के नमिलेको जस्तो लागे पनि छिट्टै त्यसैमा स्वाद बस्यो । भान्छाको वातावरण पनि अत्यन्तै व्यवस्थित र राम्रो लाग्यो । चिकित्सक, सहयोगी, कर्मचारी सबैले त्यहीं र उस्तै खाना खाँदा रहेछन् । यसलाई मैले सिद्धान्त र व्यवहारमा समानताको प्रेरणादायी दृष्टान्त मानें । तरकारी र दूध–दही चिकित्सालयको आफ्नै उत्पादन रहेछ । ६ बिघा जमिनमा तरकारी खेती र १६ वटा गाई पालिएका छन् । तरकारी खेतीका लागि नजिकै जग्गा लिइएको छ । विषादी र रासायनिक मलबाट मुक्त पूरै अर्गानिक तरकारीको स्वादसँगै खेतीको पनि मैले अवलोकन गर्ने मौका पाएँ । अहिले घरको नियमित खानामा मेरो द्वन्द्व हुन थालेको छ । चिकित्सालयको जस्तै आहारविहारले प्राथमिकता पाउन थालेको छ ।
विगत केही वर्षदेखि मेरो रुचि योगाभ्यास र अध्यात्मको स्वाध्यायन एवं स्वचिन्तनतर्फ बढेको छ । तर प्रकृतिसँग भने घुमफिरको अपवादबाहेक मैले खासै निकटता राख्न सकिराखेको थिइनँ । हुन त, आफ्नै घरआँगनको करेसाबारी र बोटबिरुवा गोडमेलमा घन्टौं समय बिताउनु मेरो नियमित अभ्यास नभएको पनि होइन । तर रजहरको यो चिकित्सालयमा मैले प्रकृतिमैत्री जीवनको जुन रस लिन पाएँ त्यो अविस्मरणीय र पालनयोग्य छ । जीवनलाई हेर्ने बुझ्ने दृष्टिकोण र व्यवहार नै अलि फरक हुन थालेको महसुस गर्दै छु । त्यहाँ बस्ताको अवलोकन र अनुभूति सामयिक महत्त्वको लागेको हुँदा यहाँ त्यसको थोरै चर्चा गर्नु उपयुक्त ठानेको छु ।
पूर्व–पश्चिम राजमार्गको यो खण्डमा पर्ने रजहर सानो र सुन्दर बस्ती रहेछ । त्यहाँबाट हाइवे वारपार गर्दा रजहर चोकमा मानिसको आँखा ठोक्किन सक्छ । तर त्यतिमै यो बस्तीको सौन्दर्य बोध हुँदैन, चिकित्सालय त परैको कुरा । धूलो र हुइकिँदा गाडीहरूको भयबाट मुक्त यो बस्तीको असली पहिचान राजमार्गले दिंदैन । राजमार्गबाट भित्र दायाँबायाँ व्यवस्थित सानो सहर लुकेर बसेको रहेछ । भित्री मधेसको पहाडी काखमा चिटिक्क परेका घरहरू, योजनाबद्ध देखिने सफा बाटो, ढल सबै किसिमबाट बसूँबसूँ लाग्ने बस्ती रहेछ त्यो । आदिवासी थारू, मगर र बाहुन–क्षत्रीको बाहुल्य रहेको त्यो बस्ती हेर्दा स्वस्थ, शान्त र समृद्ध पनि देखिन्छ । यो सुन्दर बस्तीको निर्माण सरकारी योजना वा कुनै प्रोजेक्टबाट नभई पहिलेदेखि बस्दै आएका वा राजमार्ग निर्माणसँगै बस्न आएका समुदाय आफैंले गरेको होला भनेर सहजै अनुमान गर्न सकिन्छ । न यो हिजोआज यत्रतत्र फैलिएको दलाल जग्गा कारोबारीले प्रकृतिको छाती कोरेझैं प्लटिङकै उपज हो, न त काठमाडौंमा बढ्दो अभिजातीय वर्गको विशिष्ट एनल्केभजस्तो महँगो रेसिडेन्सियल हाउसिङ नै हो । मनमनै कामना गरें, विकासका नाममा भद्दा कंक्रिट स्ट्रक्चरले यसको सौन्दर्य पछिसम्म नधमिलाओस, सुविधा भोगका लागि नवधनाढयको अलग बस्ती पनि नबनोस् ।
रजहरमा यो चिकित्सालय निर्माणको पनि सन्दर्भ आफ्नै खालको रहेछ । यसको ड्राइभिङ फोर्स समुदाय आफैं हो । ड्रइभिङ सिटमा हरि सापकोटा जो पहिले आफैं पेटको दीर्घरोगबाट पीडित जीवनको चौथो दशक पनि देख्न सकिन्न कि भनेर हरेस खाइसकेको अवस्थामा प्राकृतिक चिकित्साबाट नयाँ जीवन पाएका व्यक्ति रहेछन् । नाम चलेका अस्पताल र चिकित्सकहरूको वर्षौं एलोपेथिक उपचारबाट हायलकायल भई भारतको गोरखपुर र नेपालकै पोखरामा प्राकृतिक उपचारपछि उनले पूर्ण स्वास्थ्यलाभ गरेका रहेछन् । आफ्नो स्वास्थ्यलाभको अनुभव अरूका लागि पनि सहयोगी बनोस् भन्ने उद्देश्य र प्रतिबद्धताले उनलाई यो मिसनमा प्रेरित गरेछ । जनसमुदाय पनि सहयोगी बन्यो । स्थानीय सामुदायिक बनको भोगचलनमा रहेको जग्गा, स्थानीयवासीले देखाएको उत्साह र सहयोगी भावनाले रजहरको यो सुन्दर वातावरणमा प्राकृतिक चिकित्साको भरपर्दो आधार तयार भयो र २०६७ देखि ११ सयभन्दा बढी दाता सदस्य भएको सामुदायिक प्राकृतिक चिकित्सालयका रूपमा सञ्चालन हुँदै आएको छ । त्यहाँ उपचारार्थ आउने कसैलाई पनि बिरामी भनिंदो रहेनछ । ‘स्वास्थ्यार्थी’ शब्दको प्रयोग निकै उपयुक्त र राम्रो लाग्यो । ४०–४५ स्वास्थ्यार्थीले नियमित आवासीय स्वास्थ्य सेवा लिइरहेको प्रत्यक्ष देख्न पाइन्छ । आहार विहारलगायत प्राकृतिक चिकित्साको हिसाबले आवासीय उपचार अनिवार्य मानिंदो रहेछ ।
सरकारले उपलब्ध गराएको १० बिघा जमिनमा सञ्चालित यो चिकित्सालयबाट स्वास्थ्यलाभ गरी प्रेरित भएको दाताबाट समेत उपकरण जुटाइदिएका छन् । एउटा नयाँ भवनको पनि निर्माण गरिदिएका छन् । १५ कोठा भएको सो भवनका कारण अहिले थप ३० जनाले स्वास्थ्यलाभको सुविधा दिन सकिने भएको छ । हाम्रो ५ दिन पनि त्यही भवनको कोठामा बित्यो । अहिले करिब ५० स्वास्थ्यार्थीले दैनिक उपचार पाउने सुविधा उपलब्ध छ । स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा अर्को एउटा भवन पनि बन्दै छ । यो पूरा भएपछि ३ सय स्वास्थ्यार्थीले लाभ लिन सक्नेछन् । अन्तत: यसलाई प्राकृतिक चिकित्सा कलेज र अस्पताल मात्र होइन विश्वविद्यालय नै बनाउने लक्ष्य राखिएको छ जुन सरकारी नीतिअनुकूल भए यथार्थमा रूपान्तरण हुन धेरै लामो प्रतीक्षा गर्नुपर्ने छैन । यो नेपालका लागि आवश्यक पनि छ । प्राकृतिक चिकित्सा स्वास्थ्यकर्मी उत्पादनमा हामी शून्य छौं । कम्तीमा पनि यस विषयको कलेज बन्ने हो भने हाम्रो आफ्नै उत्पादन हुनेछ । अहिले एलोपेथिक पढाइमा जुन चाप छ, त्यसको पनि एउटा वैकल्पिक तर उपयोगी बाटो खुल्छ ।
गम्भीर सर्जरी गर्नुपर्नेबाहेक प्राय: सबै किसिमका स्वास्थ्य समस्याको उपचार गरिन्छ । तथापि नसा, ढाड, पेट, उच्च रक्तचाप, मृगौलासम्बन्धी समस्या भएकाहरू धेरै आउने गर्छन् र सफल परिणाम पनि यिनैमा पाइएको छ भनेर बताउँछन् चिकित्सालयमा कार्यरत प्राकृतिक चिकित्सक डा. विनोद पौडेल । सामान्यतया दुई सातादेखि एक महिना आवासीय उपचार न्यूनतम मानिंदो रहेछ । गम्भीर एवं दीर्घरोगका लागि पनि ३ महिनाको निरन्तर उपचार र फलोअपबाट सफल परिणाम पाएको अनुभव सुनाउँछन् फलोअपमा आएका स्वास्थ्यार्थीहरू । माइग्रेन टाउको दुखाइ, मोटोपन, तनाव, डिप्रेसनका समस्या बोकेर आउने स्वास्थ्यार्थीको संख्या पनि कम छैन । यसरी आउनेमा महिला–पुरुष दुवै उत्तिकै भेटिन्छन् । युरोपमा कार्यरत एक जना महिला, जो आफैं चिकित्सक पनि हुन्, मोटोपन घटाउन २ सातादेखि त्यहाँ उपचाररत भेटिइन् । उनी भन्दै थिइन् उनको वजन १२ किलो घटेको छ । त्यहाँ नदेखिएको एउटा उल्लेखनीय कुरा के हो भने उपचाररत बालबालिका ।
चिकित्सालय सञ्चालनको दैनिक खर्च उपचारका लागि आउने स्वास्थ्यार्थीहरूबाट प्राप्त हुने शुल्कबाट टरेको छ । एक जनाका लागि खानाबाहेक बेड र उपचार खर्च प्रतिदिन न्यूनतम ७ सय २० र अधिकतम १ हजार १ सय २० रुपैयाँ पर्ने बताउँछन् प्रमुख व्यवस्थापक हरि सापकोटा । यसमा बेडको १ सय देखि ५ सय र उपचारको ६ सय २० रुपैयाँ पर्छ । खाना अवस्था हेरेर सरदर दिनको सय रुपैयाँले पुग्छ । कम खर्चिलो पनि छ । हाम्रो शरीर पञ्च भौतिक तत्त्वले निर्माण गरेको छ र यसमा आउने कुनै पनि व्याधी विकार यसैका तत्त्व अर्थात् माटो, पानी, वायु, तेज, आकाशको प्रयोगबाट समन गर्न सकिन्छ भन्ने मान्यता प्राकृतिक उपचारको रहस्य हो । यही मान्यतामा प्राकृतिक चिकित्सा पद्धति विकास भएको छ । दैनिक दुई जना चिकित्सक, दर्जनौं सहयोगी उपचारमा संलग्न छन् । चिकित्सकले भारतमा शिक्षा प्राप्त गरेका छन् भने सहयोगीले त्यहींको तालिम र अनुभवबाट सिकेका छन् । गएको ६ वर्षमा १४ हजारले स्वास्थ्यलाभ गरेको बताउँछन् प्रमुख व्यवस्थापक हरि सापकोटा । 
प्राकृतिक चिकित्सा सनातनदेखि चल्दै आएको पद्धति हो । यसको योजनाबद्ध एवं समुचित विकास नेपालका लागि अनुकूल सावित हुन सक्छ । रोग लागेपछि उपचारभन्दा पनि प्रकृतिमैत्री जीवन पद्धतिको बानी बसाल्नु प्राकृतिक चिकित्साको महत्त्वपूर्ण सन्देश हो । एलोपेथिक हस्पिटलले जस्तो प्राकृतिक चिकित्साले हानिकारक फोहोर निकाल्दो रहेनछ । उपचारमा प्रयोग भएका सबै कुरा फेरि पञ्चतत्त्वमै मिल्छन् । अहिले स्वास्थ्यमन्त्री गगन थापा गम्भीर रोग लागेका सर्वसाधारणलाई औषधोपचार सुलभ गराउन सराहनीय रूपमा खटेको समाचार सुन्न पाइन्छ । उनको दृष्टि यतातिर पनि पुग्नु जरुरी छ । प्रकृतिमैत्री जीवन युवाहरूका लागि झन् बढी महत्त्वपूर्ण छ ताकि उनीहरू उमेर ढल्कँदै गएपछि राग्ने विविध रोगबाट मुक्त रहून् । राज्यले प्राकृतिक चिकित्सा नीति र कार्यक्रम बनाउन र त्यसको अपेक्षित कार्यान्वयनमा अरू ढिलो गर्न भएन ।
रोगको उपचारबाहेक यसको अर्को महत्त्वपूर्ण पक्ष भनेको प्रकृतिमैत्री जीवन पद्धति हो । अहिले सहरबजारका मानिस प्राकृतिक ब्रेकका लागि रिसोर्ट धाउने गर्छन् । मद्यपान र मीठो–चिल्लो खानाको स्वाद बसेकाहरू त्यहाँबाट उल्टै रोग बोकेर आउँछन् । प्रकृतिमैत्री रिसोर्ट (नेचर केयर होम) प्राय: पाइन्न । रजहरको यो चिकित्सालयले उपचार र प्रकृतिमैत्री बसाइ दुवै दिन सक्छ । त्यसका लागि जमिन उपलब्ध छ, केही पूर्वाधार पनि बन्दै छन् । प्रकृतिमैत्री बसाइ एउटा राम्रो उद्यम पनि बन्न सक्छ । यसले त्यस कुरामा नेतृत्वदायी भूमिका खेल्न सक्छ । अरूले त्यसलाई पछयाउँदै विस्तार गर्नेछन् ।

प्रकाशित : फाल्गुन २१, २०७३ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?