कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘केन्या पथ’ को भय

डिभिजन ५ बाट सुरू नेपालको यात्रा अहिले डिभिजन २ मा पुगेको छ । विश्वकपको सेमिफाइनल पुगेको केन्याको प्रदर्शन पनि ओरालो लाग्दै झरेर डिभिजन २ मै आइपुगेको छ । अर्को साता विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलमा नेपालले कीर्तिपुर मैदानमा केन्याको आतिथ्य गर्दै छ ।
विनोद पाण्डे

भारतीय भूमिमा १९९६ मा भएको विश्वकप क्रिकेटको प्रभावबाट नेपाल पनि अछुतो थिएन । भारत, पाकिस्तान र श्रीलंकाले संयुक्त रूपमा क्रिकेटको सबैभन्दा ठूलो इभेन्ट गरेका थिए । बंगलादेश अझै यो स्तरमा आइसकेको थिएन । धेरैले मान्छन्– स्याटेलाइटको माध्यमबाट उक्त विश्वकपले नेपाली क्रिकेटमा ठूलै तरङ्ग ल्यायो ।

‘केन्या पथ’ को भय

नेपालको सिमानाबाट नजिकैको भारतीय सहर पटनामा पनि विश्वकप खेल भएको थियो । १९९६ मा केन्याले पहिलो पटक सहभागिता जनाउँदा नेपालका अहिलेका प्रमुख बलरद्वय सोमपाल कामी र सन्दीप लामिछाने जन्मिएकै थिएनन् । ज्ञानेन्द्र मल्ल र शरद भेषावकर १९९६ को विश्वकप टेलिभिजनमा प्रत्यक्ष हेरेपछि हुर्किएका पुस्ता हुन् । दुई शतकसहित सचिन तेन्दुलकर उक्त विश्वकपमा ५ सयभन्दा बढी रन बनाएका थिए । यसले शरदको खेल जीवनमा ठूलो प्रभाव जमायो ।
केन्याले पहिलो पटक विश्वकपमा सहभागिता जनाएको यही प्रतियोगिता थियो । पहिलो सहभागितामै उसले सनसनी नतिजा निकाल्यो । ब्रायन लारा, रिची रिचर्डसन, शिवनारायण चन्द्रपालजस्ता ब्याट्सम्यान समावेश वेस्ट इन्डिज माथि ७३ रनको विजय हात पारी केन्याले विश्व क्रिकेटमा हलचल ल्यायो । ८० को दशकको अन्त्यसम्म वेस्ट इन्डिजले विश्व क्रिकेटमा जमाएको वर्चस्व बाँकी नै रहेको समयमा केन्या विजयी भएको थियो ।
त्यति बेलासम्म नेपाल अन्तर्राष्ट्रिय क्रिकेटमा पुगिसकेको थिएन । भारतमा विश्वकप भएको लगभग त्यही समयमा वीरगन्जमा जय ट्रफी राष्ट्रिय प्रतियोगिता भइरहेको थियो । यो प्रतियोगिता पहिलो एसीसी ट्रफीका लागि आधार थियो, जसले नेपालको अन्तर्राष्ट्रिय प्रतियोगितामा ढोका खोल्दै थियो । १९९६ को सेप्टेम्बरमा मलेसियामा गएर नेपालले एसीसी ट्रफीमा सहभागिता जनायो । १९९६ को विश्वकपमा वेस्ट इन्डिजमाथि पाएको विजयपछि हौसिएको केन्याको लक्ष्य अझ ठूलो भइसकेको थियो । एसीसी ट्रफी २–२ वर्षमा आयोजना हुन्थ्यो । त्यसको मतलब नेपालले अर्को प्रतियोगिता खेल्न २ वर्ष कुर्नुपथ्र्यो । ठूलो नभए पनि केन्याले आफूसरहका टिमसँग खेल्न पाइरहेको थियो ।
नेपालको अन्तर्राष्ट्रिय सहभागिता एसीसी ट्रफीमै सीमित भइरहेको थियो । केन्या १९९७ मा विश्वकपमा छनोटमा दोस्रो भएर लगातार दोस्रो पटक विश्वकपका लागि छानिएको थियो । २००३ को विश्वकपमा पुग्दै केन्याले हयाट्रिक गर्‍यो । अफ्रिकी भूमिमा पहिलो पटक आयोजित २००३ को विश्वकपले केन्याका लागि धेरै ढोकाहरू खोलिदिएको थियो । दक्षिण अफ्रिकासँग पहिलो खेलमा पराजित भए पनि केन्याले अर्को खेलमा क्यानाडालाई पराजित गरेको थियो र न्युजिल्यान्डबाट वाकओभर पाएको थियो । श्रीलंका र बंगलादेशसँगको विजयले केन्यालाई सुपर लिगमा पुर्‍याइसकेको थियो । वेस्ट इन्डिजसँगको अन्तिम खेलमा पराजय भोग्नुअगाडि नै केन्याको यात्रा सुपर लिगमा पुगेको थियो ।
सुपर लिगमा केन्या छिमेकी जिम्बावेलाई पनि पन्छाई विश्वकपको सेमिफाइनल पुग्ने पहिलो एसोसिएट राष्ट्र बन्यो । ठूलो टोलीमाथि विजय हात पारे एसोसिएट राष्ट्रका लागि टेस्टको ढोका खुल्थ्यो । १९९९ को विश्वकपमा बंगलादेशले पाकिस्तानमाथि विजय हात पारी टेस्ट राष्ट्रमा सूचीकृत भएको थियो । केन्याले प्रतिस्पर्धात्मक खेलबाटै श्रीलंका र बंगलादेशलाई पन्छाएको थियो । नतिजालाई नै आधार मान्ने हो भने पनि केन्या सेमिफाइनल पुगेको थियो । केन्या टेस्ट क्रिकेटको ११ औं राष्ट्र बन्ने क्रममा थियो । पछिल्ला आधारलाई मान्ने हो भने यसको घोषणा हुन मात्र बाँकी थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले एउटा स्तर नाघिसकेपछि एसोसिएट राष्ट्रका लागि स्पष्ट खाका बनाएको छैन । केन्या यही खाल्डोमा पर्‍यो । २००३ देखि २००५ को अन्तसम्ममा केन्याले ठूलो टोली भनिएको टेस्ट खेल्ने राष्ट्रसँग केवल ५ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न पायो । टेस्ट मान्यता त टाढाकै विषय भइसकेको थियो । एक्सपोजर र अन्तर्राष्ट्रिय क्यालेन्डर अभावमा केन्याको क्रिकेट झन्–झन् पछाडि धकेलिंदै थियो । २००७ र २०११ को विश्वकपमा जसो–तसो छनोट भए पनि केन्याले त्यसअघिको जस्तो छाप छोड्न सकेन ।
२००१ मा आईसीसी ट्रफीमा प्रतिस्पर्धा गरेपछि नेपालको विश्वकपजस्ता प्रतियोगितामा छनोट हुने आधार खुलेको थियो । तर नेपालको प्रदर्शन एउटा स्तरभन्दा माथि पुगेको थिएन, खुम्चिएको थियो । २००७ मा विश्व क्रिकेट लिगको संरचना आएपछि नेपाललाई माथिल्लो स्तरमा पुग्ने सजिलो बाटो खुलेको थियो । डिभिजन ५ बाट सुरु नेपालको यात्रा अहिले डिभिजन २ मा पुगेको छ । विश्वकपको सेमिफाइनल पुगेको केन्याको प्रदर्शन पनि ओरालो लाग्दै झरेर डिभिजन २ मै आइपुगेको छ । नेपाल र केन्या दुवैको लक्ष्य अहिले विश्वकप र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता छ ।
अर्को साता विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलमा नेपालले कीर्तिपुर मैदानमा केन्याको आतिथ्य गर्दै छ । एक हिसाबमा नेपाल र केन्या समान हैसियतका छन् । विश्व क्रिकेट वरीयतामा केन्या १७ र नेपाल १८ औं स्थानमा छ । १९९६ देखि २००३ सम्म केन्याले विश्वकपमा देखाएको प्रदर्शन नेपालजस्ता एसोसिएट राष्ट्रका लागि उदाहरण थियो । त्यसयताको समय भने नेपाली क्रिकेटकै लागि चेतावनी थियो । मैदानभित्र केन्याले उत्कृष्ट नतिजा दिए पनि क्रिकेट व्यवस्थापन ठयाक्कै उल्टो थियो । यसैले केन्याको क्रिकेटलाई धराशायी बनायो ।
गत वर्षको नोभेम्बरमा केन्याले च्याम्पियनसिपकै खेलमा हङकङको आतिथ्य गरेको थियो । आईसीसीको रोहवरमा हुने खेल केन्याले चार वर्षपछि पहिलो पटक आयोजना गरेको थियो । त्यसको कारण एउटा थियो, नैरोबी आउने टोलीलाई केन्याले सुरक्षाको प्रत्याभूति दिन नसक्नु र अर्को केन्या क्रिकेट बोर्डमा कुनै जोस नै नहुनु । केन्या क्रिकेट बोर्डको कोही सबैभन्दा बढी आलोचक छ भने त्यो केन्याकै खेलाडी हुन् । स्टिभ टिक्लो, मोउरिस ओडुम्बे, थोमस ओडोयो, आसिफ करिम, हितेश मोदी, केनेडी ओटिइनो, मार्टिन सुजी, राजव अली केन्याका स्वर्णिम पुस्ताका खेलाडी हुन् ।
नेपालले मैदानबाट राम्रो नतिजा दिइरहेको समयमा नेपाल क्रिकेट संघ लथालिंग थियो । त्यसको निरन्तरता अहिले निलम्बनमा पुगिसकेको छ । नेपाल क्रिकेट संघको व्यवस्थापनको यही हालत देखेर तत्कालीन अवस्थामा प्रशिक्षक पुबुदु दासानायके र कप्तान पारस खड्काले ‘नेपाल अर्को केन्या नबनोस्’ भनेर बारम्बर प्रतिक्रिया दिइरहन्थे । उनीहरूको डर थियो कतै नेपाली क्रिकेट अर्को केन्या बन्ने त होइन । संघका पदाधिकारीहरू भने यसलाई हारपछि प्रशिक्षक र कप्तानको ढाकछोप गर्ने वाणी भन्न पछि पर्दैन्थे ।
हङकङसँग गत वर्ष खेल्नुअघि केन्या क्रिकेटका सदावहार टिक्लोले आफ्नो देशको बोर्डमा भ्रष्टाचार ‘ओपन सेक्रेट’ जस्तै रहेको बताउन कुनै संकोच मानेनन् । नेपाली क्रिकेट खेलाडीले पनि आफ्नो
देशको क्रिकेट बोर्डमा यस्तो उदाहरण धेरै देखेका थिए । २०१३ को ट्वान्टी–२० विश्वकप छनोट खेल्न गएको नेपाली टोलीका खेलाडीलाई झन्डै ४५ हजार पर्ने ब्याट दिइएको थियो । ‘त्यो समयमा त्यत्ति महँगो ब्याट भारतका केही प्रमुख खेलाडीले मात्र प्रयोग गर्थे, हाम्रो त खुसीको सिमै थिएन,’ एक खेलाडीले हालै यो प्रसंग उप्काउँदै भनेका थिए, ‘तर दुबईमा प्रतियोगिता चलेसँगै माथिल्लो क्रममा ब्याटिङ गरेका ब्याट्सम्यानहरूको ब्याट १–२ खेलपछि नै भाँचिएको थियो । हामीसँग अर्को ब्याट थिएन । यूएईमा एनआरएनका पदाधिकारीले ब्याट किनेपछि नै खेल्न पायौंजस्तो भयो र विश्वकपमा पनि पुग्यौं ।’
नेपाली क्रिकेटका पदाधिकारीहरूको घर खर्च संघबाटै चल्ने गरेको खेलाडीहरूको खुल्लमखुला आरोप थियो । महँगो ब्याट खरिद प्रकरण एउटा उदाहरण मात्र थियो । आफूलाई पैसा आवश्यक परेमा पुरानो पासपोर्ट बनाएको लिन बाँकी रकम अथवा कुनै नयाँ शीर्षकमा पदाधिकारीहरू रकम निकाल्ने जोहो गरिहाल्थे । यसैमा खेलाडीहरूले नै अख्तियार दुरुपयोग अनुसान्धान आयोगमा क्यानमा अधिक भ्रष्टाचार भएको भनेर मुद्दा दर्ता गराए । अख्तियारले अनुसन्धान गरी विशेष अदालत पठायो । विशेष अदालतले प्रमाण अभावमा त्यसलाई खारेज गरिदियो । तर पनि संघ व्यवस्थापन स्ताको तस्तै नै रहयो ।
एक सयम यस्तो थियो केन्याको घरेलु क्रिकेटमा सञ्जय मान्जरेकर, किरण मोरे, सन्दीप पाटिल, मार्क रामप्रकाशजस्ता खेलाडी खेल्थे । लगातारको पतनपछि अहिले वर्षको ५ खेल हुन पनि गाह्रो परेको आरोप केन्याका पुराना खेलाडी करिमको छ । नेपाली क्रिकेटको घरेलु संरचना पनि एउटा टिमले वर्षमा ५ खेल खेल्न पाउने जस्तैमा अड्किएको थियो । ३ वर्षयता घरेलु क्रिकेटमा एकदिवसीय संरचनाको राष्ट्रिय प्रतियोगिता नै भएको छैन । आईसीसीले साढे दुई वर्षदेखि ‘फन्ड’ रोकिरहेको अवस्थामा तत्काललाई एकदिवसीय राष्ट्रिय प्रतियोगिता हुने आधार पनि छैन । एक वर्षअघि आईसीसीले क्यानमा लगाएको निलम्बनपछि खर्च अभावमा एकदिवसीय राष्ट्रिय प्रतियोगिता एकादेशको कथाजस्तै भइसकेको छ ।
केन्याले जति खेर उच्च प्रदर्शन गरेको थियो, त्यो बेला बोर्ड राष्ट्रिय टोलीमा मात्र केन्द्रित हुने गरेको आरोप थियो । केन्याले २०१५ को सुरुआतमा एकदिवसीय अन्तराष्ट्रिय मान्यता गुमाउँदा टिक्लो अझै टोलीका प्रमुख खेलाडी थिए, जति खेर उनी ४२ वर्षका थिए । युवा क्रिकेटका लागि कुनै नयाँ कार्यक्रम थिएन । दासायनायके २०११ मा आएपछि नेपालको प्रदर्शन उकालो लाग्यो । २०१४ को
ट्वान्टी–२० विश्वकपमा छनोट हुँदा केन्यालाई ठूलो स्कोरको खेलमा पराजित गर्‍यो । नतिजा आएसँगै नेपाली क्रिकेट पनि राष्ट्रिय टोलीमा मात्र केन्द्रित हुन पुगेको आरोप छ । वर्तमान राष्ट्रिय टोली ‘स्वर्णिम पुस्ता’ को छ । अहिलेलाई यो टोलीका खेलाडीलाई विस्थापित गाह्रो छ । भोलिका दिनमा नयाँ खेलाडी भेट्टिन गरो पर्ने अड्कल अहिले काटिएको छ । त्यसैले विश्लेषण गर्नेको बुझाइ नेपाली क्रिकेट लगभग केन्याकै पथमा अगाडि बढ्दै छ, वर्तमान संरचनाअनुसार पतनपथमा ।
टिक्लो प्रशिक्षक रूपमा नेपाल आउँदै छन् । १९९६ को विश्वकपमा वेस्ट इन्डिजमाथि स्मरणीय विजय पाउँदा म्यान अफ द म्याचमा चुनिएका ओडुम्बे ब्याटिङ प्रशिक्षक हुन् । च्याम्पियनसिपमा केन्या पाँचौं र नेपाल छैटौं स्थानमा छ । ८ राष्ट्र सहभागी च्याम्पियनसिपका शीर्ष चार टोलीले विश्वकप छनोटमा सोझै प्रवेश पाउनेछन् । तल्लो चार राष्ट्रले छनोटमा पुग्न कठिन बाटो तय गर्नुपर्ने हुन्छ । दुवै खेल जितेमा मात्र नेपाल र केन्यामध्ये एक राष्ट्रको शीर्ष चारमा पुग्ने सम्भावना रहन्छ । १–१ जितले पनि दुवैको शीर्ष चारको ढोका बन्द हुन सक्छ । ‘केन्यापथ’ छाडेर विश्वकप छनोटसम्म पुग्न नेपाल र केन्या दुवैका लागि तत्काल चाहिएको भनेको आफूअनुकुलको नतिजा हो । नतिजाकै हिसाबमा हार्ने ‘केन्यापथ’ मै रहनेछ ।

प्रकाशित : फाल्गुन २१, २०७३ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?