कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दंगल मनोविज्ञानको मार

दंगल मनोविज्ञानकै कारण जेन्डरबारेका छलफल प्राय: सधंै नारीविरूद्व पुरूषकै प्रतिमानभित्र रहेका मामिला बन्ने गरेका छन् । तर यो पुरूषविरूद्ध नारी वा नारीविरूद्ध पुरूषको कुरै होइन । यो त नारी, पुरूषलगायत अन्य सबै जेन्डर, जाति र वर्गहरुको रुढिवादी, एक अर्कालाई थिच्ने/दबाउने दंगलरुपी मानसिकताविरूद्धको संघर्ष हो ।
संजीव उप्रेती

रिडर्स झापाद्वारा काँकडभिट्टामा आयोजित कला साहित्य उत्सवका अन्तरक्रियाहरूमा खुला बहसको राम्रो अभ्यास भयो । चैतन्य मिश्र सरको ‘की नोट स्पिच’ बाट प्रारम्भ भएको उत्सवका केही छलफल निकै विचारोत्तेजक थिए । भुपाल राई, हेमन यात्री र चन्द्रवीर तुम्बापोले साहित्यमा जनजातीय चेतनाबारे छलफल गरे ।

दंगल मनोविज्ञानको मार

अनुभव अजित र नवीन सुब्बाले नेपाली सिनेमामा मधेसी तथा जनजातिहरू कसरी दर्साइएका छन् भन्नेबारे प्रश्नहरू उठाए । किन नेपाली सिनेमामा प्राय: गरेर बाहुन–क्षत्री समुदायकाहरू नायक, नायिका हुन्छन् र जनजातिहरू खलपात्र तथा मधेसीहरू विदुषकका रूपमा मात्र प्रस्तुत गरिन्छन् भन्ने अनुभवको प्रश्न थियो । नवीन सुब्बाले भने आजकल केही जनजाति अनुहारहरू मुख्य पात्रका रूपमा देखिन थाले तापनि नेपाली सिनेमा ‘उपल्ला’ जातिका सौन्दर्यशास्त्रबाटै प्रभावित छ भन्ने मत राखे । मधेसी तथा आदिवासी/जनजातिका मुद्दा केदार शर्मा, चन्द्र किशोर तथा राजन मुकारुङ वक्ता रहेको ‘भाषाको राजनीति’ तथा तुलानारायण शाह, विश्वप्रकाश शर्मा तथा बिन्दा पाण्डे ले छलफल गरेको ‘संविधानको घोषणापछिको सकस’ मा पनि प्रशस्त उठे ।

सन २००६ को राजनीतिक उलटपुलट तथा मधेसका आन्दोलनहरूपछि नेपालमा परिचयको राजनीति महत्त्वपूर्ण हुँदै गएको छ । त्यसको प्रत्यक्ष प्रभाव झापाको कला साहित्य उत्सवमा देखिनु स्वाभाविकै थियो । परिचयकै प्रश्न आहूति तथा घनश्याम भुसालको ‘वर्ग बढी महत्त्वपूर्ण वा जाती’ बारेको छलफलमा पनि उठयो । एमालेका नेता भुसालले जाति महत्त्वपूर्ण भए पनि राजनीतिक संघर्षको केन्द्रमा वर्ग नै हुन्छ भने । तर माओवादीका केन्द्रका पोलिटब्युरो सदस्य तथा दलित संघर्षका अभियन्ता आहूतिले नेपालमा वर्गको निर्माण नै जातीय धरातलमा भएको छ भन्ने तर्क गरे ।
जातीय र वर्गीय पहिचानको प्रश्न उठेको अवस्थामा लैंगिक पहिचानको मुद्दा नउठ्ने सवालै थिएन । प्रणिका कोयू, उमा सुवेदी, सावित्री गौतम तथा आहूति सहभागी ‘मायाको शासन’ मा त जेन्डरबारे कुरा उठ्नु स्वाभाविकै थियो । यसबाहेक सबैभन्दा बढी चर्काचर्की भयो लेखक नारायण वाग्ले सहजकर्ता रहेको सत्र ‘नेपाली साहित्यमा नारीवाद’ शीर्षकअन्तर्गत, हरिमाया भेटवाल, सीमा आभास तथा अर्चना थापा उपस्थित छलफलमा । 
भेटवालले नारीको आफ्नो कुनै भाषा नै छैन र उनीहरू पुरुषले निर्माण गरेको भाषा मार्फत आफूलाई व्यक्त गर्न बाध्य छन् भन्ने मत राखिन्, ‘या त नारीले मौन भएर बस्नुपर्ने, नत्र पुरुष निर्मित भाषा मार्फत अभिव्यक्ति खोज्नुपर्ने बाध्यता छ किनकि नारीका संवेदना र विचारहरूलाई पूर्ण रूपले दर्साउन सक्ने नारीको भाषा अहिलेसम्म आविष्कार नै भएको छैन ।’ सीमा आभासले भने पुरुष लेखकहरूले नारीका रजश्वला, गर्भधारणलगायतका अन्य अनुभवलाई अनुभव गर्न नसक्ने भएकाले नारीपात्रलाई राम्रो ढंगले चित्रित गर्नै सक्दैनन् भन्ने विचार प्रस्तुत गरिन् । 
छलफलको समाप्तिपछि विभिन्न किसिमका प्रतिक्रिया सुन्न पाइयो । तीमध्ये एउटा थियो—आज सत्रका सहजकर्ता नारायण वाग्लेको ‘रामधुलाइ’ भयो । अर्को थियो— सीमा आभासले छलफल दौरान सोधिएका प्रश्नलाई सम्बोधन नगरी पितृसत्ताविरुद्घको व्यक्तिगत आक्रोश मात्र व्यक्त गरिन् । यस विषयमा म पछि फर्कनेछु । 
भाष्कर गौतमद्वारा सञ्चालित ‘आलोचनात्मक चेतना र बहस’ मा मसित हुनुहुन्थ्यो पत्रकार तथा लेखक सावित्री गौतम तथा एमालेका युवा नेता अशेष घिमिरे । सावित्रीले गएको दुई दशकमा आलोचनात्मक चेतनाको केही विकास भएको भए तापनि पितृसत्ताको संरचनाले गर्दा उक्त विकास अवरुद्घ हुँदै आएको कुरा गरिन् भने अशेषले राजनीतिक दलहरूको आधारभूत संरचनामै रचनात्मक आलोचनालाई धैर्यपूर्वक सुन्ने र मनन गर्न सक्ने किसिमको वातावरण सिर्जना हुनुपर्छ भन्ने मत राखे । 
यहाँ मैले भने यिनै विषयसँग जोडिएका केही सैद्धान्तिक पक्षहरूलाई केलाउने जमर्को गरेको छु । केही समयअघि हेरेको हिन्दी फिल्म ‘दंगल’ र त्यसको शीर्षक गीत ‘दंगल दंगल...’ खुब मन परेको थियो । सायद त्यसैले होला, मेरो निम्ति आलोचनात्मक चेतनाको विषय दंगलका कर्मकाण्ड तथा मनोविज्ञानसँग जोडिन पुग्यो । 
आधुनिक युद्वहरूमा कुनै नियमलाई पछ्याइँदैन, जित्नु नै युद्वको एक मात्र उद्देश्य हुन्छ । दंगलमा भने केही नियमहरू हुन्छन् । तिनै नियमअन्तर्गत रहेर दंगलमा आएका पहलवानहरूले एक अर्कालाई उचाल्ने, पछार्ने गर्छन् । तर मूल उद्देश्य दुवैको एउटै हुन्छ— उचालेर, बटारेर वा जे गरेर भए पनि प्रतिद्वन्द्वीलाई पछारेर जित्ने । मुख्य कुरा जित–हारको हो । एकअर्कालाई उचालेर, पछारेर वा ‘रामधुलाइ’ गरेर जित्ने हार्नेको ‘उत्सव’ हेर्दा दर्शकहरूलाई पनि मज्जा आउँछ । मानव जातिलाई यस्ता प्रतियोगिता हेर्दा ‘भोयुरिस्टीक’ आनन्द आउने गर्छ । थाइल्यान्डमा भाले जुधाएर आनन्द लिइन्छ, स्पेनमा मानिस र साँढे जुधाएर । ग्रीस तथा रोमका साम्राज्यहरूमा शासक वर्गले दासहरूलाई हिंस्रक जनावरसँग जुधाएर आनन्द लिन्थे । यस्तो आनन्द मानव अवचेतनमा रहेको हिंसात्मक उग्रता तथा आक्रामकतासँग जोडिएको हुन्छ । यसै कारणले गर्दा जित–हारमा आधारित हिंसात्मक आनन्दले हामीलाई रोमाञ्चित गर्छ । 
तर के सार्वजनिक बहसका स्पेसहरू (सम्मेलन, अखबार पत्रिकाका पृष्ठ, कला साहित्य उत्सवहरू दौरान हुने चिन्तन र छलफल आदि) पनि पहलवानीका ‘सभ्य’ संस्करणहरू हुन् त ? वा के तिनले पनि दंगलकै जित–हार वा उठापटककै नियमहरूलाई अनिवार्यत: दर्साउनुपर्छ र ? मलाई लाग्छ, संसारका धेरैजसो पितृसत्तात्मक समाजहरूझैं नेपालमा पनि आलोचनात्मक चेतको राम्रो विकास नहुनुको मुख्य कारण के छ भने हामी अझै दंगल मनोविज्ञानबाट उन्मुक्त हुन सकेका छैनौं । सायद त्यसैले होला जाति, वर्ग वा जेन्डरबारेका अन्तक्र्रिया र बहस दौरान प्राय:जसो छलफलकर्ताहरूमा आफ्नो–आफ्नो मात्र कुरा सुनाउने हतारो, अर्काका कुरा सुन्ने धैर्यको कमी तथा ‘शास्त्रास्त्र’ हरूमा एकअर्कालाई पछारेर जित्नैपर्ने दंगली मानसिकताको प्रभाव देखिन्छ । 
‘शास्त्रास्त्र’ शब्द पनि पुरुषहरूले नै सिर्जना गरेको हो । प्राचीनकालमा केही अपवादबाहेक नारीको हातमा न शस्त्र हुन्थ्यो, न शास्त्र । दलित वा अन्य दमित समुदायहरूका हातमा पनि शस्त्र तथा शास्त्र विरलै हुन्थे । जसको हातमा यी दुवै हतियार हुन्थे तिनले नै जित–हार तथा दमनका दंगली नियमहरूलाई लिखित वा अलिखित सामाजिक कानुनका रूपमा ढाल्दै लगे । 
व्यक्तिगत तवरमा मलाई लाग्छ— कहिलेकाहीं बौद्घिक बहसहरूमा जित्नुसट्टा हार्नु पो बढी महत्त्वपूर्ण हो कि ? हेगलले मालिक तथा दास (मास्टर र स्लेभ) बीचको द्वन्द्वात्मक संघर्षबारे छलफल गर्दै भनेका छन— यस संघर्षमा मालिकको विजय हुने भए तापनि, सकारात्मक रूपान्तरणको अवसर भने दासलाई मात्र उपलब्ध हुन्छ । मालिक त आफ्नो जितमा मख्ख परेर, आफ्नो अहम्को राजदरबारमा भित्र रमाएरै बस्छ । जो हार्छ, ऊचाहिं चुपचाप बस्नै सक्दैन । म किन हारें, मेरो हारका पछाडि के कस्ता राजनीतिक तथा आर्थिक कारणहरू थिए भनेर आफैंलाई सोधिरहनु उसको बाध्यता हो । तर त्यही बाध्यता उसको शक्ति पनि हो किनकि त्यसैबाट उसका रूपान्तरण तथा मुक्तिका बाटाहरू खुल्दै जान्छन् । उसले आफैंलाई पुन: दोहोराएर बुझ्न खोज्छ, आफ्नो समाजलाई बुझ्न खोज्छ । त्यसै बुझाइद्वारा नै उसले आफैंलाई तथा समाजलाइ समेत परिवर्तित गर्ने ज्ञान तथा आँट दुवै बटुल्दै लैजान्छ । 
आलोचनात्मक चेतको विकासनिम्ति दंगलको मानसिकताबाट माथि उठ्नु जरुरी छ । छलफल वा अन्तरक्रिया कार्यक्रमहरूमा कसले कसलाई पछार्‍यो भन्ने कुरा महत्त्वपूर्ण होइन । छलफल मार्फत कुनै नयाँ विचार उत्पन्न भयो भएन भन्ने कुरा बढी महत्त्वपूर्ण हो । 
हामी अन्तरक्रिया कार्यक्रमहरूमा आफ्ना–आफ्ना ‘ज्ञान’ का भारी बोकेर आउँछौं र आफ्ना भारीले अर्कालाई दनक दिएर विजयी हुनुको आनन्दमा रम्छौं । तर सायद दक्षिण एसियाली बौद्घिक परम्पराबारे छलफल दौरान सीके लालले भनेझैं सत्य सधैंको लागि अपरिवर्तनशील वा शाश्वत हुनु साटो वार्तालाप, शोध तथा छलफल मार्फत लगातार परिस्कृत तथा परिवर्तन भइरहने कुरो पो हो कि ? विज्ञानले त ज्ञानलाई परिवर्तनशील नै ठान्छ । जब हामी सत्यलाई अपरिवर्तनशील ठान्न थाल्छौं, तब विज्ञान हराउँछ, रूढिवादी पाण्डित्य हावी हुन्छ । अनि आलोचनात्मक चेतलाई दंगलले विस्थापित गर्छ । 
दंगलको मनोविज्ञान ‘पुंसत्व’का कर्मकाण्डसँग पनि जोडिएको छ । पुरुषहरूलाई बाल्यकालदेखि नै उग्र र आक्रामक हुनुपर्छ, पैसा र नाम कमाएर संसारमा ‘विजयको झन्डा’ गाड्नुपर्छ भनेर सिकाइएको हुन्छ । हुन त यस्तो भावना पुरुषहरूमा मात्र पाइँदैन । नारी तथा अन्य जेन्डरहरू पनि यही समाजमा बाँच्ने हुँदा उनीहरूले पनि दंगलकै जित–हारको मनोविज्ञानलाई आन्तरिकरण गरेका हुन सक्छन् । यो एउटा समस्या हो । बाघ–भालुले घेरिएको मानिसलाई गान्धीबादको मन्त्र जपेर मात्र उम्कन गार्‍है हुन्छ । हिंसाको समर्थन गर्न सकिन्न, तर हिंसा, प्रतिहिंसा, दमन र आक्रोश के कस्ता ऐतिहासिक, आर्थिक र राजनीतिक परिप्रेक्ष्यमा घटित हुन्छन् भनेर बुझ्न पनि जरुरी छ । खासगरेर नारी, दलित तथा जनजाति समुदायकाहरूका पीडा र आक्रोश दुवैलाई बुझ्ने कोसिस गर्नुपर्छ । युगौंदेखि उत्पीडनमा परेकाहरूको आक्रोशलाई मजस्ता उपल्लो कहिलाइएका जातका मध्यमवर्गीय पुरुषहरूले धैर्यसाथ सुन्नु र बुझ्नु आवश्यक छ । अर्को पक्षको कुरा धैर्यसँग सुन्दै जाँदा हामी आफ्नै बारेमा, समाजको संरचनाका बारेमा तथा आफूहरूले पाउँदै आएका ‘संरचनात्मक लाभांश’ बारे बढी बुझ्न सक्छौं । यस किसिमका वार्तालापहरूमा जित–हार त्यति महत्त्वपूर्ण होइन । मुख्य कुरा एकअर्कालाई वैचारिक दंगलमा पछार्नु होइन, कुरोको चुरोसम्म पुग्न खोज्नु हो । 
दंगली मनोविज्ञानकै कारणले गर्दा जेन्डरबारेका छलफल प्राय: सधैं नारीविरुद्व पुरुषकै प्रतिमानभित्र रहेका मामिला बन्ने गरेका छन् । तर यो पुरुषविरुद्घ नारी वा नारीविरुद्घ पुरुषको कुरै होइन । यो त नारी, पुरुषलगायत अन्य सबै जेन्डर, जाति र वर्गहरूको रूढिवादी, एकअर्कालाई थिच्ने, दबाउने दंगलरूपी मानसिकताविरुद्घको संघर्ष हो । यो सबै किसिमका सामाजिक हायरार्की (शक्तिको अधिक्रम) विरुद्घको सामूहिक दीर्घकालीन संघर्ष हो । 
समाजमा नारीहरूले सामना गर्नुपरेको ‘विरोधाभासी सत्य’ लाई पुरुषले बुझ्न सजिलो पक्कै छैन, तर बुझ्ने कोसिसचाहिँ गरिरहनुपर्छ । दैनिक जीवनका विसंगतिदेखि लिएर राजनीतिक उपेक्षा र न्यायिक अवहेलनासम्म खेप्नुपरेकाले नारीमा आक्रोश हुनु स्वाभाविक हो । कहिलेकाहीं आक्रोशपूर्ण अभिव्यक्तिहरूको आफ्नै किसिमको महत्त्व पनि हुन्छ । सार्वजनिक स्पेसमा अभिव्यक्त भएका ती आक्रोशले रूढिवादी विचारहरूलाई बढार्न मद्दत गर्छन् । ‘सक ट्रिटमेन्ट’ पनि उपचारकै एउटा पद्घति हो । तर साथसाथै आक्रोशका आफ्नै समस्या पनि छन्— विश्लेषण र आलोचनात्मक चेतलाई आक्रोशले विस्थापित गर्नेबित्तिकै थप छलफल गर्न असम्भवै हुन्छ । त्यस्तो अवस्थामा पितृसत्तात्मक संरचनाविरुद्घको जटिल सामूहिक संघर्ष मात्र नारी पुरुषबीचको भिडन्तको रूपमा प्रस्तुत हुन थाल्छ । 
अर्को समस्या— यदि दंगलको मनोविज्ञान युद्घमा अरूलाई पछारेर स्थापित भएका शक्तिमान (पुरुष, उपल्लो जाति तथा वर्ग आदि) हरूको मनोविज्ञान हो भने आफ्नो अधिकारनिम्ति संघर्षरत समूहहरूको निम्ति के कस्ता विकल्प उपलब्ध छन् त ? थिचिएकाहरूले आफ्नो उन्मुक्तिका लागि त लड्नैपर्‍यो । तर त्यसो गर्नेबित्तिकै उनीहरू शक्तिमानहरूद्वारा सिर्जित जित–हारकै भाषा बोल्न बाध्य हुन्छन् । 
त्यसो भए के दंगली मनोविज्ञानभन्दा बाहिर निस्केर वैकल्पिक सामाजिक मूल्य तथा रणनीतिहरूको परिकल्पना गर्न सकिएला त ? यसबारेमा छलफल गर्न किन गार्‍हो छ भने ती वैकल्पिक मूल्यहरू खोज्ने सायद कुनै ‘भाषा’ नै बनेको छैन । जसरी नारीहरू पुरुषद्वारा बनाइएका भाषा बोल्न बाध्य छन्, त्यसरी नै उनीहरू पितृसत्तालाई चुनौती दिँदा दंगलकै मानसिकतालाई बोकेर हिँड्नसमेत विवश छन । मधेसी, जनजाति, दलित, तल्लो वर्गलगायत अन्य उपेक्षित समूहको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ । दंगलमा नउत्रिऊँ त सधैं थिचोमिचोमा परिरहने अवस्था, दंगलमा उत्रिऊँ त शक्तिमानहरूले बनाएका जित, हार, उठापटक आदिका नियम कानुन तथा कर्मकाण्डलाई आत्मसात् गरिरहनुपर्ने । 
पृथ्वीको उत्पत्ति भएको तीन अर्ब वर्षभन्दा बढी भयो । मानव जाति जंगली अवस्था पार गरेर अगाडि बढ्न थालेको सायद दस हजार वर्षभन्दा बढी भइसकेको छैन । अहिलेसम्मका कुनै पनि मानव समाज न पूर्ण रूपले सद्दे हुन सकेको छ न सभ्य । सायद भविष्यमा कुनै दिन यस विश्वमा जाति र वर्ग हराउनेछ । नारी र पुरुषलगायत अन्य सबै बीचका असमानता र विसंगतिहरू हराउनेछन् । त्यस बेलामात्र मानव समाज वास्तवमै सभ्य बन्नेछ । त्यतिन्जेल भने बेला–बेला विद्रोहहरू भड्की नै रहनेछन् । अहिंसाको जति नै मानवतावादी गुणगान गरे पनि हिंसा पनि हुनेछ । यो सब हुँदाहुँदै पनि खुला बहसको परिकल्पना गर्दा भने जित–हार तथा उठापटकको मानसिकताबाट उम्कने प्रयास अलिकति भए पनि गर्न सकिन्छ कि ?
सायद त्यति मात्र गर्न सके पनि वास्तवमै आलोचनात्मक चेतको विस्तार हुनेछ । नत्र बहसहरू त हुने नै छन, तर ती बहसहरूमा भाग लिन भनेर आ–आफ्ना ‘ज्ञान’ का भारी बोकेर आएका हामी सबै बहसको समाप्तिपछि पनि तिनै भारी बोकेर आ–आफ्ना घर फर्कनेछौं । बहसमा हामीले अरूका ‘फरक’ दृष्टिकोणहरूलाई बुझ्ने प्रयास गर्ने छैनौं । वा बुझे पनि उपहास गरेर उडाइदिनेछौं । यस्ता बहसहरू हाम्रा आत्मरूपान्तरणका माध्यम कहिल्यै बन्न सक्ने छैनन् । हामीजस्तो आयो त्यस्तै फर्कनेछौं । उत्तिकै ‘विजयी’ उत्तिकै अपराजेय भ्रममा तथा आत्मप्रेमको आफ्नै ‘नार्सिसिस्टिक कैद’ भित्र आफैं उत्तिकै रमाउँदै । त्यस कैदबाट मुक्त हुन सके मात्र आलोचनात्मक चेतको विकास हुन सक्नेछ । नत्र गोष्ठी, सेमिनार, छलफल, उत्सवहरूमा सधैं दंगल दंगल मात्र हुनेछ । 

प्रकाशित : फाल्गुन २१, २०७३ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?