कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामधुलाइको ऐँठन

सार्वजनिक बहसहरूमा महिलाहरू कसैलाई दबाउन नभएर आफू उभिन बोलेका हुन् । ‘हामी पनि मान्छे भएर बाँच्न चाहन्छौँ है’ भन्ने जानकारी दिन बोलेका हुन् । त्यसैलाई दबंगका रूपमा बुझिन्छ भने के भन्नु ?
सीमा आभास

झापाको काँकडभिट्टामा रिडर्स झापाले गरेको कला साहित्य उत्सवकै प्रसङ्ग छ । सवाल नारीवादकै हो । ‘साहित्यमा नारीवाद’ सेसनमै केन्द्रित रहेर कुरा गर्नुपर्नेछ । पत्रकार नारायण वाग्लेले मोडरेट गरेको सेसनमा हरिमाया भेटवाल, अर्चना थापा र म थियौँ ।

रामधुलाइको ऐँठन

यही सेरोफेरोमा ‘कोसेली’ को गतांकमा प्रकाशित ‘दंगल मनोविज्ञानको मार’ शीर्षकको आलेखमा संजीव उप्रेती सरले उठाएका केही सवालहरूमा मेरो केही भन्नु छ ।
संजीव सरको आलेखमा छ, ‘भेटवालले नारीको आफ्नो कुनै भाषा नै छैन र उनीहरू पुरुषले निर्माण गरेको भाषामार्फत आफूलाई व्यक्त गर्न बाध्य छन् भन्ने मत राखिन्, या त नारीले मौन भएर बस्नुपर्ने, नत्र पुरुष निर्मित भाषामार्फत अभिव्यक्ति खोज्नुपर्ने बाध्यता छ किनकि नारीका संवेदना र विचारहरूलाई दर्साउन सक्ने नारीको भाषा अहिलेसम्म आविष्कारै भएको छैन ।’ म विनम्रतापूर्वक यो भनाइलाई सच्याउन चाहन्छु । सो बहसमा नारीको आफ्नो भाषा नै छैन भनेर भाषाको विषयमा कुरा उठाएको मैले हो । हरिमाया भेटवालले यो सवालमा सहमति जनाउँदै थप प्रष्ट पार्नुभएको हो । उक्त बहसको रेकर्ड अहिले पनि युट्युबमा सुरक्षित रहेकाले यथार्थ थाहा पाउन कत्ति गाह्रो छैन ।
कार्यक्रमको समाप्तिलगत्तै म विराटनगरतर्फ हिँडेकाले त्यसपछिको सरगर्मी र प्रतिक्रिया मैले सुन्नै पाइनँ । सोही लेखमा छ, ‘छलफलको समाप्तिपछि विभिन्न किसिमका प्रतिक्रिया सुन्न पाइयो । तीमध्ये एउटा थियो— आजको सत्रका सहजकर्ता नारायण वाग्लेको रामधुलाइ भयो ।’ नारीवादका बारेमा नारायण वाग्लेले सोधेका प्रश्नहरू सामान्य लागे पनि कतिपय विषय गम्भीर थिए । हाम्रा घर र समाजमा सामान्य बोलीचालीमा समाजले महिलामाथि जे भनिरहेको छ र जे भइरहेको छ, ती विषयहरू दिनहुँ देख्दादेख्दा र भोग्दाभोग्दा सामान्य लाग्ने गर्छन् । तर, त्यसभित्रको असामान्य स्थितिलाई कहिल्यै हेरिएन । सम्बोधन गर्ने विषय पनि बनाइएन । नारायण वाग्लेसँग केको रिस या पूर्वाग्रह थियो र उहाँलाई हामीले रामधुलाइ गर्नुपर्ने ? छलफल र बहसका क्रममा सार्वजनिक भएको अभिव्यक्तिलाई व्यक्तिगत बनाएर व्याख्या गरिनु कत्तिको न्यायपूर्ण हुन्छ ?
यथार्थ के हो भने वाग्लेले हालसम्म महिलासम्बन्धी चलिरहेको र बुझिरहेको आम मान्यताकै परिप्रेक्ष्यमा रहेर सुन्दर ढंगले कार्यक्रमको सुरुआती र समाप्ति गरेका थिए ।
नेपाली समाजलाई निक्र्योल गरेर निश्चित गतिमा अघि बढी नसकेको सिद्धान्त हो नारीवाद । त्यति मात्र होइन, आम जनमानसले स्वीकार गरी नसकेको सिद्धान्त पनि हो नारीवाद । नारीहरूले बोल्ने कुराको पूर्वानुमानअनुसार कार्यक्रम अघि नबढे पनि विषयान्तर नगरी नारीकै बारेमा छलफल र बहस भएको थियो । अहिलेको सन्दर्भमा हामीले गर्ने यस्ता छलफल र बहस महिला उभिएको स्थानबाटै वा झिनामसिना भनिने महिलाका कुराहरूकै बारेमा केन्द्रित गर्नुपर्छ । तसर्थ यस्ता बहसमा उठाउनुपर्ने कतिपय विषय व्यक्तिगत जस्ता लागे पनि प्राज्ञिक विषय नै हुन् ।
पश्चिमा मुलुकबाट आयातित नारीवादका सिद्धान्तलाई आधार बनाएर हामीले नेपाली समाजका नारीहरूका बारेमा बोल्ने गरेका छौँ । पश्चिमी र पूर्वीय सभ्यताको दोसाँधमा हुर्किंदै गएको हाम्रो समाजमा महिलासम्बन्धी मान्यता र महिलालाई दिइएको स्थानबीच आकाश–जमिनको अन्तर छ । यदि नारीवादलाई सिद्धान्तमा ढालेर व्याख्या र विश्लेषण गर्ने हो भने हाम्रो समाजका मान्यतामा आधारित रहेर नारीवादको छुट्टै र अलग सिद्धान्त तयार गर्नुपर्ने हुन्छ । हाम्रो समाजमा विद्यमान पुरुष र नारी मनोविज्ञानलाई अध्ययन गरेर मात्र त्यस्तो सिद्धान्तको प्रतिपादन गर्नुपर्ने हुन्छ । अनि मात्र हामीले सहीढंगले ब्याख्या, विश्लेषण गर्न सक्छौ । त्यसलाई सही ढंगले बुझ्न र ग्रहण गर्न सक्छौँ । नत्र नेपाली समाजमा महिलाको आवाजलाई सही ढंगले बुझ्न सकिँदैन । महिलाको भाषा पुरुषको भाषासँग नमिल्ने हुँदा भाषान्तरको कारणले एक थोक भन्यो भने बुझ्नेले अर्कै थोक बुझिदिन्छ । एक थोक भन्नु र अर्को थोक बुझ्नु जति ठूलो दुर्घटना अरू के हुन्छ ? नारीका सवालमा बोलिरहेको बेलामा नारायण वाग्लेलाई रामधुलाइ भयो भन्नु भन्न खोजेको कुरा एउटा र बुझाइ अर्को भएको हो । यसलाई भाषान्तरले ल्याएको एउटा ठूलै दुर्घटना मान्न सकिन्छ ।
हामीले नेपाली समाजमा मान्य हुने र व्यावहारिक हुने गरी नारीवादलाई व्याख्या र विश्लेषण गर्न थालेकै छैनौँ । खुला समाज भनिने पश्चिमी सभ्यताको नारीवादसम्बन्धी स्थापित सिद्धान्तलाई टेकेर बोल्यो या लेख्यो भनेमात्र प्राज्ञिक र अब्बल मानिने मानसिकता नत्यागेसम्म नारीवादलाई सही रूपमा बुझ्न सकिँदैन । किनभने नेपाली समाजमा नारीका सवालहरू फरक छन् । यसबारेमा विस्तारमा चर्चा गरौँला ।
हाम्रा दिनहुँका भोगाइलाई सम्बोधन गरेर नारीवादका नारा उठाउनु व्यावहारिक हुन्छ । नेपाली समाजमा भइरहेका महिलामाथिका थिचोमिचो र विभेदलाई पहिचान गर्नु, हातमा हात मिलाएर तिनलाई न्यूनीकरण गर्नेतिर लाग्नु हाम्रो दायित्व हो । हाम्रा समस्या र उल्झनहरू हामी आफैँले बोल्ने हो । हामी आफैँले सुनाउने र भन्ने हो । हाम्रा अनुभवहरूलाई सुनाउँदा व्यक्तिगत कुण्ठा या आक्रोश पोखेको भनेर गरिने ब्याख्या कति जायज छ ? यो समाजकी एउटी साधारण महिलाका व्यक्त/अव्यक्त तीता/मीठा अनुभव कुनै विद्वान्ले भन्दा स्वयं भुक्तभोगी महिलाले भन्न सक्छे । बरू केचाहिँ सत्य हो भने उसका ती अनुभवहरू नारीवादको नाममा प्रतिपादित सिद्धान्तको साँचोभित्र नपर्न सक्छन् । के कुनै पनि सिद्धान्तको साँचोभित्र नपर्ने महिलाका कतिपय कुरा ओकल्नै हुँदैन र ?
यति बेला समाजमा स्थापित मान्यता र इतिहासको समीक्षा गम्भीर रूपमा भइरहेको छ । धर्ममा होस्, कानुनमा होस्, वाद वा साहित्यिक सिद्धान्तमा क्षेत्र, जात, लिंग, पहिचानलगायतका यावत कुरामाथि प्रश्न उठाइएको छ । इतिहाससँग वर्तमानको ठूलो गुनासो र असन्तुष्टि छ । समाजमा एउटा वर्गले अर्को वर्गलाई बहिष्कार गरेर र दबाएर उभिएको स्थिति छ । त्यही वर्गअन्तर्गत महिला पनि सदियौँदेखि दबिएको र थिचिएको एउटा समुदाय हो । त्यही समुदायको काँधमा टेकेर हरेक युग र समाज उभिएको छ ।
खासमा महिलाहरू माकुराको जालोजस्तो धर्म, संस्कार, संस्कृति र कानुनको जालोभित्र गज्याङगुजुङ पाराले जेलिएर निस्सासिँदै सामाजिक जीवन बाँच्न बाध्य छन् । महिलाहरूलाई समाजले नियम पालनकर्ताका रूपमा मात्रै उभ्याएको छ । समाजले उसका निम्ति निश्चित परिधिहरू तोकेको छ । तिनै परिधिसँग असन्तुष्टि राख्दै महिला वर्ग जसोतसो उभिने प्रयत्न गरिरहेका छन् । यसरी उभिन खोज्दा उनीहरूले समाजसँग चित्तबुझ्दो जवाफहरू पनि खोजिरहेका छन् । एउटा प्रश्नसँग अनेकन जवाफ स्वीटरको धागोझैँ तनन तन्किएर आउने गरेका छन् । संस्कारको कुरा उठाउँदा भाषा जोडिएर आउँछ, भाषासँग सामाजिक मान्यता सिक्रीझैँ गाँसिएर आउने गर्छन् । एकपछि अर्को सवाल–जवाफ जोडिएर आएका विषयलाई व्यक्तिगत आक्रोश ठान्ने विद्घत्वर्गलाई मेरो प्रश्न छ, त्यति ठूलो पितृसत्ताविरुद्धमा सार्वजनिक कार्यक्रममा उठाइएका सवालहरू एउटा वर्गको सार्वजनिक प्रश्न या जवाफ नभएर व्यक्तिगत आक्रोश कसरी हुन सक्छ ? यति गम्भीर विषयमा एकदमै हलुका ढंगले प्रतिक्रिया दिन सुहाउँछ कि सुहाउँदैन ?
सबै जना कसैको काँधमा चढेर, बहकाउमा लागेर या सोखका रूपमा साहित्यमा लागेका हुँदैनन् । उनीहरूले समातेका कलम यो समाजप्रति उत्तरदायी हुनुपर्छ । सार्वजनिक छलफल र बहसमा सामेल भएर बोल्दै गर्दा समाज र सम्बन्धित विषयप्रति सचेत बन्नैपर्छ । अहिले भइरहेका साहित्यिक महोत्सव देशभित्र मात्र होइन बाहिरसमेत चासोको विषय हुने गरेको छ । रेकर्डिङ गरी विभिन्न सामाजिक सञ्जालमा सुरक्षित राखेर पाठक र दर्शकले चाहेको बेला हेर्न, बुझ्न र यथार्थ थाहा पाउनसक्ने अवस्था छ । त्यस्ता बहसको मूल्यांकन र पुनर्मूल्यांकनसमेत भइरहेको छ । तसर्थ त्यस्ता सार्वजनिक छलफल र बहसमा सहभागी हुँदा आफ्नो बोलीप्रति झनै उत्तरदायी हुनुपर्ने परिस्थिति छ । यसरी सार्वजनिक मञ्चमा बोलेका कुराहरू कसरी व्यक्तिगत हुन सक्छन् ?
भलै मैले धूवाँधूवाँ बनेर ठूलो स्वरमा बोलेँ होला । कोमल र माधुर्यका प्रतिरूप मानिने महिलाको एउटा अवतार म पनि हुँ । समाजले अपेक्षा गरेअनुरूप कोमल भएर मैले बोलिनँ होला । अब त्यस्ता सार्वजनिक मञ्चहरूमा धेरै महिला सानो र कोमल स्वरले बोल्न सक्तैनन् । समाजले अपेक्षा गरेअनुरूप कोमल भाव दिन असमर्थ छन् । त्यसरी किन बोल्न छाडे भनेर प्रश्न गर्नुको साटो व्यक्तिगत आक्रोश भनेर लगाइने लाञ्छना कत्तिको बन्दनीय छ ? कतै यस्तो लाञ्छनाका पछाडि उही पुरातन जड मनोविज्ञान त हाबी छैन ? किनभने यस्ता लाञ्छनाले समाजका यावत कुराहरू परिवर्तन गर्छु भन्दाभन्दै पनि मनोविज्ञान परिर्वतन गर्न नसक्ने भाव दर्साइरहेको भान हुन्छ ।
आवाजकै सवालमा चर्चा गर्दा यसका प्रकृतिहरू अनेक छन् । मान्छेले बच्चासँग बोल्ने भाषा र आवाज, खुसी दर्साउने आवाज, प्रेम दर्साउने आवाज, पीडा दर्साउने आवाज फरक–फरक प्रकृतिको हुन्छ । हाम्रो समाजले मजस्ता महिलालाई गर्दै आएको व्यवहारका कारण आएको आवाजको स्वर सुन्नसमेत सक्दैन । यसरी निस्किएको स्वर कसैलाई दबाउन, होच्याउन या तर्साउनका लागि पक्कै होइन । यो स्वर समाजलाई सुनाउनका लागि निस्किएको हो । समाजले पीडा दिने विभिन्न गोटी घुटुघुटु निल्न लगाएपछि निस्किएको आवाज हो यो । सबैभन्दा पहिले समाजले यो आवाजभित्रको पीडालाई सुन्न सक्नुपर्छ । सुनेर मात्र पुग्दैन, त्यसलाई महसुस गर्न सक्नुपर्छ । अनिमात्र त्यस्तो आवाजभित्रको अन्तर्य थाहा पाउन सकिन्छ ।
हाम्रा प्रत्येक घरमा, प्रत्येक समाजमा एउटा आदिम वर्गरूपी महिलाहरू छन् । त्यो वर्ग कुनै न कुनै रूपमा आफ्नो स्वर दबाएर बेहोसजस्तै बाँचिरहेको छ । जब उनीहरू आफ्नो आदिम आवाज निकाल्छन्, समाज तर्सिन्छ । ननिकाल्नुपर्ने स्वर निकाले भनेर कुक्काउँछ । अनि महिलाको आवाज यस्तो हुँदैन भनेर सिकाउँछ । त्यसरी निस्किएका स्वरहरूलाई आक्रोश भन्छ । भलै त्यो आक्रोश रहेछ भने पनि किन उब्जियो होला भनेर एक पटक आफैंसँग प्रश्नसमेत गर्दैन । अनि महिलाबाट जहिल्यै शास्त्रीय ध्वनिकै अपेक्षा गर्छ र सार्वजनिक बहसमा उठेका सवालहरूलाई सहर्ष स्वीकार नगरी कटाक्ष गरिरहेको हुन्छ ।
सार्वजनिक बहसहरूमा महिलाहरू कसैलाई दबाउन नभएर आफू उभिन बोलेका हुन् । ‘हामी पनि मान्छे भएर बाँच्न चाहन्छौँ है’ भन्ने जानकारी दिन बोलेका हुन् । ‘हाम्रा स्वरहरू पनि सुन’ भनेका हुन् । ‘हामीलाई बुझ्ने कोसिस गर’ मात्र भनेका हुन् । त्यसैलाई दबंगका रूपमा बुझिन्छ भने के भन्नु ?
अर्कातिर जित्न या हार्नका लागि निस्किएका आवाज नभएर आफ्नो सामाजिक अस्तित्वको लडाइँका लागि निस्किएका आवाज हुन् । यो लडाइँ वा संघर्ष कुनै व्यक्तिविरुद्धको पक्कै होइन । स्थापित कुरीति, कुसंस्कारविरुद्धको आवाज हो । साहित्यिक छलफल र बहसहरू गोरु या भालेजुधाइ पक्कै होइनन् । त्यहाँ हुने विचार मन्थनलाई निष्पक्ष रूपमा समीक्षा गर्नुको साटो अर्कैरूपमा बुझिन्छ भने समस्या बुझ्नेको पनि हो ।
विज्ञानको नियमले भन्छ, क्रियाअनुसारको प्रतिक्रिया हुन्छ । एउटा सार्वजनिक कार्यक्रममा बोल्दा र आफ्नो विचार राख्दा हिंसाजस्तो सुनिन्छ भने त्यो चर्को आवाज समाजले महिलाका ढाडमा बसाएको नीलडामको प्रतिक्रिया हो । महिलाको चेतनामा घन हान्दाहान्दा निस्किएको आवाज हो त्यो । हामीले बोलेको उग्र सुनिन्छ भने समाजले हामीमाथि उग्र व्यवहार गरेको प्रतिक्रिया हो भनेर स्विकार्ने कि नस्विकार्ने ?
महिलाका पक्षमा उभिएर समाज परिवर्तनका लागि उभिने कुरा त परै जावस्, बहससम्म पनि सुन्न सक्ने धैर्य नभएको अवस्था देखिन्छ । आलोचनात्मक चेतनाका कतिपय विषय पक्कै पनि भजनजस्तो आनन्द दिने खालका हुँदैनन् । यसलाई उट्पट्याङ टिप्पणी वा प्रतिक्रियाका रूपमा मात्र लिइयो भने पक्कै अर्थको अनर्थ हुन्छ । हाम्रै धरातलमा पहाड बनेर जड रूपमा उभिएका सवालहरूमा मत–मतान्तर त हुन्छ नै ।
साहित्यिक उत्सवमा हुने बहसहरूले सकारात्मक निकास खोजिरहेकै हुन्छ । त्यो निकासका लागि हामीले एकअर्कालाई स्वीकार गरेर समस्यामाथि छलफल गर्दै नयाँ विचार दिने नै हो । साहित्यिक छलफल भनेको एउटाले हार्ने र अर्कोले जित्ने खेल पक्कै होइन । यो त प्रतिस्पर्धा नहुने विषय हो । छलफल र आलोचना या समालोचनामा जित–हारको सवाल नै उठ्तैन । महिलाले बोलेको सुन्दै नसुन्ने र बोलेको कुरालाई समेत अस्वीकार गर्नेचाहिँ कस्तो मानसिकता हो ?
नारीका मात्र भनेर बुझिएका सवालहरू अब पुरुषका पनि हुन् । समाजले स्थापित गरेको नकारात्मक जडताभित्र नारी–पुरुष सामूहिक रूपमा उभिनुको विकल्प छैन । यसरी उभिँदा व्यक्तिगत रूपमा रामधुलाइ गर्न उभिएका भनेर नबुझी दिए जाती हुन्थ्यो । बुझ्न र महुसुस गर्न त परै जावस् सही रूपमा सुन्नसमेत नसक्ने मानसिकताले हाम्रो सामाजिक कुरूपताको रामधुलाइ हुनै सक्दैन । हामीले फेर्ने प्रत्येक सासमा त्यसलाई अनुभूत गर्न सकियो भने मात्र हाम्रो घरको मझेरीमा एउटा सुन्दर बिहान मुस्कुराउनेछ ।

प्रकाशित : फाल्गुन २८, २०७३ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?