जीवन एक सम्झना
किन छोडेर जान्छ समयले
--उमेश अकिञ्चन
र
मात्र हामी सम्झना भएर बाँच्छौं ?
हामी के भयौं वा भएनौं ?
ठूलो त जीवनको सिकाइ हो
जसका लागि बिताउनुपर्नेछ एउटा जुनी
वा
लेख्नुपर्नेछ पात्रहरुले भरिएको उपन्यास
गाउा छाडेर जाने युवाका ताँतीलाई
बिदाइको हरियो रूमाल हल्लाइरहेको
बाँसको पात
वा
हिउाको पाइला टेक्दै–टेक्दैं
आएको चिसो सिरेटो
के ले छोएर जान्छ यसरी ?
एकादेशबाट उडेर आएको
मौसमी चरा
वा
वसन्तको बाटो भएर आउने हरियाली
कहिले पूरा होला ?
लेख्दा लेख्दै बाँकी रहेको
जिन्दगी नामको अधुरो कविता
वा
किताबको बीचमा
आज बढ्ला भोलि बढ्ला भनेर
च्यापेर राखेको मयूरको प्वाँख
कहाँ छुटेर गयो ?
बाटोजस्तो हिँड्दै–हिँड्दै आएको
सपनाको गोरेटो
यो संसारलाई सुनाउँला भनी
साँची राखेको
ती पाठशालाको कक्षा कोठामा प्राप्त गरेको मन्त्रजस्तो ज्ञान
के ले भत्कायो ?
दौडिरहेको हावामा
रोकिएका औंलाहरुले कोरेको
प्रिय मान्छेको आकृति
खोज्दैं जाँदा
यस्तै प्रश्नका उत्तरहरु
हामीले खोजेको उज्यालो आई बस्नेछ त्यही
र
भन्नेछ
‘सम्झना’
जीवनका धेरै अनुत्तरित प्रश्नहरुको
साझा उत्तर हो ।