कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

सम्धीलाई पुस्तक उपहार!

तुलसीहरि कोइराला

त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक एवं समालोचक ज्ञाननिष्ठ ज्ञवालीले आफूले श्रद्धापूर्वक हस्ताक्षर गरेर त्रिविकै सह–प्राध्यापक एवं साहित्यकार पोषरमण चापागाईंलाई दिएका आफ्ना पछिल्ला दुई कृति– ‘आख्यानकार विश्वेश्वरप्रसाद कोइराला’ (समालोचना) र ‘भूमिका सिद्धान्त र ज्ञवालीका भूमिका’ फुटपाथको पुस्तक पसलमा भेटेर आश्चर्यचकित भए ।

सम्धीलाई पुस्तक उपहार!

पुस्तकमा उनले आदरपूवर्क लेखेका शब्दहरू यथावत् थिए र हस्ताक्षर पनि जस्ताको तस्तै थियो । उनले पुस्तकमा उल्लेख भएको मूल्यको आधा मूल्यमा आफैँले उपहारस्वरूप दिएका कृति खरिद गरे र बिक्रेतासँग रसिद पनि लिए । घर फर्किएर आफूले सम्मान गरेका अग्रजस्रष्टा व्यक्तित्व पोषरमणले आफूलाई उसरी नै लेखेर दिएका पुस्तकहरू— ‘लप्सी धारो’ (कथासंग्रह), ‘पश्चिम अस्ट्रेलियाको यात्रा संस्मरण : सेरोफेरो पर्थको’, ‘गोसाइँकुण्डदेखि चेन्नेईसम्म’, ‘मौन चुल्ठो’, ‘बाफको पर्दा’ र ‘पुष्प प्रकम्प’ लगायतका कथा र यात्रा संस्मरणका आधा दर्जन कृतिहरू जम्मा पारेर कलंकीबाट हान्निए अनामनगरतिर । आफूले हस्ताक्षर गरेर उनलाई दिएका दुई पुस्तक र फुटपाथमा खरिद गरेको रसिद चापागाईंलाई देखाउँदा उनीसँग ज्ञवालीलाई चित्त बुझाउने खालको जवाफ त थिएन तर भनेछन्, ‘म अमेरिकातिर गएको बेलामा घरकाले ‘खाली सिसी, पुराना कागज’ लाई बेचिदिएछन् । त्यसले लगेर फुटपाथमा पो बेच्दोरहेछ ! ज्ञवालीजी, चित्त नदुखाउनुहोस् । तपाईंले तिरेको मूल्य म दिन्छु, ती किताब मलाई नै दिनुहोस् ।’ 

ज्ञवालीको रिसको पारो निकै माथि पुगेको थियो र त्यो तत्काल ओर्लिनेवाला थिएन । चापागाईंका आधा दर्जन पुस्तकको पोको फिर्ता दिएर आइन्दा तपाईंसँग झुक्किएर पनि पुस्तक लेनदेन गर्ने छैन भन्दै बाटो लागे । आफैँले हस्ताक्षर गरेर प्रेमपूर्वक चापागाईंलाई दिएका पुस्तक फुटपाथमा किनेको रसिद उनीसँग अझै सुरक्षित छ । पुस्तक उपहार दिने प्रसंग चल्दा उनी भनिहाल्छन्, ‘मान्छे छानेर सदुपयोग गर्ने खालकालाई मात्रै दिने गरौँ है, अन्यथा मेरैजस्तो घटना तपाईंले पनि बेहोर्नुपर्ला । यस्तो हुँदा त साह्रै चित्त दुख्दोरहेछ ।’
अर्का स्रष्टा अशोकनाथ तिवारीले आफ्नो ‘बाग्मती’ (काव्य) कृति आफ्नै सम्धीलाई ‘आदरणीय सम्धी विमल मैनालीज्यूमा सादर भेट’ लेखेर हस्ताक्षरसहित उपहार दिएथे । दुर्भाग्य, सम्धीको विद्वत्ताको त्यो कृतिले पनि सम्धीकै घरको शोभा बढाएन । स्रष्टा सम्धी छोराका बाबु हुन् कि छोरीका भन्ने पत्ता लगाउने प्रयास भए पनि यकिन हुन भने सकेन । अथवा यो पारिवारिक साइनोमा विचलन पो आइसकेको छ कि ? अन्यथा सम्धीको विद्वत्ताको उपजको उपहार काव्य न्युरोडको फुटपाथको पसलमा पुगेर छरपस्ट नहुनुपर्ने थियो । 
मान्छेले आफ्नो भौतिक सम्पत्ति सितिमिति अरूलाई दिँदैन तर बौद्धिक सम्पत्तिको पोको भने सित्तैँमा बाँड्ने गरेकोले जहीँतहीँ फुटपाथको बिस्कुनझैँ छरपस्ट हुँदै आएको देखिन्छ । आदरणीय स्रष्टा कृष्णप्रसाद पराजुलीले वरिष्ठ निबन्धकार व्यक्तित्व राममणि रिसाललाई हस्ताक्षर गरेर दिएको पुस्तक ‘बादलका बुट्टाहरू’, गोपाल पराजुलीले राजु पराजुलीलाई दिएको ‘अर्को दिशा’, राजेन्द्र थापाले ‘प्रिय मित्र किशोरजी’ लाई दिएको कवितासंग्रह तेस्रो व्यक्ति, डा. संजीता वर्माले ‘प्यारी बहिनी तृष्णा कुँवर’ लाई दिएको ‘मै और मेरी कविताएँ’ मित्र इन्द्रनारायण मानन्धरलाई समर्पण गरिएको शशी भण्डारीको हाइकुसंग्रह ‘शीतको जून’, स्नेही बहिनी कमला रिसाल ‘ज्योति’ लाई रामेश्वर राउत मातृदासले दिएको कविताकृति ‘ढुंगाको बीउ’, कथाकार दिल साहनीले गरिमा मासिकलाई समीक्षार्थ दिएको कथाकृति ‘आस्थाको सगरमाथा’ लगायतका थुप्रै साहित्यिक कृतिहरू न्युरोड, सैनिकमञ्च पछाडि, जमल, बानेश्वरलगायतका स्थानका फुटपाथका पसलहरूमा भेटिएका छन् । 
त्यस्ता पुस्तक पसलहरूमा केही वर्षअघि अध्ययन गर्दा फेला परेका केही मूर्धन्य स्रष्टाका उद्गारसहितका हस्ताक्षरका कृतिहरू पाउने स्रष्टा पनि उत्तिकै सम्मानित व्यतित्व हुन् । यस्तो कार्यले एकातिर उपहार दिने स्रष्टाको मान मर्दन भइरहेको छ भने अर्कोतिर प्राप्त गर्ने व्यक्तित्वको पुस्तकप्रतिको धारणा के कस्तो रहेछ भन्ने बुझ्ने अवसर पनि प्राप्त भएको छ ।
नेपाली साहित्यमा अवलम्बन गरिनुपर्ने थुप्रै संस्कार र संस्कृतिहरूको बेवास्ता गरिएको यथार्थको खोजी गर्ने हो भने ठूलै अध्ययनको विषय बन्न सक्छ । हामीकहाँ आफ्नो पुस्तक उपहारको रूपमा बाँड्ने संस्कार राम्रै छ । पुस्तक सार्वजनिकीकरण समारोहमा उपस्थित भएकाहरूलाई बाँडिनु त छँदैछ, आफ्नो घरमा आएकाहरूलाई पनि स्रष्टाले आफ्ना कृतिहरूमा आत्मीय उद्गारसमेत लेखेर उपहार दिने प्रचलन छ । अझ कतिपय स्रष्टा त झोलामा किताब बोकेर अरूकै कार्यक्रमहरूमा पनि बाँड्दै हिँडेका भेट्टिन्छन् । रहर गरेर प्रकाशन गर्ने तर बजारमा बिक्रीचाहिँ नहुने भएपछि जसरी पनि सिध्याउनु त पर्‍यो नै । चासो राखेर पढ्ने, संग्रह गर्ने, लेखकप्रति आदर–सम्मान गर्ने र पुस्तकप्रति सद्भाव राख्नेहरूका हातमा परे त ठीकै हो । लेखकले आफ्नो बौद्धिकता बाँड्न चाहेकै हो र लगानी गर्नका लागि उसले परिवारको गाँस काटिरहनु पर्दैन भने कमाइको दसांश पर सारेकोमा दान गरेसरह नै मानिदिँदा फरक पर्दैन । 
उत्साह जागेर लेखिसकेपछि त्यसै थन्क्याउनुको कुनै अर्थ छैन । बजारमा पनि नबिक्ने अवस्थामा सित्तैँमा नबाँडे के गर्ने ? कि त कवि एवं लघुकथाकार डक्बरुबल्लभ गड्तौलाको जस्तो टिनका बक्सा किनेर बाक्साभरिभरि थन्क्याउनुपर्‍यो । गड्तौला स्रष्टाले आफ्ना कृति सित्तैँमा बाँड्न हुँदैन भन्ने पक्षमा छन् र बजारमा बिक्री पनि भएका छैनन् । उनी भन्छन्, ‘आफ्नो सम्पत्तिको माया जसलाई पनि लाग्छ । पहिले पहिलेका केही कृतिहरू वितरकलाई दिएथेँ तर उसले न त पैसा दियो, न त किताव नै फिर्ता दियो । सके आफैँ बेच्छु, नबिके बाक्सामै थन्थ्याउँछु । आफू मरेपछि जेसुकै गरुन् ।’ 
उपहारस्वरूप पुस्तक प्राप्त गर्ने कतिपयलाई चाहिँ यस्ता सामग्री बाध्यतावश आइलागेको ‘घाँडो’ सरह हुन्छ । आफूले घरमा राख्न नरुचाए त्यस्ता पुस्तकलाई जिल्लाजिल्लामा खुलेका पुस्तकालयहरूमा दिन सक्दा ती पुस्तकले ठूलै महत्त्व पाउन सक्छन् । पुस्तकप्रेमी एउटै पाठकले मात्रै पढ्न पाउँदा पनि पुस्तकको गरिमा वृद्धि भएको मान्न सकिन्छ । 
केही श्रष्टा साहित्यिक कार्यक्रमहरूमा जिल्लातिर जाँदा आफूलाई प्रयोजनहीन लागेका पुस्तकहरू पनि लाने गरेका छन् । राजधानीबाट गएका स्रष्टाहरूले त्यसरी उपहार लगिदिँदा उनीहरूको अनुहारमा फुल्ने मुस्कानले ती किताबको बजारी मूल्यलाई जितिरहेको अनुभव हुन्छ । 
पुस्तक पढ्न पटक्कै रुचि नहुनेहरूलाई जबर्जस्ती गरेर पढाउन सकिँदैन नै । तर घरमा दुई–चारवटा पुस्तक अटाउने ठाउँ नहुनु भनेको चाहिँ दरिद्र मानसिकता नै हो । साथीभाइको मान राख्न पनि उसबाट पाएको बौद्धिक सम्पत्तिको हामीले सही सदुपयोग गरिदिनैपर्छ । सम्धीको चित्त नदुखाउन पनि सम्धीले उक्त पुस्तकबाट जति नै सास्ती भोग्नुपरे पनि घरमा राखिदिन सक्नुपथ्र्यो । 
हामीकहाँ पछिल्लो चरणमा केही हदसम्म पठन संस्कृतिको विकास हुँदै आएको अवश्य छ । तर सबै लेखक र सबै विधाका पुस्तकहरू पाठकको समानुपातिक रोजाइमा परेका भने छैनन् । अहिले पनि हजार प्रति पुस्तक बिक्न वषौँ लागिरहेको छ, जुन संख्या बीस वर्षअघि पनि यत्ति नै प्रकाशित हुन्थ्यो । 
भनिन्छ— आफ्नो धन खर्च नभएको कुराको माया लाग्दैन । उपहारमा पाएका पुस्तकमा पनि यो लागू भइरहेको हुन सक्छ । तर आफूले उपहारमा पाएका पुस्तकहरू बजारमा बेचेर चिया–चुरोटको खर्च आर्जन गर्नुचाहिँ लालचको नमुना नै मान्नुपर्छ । उपहारमा पाएका पुस्तकहरू उपहारमै दिँदा त्यसको गरिमा रहिरहन्छ । होइन, बेच्नैपर्ने अवस्था आयो भने कम्तीमा पनि लेखिएका उद्गार र नामचाहिँ मेटेरै मात्र बेचौँ । अन्यथा उपहार दिनेका आँखा पर्दा उसको मन अवश्य भाँचिन्छ । मन भाँचिनेहरूको लाइनमा संवेदनशील लेखकहरू पनि पर्छन् । 

 

 

प्रकाशित : वैशाख २३, २०७४ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?